+
+

राज्यको ओरालो यात्रा

समाज कामचोर र अनुशासनहीन भएपछि महत्वाकांक्षाहीन हुन्छ । यो महत्वाकांक्षाहीन समाजसँग नोबेल पुरस्कार जित्ने, चन्द्रमा र मङ्गल ग्रहमा पुग्ने सपना पनि छैन । ती कुरा त परैका भए, यो समाजसँग आफ्नै आँखा अगाडिको चरम कुशासन र नाङ्गो भ्रष्टाचारका विरुद्ध विद्रोह गर्ने आँट छैन, आफैंले तिरेको करले चल्ने सार्वजनिक र संवैधानिक निकायहरूमा हुने भागबण्डाको लुटतन्त्रको विरोधमा एक शब्द चुइँक्क गर्न सक्दैन ।

वसन्त गौतम वसन्त गौतम
२०७९ चैत १८ गते ८:३७

२०४७ सालयता यो देश कहिले यो रङका, कहिले त्यो रङका आफूलाई ‘समाजवादी’ भन्नेहरूद्वारा शासित हुँदै आएको छ । संविधानमै ‘समाजवाद उन्मुख’ लेखिएको पनि सात वर्ष बितिसक्यो, तर समाजवादको एउटा प्रमुख मान्यता ‘सार्वजनिक सेवामा राज्यको बलियो उपस्थिति’लाई आधार मानेर हेर्दा यो देश कुनै हालतमा समाजवाद उन्मुख लाग्दैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी उपस्थिति र स्तर निरन्तर खस्किंदै गइरहेको छ र यी क्षेत्र कुनै कट्टर पूँजीवादी देशमा समेत नदेखिने तहमा निजी क्षेत्रलाई सुम्पिने क्रम जारी छ, एकपछि अर्का सरकारहरूबाट ।

एउटा आम नेपाली परिवारका लागि छोराछोरी पढाउनु भनेको आफ्नो सम्पूर्ण कमाइ खन्याउनु हो । कुनै असाध्यै रोग लागेको छ भने महँगा ठाउँमा हुनेले घर-खेत बेचेर उपचार गर्ने, नहुनेले यत्तिकै काल कुर्ने बाहेक उपाय छैन । राज्यले वर्षैपिच्छे ‘उपचार’का नाममा करोडौं बाँडेर कथित ‘नेता’हरूका लागि चाहिं ‘समाजवाद’ सुनिश्चित गरिदिएको छ ।
यातायातको त झन् कुरै नगरे हुन्छ, शतप्रतिशत यातायात क्षेत्र निजी क्षेत्रलाई सुम्पेर राज्य निदाएको छ । चर्का पूँजीवादी देशमा पनि कम्तीमा महानगर र नगरहरूसँग आफ्नै यातायात सेवा संरचनाहरू हुन्छन् तर यो पर्‍यो लेख्ने एकथरी, बोल्ने अर्कोथरी र गर्ने अर्कोथरी नेपाली राज्य !

तमासा पनि अनेक देखिन्छन् ! संविधानमा आफूलाई ‘समाजवाद उन्मुख’ लेख्ने यो राज्य ‘गाउँ-गाउँमा सिंहदरबार’ पुर्‍याएको ‘….न्यानो’मा पनि रमाएको छ, तर गाउँपालिका अध्यक्ष अर्थात् गाउँ-गाउँको सिंहदरबारको एउटा नाइके जातिपिच्छे छुट्टै लाइन लगाएर भोजको आयोजना गर्छ । राज्य नदेखेझैं गर्छ, प्रहरी-प्रशासनका हाकिमहरू त्यही भोज डकारेर फर्किन्छन् र समाज ‘ठिकै त हो नि !’ भनेर रमितामा रमाउँछ ।

यही समाजवाद उन्मुख राज्यमा, राज्यको लगानीमा बनेको किरियापुत्री भवनमा दलितलाई किरिया बस्न दिइँदैन । अझ, त्यो दलित परिवार देशको एउटा कम्युनिष्ट पार्टीको समर्थक-कार्यकर्ता परिवार हो र मृतकका दाजु त जिल्ला नेता नै हुन् । विभेदकारीलाई जोगाउन फेरि त्यही दलका केन्द्रीय नेता समेत लाग्छन् । विडम्बना !

