+
+
Shares

फजुल खर्च कटौती गर्न आयातीत मदिरा प्रयोग नगर्ने गाउँ

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८० जेठ २ गते १८:४१

काठमाडौं । दैनिक उपभोग्य सामग्रीदेखि सबै वस्तुको मूल्य बढिरहेको छ । आम्दानीको अनुपात खासै नबढ्ने तर खर्च दिनानुदिन बढिरहँदा धेरैमा चिन्ता पनि थपिरहेको छ । अझ विवाह, व्रतबन्ध, पास्नीजस्ता सामाजिक कार्यमा देखासिकीकै लागि फजुल खर्च गर्नेको जमात पनि निकै बाक्लो छ ।

यस्तोमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपा कुसुंखामा गाउँमा स्थानीय आफैंले सामाजिक कार्यमा हुने फजुल खर्च कटौती गर्ने योजना बनाएका छन् । त्यहाँको खोटाङ सूर्योदय सांस्कृतिक परिवारले देशमा आर्थिक मन्दी चलिरहँदा सामाजिक कार्यमा हुने फजुल खर्च कटौती गरेर स्थानीय उत्पादनलाई जोड दिने निर्णय गरेको छ ।

विवाह, छेवर, गुन्यूचोली, पास्नी, मृत्युसंस्कार लगायतमा बहुराष्ट्रिय कम्पनीका सिलप्याक मदिरा, बियर, कोकाकोला, ड्यु, पेप्सीलगायत कुनै पनि पेय पदार्थ प्रयोगमा पूर्ण रूपमा बन्देज गर्ने उक्त गाउँका २६ वटै घरधुरीले सर्वसम्मत निर्णय गरेका हुन् । उनीहरुले आफन्तलाई कोसेलीको रुपमा यस्ता पेय पदार्थ नल्याउन समेत आग्रह गरेका छन् ।

विवाह, व्रतबन्धजस्ता सामाजिक कार्यमा भोजभतेर गरेर धेरै खर्च गर्ने चलन हाम्रो समाजमा लामो समयदेखि चल्दै आएको छ । विशेषगरी रक्सी, बियर, कोल्डड्रिंकजस्ता पेय पदार्थमा झन् धेरै खर्च हुन्छ,’ सांस्कृतिक परिवारका अध्यक्ष प्रेम राई भन्छन्, ‘कुनै एउटा घरमा भोज हुँदा महँगो रक्सी खुवाइयो भने उसकै देखासिकी गरेर अर्को घरले ऋण गरेर भए पनि अझ महंगो रक्सी खुवाउने गर्छन् । त्यसैले त्यसलाई निरुत्साहित गर्न र गाउँमै बनेको पेय पदार्थलाई प्रोत्साहन गर्न सिलप्याक पेय पदार्थ बन्देज गर्ने निर्णय गरेका हौं ।’

आफूहरुले सुरु गरेको यस कार्यलाई अन्य गाउँले पनि अनुशरण गरुन् भन्ने अपेक्षा रहेको उनी बताउँछन् ।

सूर्योदय सांस्कृतिक परिवारले गरेको निर्णय स्वागतयोग्य रहेको वडाध्यक्ष दिनेश राई बताउँछन् । ‘हामीले पनि लामो समयदेखि वडामा यो कुरालाई लागू गर्न खोजेका थियौं, सुरुवात उहाँहरूले गर्नुभयो । यसलाई बिस्तारै पूरै वडामा लागू गर्ने योजना छ,’ उनी भन्छन् ।

आयातीत पेय पदार्थको प्रयोग कम भयो भने गाउँलेलाई आर्थिक भार कम हुनुका साथै  स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा पुग्ने उनी बताउँछन् । ‘बोतलले हुने वातावरण प्रदूषण पनि कम हुन्छ,’ वडाध्यक्ष राई भन्छन् । आयातीत मदिरालाई रोक लगाउँदा स्थानीय उत्पादनको प्रवर्द्धन हुने उनी बताउँछन् ।

बुइपाका स्थानीयवासी दिनेश राई आयातीत रक्सी र कोल्डड्रिंको सट्टा स्थानीय उत्पादनलाई प्राथमिकता दिंदा गाउँमा रोजगारी पनि बढ्ने बताउँछन् । ‘गाउँमा सबैले गाईभैंसी पालेका छन्, कोल्डड्रिंकको सट्टामा दही, मोही दिन सकिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन र फजुल खर्च पनि हुँदैन,’ उनी भन्छन् ।

अर्का स्थानीय बयानसिंह राई सूर्योदय सांस्कृतिक परिवारले गरेको निर्णयले आफूलाई खुसी लागेको र यसले आर्थिक अवस्था कमजोर भएकालाई धेरै राहत मिल्ने बताउँछन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?