+
+

‘‘आईएमई–पे’ को लडाइँ नगदसँग हो, अरु सेवा प्रदायकसँग होइन’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १८:५६

काठमाडौं । आईएमई भन्नासाथ हामी धेरैलाई रेमिट्यान्स भन्ने भइहाल्छ । तर, आईएमई ग्रुप रेमिट्यान्स मात्र नभइ अन्य वित्तीय सेवा, सूचना प्रविधि र विद्युतीय भुक्तानीमा पनि अग्रणी छ । आईएमई–पे नेपालमा भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाउने पहिलो कम्पनी हो ।

‘आईएमई–पे’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रबीण रेग्मी छन् । एक दशकयता डिजिटल भुक्तानीको क्षेत्रमा आवद्ध रहेको उनी सबै नागरिकमा वित्तीय पहुँच पुर्‍याउने र नगदरहित कारोबार गर्न सक्ने बनाउनु नै अबको लक्ष्य रहेको बताउँछन् ।

नेपाली भुक्तानी सेवा क्षेत्रमा २७ कम्पनी कृयाशील छन् । तीबाहेक बैंकहरुले पनि भुक्तानी सेवा दिइरहेका छन् । आफ्नो प्रतिस्पर्धा भने अन्य सेवा प्रदायकसँग नभई नगद कारोबारसँग रहेको सीईओ रेग्मी बताउँछन् ।

प्रस्तुत छ रेग्मीसँग अनलाइनखबरले ‘आईएमई–पे’को आगामी योजना, लक्ष, चुनौती, सम्भावना लगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश :

‘आईएमई–पे’सम्मको यात्रा कसरी तय भयो ?

आईएमई ग्रुप आईटी तथा डिजिटल भुक्तानी सेवामा यसैपनि अगाडि छ । देशको समग्र डिजिटल कारोबार, रेमिट्यान्स डिजिटल भुक्तानीका विभिन्न सेवामा आईएमई ग्रुप पहिलेदेखि नै संलग्न छ ।
भुक्तानी सेवा प्रदायकको लाइसेन्स लिएर आईएमई–पे सञ्चालनमा आएको ६ वर्ष पुग्यो ।

आईएमई ग्रुपको डिजिटल वालेट नआउँदै पनि आईएमई ग्रुपको अन्य सेवामा सहकार्य गरिरहेकै थिएँ ।

बैंकमा आवद्ध भएर वा परामर्शदातको रुपमा करिब १० वर्षदेखि डिजिटल रुपान्तरण र डिजिटल भुक्तानी क्षेत्रमा काम गरिरहेको छु । ‘आईएमई–पे’को डिजिटल भुक्तानीको माध्यमबाट कारोबारलाई नगदरहित बनाउने अभियान र डिजिटल भुक्तानी सम्बन्धी मेरो अध्ययनलाई सँगै अगाडि बढाउन विगतको सहकार्यले पनि सहयोग पुग्यो ।

भुक्तानी सेवा प्रदायकको एउटा अग्रणी संस्थाको नेतृत्व सम्हाल्दै गर्दा चुनौती महसुस गर्नुभएको छ कि अवसर ?

जुनसुकै व्यवसायमा अवसर र चुनौती समानान्तर रुपमै हुन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनको २० प्रतिशत पनि डिजिटल कारोबारमा आएको छैन । ८० प्रतिशतभन्दा बढी भुक्तानी अझै पनि डिजिटल माध्यमममा आउँन बाँकी हुनुले अवसरै अवसर देखाउँछ ।

प्रविधिमा आधारित व्यवसाय हुँदा सूचना प्रविधि सम्बन्धी चुनौती छ । दक्ष जनशक्तिको अभाव पनि छ । नागरिकमा डिजिटल सेवा प्रयोग गर्दा आफूलाई मात्र नभई समग्र देशलाई फाइदा हुन्छ भन्ने बुझाइ सुदृढ हुन बाँकी छ । यस्ता व्यवहारिक चुनौतीहरु छन् । अवसर र चुनौती दुवैलाई समान रुपले व्यवस्थापन गर्दै अगाडि बढ्ने हो ।

जनशक्तिको अभाव छ भन्नुभयो । जनशक्ति नै नभएको हो कि कम भएको ?

