+
+

संसदमा सत्तापक्ष र प्रतिपक्षमा ६–६ वटा दल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते २०:४९

२४ पुस, काठमाडौं । प्रतिनिधिसभामा हाल १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दा सत्तापक्ष र प्रतिपक्षको लहरमा आधा/आधा दल रहने भएका छन् ।

प्रतिनिधिसभाको बैठकअघि संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सत्तापक्षको लहरमा बस्ने कि प्रतिपक्षको लहरमा बस्ने भनी सोध्ने गर्छ । जसअन्तर्गत ६ वटा दलले सत्तापक्षको लहरमा बस्ने र ६ वटा दलले प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएका छन् ।

संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले सत्तापक्षको लहरमा बस्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएका छन् ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सरकारमा सहभागी नभएको हुनाले आफूहरु प्रतिपक्षकै लहरमा बस्ने ताए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णयमा पुगेका छैनौं । यसबारे सोमबार नै निर्णय हुन्छ’ उनी थप्छन्, ‘तर, पहिलो बैठकमा प्रतिपक्षी लहरमा बस्छौं ।’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागी नभएका कारण प्रतिपक्षी बेञ्चमा बस्ने बताइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौं’, उनले अनलाइनखबरसँग भनिन्, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषय सोमबारको कार्यसूचीमा छैन ।’

दलहरुले गराएको जानकारी अनुसार संसद सचिवालयले प्रतिनिधिसभाको बैठकमा सांसदहरुका लागि सिट व्यवस्थापन गरेको छ ।

प्रतिनिधिसभामा ५ जना स्वतन्त्र निर्वाचित भएका थिए । उनीहरुमध्ये किरणकुमार साह एमालेमा र लालबीर चौधरीले नागरिक उन्मुक्ति पार्टी रोजिसकेका छन् ।

बाँकी ३ जनामध्ये प्रभु साहले सत्तापक्ष लहरमा बस्ने बताएका छन् । अर्का स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भने सत्तापक्षकै लहरमा बस्ने बताएका छन् । सिंहले सुरुमा प्रतिपक्षको लहरमा बस्ने जानकारी संसद सचिवालयलाई दिएका थिए । आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सिंहले सत्तापक्षकै लहरमा बस्ने प्रष्टीकरण दिएका हुन् ।

संघीय संसद सचिवालयले पहिलो बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ७ पुसमा प्रतिनिधिसभा सदस्यहरुले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले नै बैठक चलाउनेछने । सोमबारको बैठकमा जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउनेछन् । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रतिनिधिसभाले अर्को नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली २०७५ अनुसार नै संसदका काम कारबाही सञ्चालन गर्न सोमबार प्रतिनिधिसभाको स्वीकृति लिने सम्भावित कार्यसूची छ । त्यसपछि अर्को नबनुञ्जेल २०७५ सालकै नियमावली अनुसार प्रतिनिधिसभाका काम कारबाही सञ्चालन हुनेछन् ।

सोमबार प्रतिनिधिसभामा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ ।

त्यसअनुसार सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले प्रतिनिधिसभामा शुभकामनासहित आफ्नो धारणा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?