+
+
पुस्तक समीक्षा :

बेनामे जर्नेलमा मेटिएको नाम

सीमा मिचिएको कथा निश्चय नै काठमाडौंलाई दुख्छ । तर सीमामै बसेर जीवन भोग्नेलाई भने काठमाडौंले शंकालु नजरले हेर्छ जो असली सिमाना रक्षक हो । सबभन्दा बढी सिमानाको दुःख र पीडा उसले नै भोग्छ । राजुबाबुले यसरी कथित राष्ट्रवादको भाष्यमाथि प्रहार गरेका छन् ।

भानु बोखिम भानु बोखिम
२०७९ फागुन २७ गते ८:२६

‘नाममा के छ र ?’ विलियम शेक्सपियरले कुनै समय सोधेका थिए वा भनेका थिए । उनले कुनै पनि वस्तु वा चिजको गुण र विशेषताको महत्व देखाउँदा नामलाई गौण राख्न खोजेका थिए । तर शेक्सपियरले बाँचेको समयपछिको कति घटनाक्रमले नामको महत्व दर्शाएको छ । कुनै पनि गुण वा विशेषता केमा र कसमा अन्तरनिहित छ भन्नको लागि पनि नाम लिनै पर्छ । किनभने नाम फगत नाम मात्र हैन, गुण र विशेषता झल्काउने बिम्व पनि हो जो शेक्सपियरपछिको समयमा लेखिएका अनेकन् साहित्यले पनि प्रमाणित गरेका छन् ।

नाम हराउनु भनेको नामसँगै व्यक्तिको पहिचान र गुण पनि हराउनु हो । राजुबाबु श्रेष्ठद्वारा लिखित ‘बेनामे जर्नेल’ कथा संग्रहमा समाहित शीर्ष कथाले बोकेको आशय यही हो । युद्धको पृष्ठभूमिमा चित्रित कथाले कसैको जीवनको अन्त्य गरेको छ । कसैको प्रेमलाई अस्वीकार गरेेको वा असफल बनाएको छ । अनि कसैका आफन्त वा सहारालाई छिनेको छ । समग्रमा एक मानिसको जीवनको अस्तित्वसँग जोडिने नामलाई बेनाम गराएको छ । बेनाम हुनु भनेको नाम नै नहुनु हैन । तर त्यो नामको चर्चा र प्रभाव हराउँदै जानु भने अवश्य हो । त्यो नामसँग जोडिएको जीवनको अस्तित्व नरहनु पनि हो । कसैको सीप, गुण र क्षमताको प्रभावले अनुहार विशेषको झल्को मात्र दिंदैन, एउटा खास नाम पनि बोकेर हिंड्छ । तर युद्धले ती नामको प्रभावलाई निष्काम गराइदिनसक्छ । उस्तै परे जीवन वा चोला नै उठाइदिनसक्छ । यस्तै घटनाक्रमको सार बोकेको छ, बेनामे जर्नेलले ।

युद्ध र प्रेम राजबाबु श्रेष्ठको कथा लेखनको सिग्नेचर हो अर्थात् उनको प्रमुख चिनारी । राजुबाबु युद्ध र त्यसले मानिसको जीवनमा उत्पन्न समस्या र संवेगलाई मिहीन ढंगले केलाउन सक्छन् । उनका धेरै कथा नेपाली समाज र परिवेशकै हुन्छन् । तर युद्धले जर्जर विदेश पृष्ठभूमिमा लेखिएको राजुबाबुको कथाले प्रेम र युद्धको चित्रण यति गहिराइमा गर्छ कि त्यो कथा पढ्ने प्रेमिल हृदय नराम्ररी गाँठो पर्न सक्छ । ‘मारिलोसेनोको जून’मा उनले युद्धको कारण देश विभाजन भएर छुट्न पुगेका प्रेमी-प्रेमिकाको कथा मार्फत मानवीय संवेदना प्रकट गरेका थिए । यस्तै कथामा रुचि राख्नेको लागि बेनामे जर्नेल गजबको कथा हो । जहाँ एउटा देश अर्काे देशको कब्जामा पर्दै गर्दा रक्षार्थ खटिएको जर्नेलको मृत्यु हुन्छ । उसको जवान छोरीले पहिले नै प्रेमी गुमाइसकेकी हुन्छे । त्यसपछि आफ्नो देशको माटो र बुबा पनि गुमाउन पुग्छे ।