नेपालमा दक्ष प्राविधिक जनशक्ति नभएको होइन, तर उनीहरुको सेवा विदेश निर्यात भइरहेको छ । नेपाली जनशक्ति आईटी आउट सोर्सिङ कम्पनीमा बढी संलग्न छ । स्थानीय कम्पनीलाई मात्र सेवा दिने आईटी कम्पनी कमै छन् । वास्तविकता यो छ ।

‘आईएमई–पे’को नेतृत्व लिदै गर्दा एउटा लक्ष्य पक्कै थियो होला । त्यसआधारमा कम्पनीको समग्र अवस्थाको मुल्यांकन कस्तो हुन्छ ?

समीक्षा, मूल्यांकन भन्दा पनि कसरी अगाडि बढ्ने कुरा मुख्य हुन्छ । आईएमई–पे नेटवर्कमा ७७ वटै जिल्लामा ३५ हजारभन्दा बढी एजेन्ट छन् । करिब–करिब सबै स्थानीय तहमा उपस्थिति छ । ४० लाख ग्राहकले ‘आईएमई–पे’ को एप डाउनलोड गरेर प्रयोग गर्नुहुन्छ । बैंक लगायत अन्य माध्यमबाट आबद्ध ग्राहक संख्या त्यति नै छ ।

संसारभरका नेपालीले रेमिट्यान्स पठाउन आईएमई–पे सेवा प्रयोग गर्नुहुन्छ । डिजिटल प्रविधि र समग्र वित्तीय क्षेत्रमा आईएमई ग्रुप आफैंमा अग्रणी ब्राण्ड हो । हामी जति गर्दै जान्छौ, नागरिकको अपेक्षा पनि बढ्दै जान्छ । त्यसप्रति हाम्रो जवाफदेहिता पनि बढ्दै जान्छ । ८० प्रतिशत भुक्तानीलाई डिजिटल बनाउने उत्तरदायीत्व आईएमईले पुरा गर्छ ।

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिएका भुक्तानी सेवा प्रदायक २७ वटा छन् । डिजिटल वालेट सेवा दिने यी संस्थामध्ये आईएमई–पे कहाँ छ ?

हामीले त्यसरी मूल्यांकन गरेका छैनौं । खासमा, भुक्तानी सेवा प्रदायक, बैंक, वित्तीय संस्थाबीचमा प्रतिस्पर्धा छैन । प्रतिस्पर्धा या लडाइँ नगदसँग हो । सबै सेवा प्रदायकको लक्ष्य कारोबारलाई कसरी नगदरहित बनाउने भन्ने भएपछि प्रतिस्पर्धा भएन । नेपाल सरकार र राष्ट्र बैंक पनि यसैमा लागेको छ ।

लक्ष्य ‘क्यासलेस’ नै हो कि ‘लेसक्यास’ हो ?

क्यालेसकै भिजन लिनुपर्छ, तत्कालै क्यासलेस हुन नसके पनि । क्यासलेस हुन त्यहीअनुसार प्रविधि, नीति आउनुपर्छ । तत्कालै नगद कारोबार नहुने समाज सोच्न सकिंदैन । त्यसका लागि केही समय लाग्छ । त्यसैले, अहिलेलाई लेसक्यास नै भनौ र काम गरौं ।

यसको लागि आईएमई–पे को कस्ता योजना छन् ?

७७ वटै जिल्लाका सबै स्थानीय तहमा उपस्थिति हुँदा पनि सबै जनतामा हाम्रो पहुँच छैन । हाम्रो मात्र होइन डिजिटल भुक्तानी सेवा दिने कसैको पनि छैन । अब शाखा खोलेर यो काम सम्भव छैन । भएकै डिजिटल माध्यमबाट भुक्तानी गरेर सबै नागरिकसम्म पुग्ने हो । वित्तीय पहुँचलाई शत प्रतिशत बनाउने अन्तिम लक्ष्य हो ।

डिजिटल वालेट सेवाका लागि कतिपय ठाउँमा इन्टरनेट छैन । भएका ठाउँमा पनि प्रविधिमा आधारित वित्तीय सेवा प्रयोग गर्न सक्ने कति होलान् भन्ने प्रश्न पनि छ । यसलाई कतिको चुनौती मान्नुहुन्छ ?

