+
+

अख्तियार प्रमुखको लाचारी : सरकारी कार्यालयमा खुलेआम पैसा माग्छन्, तर केही गर्न सक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते २०:२७

३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग खुलेआम घुस माग्ने गरेको तर आफूहरुले कारबाही गर्न नसकेको स्वीकार गरेका छन् ।

आइतबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठकमा उनले मालपोत र यातायात कार्यालयमा जाँदा कर्मचारीले घुसको मोलमोलाइ गरिरहेको भेटिने बताए ।

समिति बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हजुरहरु यातायात कार्यालय जानुस्, मालपोत कार्यालय जानुस् । अथवा अन्य सरकारी निकाय जहाँ सरकारी सेवा उपलब्ध गराइराखेको छ त्यहाँ जानुस् खुलेआम रुपमा कर्मचारीले व्यक्तिसँग पैसा मागिराखेको हुन्छ । मोलमोलाइ गरिराखेको हुन्छ । तर पनि हामी केही गर्न सक्दैनौं ।’

सर्वोच्च अदालतले स्टिङ अपरेशन अवैधानिक भनेपछि अख्तियारले सरकारी निकायमा हुने खुलेआम घुसखोरी रोक्न नसकेको राईको जिकिरि छ । ‘म सँग पैसा मागेको छ, पैसा म लगेर दिन्छु, समात्नुहोस् भनेर दिनमा दुई तीन जना आउँछन्’ राई भन्छन्, ‘हारगुहार गरिराखेका हुन्छन् ।’

विगतमा घुस माग्ने सरकारी कर्मचारीलाई अख्तियारकै कर्मचारीले पैसा दिने र स्टिङ अपरेशन भनेर पक्राउ गर्ने गरेको थियो । तर यसविरुद्ध परेको रिटमा सर्वोच्चले पैसा दिएर पक्राउ गर्नु अवैधानिक भएको फैसला सुनाएको थियो । त्यसपछि भने अख्तियारले स्टिङ अपरेशन गरेको छैन ।

सरकारी सेवा लिने कार्यालयमा अहिले पनि सहज रुपमा काम नभएको राईले बताए । ‘नागरिकता र पासपोर्ट लिन गइराखेको हुन्छ’ उनी भन्छन्, ‘त्यहाँ कसैको छिटो होला एक्सेस छ भने कसैको ढिलो होला एक्सेस छैन भने । कसैले मोलाहिजा गर्यो भने छिटो होला । यो खालको प्रवृत्ति समाजले देखिराखेको छ ।’

सेवाग्राहीले कुन सेवा कति समयमा पाउने हो तय गर्ने र त्यस अनुसार सरकारी कार्यालयहरु संचालन गर्ने हो भने सुशासन कायम हुन सक्ने अख्तियार प्रमुख राईको भनाइ छ ।

उनी भन्छन्, ‘सेवाग्रहीलाई सेवा कति दिनमा दिने हो त, दुई दिनमा दिने, तीन दिनमा वा चार दिन दिने फिक्स टाइम हुनुपर्‍यो । टाइम बमोजिम सर्भिस गर्ने व्यवस्था ल्यायो भने सुशासन कायम हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?