+
+

निजी क्षेत्र र आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न सरकारसँग ढकालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १५:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

नवलपुरको गैंडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने गरेको भनिए पनि व्यवहारमा निजी क्षेत्रले महसुस गर्न नसकेको उनले बताए ।

मुलुकको औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइएको उनले बताए ।

“आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न हामीले भनेका थियौं । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौं भनेर सल्लाह पनि दिएका थियौं । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्‍यो । त्यसले गर्दा अहिले राजस्वमा ठूलो असर गरेको छ’ उनले भने ।

हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न उनले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिए ।

बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने बताए ।

‘केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नु परेको थियो, उनले भने, ‘अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौं भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?