+
+
विचार :

आवश्यकता बुद्ध-अम्बेडकर र मार्क्सवादी सिद्धान्त संयोजनको

भारत लगायत ब्राम्हण धर्मद्वारा रचित जात व्यवस्था कायम रहेका मुलुकहरूमा वर्ण व्यवस्था र वर्ग विभाजन दुवै मुख्य समस्या हुन् । सबै गरिब अछूत छैनन् तर उत्पीडित समुदाय अधिकतम निमुखा छन् ।

मेखराज उदय मेखराज उदय
२०८० वैशाख २२ गते १२:०६

ई.पू. ४१५-४५५ मा गुप्तकालीन सम्राट कुमार गुप्त प्रथमले नालन्दा विश्वविद्यालयको स्थापना गरेका थिए । नालन्दा विश्वकै प्रसिद्ध प्राचीन बौद्ध विश्वविद्यालय हो । भारत विहारको पटनादेखि ९० किमि दूरी तथा बिहार शरीफदेखि १२ किमि दक्षिणमा पर्ने नालन्दा विश्वविद्यालयमा दश हजार आवासीय विद्यार्थी र तिनलाई अध्यापन गराउन दुई हजार शिक्षक व्यवस्था गरिएको थियो । नालन्दामा दिइने शिक्षा विश्वप्रसिद्ध थियो । त्यसैले भारतको अतिरिक्त चीन, कोरिया, मंगोलिया, जापान, तुर्की र फारस आदि देशबाट विद्यार्थी अध्ययनका लागि त्यहाँ आउने गदर्थे ।

सन् ११९३ मा बिहारका मुगल शासक इख्तियारुद्दीन मुहम्मद बख्तियार खिलजीले नालन्दा विश्वविद्यालयमा आगो लगाएर ध्वस्त बनाइदिए । विश्व विख्यात नालन्दा यति विशाल थियो कि, त्यहाँ रहेका पुस्तकहरूमा लगाइएको आगो तीन महिनासम्म जलिरह्यो । त्यति मात्रै होइन, त्यहाँका थुप्रै बौद्ध भिक्षु तथा धर्माचार्यहरूको निर्मम हत्या समेत गरियो । त्यसलगतै खिलजीद्वारा अन्य बौद्ध शासित राज्यहरूमाथि कब्जा जमाए ।

खिलजीले नालन्दा जलाएर ध्वस्त पार्नुको विशेष कारण थियो । इतिहास अनुसार एक समय बख्तियार खिलजी सिकिस्त बिरामी भए । उनको हकीम (बैद्य, चिकित्सक) हरूद्वारा पर्याप्त उपचार गराइयो तर सन्चो गराउन सकिएन । त्यसपछि उनलाई नालन्दा विश्वविद्यालयका आयुर्वेद विभाग प्रमुख आचार्य राहुल श्रीभद्रसँग उपचार गराउन सल्लाह दिइन्छ । जसअनुसार आचार्यलाई खिलजीको दरबारमा बोलाइन्छ र उपचारका निम्ति सर्त राखिन्छ ।

पहिलो, खिलजीलाई आयुर्वेदको कुनै औषधि नखुवाई निको बनाउनु पर्नेछ र दोस्रो, यदि आचार्य श्रीभद्रले खिलजीलाई सन्चो बनाउन सकेनन् भने उनको हत्या गरिनेछ । आचार्य श्रीभद्रले खिलजीको उक्त सर्त स्वीकार गर्छन् ।

अर्काे दिन आचार्यले कुरान लिएर दरबार पुग्छन् र खिलजीलाई भन्छन्, कुरानको यति पेजदेखि यति पेजसम्म नियमित पढ्नु, सन्चो हुनेछ । आचार्यको भनाई बमोजिम खिलजीले कुरान पढे र सन्चो पनि भए । कारण यस्तो थियो, आचार्यले कुरानको कुनै पृष्ठहरूमा दबाइको अदृश्य लेपन लगाइदिएका थिए । पाना पल्टाउने समयमा थुक लगाउँदा खिलजीको मुखमा दबाइ पर्‍यो र उक्त दबाइका कारण खिलजी सन्चो भए ।