यस्ता हर्कतलाई ठिक ठहर्‍याउन लाठी-खुकुरीमै उत्रने समाज छ । फेरि यही समाजलाई देशमा क्रिश्चियन बढेकोे ‘चिन्ता’ पनि छ । कुनै समाजको धर्ममा आफ्नो हैसियत घरपालुवा जनावरको भन्दा तल्लो छ भने त्यही कथित ‘धर्म’ समातेर किन कोही बसिरहन्छ ? दलितहरूले त्यस्तो समाजको त्यस्तो कथित धर्मबाट उम्किन खोज्नु स्वाभाविक हो । आफूलाई उच्च जातका भन्नेहरूले एकपटक दलितको ठाउँमा आफूलाई राखेर हेरून् ।

दलितहरू क्रिश्चियन बन्दैमा उनीहरूमाथिका विभेद हट्लान् नहट्लान् त्यो भिन्दै बहसको विषय हो तर उनीहरू यदि तीव्र गतिमा क्रिश्चियन बन्दै गइरहेका छन् भने त्यसको दोषी उनीहरू होइनन् । दोष केवल जातिवादी अहंकारी समाजको हो र यही जातिवादी अहंकारले खडा गरेको विभेद र निराशाले क्रिश्चियन मिसनरीलाई सक्रिय हुने अवसर दिएको हो ।

जातीय विभेदको अन्त्य हुने हो भने धर्म परिवर्तन यत्तिकै रोकिएर जानेछ, किनभने समाजमा अरूसँग समान हैसियतमा बाँच्न पाएको मान्छे यस्ता कुरामा अल्मलिएर बस्दैन, ऊ आफ्नो जीवनका अरू पक्षलाई उन्नत बनाउन पूरै केन्द्रित हुन्छ ।

समाज जातीय विभेदलाई सीधै ठिक भन्ने आँट गर्दैन तर घुमाएर भएपनि भनिछाड्छ । उसले ‘घुमाएर’ दिने तर्कचाहिं ‘विभेद कहाँ हुँदैन र !’ र ‘विस्तारै आफैं हट्दै जान्छ !’ भन्ने हुन्छ, तर विभेद अन्त पनि हुन्छ भन्ने नाममा नेपालमा पनि हुनु ठिक हो र वा ‘विस्तारै हट्दै जाने’ आशामा नेपालका उत्पीडितहरूले अझै कति दशक र शताब्दी कुर्नुपर्ने हो भनेर सोध्यो भने उसँग कुनै जवाफ हुँदैन ।

जातीय विभेद वा महिलामाथि हुने हिंसाका घटनाहरू सञ्चारमाध्यममा आएपछि समाज ‘दलित अधिकारकर्मीहरू कता गए ?’, ‘महिला अधिकारकर्मीहरू कता हराए ?’ भनेर चिच्याउँछ दुई-चार पटक र आफूचाहिं केही नगरी रमिता हेरेर बस्छ ।

‘महिला अधिकारकर्मी’ वा ‘दलित अधिकारकर्मी’ भनेर राज्यले वा कसैले कसैलाई तोकेको छैन, यो त समग्र समाजलेे नै लिनुपर्ने अभिभारा हो तर समाज आफू केही नगरी विभेद हटाउने जिम्मा यस्तै अमूर्त ‘अधिकारकर्मी’ हरूलाई दिएर रमिता हेर्न पल्केको छ ।

र, जब केही इमानदार मान्छेहरू त्यस्ता विभेद र हिंसाका बारेमा बोल्न, लेख्न वा अभियान उठाउन थाल्छन् तब उनीहरूलाई ‘डलरवादी’, ‘डलरे’, ‘फण्डित’ आदि भन्दै गाली गर्छ यही समाज । एकाध केही होलान् सामाजिक विभेदका मुद्दालाई डलर कमाउने माध्यम बनाउने तर धेरै मान्छे आफ्नै अन्तरात्माको आवाज सुनेर, आफ्नो परिवारलाई दिनुपर्ने समय काटेर समय निकालेर यो अभियानमा लागेका हुन् ।

फेरि कुरै गर्ने हो भने पूरै देश अर्काले दिएको डलरले चलिरहेको स्थितिमा सबै नेपाली ‘डलरे’ नै हुन्, त्यसकारण कुनै व्यक्ति वा समूहलाई ‘डलरे’ भनिरहनुको कुनै तुक छैन ।

महिलामाथि गरिने विभेदलाई ठिक ठहर्‍याउन त परम्परा र संस्कृति नामका तर्कहरू मात्र होइन समाज एक से एक ‘वैज्ञानिक’ तर्कहरू आविष्कार गरिदिन्छ । समाजसँग छाउपडीको ‘वैज्ञानिक’ कारण छ, स्वस्थानी कथामा सत्तरी वर्षको बूढोले सात वर्षकी बालिकासँग गरेको बिहेलाई ‘ठिक’ देखाउने ‘वैज्ञानिक’ तर्क छ र आइपरेमा यसले सती प्रथाको पनि ‘वैज्ञानिक’ कारण दिन्छ ।

