+
+
बाल साहित्य :

एक दिनमा घुमें २५ ठाउँ

विप्लक साह विप्लक साह
२०७९ माघ २० गते १६:४३

काठमाडौंमा जन्मिए पनि मैले यो सहर देख्न पाइनँ । एक वर्षको नहुँदै बाबाको विराटनगरमा सरुवा भयो, हामी त्यही हुर्कियौं ।

मैले बाबाको फोटोमा काठमाडौं देखेको थिएँ । किताबमा पनि काठमाडौंको बारेमा पढेको थिएँ । त्यही बेलादेखि काठमाडौं कस्तो होला भन्ने लागिरहन्थ्यो । यसपालि भने बाबासँगै काठमाडौं जाने मौका पाइयो । म दंग हुँदै बाबासँगै विराटनर विमानस्थल पुगें ।

विमानस्थलमा हामी तीन बजे पुगेका थियौं । त्यहाँ मान्छेहरुको भीड थियो र सबै जना हतारमा भएजस्तै लाग्थ्यो । हाम्रो झोला जाँच गराइयो । भित्र सबै विमानको छुट्टाछुट्टै काउन्टर हुँदो रहेछ । बाबाले बुद्ध एयरको काउन्टरमा टिकट अनि मेरो परिचयपत्र देखाएर मेरै नाम लेखिएको बोडिङ पास दिनुभयो ।

मलाई कतिबेला जहाजमा चढ्ने होला भनी हतार भइरहेको थियो । तर जहाज चढ्नका लागि धेरै समय पर्खनुपर्‍यो । बाबा भन्दै हुनुहुन्थ्यो, मौसम गडबड भएर जहाज ढिलो भयो । साँझ ५ बजेतिर भने हाम्रो जहाज आइपुग्यो र पालैपालो हामी जहाजभित्र चढ्यौं ।

जहाजभित्र सबै शान्त र उत्सुक भएर बसेका थिए । एयरहोस्टेसले जहाज चढ्दा के गर्नुपर्छ भन्ने कुरा बुझाएको मलाई निकै राम्रो लाग्यो । उहाँले नै मीठो आवाजमा यात्राबारे जानकारी गराउनुहुने रहेछ । जहाज त्रिभुवन विमानस्थलमा आइपुग्दा झमक्कै साँझ परेको थियो । बाबाले केही समय विमानस्थलभित्र घुमाउनुभयो ।

विमानस्थल नजिकैको होटलमा झोला राखेर हामी बानेश्वर गयौं । त्यहाँको ठूलो भवनलाई मैले नजिकैबाट हेरें । त्यो भवन टीभी र पत्रिकामा पनि देखेको थिएँ । बाबाले भन्नुभएको, ‘अहिलेको हाम्रो संविधान यही भवनबाट जारी भएको हो ।’

त्यस भवनलाई वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भनिन्छ । उताबाट फर्किंदा बाबाले पढ्नु भएको सिनामंगलको काठमाडौं मेडिकल कलेज पनि घुमाउनुभयो । पहिलो दिन त्रिभुवन विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र काठमाडौं मेडिकल कलेज घुमेर सुतियो ।

दोस्रो दिन धेरै घुम्नु छ भनेर बाबाले ५ बजे नै उठाउनुभयो । जाडो थियो, उठ्ने मन थिएन । तर घुम्ने रहर थियो ।

हतारहतार उठेर पशुपतिनाथ जाने भनेर बिहानै नुहायौं । पशुपति मन्दिर बाहिर हामीले फूल, प्रसाद किनेर मन्दिरको गेटभित्र छिर्‍यौं । त्यहाँ जुत्ता लगाउन नपाइने रहेछ । बाहिर नै जुत्ता राखेर खाली खुट्टा हामीले पशुपतिनाथको मन्दिरमा पूजा गर्‍यौं ।

मन्दिरमा चार ढोका चाँदीका र गजुर सुनले बनेको रहेछ । १०८ वटा शिवलिंग घुम्ने पनि छ । त्यहाँ धेरै परेवा रहेछन् । मैले एकछिन परेवाहरु उडाएर रमाएँ ।