बिरामी सन्चो भएपछि खिलजी खुशी हुनु सट्टा उल्टै रिसले क्रुद्ध भए । उनलाई यस कारण रिस उठ्यो कि उनको मुस्लिम हकीमहरू भन्दा भारतीय वैद्यको आयुर्वेद ज्ञान किन श्रेष्ठ छ ? बौद्ध धर्म आयुर्वेद महान हुनाको बदला लिन खिलजीले मूर्खतावश नालन्दा विश्वविद्यालयमा आगो लगाइदिए । आगोले ध्वस्त विश्व प्रसिद्ध प्राचीन नालन्दा बौद्ध विश्वविद्यालयको भग्नावशेष अद्यापि देख्न सकिन्छ ।

ई.पू. १८५ मा पुष्यमित्र शुंगले मौर्य सम्राट बृहद्रथको हत्या गरी स्वयंलाई राजा घोषणा गरे । अखण्ड भारत मगध राज्यको राजधानी पाटलीपुत्र (पटना)मा अखण्ड भारतका निर्माता चक्रवर्ती मौर्य सम्राट अशोकका वंशज बृहद्रथ दशौं न्यायप्रिय सम्राट थिए । बृहद्रथका सेनापति रहेका पुष्यमित्र शुंगले बौद्ध सम्राटको षड्यन्त्रपूर्वक हत्या गरी पटनादेखि श्यालकोटसम्मका सबै बौद्ध विहारहरू ध्वस्त गराए ।

साथै थुप्रै बौद्ध भिक्षुहरूको कत्लेआम गरे र बौद्धमार्गीहरूमाथि अत्याचार तथा दमन गर्दै जबर्जस्त मनुस्मृति मुताबिकको कानुन लागु गराए । मौर्य कालमा करिब लोपोन्मुख बन्दै गरेको ब्राम्हण धर्मको पुनर्जीवन दिलाए । उनले मगध राज्यको राजधानी पाटलीपुत्रबाट अयोध्या सारेको इतिहास छ । भारतीय विद्वान लेखक केदारनाथ पाण्डेय (पं. राहुल सांकृत्यायान) को चर्चित पुस्तक ‘वोल्गा से गंगा तक’मा दावा गर्छन्, पुष्यमित्र शुंग नै रामायण कथाका कथित श्रीराम हुन् । किनभने वाल्मिकी पुष्यमित्र शुंगका दरबारिया ब्राम्हण थिए, उनले शुंगको अगाडि बसेर रामायण लेखे । यो तर्क यसर्थ पनि स्वाभाविक छ, रामको जैविक, भौतिक र ऐतिहासिक कुनै पनि उपस्थितिको कुनै प्रमाण प्राप्त छैन । रामायणमा दुई ठाउँमा तथागत बुद्धलाई गालीको शब्द प्रयोग गरिएको कारण पनि यो बुद्धको जीवनकाल पश्चात लेखिएको प्रमाणित हुन्छ । त्यसैले सांकृत्यायान लगायत धेरै भारतीय इतिहासविद्, विश्लेषक तथा बौद्धिक वर्ग शुंग नै राम हुन् भन्ने तर्कमा एकमत एवं विश्वस्त छन् ।

वर्ण व्यवस्थाको इतिहास

जाति व्यवस्थाको सुरुवात विवाह प्रथाद्वारा हुने गर्दछ । एकै गोत्र र जाति (किन्स्) देखि बाहिर वा अन्यसँग गरिने विवाहलाई एक्सोगामी भनिन्छ । र, दोस्रो एउटै वर्ण, कबिलाभित्र गरिने विवाहलाई इन्डोगामी भनिन्छ । डा. भिमराव अम्बेडकरको शब्दमा, ‘इन्डोगामी प्रथालाई एक्सोगामी प्रथामाथि लाद्नुको अर्थ नै जातिको उत्पत्ति हो ।’ यी दुवै कबिला समाजका अंश हुन् । भारतमा जब खेतीपातीको युगको सुरुवात भयो तब विश्वका अन्य मुलुक–भूभागहरूमा जस्तै त्यहाँ पनि कबिला युगको अन्त्य हुन थाल्यो । विस्तारै गाउँहरू निर्माण हुन थाले र गाउँको अर्थ हुन्छ, समूह । अर्थात् कबिलाहरू टुटेर मानिसहरू आपसमा मिलेर गाउँहरूको संरचना निर्माण गरी बस्न थाले । भारतमा कबिला टुट्ने र गाउँहरू निर्माण हुने प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुन पाएन ।