लोग्ने-स्वास्नीका घरझगडादेखि पारिवारिक विखण्डन हुँदै समाजका हर बेथिति महिलाकै कारण हो भन्ने कुरामा समाज ‘स्पष्ट’ छ, त्यसैले वैदेशिक रोजगारमा गएर उतै अर्को घरजम गरेर यताकी श्रीमती र छोराछोरीलाई बिचल्लीमा पार्ने धेरै लोग्नेमान्छे देख्दैन यसले तर यहाँ घटेका १-२ घटनालाई लिएर महिलाका विरुद्ध गीत बनाउँछ र फिल्ममा दृश्यहरू राख्छ ! विश्वविद्यालयको पदाधिकारीले कार्यालयको कुर्सीमा बसेर आफ्नै कर्मचारीमाथि यौन दुव्र्यवहार गर्दा ‘यौन दुव्र्यवहार होइन, यौनक्रीडा होला’ भनिदिन्छ र हुँदा-हुँदा आफ्नै श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा लिएर हिंडेको मान्छेलाई ‘… स्वास्नीले अति गरेर त त्यसो गर्‍यो होला नि !’ सम्म भनिदिन्छ ।

समाज भित्र-भित्र हीनताबोध र कुण्ठाले ग्रस्त छ । आफ्नो हीनताबोध र कुण्ठा पोख्न बलात्कृत नाबालिकाहरूलाई चरम अश्लील गाली गरेर ‘पुरुषार्थ’ देखाउँछ समाज र बलात्कारीहरूको अबिर-जात्रा गरेर स्खलित हुन्छ

अनि बलात्कार, चाहे त्यो नाबालिकमाथि भएको किन नहोस् त्यसमा महिलाकै दोष हुनु त हाम्रो समाजको अकाट्य निष्कर्ष हो । महिला हाँस्नु बलात्कारलाई निम्तो दिनु हो, छोरीहरू हिंड्नु-डुल्नु र कुनै पुरुषसँग घुम्न जानु बलात्कारको अनुमति दिनु हो ! साँझ परेपछि शहरका सडकमा छोरीचेलीहरू हिंड्नुहुँदैन, ‘ओइ जान्छेस् …? तेरो रेट कति हो … ?’ भनेर सोध्नेहरू बग्रेल्ती निक्लिन्छन् ।

यस्तो तालिवानी सोचको समाजले अहिलेसम्म किन महिलालाई बुर्का ओढाएको छैन, त्यो चाहिं अचम्मको कुरा हो ।

समाज अराजक, अनुशासनहीन र भ्रष्ट छ । बिहे भोजको लाइनदेखि अस्पतालको लाइनसम्म मिचेर ‘बहादुरी’ देखाउनुपर्छ समाजलाई । नियम-कानुन भनेको ‘अरूले मान्नुपर्ने, मैले मान्नु नपर्ने’ चीज हो भन्ने कुरामा एकमत छ हाम्रो समाज ।

नेपालमा केही वर्ष काम गरेर जापान फर्केका एक जापानी साथीलाई सोधेको थिएँ, ‘नेपाल भनेपछि के सम्भिmनुहुन्छ ?’ उनले हाँसेर जवाफ दिएका थिए, ‘सडकमा नाला खनिरहेको एउटा मान्छे र कम्मरमा हात लगाएर हेरिरहेका बीस जनाको दृश्य आउँछ मेरो दिमागमा ।’ हाम्रो समाजको योभन्दा सटिक तस्बिर मैले अरू सुनेको, पढेको छैन ।

आफू केही नगरी केवल कम्मरमा हात लगाएर रमिता हेर्ने समाजको अर्को ‘पेशा’चाहिं अरूले केही गरे हजार खोट निकाल्ने हो । अचेल यसले खोट निकाल्न महावीर पुनका काम भेट्टाएको छ । देशभित्र प्राविधिक अनुसन्धान र विकास होस्, केही समाज उपयोगी आविष्कार हुन सकोस् भनेर उहाँले ‘राष्ट्रिय आविष्कार केन्द्र’ सञ्चालन गरिरहनुभएको छ तर हरेक दिन जसो ‘आरन चलाएर आविष्कार केन्द्र भन्ने !’ वा ‘आविष्कार भनेको के हो थाहा छ ? त्यसै आविष्कार केन्द्र भन्न पाइन्छ ?’ भनेर उहाँमाथि खिसीटिउरी र अपमान गरिरहने ठूलो जमात बनेको छ अहिले ।

के आविष्कार जादूको छडीबाट निक्लने चिज हो र छु मन्तर गरेर फुत्त निकाल्न ? अध्ययन अनुसन्धानको समय हुँदैन कुनै आविष्कार हुनुअघि ? समाजमा प्राविधिक अध्ययन-अनुसन्धानको संस्कृति राम्रोसँग स्थापित नभई कुनचाहिं समाजले छु मन्तरकै भरमा आविष्कार गरेको छ ?

