+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्छन् दैनिक २३ हजार हवाई यात्रु

अच्युत पुरी अच्युत पुरी
२०८० जेठ ३२ गते १९:३९

३२ जेठ, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने हवाई यात्रुको संख्या औसतः दैनिक २३ हजार १६२ जना पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्याङ्‍कअनुसार सन् २०२३ को पहिलो ५ महिनामा आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुको संख्या ३४ लाख ७४ हजार ४४० जना रहेको छ । यो संख्यालाई औसतः दैनिक यात्रुमा हिसाव गर्दा २३ हजार १६२ जना हुन आउँछ ।

सन् २०२२ को वार्षिक तथ्यांकको तुलनामा त्रिभुवन विमानस्थलबाट दैनिक यात्रा गर्ने औसतः यात्रु संख्या सन् २०२३ मा उकालो लागेको छ । विमानस्थलको तथ्याङ्‍कअनुसार सन् २०२२ मा औसतः दैनिक २२ हजार ९५ जना यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले नेपालका तीन (नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर)सहित कुल २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नियमित उडान गरिरहेका छन् । आन्तरिक तर्फ नियमित सेड्युल उडान गर्ने ९ वटा वायुसेवा कम्पनीले यात्रुलाई सेवा दिइरहेका छन् ।

५ महिनामा साढे १८ लाख अन्तर्राष्ट्रिय हवाई यात्रु

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली र नेपाल आउने पर्यटकको संख्यामा भएको बढोत्तरीसँगै सन् २०२३ को ५ महिनाकै अवधिमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या १८ लाख नाघेको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जनवरीदेखि मेसम्मको अवधिमा १८ लाख ४३ हजार ४९० जना अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका छन् । जसमध्ये ८ लाख ४६ हजार २०७ जना यात्रु नेपाल भित्रिएका छन् ।

नेपालबाट ९ लाख ९७ हजार २८३ जना यात्रु बाहिरिएका छन् । यस अवधिमा १२ हजार ७६६ वटा अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलबाट भएका छन् । जसमध्ये ६ हजार २८२ उडान नेपालबाट विदेशका लागि भएका हुन् । ६ हजार ३८४ वटा उडान नेपाल भित्र आएका छन् । यस अवधिमा जहाजहरुले ९ हजार २२३ टन कार्गो बोकेका छन् ।
साढे १६ लाख आन्तरिक यात्रु

त्रिभुवन विमानस्थलबाट ५ महिनामा साढे १६ लाख आन्तरिक यात्रुले यात्रा गरेका छन् । तथ्यांक अनुसार काठमाडौं भित्रने आन्तरिक यात्रु ८ लाख १९ हजार ६४३ र काठमाडौंबाट मोफसलका विमानस्थलमा उड्ने यात्रुको संख्या ८ लाख ११ हजार ३०७ जना रहेको छ । यसअवधिमा आन्तरिकतर्फ ४० हजार ३३६ वटा उडान/अवतरण भएका छन् । जसमध्ये त्रिभुवन विमानस्थलमा अवतरण भएको संख्या २० हजार १६१ र काठमाडौंबाट भएको उडान संख्या २० हजार १७५ रहेको छ ।

७ हजार ३२५ जना यात्रुले काठमाडौंलाई गराए ट्रान्जिट

५ महिनाको अवधिमा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्ने यात्रुको संख्या ७ हजार ३२५ जना रहेको छ । यो संख्या जनवरीमा मात्र २ हजार १३६ र मार्चमा ३ हजार २६३ जना रहेको छ । अहिले भुटानबाट काठमाडौंलाई ट्रान्जिट बनाएर नयाँ दिल्लीमा नियमित उडान भइरहेको छ । यसले ट्रान्जिट यात्रुको संख्या बढ्दै गएको आंकडा आएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?