कबिलाको अंश बाँकी नै रहेको तथा गाउँहरू बन्दै गरेको अवस्थामा एक नयाँ परिघटनाको सुरुवात हुन पुग्यो, जसलाई वर्ण व्यवस्था भनिन्छ । त्यसैले भारतीय समाजमा वर्ण व्यवस्थाले वर्ग निर्माण गर्न पुग्यो । मार्क्सले कम्युनिस्ट घोषणापत्रमा भने जस्तो सम्पूर्ण मानव इतिहास वर्ग संघर्षले बनेको छ, भन्नु यहाँका निम्ति गलत र अपूर्ण साबित हुन्छ ।

वर्ण व्यवस्थाको सार हो, वर्ण (रङ) का आधारमा गाउँका मानिसहरूलाई विभाजन गरिनु । एक गाउँको व्यवस्था देखेर अन्य गाउँहरूमा पनि सोही बमोजिम विभाजन गर्दै गए । वर्ण व्यवस्था छूत, अछूतको बिरामी जस्तै भारतभरी सर्वव्यापक बन्न पुग्यो । त्यसको खास कारण आप्रवासी आर्यहरूले यहाँका मूलवासी, आदिवासी समुदायबाट आफ्नो वर्ण बचाउनका लागि वर्ण व्यवस्थाको निर्माण गरेका थिए । तथापि दुई समूह, आर्यहरू (आप्रवासी) र मूलवासीको मात्रै उपस्थिति रहेको भए पनि उनीहरूले शासनका लागि चार वर्णको निर्माण गरे । सुरुवातमा भएकै अर्थात् बनिबनाउ समाजलाई नै विभाजन गरी चार वर्ण बनाइएको हो । जस्तैः गाउँका पंडे, पुजारी, धर्मगुरु आदिलाई एक वर्णमा राखिदिए र उसलाई सेतो रङको निशानी दिइयो । अर्काे कबिला लडाकु किसिमका सदस्य थिए, उनीहरूलाई रातो रङको निशानी, त्यस्तै अर्काे कबिला अन्नबाली, खेतीपातीको काममा माहिर थिए, उनीहरूलाई पहेलो रङको निशानी दिइयो ।

अन्त्यमा जो बाँकी बचेका छोटा मोटा काम गर्नेवाला कबिला थिए उनीहरूलाई नीलो रङको निशानी दिइयो । यसरी ब्राम्हण, क्षत्रीय, वैश्य र शूद्र चार वर्णमा गाउँका कबिलाहरूलाई विभाजन गरी सोही बमोजिमका रङहरू पनि निशानी स्वरूप दिइयो । स्मरणीय छ, त्यस बखत वर्ण अनुसार विभेद र छुवाछूत व्यवहारको गुञ्जायस थिएन ।

कालक्रमसँगै वर्ण जातिमा बदलियो अर्थात् वर्ण जन्मको आधारमा निर्धारण हुन थाल्यो । त्यस पश्चात जाति अनुसारका काम (श्रम) विभाजन गरियो र विभेदी प्रथाले जरा गाड्न थाल्यो । अम्बेडकरको शोध बमोजिम बुद्धको जीवनकाल पश्चात् सन् ४०० को समयमा छुवाछूत प्रथाको सुरुवात भएको हो । अर्थात् बुद्धकालसम्म छुवाछूत प्रथा स्थापित भइसकेको थिएन ।