सरकारले कृषि औजार कारखाना फेरि चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएपछि उहाँले त्यहाँ गरिरहेका कामलाई लिएर पनि यस्तै अपमानजनक अभिव्यक्तिहरू निरन्तर आइरहेका छन् ।

यो कृतघ्न समाज हो । एउटा म्यागासेसे पुरस्कार विजेता देशमा प्राविधिक क्रान्ति आओस् भनेर आफ्नो सम्पूर्ण क्षमता लगाएर खटिरहेको छ, युवापुस्तालाई पनि त्यसैगरी खट्न प्रेरित गरिरहेको छ, तर हाम्रो कामचोर समाजलाई त्यो पच्दैन !

लद्दाखमा बसेर त्यस्तै काम गरिरहेका अर्का म्यागासेसे पुरस्कार विजेता सोनाम वाङ्गचुक हाम्रा लागि ‘पूज्य’ हुने, उनका बारेका चलचित्र र लेख खोजीखोजी पढ्नुपर्ने तर महावीर पुनमाथि चाहिं यतिविधि खिसीटिउरी र अपमान किन ? ‘नजिकको तीर्थ हेलाँ’ मात्रै होइन यो, आफू पनि केही नगर्ने र अरूले गरेको पनि देखिनसहने समाजको कुण्ठा पनि हो । यो कुण्ठापूर्ण कमजोर मानसिकताबाट कहिले निक्लने यो समाज ?

केही समय पहिला डा. सन्दुक रुइत एउटा प्रतिष्ठित पुरस्कार ग्रहण गरेर स्वदेश फर्किनुभयो, लगभग गुमनाम जस्तै, तर त्यही बेला एउटा कैदी छुटेको खुशीमा समाज अबिर-जात्रा र जयजयकार गरिरहेको थियो । यति मात्रै भए पनि केही थिएन, तर केही दलीय ‘अनलाइन’हरू ‘सन्दुक रुइतले पाएभन्दा धेरैको पुरस्कार त अरूले पनि पाएका छन् !’ भनेर समेत कुण्ठा पोख्दै थिए । अनुसन्धानवृत्ति र पुरस्कारको भेद छुट्याउन नसक्नेहरूसँग यस्तै कुण्ठाबाहेक अरू हुने कुरा पनि भएन ।

समाज कामचोर र अनुशासनहीन भएपछि महत्वाकांक्षाहीन हुन्छ । यो महत्वाकांक्षाहीन समाजसँग नोबेल पुरस्कार जित्ने, चन्द्रमा र मङ्गल ग्रहमा पुग्ने सपना पनि छैन । ती कुरा त परैका भए, यो समाजसँग आफ्नै आँखा अगाडिको चरम कुशासन र नाङ्गो भ्रष्टाचारका विरुद्ध विद्रोह गर्ने आँट छैन, आफैंले तिरेको करले चल्ने सार्वजनिक र संवैधानिक निकायहरूमा हुने भागबण्डाको लुटतन्त्रको विरोधमा एक शब्द चुइँक्क गर्न सक्दैन । उल्टो कुनै एउटा नेताको पुच्छर बनेर अलि-अलि कमाइहाल्ने आशामा चाकडीमा लिप्त हुन्छ ।

समाज भित्र-भित्र हीनताबोध र कुण्ठाले ग्रस्त छ । आफ्नो हीनताबोध र कुण्ठा पोख्न बलात्कृत नाबालिकाहरूलाई चरम अश्लील गाली गरेर ‘पुरुषार्थ’ देखाउँछ समाज र बलात्कारीहरूको अबिर-जात्रा गरेर स्खलित हुन्छ ।

यस्तो समाजले छान्ने नेताहरू अर्थात् रोज्ने ‘राजनीति’ कस्तो होला ? त्यो राजनीतिले गिजोल्ने प्रशासन र सुरक्षा संयन्त्र कस्तो होला ? त्यही राजनीतिले ‘छान्ने’ न्यायालय कस्तो होला ? त्यही राजनीतिले कस्ता कुलपति र उपकुलपतिहरू छान्ला ?

यस्ता कमजोर अवयवहरूको गठजोड यो राज्यको हालत के हुन्छ र के छ, त्यो भनिरहनु पर्ला र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?