+

के हुन्छ, जब लामो समय शौचालय बस्छौं

२०७९ चैत  १४ गते ८:५० २०७९ चैत १४ गते ८:५०
के हुन्छ, जब लामो समय शौचालय बस्छौं

अहिले हामी शौचालय जानुअघि खल्तीमा मोबाइल छ वा छैन भनेर छामछुम गर्छौं । यस्तो लाग्छ कि शौचालय जाँदा मोबाइल अनिवार्य बोक्नुपर्छ । मोबाइल बोकेर शौचालय पसेका हामी लामो समय त्यही बिताइदिन्छौं ।

यसरी शौचालयमा लामो समय बस्दा मलद्वारमा चाप अर्थात् दबाब परेर रगतको नसा र ‘कनेक्टिभ टिस्यु प्रोल्याप्स’ हुन्छ । यसैको कारण पायल्स हुने सम्भावना हुन्छ । पायल्स भएको व्यक्ति शौचालयमा धेरै समय बस्यो भने रगत आउने र समस्या झन् बढ्ने हुन सक्छ ।

खासमा शौचालयमा कति समय बस्ने 

शौचालयमा यति नै समय बस्ने भनेर तोक्न त मिल्दैन । किनकि कब्जियत हुने वा दिसा राम्ररी नहुनेहरूलाई धेरै समय शौचालयमा बस्नुपर्ने हुन्छ । यस्ता समस्या नभएको व्यक्तिलाई कम समय लाग्न सक्छ । त्यसैले दिसा भइसकेपछि पनि लामो समय शौचालयमा बस्नु भने हुँदैन । दिसा भइसकेपछि शौचालयबाट निस्कनुपर्छ ।

कसैको शौचालयमा लामो समय बिताउने बानी हुन्छ भने कसैलाई बाध्यता पनि हुन्छ । कब्जियत र दिसा राम्रो नहुनेहरूले शौचालयमा लामो समय बिताउँछन् । तर शौच हतारमा गर्ने बानी भने खासै धेरै व्यक्तिको हुँदैन । किनकि दिसा लागेपछि नै शौचालय जाने हो र पेट सफा नभएसम्म उठिंदैन ।

शौच कुन समयमा गर्नु राम्रो ?

शौचको लागि उपयुक्त समय भनेको बिहान हो । बिहान ५ देखि ७ बजेसम्मको समय शौचको लागि उपयुक्त हुन्छ । एउटै समयमा शौचको बानी बसाउनुपर्छ । शौचको समय पछि सार्ने बानी गर्नु हुँदैन । शौचको समय पछि सार्ने बानीले कब्जियतको समस्या ल्याउन सक्छ ।

दैनिक एकदेखि दुईपटक शौच हुनु सामान्य हो । तीनपटकभन्दा बढी भएको अवस्थामा झाडापखाला, आउँ जस्ता समस्या भएको हुन सक्छ ।

शौच गर्दा गर्न नहुने गल्ती

-लामो समय शौचालयमा बस्दा मलद्वारमा चाप परेर पायल्सको समस्या हुन सक्छ । त्यसैले लामो समय शौचालयमा नबस्ने ।

-शौच रोक्नु हुँदैन । शौच रोक्दा कब्जियतको समस्या हुन सक्छ ।

-शौचालयमा मोबाइल बोकेर जानु हुँदैन । मोबाइल बोकेर जाँदा मोबाइल चलाएर लामो समय शौचालयमा बिताइन्छ ।

-शौच कहिले कुन समयमा कहिले कुन समयमा गर्ने बानी बनाउनु हुँदैन । सकेसम्म दैनिक एउटै समयमा दिसा गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ ।

शौचालयमा लामो समय बस्नबाट बच्ने उपाय

-फाइबरयुक्त खानेकुरा, हरियो सागपात र फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । जसले गर्दा कब्जियतको समस्या हुँदैन र शैचालयमा धेरै समय बस्नु पर्दैन ।

-दिनमा दुईदेखि तीन लिटर पानी पिउने

-नियमित व्यायाम गर्ने

-प्यानवाला शौचालयमा भन्दा कोमोडवाला शौचालयमा लामो समय बसेको पाइन्छ । प्यान सिटमा बस्दा हाम्रो शरीरमा कोलोनबाट मल पूर्ण रूपमा हटाउन मद्दत गर्छ । तर कोमोडमा दिसा निस्कन अलि गाह्रो हुन्छ, त्यसैले कोमोडमा बस्दा खुट्टामा टुल राखेर बस्नुपर्छ जसले गर्दा शरीर सिधा हुन्छ र दिसा अलि छिटो र पूर्ण रुपमा निस्कन्छ ।

(ग्यास्ट्रोइनटेस्टिनल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. शाह पाटन र वयोधा अस्पतालमा कार्यरत छन् । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट जेनेरल सर्जरीमा एमएस र चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट ग्यास्ट्रोइनटेस्टिनल तथा एचपीबीमा  एमसीएच गरेका छन् । साथै टाटामेमोरियल अस्पताल, मुम्बईबाट ग्यास्ट्रोइनटेस्टिनल र एचबीपी क्यान्सर सर्जरीमा तालिम समेत लिएका छन् । डा. शाहसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. सुरेन्द्र शाह शौचालय
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय