+

आँखाले कुनै दृश्य वा वस्तु कसरी देख्छ ?

२०७९ माघ  १८ गते १५:४७ २०७९ माघ १८ गते १५:४७
आँखाले कुनै दृश्य वा वस्तु कसरी देख्छ ?

काठमाडौं । आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो । आँखालाई सबैभन्दा नाजुक अंग पनि भनिन्छ । हाम्रो शरीरमा रहेका पाँच इन्द्रियमध्ये आँखा पहिलो र सबैभन्दा मूल्यवान् इन्द्रिय हो । यसबाहेक यो हाम्रो शरीरको सबैभन्दा सानो र जटिल अंग पनि हो । आँखाबाट नै हामी भाव व्यक्त गर्छौं ।

आँखाले हामीलाई संसार देखाउँछ । आँखा नहुँदो हो त संसार अन्धकार सरह हुन्थ्यो । तर आँखाले संसार कसरी देखिरहेको छ ? यसको दृश्य क्षमता कति हुन्छ भन्नेबारे हामी अनविज्ञ पनि हुन सक्छौं ।

आँखामा विभिन्न भाग हुन्छन्, ती सबै मिलेर मात्र आँखाले देख्ने गर्छ । आई लिडले आँखामा हुने स्क्लेरा, कोरोइड, रेटिना र कर्नियालाई आँसुमार्फत मुलायम बनाइराख्छ । कुनै पनि   प्रकाश कर्नियामा प्रवेश गरेर आँखाको लेन्ससम्म पुग्छ । लेन्सले वस्तुबाट आएको प्रकाशलाई आवर्तन गर्छ र रेटिनाको बीच भागमा रहेको सानो क्षेत्र, म्याकुलामाको एक पिनपोइन्टमा जान्छ अनि वस्तु वा मानिसको आकृति बन्छ । म्याकुलाबाट देखिएको वस्तुको सेन्स दिमागले ग्रहण गर्छ । जसले हामीले कुनै पनि वस्तु आँखाले देख्न सक्छौं ।

आँखाको विशेषता के छ भने कुनै पनि ठाउँमा जाँदा त्यहाँको वातावरण र आँखाले हेर्ने दृश्य त्यहीं बस्ने व्यक्तिको भन्दा फरक हुन्छ । किनभने आँखालाई त्यो ठाउँको पहिला बानी परेको हुँदैन । जसकारण टाढाको कुरा हेर्दा आँखाको नानीभन्दा भित्र उपनानी सानो हुन्छ । नजिक हेर्दा उपनानी ठूलो हुन्छ, तर जब आँखालाई बानी पर्छ तब हामी उस्तै देख्छौं ।

सामान्यतया आँखाले २० फिटसम्म स्पष्ट रुपमा देख्न सक्छ । तर हेर्न भने धेरै लामो दुरीसम्म सक्छ । यद्यपि २० फिटभन्दा परको वस्तु पहिचान भन्ने गर्न सक्दैनौं । त्यस्तै आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ । जसकारण आँखाले कुनै कुरालाई झण्डै दुई मिलिसेकेन्डमै फोकस गर्न सक्छ । तर ४० वर्षभन्दा बढी उमेर भएपछि देख्ने क्षमतामा फरक आउँछ ।

बच्चा र वयस्कको दृष्टिकोण फरक हुन्छ । बच्चाको आँखाको आकार सानो हुन्छ, जुन राम्रोसँग विकसित भइसकेको हुँदैन । उमेर बढ्दै जाँदा आँखाको आकार बढ्दै जाने र लेन्स २४ मिलिमिटरसम्म पुग्छ । वयस्कले जति टाढासम्मको दृश्य देख्न सक्छन्, बच्चाले  देख्न सक्दैनन् ।

कुनै रंगलाई सबैले उस्तै देखिरहेको हुन्छ कि फरक ?

सबै व्यक्तिले एकै किसिमको रंगलाई उस्तै देख्छन् भन्ने हुँदैन । संसारमा केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले रंगहरुलाई देख्ने तरिका फरक हुन्छ । उनीहरु हरियो र रातो पनि छुट्याउन वा देख्न सक्दैनन् । त्यस्तो समस्यालाई कलर भिजन डिफेक्ट भनिन्छ । यो जन्मजात नै हुन्छ । यसको उपचार पनि असम्भव हुन्छ । उनीहरु सामान्य व्यक्ति जस्तै अन्य कुरा देख्छन् तर रंग मात्र फरक छुट्याउन सक्दैनन् ।

दिमाग र आँखाको सम्बन्ध

आँखा दिमागको बाहिरी भाग हो । दिमागले नै आँखालाई कमाण्ड गरिरहेको हुन्छ । जसकारण हामीलाई टाउको दुख्यो भने पनि आँखा पनि सँगै दुख्ने गर्छ । दिमागमा  केही कारणले पानी जमेको छ भने आँखाको अप्टिक नर्भसम्म आइपुग्छ । दिमागबाट आएर आँखाको पछाडि बसेको हुन्छ । दिमागबाट बहेर आँखा पछाडि बसेको हुन्छ । सोही नर्भको माध्यमबाट आँखाले प्रतिक्रिया दिन्छ ।

आँखासँग सम्बन्धित धेरै लक्षणले मस्तिष्कको स्वास्थ्यको बारेमा पनि बताउँछ । एक अध्ययन अनुसार आँखाको पछाडिका साना स्नायु परीक्षण गरेपछि मानिसको मस्तिष्क कति स्वस्थ छ भन्ने थाहा हुन्छ । आँखाको नसाको आकार, संरचना र कार्य मस्तिष्कको जस्तै हुन्छ । आँखाका स्नायु पनि त्यही कोषिकाबाट विकसित हुन्छन्, जसबाट मस्तिष्कका स्नायुहरू विकास हुन्छन् ।

आँखाको नसाबाट युवाको मात्र नभई साना बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा पनि जानकारी लिन सकिने वैज्ञानिकहरुको दाबी छ । आँखाका यस्ता धेरै रोग छन्, जसले मानसिक स्वास्थ्यलाई संकेत गर्छ ।

सीमित कुरा मात्र देख्ने समस्या पनि हुन्छ ?