भनिन्छ कि युद्ध एउटा व्यर्थको खेल हो, जसमा मानवीयताको हिसाबले हेर्दा उपलब्धिहरू शून्य हुन्छन् । भलै राष्ट्रवादको आँखाले हेर्दा यो मानिसको स्वाभिमान र देशको प्रतिष्ठासँग जोडिएला । तर युद्धले ध्वस्त पारेको संरचना तथा भूमि, यसमा गुमेका जीवन, यसले वातावरणमा पारेका असर तथा आर्थिक भारको हिसाबमा युद्ध कसैको हितमा हुन्न । युद्ध चलिरहन्छ अनि युद्धले कसैलाई खुशी र कसैलाई पीडा दिएर जान्छ । बेनामे जर्नेल युद्धको कारण पीडा भोग्नेहरूको कथा हो ।

बेनामे जर्नेलमा केही कथा युद्धको पृष्ठभूमिमा लेखिएका छन् । तर धेरै कथा नेपाली परिवेशकै छन् । र विगतको तुलनामा राजुबाबु श्रेष्ठले संग्रहमा आफ्नो विषयवस्तुको दायरा बढाएका छन् । नेपाली परिवेशभित्र पनि यसपालि तराई र मधेशको कथालाई ठाउँ दिएका छन् ।

संग्रहको पहिलो कथा जंगे पिलरले काठमाडौंमा स्थापित राष्ट्रवादको भाष्यमाथि प्रहार गर्छ । अधिकांशले खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भन्छन् । तर यथार्थ यो हो कि खाली अचानोमा खुकुरी कहिल्यै बजि्रंदैन । त्यसमाथि काट्नको लागि कुनै न कुनै वस्तु राखिएकै हुन्छ । र अचानोले भन्दा धेरै गुणा बढी प्रहार अचानोमाथि भएको वस्तुले खेप्नुपर्छ । सीमा मिचिएको कथा निश्चय नै काठमाडौंलाई दुख्छ । तर सीमामै बसेर जीवन भोग्नेलाई भने काठमाडौंले शंकालु नजरले हेर्छ जो असली सिमाना रक्षक हो । सबभन्दा बढी सिमानाको दुःख र पीडा उसले नै भोग्छ । यसरी राजुबाबुले कथित राष्ट्रवादको भाष्यमाथि प्रहार गरेका छन् ।

मधेश तथा तराईको वातावरण त गर्मी छ नै, तर यहाँको बन्द समाज महिलाको लागि सहज छैन । महिलाको लागि सपना र चाहनालाई फुल्ने र फक्राउने वातावरण छैन । बन्द समाजमा लोकतान्त्रिक संस्कार वा वैयक्तिक स्वतन्त्रता कमै हुन्छ । परिवारमा घरमुलीको हैकम चल्छ । यो सिंगो सामाजिक संरचना हो, जहाँ सबैको सोच एक समान हुन्छन् । एकाध अपवाद होलान्, तर अधिकांश संरचनाले निर्माण गरेको भाष्य र दृष्टिकोणबाट प्रभावमा हुन्छन् । परिणामतः महिला नै महिलाको चाहनालाई बुझ्न सक्दैनन् । समाजमा स्थापित अभ्यास र संस्कारबाट हेरेर महिलाले माहिला माथि शोषण गर्छन् । एकाध पुरुषले महिलाको हित सोच्नु बेग्लै कुरा हो, तर अधिकांश पुरुषको सोच समाजको संरचनाबाटै प्रभावित हुन्छ । यस्तो एकाध महिला विद्रोहको आवाज बोल्छन्, तर धेरैले आफ्नो नियतिलाई चुनौती दिन सक्दैनन् । तर विद्रोह गर्ने महिला हुन् वा नियतिलाई आत्मसात् गर्ने, दुवैको जीवन सुनिश्चित र सहज छैन ।

‘छोरीको बोझ’, ‘बिहे नभएको लोग्ने’ र ‘बोर्डर पार’ तराईको पृष्ठभूमिमा लेखिएका कथा हुन् । यसले तराईको गरिबी र बन्द समाजमा पिल्सिएको महिलाको जीवनलाई चित्रण गरिएको छ । मानवीय संवेदनाको दृष्टिकोणबाट हेर्दा संग्रहमा समाहित अन्य कथा पनि अब्बल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?