कबिलाको वर्ण अनुसारको टोलमा रङको निशानी प्रयोग गर्ने प्रचलन भारतीय समाजमा धेरै पछिसम्म जीवन्त थियो र देख्न सकिन्थ्यो । त्यति मात्रै होइन वर्ण अनुसारका रङको तिलक (टिका) प्रयोग गर्ने प्रचलन समेत बस्यो । सुरुमा वर्णको गतिशीलता थियो अर्थात् धर्म कर्ममा ध्यान दिने जो कोही ब्राम्हण बन्न सक्थे । शूद्र पनि क्षत्रीय बन्न सक्थ्यो, यदि उसमा लडाकू सिद्ध गर्ने क्षमता भएका अवस्थामा । पछि जाति अर्थात् जन्म प्रधान हुन थाल्यो । जस अनुसार क्रमिक रूपले लामो अन्तराल पश्चात वर्ण व्यवस्था जाति प्रथा र जाति व्यवस्थामा परिणत हुन पुग्यो । जो जुन रङवाला परिवारमा जन्मियो उसको त्यही जाति (वर्ण) मानिने बाध्यकारी व्यवस्था लागु गरियो । जाति शब्दको अर्थ हो जन्म ।

बुद्ध-अम्बेडकर र मार्क्स

८ अगस्ट १८५३ को न्यूयोर्क ट्रिबुन अंकमा मार्क्सले भनेका थिए, ‘रेलवे व्यवस्थाका कारण उत्पन्न भएको आधुनिक उद्योग धन्धाद्वारा पैतृक, आनुवंशिक श्रम विभाजनको समाप्त गरिदिने छ, जसका आधारमा भारतको त्यो जाति प्रथा उभिएको छ । जाति प्रथा भारतको उन्नति एवं शक्तिको बाटोमा उभिएको अवरोध हो ।’ मार्क्सले वर्ण व्यवस्थाका सम्बन्धमा बोलेको यति नै हो, किनभने उनी धेरै जानकारी राख्दैनथे ।

लालबुझक्कडहरूले फर्माए झै, जाति व्यवस्था अन्त्यका निम्ति वर्ग संघर्षको आवश्यकता मार्क्सले कतै भनेका/सुझाएका छैनन् । अर्थात् जाति व्यवस्थालाई समाप्त गर्नका निम्ति वर्ग संघर्ष वा मार्क्सवादी क्रान्ति हुनु वा नहुनुसँग आपसी कुनै नाता सम्बन्ध छैन । यो मार्क्सको ठम्याइ हो ।

मार्क्सले जस्तै अम्बेडकरले संघर्षमा हिंसाको प्रयोगबारे भनेका छन्, ‘यो एउटा अकाट्य सच्चाई हो, तपाई हिंसाबाट सदा बचेर हिंड्न सक्नु हुन्न । अहिंसात्मक सत्याग्रह जस्ता मार्ग तब अपनाउन सकिन्छ जब परिस्थिति यस्ता हुन् कि त्यही मात्रै एक प्रतिरोधको उत्तम बाटो बाँकी रहेको होस् ।’

साम्यवादको परिकल्पना मार्क्सले गरेका छन्, त्यस्तै कल्पना गर्दै बाटो देखाउने काम मार्क्स भन्दा २४ सय वर्ष पहिले नै बुद्धले गरेका थिए । दुईमा फरक के छ भने, बुद्धले विचार, आचार, भावनामा बदलाव ल्याएर व्यक्तिलाई सम्पत्तिबाट अगल गर्ने दीर्घकालीन बाटो बताएका छन् । त्यसैले भिक्षुहरू सम्पत्तिविहीन हुन्छन्, उनीहरू साम्यवादी हुन् । उनीहरू वैचारिक रूपमा प्रतिबद्ध भएर व्यक्तिगत सम्पत्ति त्यागेका हुनाले भिक्षुहरूमा मोह हुँदैन । मार्क्सले पनि व्यक्तिगत सम्पत्ति नराख्ने, राष्ट्रियकरण गरी समाजवाद हुँदै साम्यवादसम्मको बाटो परिकल्पना गरे । यहाँसम्म बुद्ध र मार्क्सबीच एकमत देखिन्छ ।