यो एउटा चुनौती हो । प्रविधि प्रयोग गर्न नसक्ने, प्रयोग गर्दा पनि पैसा हराउने हो की भनेर डराउने समस्या छ । कतिलाई उत्साह हुदाहुँदै पनि चलाउनै आउँदै । यो चुनौतीलाई बिस्तारै तोड्दै जाने हो ।

फेरि, अहिले प्रायः सबै ठाउँमा विद्युत र इन्टरनेट सुविधा पुगेको छ । नपुगेको केही ठाउँमा पनि चाँडै पुर्‍याउने सरकारकै योजना छ । मुख्य चुनौती चाहिं जनचेतना हो, त्यसैले डिजिटल भुक्तानी सम्बन्धी जनचेतान अभियान लक्षित समूहमा चलाउनुपर्छ । यो सुरक्षित छ, पैसा हराउँदैन, यसले देशलाई समेत लाभ दिन्छ भनेर बुझाउन सकियो भने लक्ष्यमा पुगिन्छ ।

पछिल्लो पुस्तालाई बुझाउन सक्यौं भने उनीहरुले आ–आफ्ना घरका सबैलाई बुझाउँछन् । सेवालाई चाही हामीले यति सहज बनाउन पर्‍यो कि ती युवाले आफ्ना बा-आमालाई सजिलै देखाउन सकून्, गाउँको पसलमा सामान किन्दा डिजिटल भुक्तानी गनैसक्ने बनाऊन् ।

डिजिटल भुक्तानीको लागि आईएमई–पे किन रोज्ने ?

ब्याजसहितको सुपरवालेट र कार्ड सेवा भएको भुक्तानी सेवा प्रदायक आईएमई–पे मात्र हो । हामीले कार्डबाटै भुक्तानी गर्ने, कार्डबाटै नगद झिक्ने सुविधा दिएका छौं ।

ब्याजसहितको सुपरवालेट र कार्ड सेवा भएको भुक्तानी सेवा प्रदायक आईएमई–पे मात्र हो । यसमा कार्डबाटै भुक्तानी गर्ने, कार्डबाटै नगद झिक्ने सुविधा छ ।

पृथक सेवाभन्दा पनि नागरिकलाई वित्तीय पहुँचमा पुर्‍याउनु आजको मुख्य काम हो । आईएमई समूह गत २० वर्षदेखि त्यसमा लागेको छ । आईएमई–पे लगायत सबैको लक्ष्य यसैमा केन्द्रित हुनुपर्छ । भौतिक सेवाले मात्र वित्तीय पहुँचको अन्तिम बिन्दुमा पुर्‍याउँदैन । त्यसैले आईएमई–पेलाई हामीले डिजिटल र एजेन्सी सर्भिसको मोडलमा लगेको छौं ।

जहाँसम्म आईएमई–पे नै किन रोज्ने भन्ने प्रश्न छ, विदेशमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स सिधै आईएमई–पेको वालेटमा लिन सकिन्छ । एक व्यक्तिले दैनिक चर्यामा खर्च गर्नुपर्दा चाहिने सबै सेवा आईएमई–डे डिजिटलमा छ । वालेटमा राखेको पैसा नगदमै लिनलाई कार्ड पनि दिएका छौं ।

ग्राहक नौजवान हुन् या आमाबुबा, उहाँहरुको रकम विश्वासिलो माध्यमभित्र रहनुपर्छ । दुई दशकयताको वित्तीय सेवामा आईएमई आफै विश्वासीलो नाम हो । यो कारण पनि आईएमई–पे नै प्रयोग गर्नुपर्छ भन्ने हो ।

सिधै वालेटमा रेमिट्यान्स पठाउन सकिन्छ भन्नुभयो । रेमिट्यान्स आउने मुख्य अरब देश र मलेशिया जाने युवा डिजिटल प्रविधिमा कति अभ्यस्त छन् ?

यसमा आकर्षण बढेको तथ्यांकले देखाउँछ । आन्तरीक रेमिट्यान्स र स्थानीय भुक्तानीको लागि समेत डिजिटल प्रविधि रुचाउनेको संख्या हरेक दिन बढ्दो छ । आईएमई–पेको मोबाइल वालेटमै ४० लाख ग्राहक आबद्ध भइसक्नुभयो ।

डिजिटल वालेट चलाउन बिस्तारै सबैलाई सहज लाग्दैजाने छ । हामीले यो सजिलो र सुरक्षित छ भन्ने विश्वास दिलाउनपर्ने छ । फेसबुक लगायत सामाजिक सञ्जाल चलाउनेले डिजिटल वालेट प्रयोग गर्न सकिहाल्छन् । नगद हातमा परेपछि मात्र पैसा आएको मान्ने हाम्रो समाजलाई डिजिटल त्योभन्दा अझ सजिलो र भरपर्दो माध्यम हो भनेर बुझाउन, सिकाउन परेको छ ।

डिजिटल रेमिट्यान्स पठाउनेले के फाइदा पाउँछ ?