जलबिन्दुको समस्या हुने व्यक्तिले सीमित कुरा मात्र देख्न सक्छन् । उनीहरु अगाडिको दृश्य मात्र देख्ने र वरपरको दृश्य देख्न सक्दैनन् । जलबिन्दु भएको व्यक्तिको आँखाभित्र हुने तरल पदार्थको चाप बढ्न गई दृष्टि नसामा असर पुग्दा दृष्टि क्षमतामा ह्रास आउँछ र अप्टिक नर्भको तन्तु मर्छ । जसले दृश्यलाई सामान्य व्यक्तिले देखेको जस्तो देख्न सक्दैन ।

यस्तो रोग उमेर पुगेका व्यक्ति वा बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगको लक्षण ढिला मात्र देखिन्छ । बिस्तारै दृष्टि पुनः फर्काउन नसकिने हुन्छ । यो अन्धोपनको दोस्रो प्रमुख कारण हो ।

आँखा स्वस्थ भएको संकेत

आँखाले रंग छुट्याउन सक्छ र २० किलोमिटरको दुरीसम्म हेरेर पहिचान गर्न सक्छ । सजिलै नजिकको स–साना वस्तुहरु पहिचान गर्न सक्छ भने उसको आँखा स्वस्थ छ भन्ने बुझिन्छ । बेलाबेलामा आँखालाई एउटा आँखालाई छोपेर ६ मिटर जति दुरीमा हेर्दा स्पष्ट देखिन्छ भने पनि स्वस्थ आँखाको संकेत भन्न सकिन्छ । यदि एउटा आँखाले हेर्दा धमिलोपन देखिएको छ भने आँखा विशेषज्ञलाई देखाउन पर्छ ।

आँखालाई स्वस्थ राख्ने उपाय

धुलो, धुँवाबाट बच्ने, चर्को र मधुरो प्रकाश भएको ठाउँमा नपढ्ने, सधैं सफा पानीले आँखा सफा राख्ने, आँखामा जथाभावी रूपमा औषधिको प्रयोग नगर्ने, आँखालाई हातले नमिच्ने र कारखानामा काम गर्दा चस्मा र आँखालाई सुरक्षा दिने वस्तुको प्रयोग गर्नाले आँखाको हेरचाहमा मद्दत पुग्छ ।

कुनै पनि कुरा एकोहोरो नहेर्ने यसले आँखालाई चलायमान राख्ने ६ वटा मांसपेशीलाई थकाउँछ । त्यसैले एकोहोरो हेरिरहनु हुँदैन । केहीबेर विश्राम गर्दै हेर्न सकिन्छ । आँखा स्वस्थ राख्न खानेकुराको भूमिका पनि अहम् हुन्छ । भिटामिन ए भएको खानेकुरा खानुपर्छ । हरियो साग र पहेंलो फलफूल आँखाको लागि उचित हुन्छ ।

त्यस्तै, स्कुल भर्ना गर्ने बेला भएका बालबालिकाको एकपटक अनिवार्य आँखा परीक्षण गराएर उसको दृश्यको क्षमता पहिचान गर्नुपर्छ । ४० वर्षभन्दा माथि उमेर समूहका महिला वा पुरुष दुवैले एकपटक आँखा परीक्षण अनिवार्य गराउनुपर्छ । यसले आँखाको क्षमता पत्ता लाग्नुका साथै केही समस्या भएमा चाँडै निदान हुन्छ ।

आँखामा केमिकलयुक्त कस्मेटिक सामग्री लगाउनु हुँदैन, यसले एलर्जी गराउँछ । शिशुलाई आँखामा गाजल लगाइदिने गरिन्छ । त्यो पनि सकेसम्म नलगाएको बेस हुन्छ । यसले पनि आँखामा एलर्जी गराउन सक्छ ।

(डा. खड्का नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर हुन् । उनले भारतको वनारस हिन्दी विश्वविद्यालयबाट नेत्ररोगमा एमडी र एमबीबीएस तथा जापानको टोकुसिमाबाट मोतीबिन्दुसम्बन्धी सुपरस्पेसियालिटी गरेका छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

आँखा डा. कमल खड्का दृष्टि
लेखक
डा. कमल खड्का
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

हृदयघात दोहोरिने सम्भावना कति हुन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

सलाइन पानी कस्तो अवस्थामा दिइन्छ ?

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम के हो ?

खानालाई ऊर्जामा बदल्ने मेटाबोलिजम के हो ?

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

बच्चाले छिटो छिटो सास फेर्नु कस्तो समस्या हो ?

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)

प्रत्यारोपण गर्दा किन निकालिंदैन बिग्रिएको मिर्गौला ? (भिडियो)