पशुपतिबाट गैह्रीधारा तुसालमार्ग हुँदै हामी त्रिगजुर शिवालय पुग्यौं । त्यहाँ नयाँ तरिकाको मन्दिर रहेछ त्रिगजुर शिवालय । सुनौलो रंगको विशाल वसाह रहेछ र त्यसभित्र पो मन्दिर रहेछ । त्यहाँबाट मैजुबहाल हुँदै चावहिल गयौं । चावहिलबाट मोटर चढेर चिडियाखाना गइयो ।

चिडियाखानामा प्रवेश शुल्क लाग्नेरहेछ । हामीले पनि टिकट लिएर भित्र पस्यौं । काठमाडौंका विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई चिडियाखाना घुमाएको देखें । चिडियाखाना पस्नासाथ मैले गोही देखें । त्यसपछि नीलगाई, जरायो, बाह्रसिंगेको छुट्टाछुट्टै बस्ने ठाउँ रहेछ । जंगलमा त सँगै बसे पनि यहाँ चाहिं झगडा हुन्छ भनेर छुट्याएको होला । सिंह थिएन तर बाघ हेर्न पायौं । बाघ मन पर्‍यो । जलगैंडा, गैंडालाई नजिकबाट हेर्न पाएँ । सानादेखि ठूला चरा अष्ट्रिजसम्म हेर्न पाए । मयुर, कालिज र साना साना रंगीन चराहरु साह्रै राम्रा थिए ।

जावलाखेलको चिडियाखानापछि हामी सिंहदरबार गयौं । बाटोमा कुपण्डोल र थापाथलीको बीचमा बागमती रहेछ । बागमती त पशुपतिमा पनि थियो तर कुपण्डोलमा बागमतीले दुई जिल्लाको सीमाना छुट्याएको रहेछ । बागमती नतरेसम्म कुपण्डोल ललितपुर जिल्ला हो भने बागमती तरेर थापाथली चाहिं काठमाडौं जिल्ला । सिंहदरबार साँच्चिकै विशाल रहेछ । तर सबैलाई भित्र जान नदिने रहेछन् ।

बाहिरबाट नै सिंहदरबार हेरेर हिंड्दै भद्रकाली हुँदै धरहरा पुगें । अहिलेको नयाँ धरहरा नचढे पनि घुमेर चाइना बजार पुुगियो । चाइना बजारमा खेलौना पसलमा ड्रोन किनें । बजार बाहिर चकलेट किने अनि सँगै टाँसिएको काठमाडौं महानगरपालिकाको कार्यालय पुगें । पुरानो भवनमा महानगरको कार्यालय रहेछ र त्यहीं मेयर बालेन साहको कार्यालय पनि रहेछ ।

महानगरपालिकाबाट सैनिक ब्यारेक हेर्दै, ठूलो खुल्ला मैदान टुँडिखेलको छेउबाट हिंड्दै न्युरोड गेट र वीर अस्पताल घुम्दै रत्नपार्क पुगियो । रोडमुनि सब-वे रहेछ । आकाशे पुल त धेरैवटा देखें तर सब-वे देखेको थिइनँ । त्यसैले सब-वे बाट भोटाहिटी पुगें । भोटाहिटीमा निकै भीडभाड थियो । फेरि आकाशे पुलबाट रत्नपार्कतिर आउँदा दरबार हाईस्कुल, रानीपोखरी नियालें । घण्टाघर, त्रिचन्द्र कलेज, राष्ट्रियसभा गृह, भृकुटीमण्डप घुम्दै पुतलीसडक अनि कमलपोखरी हुँदै फेरि होटल पुगियो । साँझ ५ बजिसकेको थियो ।

६ बजे हाम्रो फर्किने जहाज भएकाले झोला बोकेर त्रिभुवन विमानस्थलमा पुग्यौं । यहाँ झन् बढी चेकजाच गर्दो रहेछ । फर्किंदा पनि विमानस्थलमा निकै कुर्नुपर्‍यो । जहाज कुरेर बस्दा बाबाले कुन-कुन ठाउँ घुमेको सोध्नुभयो । मैले औंलामा गन्दा त एक दिनमा काठमाडौंका २५ ठाउँ पो घुमेको रहेछु ।

(विप्लक विराटनगरस्थित लिलिपुट प्रिमियर एलिमेन्टिरी स्कुलमा कक्षा ५ मा अध्ययन गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?