फरक के छ भने, बुद्धले शान्ति र प्रेमपूर्वक चेतना मार्फत व्यक्तिलाई सम्पत्ति, मोहबाट अलग गराउने बाटो बताएका छन् भने मार्क्सले हत्या गरेर, सम्पत्ति जफत गर्ने हिंसाको बाटो बताएका छन् । हिंसाको बाटोबाट प्राप्त गरिने साम्यवाद अस्थायी हुन्छ, त्यो रसियाको साम्यवाद ढल्देपछि सम्पत्तिका लागि भएको लुटपाटले पनि पुष्टि गर्दछ । बन्दुकद्वारा स्थापित सत्ता जोगाउन पनि बन्दुककै भरमा पर्नु पर्ने धु्रवसत्य कुरा हो । त्यसैले साम्यवाद प्राप्तिमा लामो र कठीन बाटोतय गर्नुपर्ने भए पनि बुद्धको मार्ग सही छ ।

मार्क्सले राज्यसत्ता विरुद्ध बल प्रयोगको सिद्धान्तलाई अनिवार्य बताएका छन् । बुद्धले शान्तिपूर्ण संघर्षको सबै विकल्प समाप्त भएको र बल प्रयोग निर्विकल्प बनिसकेको अन्तिम अवस्थामा मात्रै बल प्रयोग गर्ने अनुमति दिन्छन् । यस सम्बन्धमा अम्बेडकरको व्याख्या छ, ‘बल प्रयोगलाई तपाईं सदाका लागि न रोक्न सक्नु हुनेछ न समाप्त गर्न नै । त्यसैले बुद्धले आफ्नो समकालीन समयका राज्यहरूलाई निशस्त्रीकरण गर्ने वा सेना र सुरक्षा अंगहरू भंग गर्ने र अपराधीलाई दण्डित गर्ने व्यवस्थाको पूर्णतया भंग गर्ने सुझाव कहिल्यै दिएनन् ।’

त्यस्तै मार्क्सले जस्तै अम्बेडकरले संघर्षमा हिंसाको प्रयोगबारे भनेका छन्, ‘यो एउटा अकाट्य सच्चाई हो, तपाईं हिंसाबाट सदा बचेर हिंड्न सक्नु हुन्न । अहिंसात्मक सत्याग्रह जस्ता मार्ग तब अपनाउन सकिन्छ जब परिस्थिति यस्ता हुन् कि त्यही मात्रै एक प्रतिरोधको उत्तम बाटो बाँकी रहेको होस् ।’

समाजवाद साम्यवादका जो लक्ष्य बुद्धको थियो, त्यो मार्क्सको पनि थियो, र त्यसैका लागि अम्बेडकर संघर्षरत थिए । त्यो प्राप्त गर्नका लागि अम्बेडकरले ‘राज्य समाजवाद’को सिद्धान्त पेश गरे । १५ अक्टोबर १९५६ मा महान धम्म ग्रहण समारोहमा सम्बोधन गर्दै अम्बेडकरले त्यहाँ उपस्थित कम्युनिस्टहरूमाथि प्रश्न गर्दै भनेका थिए, बताउनुस्– बुद्धको लक्ष्य मार्क्सको लक्ष्य भन्दा भिन्न कसरी थियो ?

भारत लगायत ब्राम्हण धर्मद्वारा रचित जात व्यवस्था कायम रहेका मुलुकहरूमा वर्ण व्यवस्था र वर्ग विभाजन दुवै मुख्य समस्या हुन् । सबै गरिब अछूत छैनन् तर उत्पीडित समुदाय अधिकतम निमुखा छन् । अम्बेडकरको यस सवालमा सहमत छन् । अब नेपाल, भारत आदि मुलुकमा बुद्ध–अम्बेडकर र मार्क्सवादी सिद्धान्तको समायोजन गरिएको उन्नत लोकतान्त्रिक शक्ति निर्माण गर्ने दिशामा लाग्नुपर्ने बेला भइसकेको छ ।

लेखकको बारेमा
मेखराज उदय

राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?