आईएमईले विदेशमा अर्को सेवा प्रदायकसँग मिलेर रेमिट्यान्स नेपालमा ल्याउँछ । जस्तो– यूएईमा अल अलहिया कम्पनीसँग त्यस्तो सम्झौता गरिएको छ । त्यसको माध्यमबाट आईएमई–पेमा रेमिटेयान्स पठाउँदा पैसा लाग्दैन । कुनै पनि देशबाट आईएमई–पे वालेटमा सिधै पठाएको रेमिटयान्समा लाभग्राहीले ५० रुपैयाँ बोनस पनि पाउनुहुन्छ । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहित गर्न आईएमई–पेले यसो गरेको हो ।

नेपालमा सन् २०१६ तिरबाट डिजिटल बैंकिङ सुरु भयो । अहिले वालेट डिजिटल बैंकिङ वा फाइनान्सको अभिन्न अंग बनिसक्यो । विद्युतिय बैंकिङ सेवाको के कस्ता कानुनी चुनौति छन् ?
हामी डिजिटल भुक्तानीको नीतिगत संरचनामा दक्षिण एशियामै अगाडि छौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाको लाइसेन्स वितरण गर्दा भारत र बंगलादेशमा नीति नै थिएन । नेपालमा आजको मितिमा वित्तीय सुशासन र समायोजनको लागि नीतिगत चुनौती केही छैन ।

डिजिटल भुक्तानी सेवामा दक्षिण एशियामै अगाडि हौं भने अन्य देशमा फैलिन सकिने अवस्था छ ?

नेपालको सेवा उद्योगमध्ये सबभन्दा धेरै आम्दानी गर्ने आइटीको आउटसोर्सीङ क्षेत्र हो । हामीले यहाँ बनाएर चलाएको डिजिटल सेवा बाहिर तिमीहरु पनि चलाउ भनेर दिन सक्छौं । अहिले पनि कतिपय आईटी कम्पनीले नेपाल बैंकलाई दिएको सेवा विदेशी बैंकलाइ बेचिरहेका छौं ।

आईएमई–पेको वालेट युरोप–अमेरिकामा जाँदा चलाउन पाइएला ?

यसबारे पर्याप्त नीति बनिसकेको छैन । नीतिहरुलाई सुधार्दै जाँदा सम्पत्ति शुद्धीकरण, केवाईसी आदि अझ संगठित हुनु आवश्यक छ । त्यससँग सम्बन्धित पर्याप्त नीतिगत व्यवस्था भएपछि बाहिर फैलने हामी पहिलो वालेट हुनेछौं ।

हाल सञ्चालित भुक्तानी सेवा प्रदायकमध्ये धेरैजसोलाई टिक्न गाह्रो परिरहेको भन्ने सुनिन्छ । नेपालमा भुक्तानी सेवा प्रदायकको भविष्य कस्तो छ ?

भुक्तानी सेवा प्रदायकलाई टिक्न गाह्रो होइन, उनीहरुले लिएको रणनीति गाह्रो खालको भयो । आएका सबै सेवा प्रदायकले एउटा, एउटा क्षेत्र समात्नुपर्छ । जस्तो– काठमाडौं, पोखरा लगायत सहरभन्दा पहुँच नपुगेका बाहिरी क्षेत्रमा लाग्यौं भने सबै टिकिन्छ ।

वित्तीय अपराधमा डिजिटल वालेटको संलग्नता बढ्दै जाँदा केवाईसी भेरिफिकेसनमा प्रश्न उठ्न थालेको छ । कहाँ चुक भइरहेको छ ?

चोरी नहुन प्रत्येक पटक प्रहरी सही हुनुपर्छ, तर चोर एकपटक मात्र सही भयो भने चोरी हुन्छ भनेजस्तै हो यो कुरा । वित्तीय सेवा क्षेत्रका हामीले सजग भएर प्रभावकारी काम र्गनपर्छ । त्यसमाथि निरन्तर नियमन हुनपर्छ ।

केवाईसी भेरिफिकेसनमा हामी एकदमै सजग छौं । राष्ट्र बैंक र नेपाल सरकारको नीति तथा अन्तर्राष्ट्रिय अभ्यासलाई पछाउँछौं । प्रविधि प्रयोगबाट अझ सबल हुने प्रयासमा आईएमई–पे लागेको छ ।

अन्तिममा के भन्न चाहनु हुन्छ ?

सबैले एकपटक आईएमई–पे प्रयोग गरेर हेरौं भन्न चाहन्छु । डिजिटल भुक्तानी गरौं, सबैलाई डिजिटल भुक्तानी गर्न सिकाऔं र फाइदा लिऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?