+

हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

२०८० असार  ३१ गते १३:३१ २०८० असार ३१ गते १३:३१
हातखुट्टा हिलोले खाने समस्याको कारण र उपचार

वर्षायाममा हिलोले हातखुट्टा खाने समस्या निकै हुन्छ । यो समस्या खासगरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरैबेर बसेर काम गर्दा यी कीटाणुको संक्रमण हुने गर्छ ।

एलर्जीको कारण पनि हातखुट्टा खाने समस्या देखिन्छ । एलर्जीबाट भएमा यो सर्दैन भने फंगल संक्रमणाबाट समस्या भएको छ भने सर्न सक्छ । यसबाहेक हातखुट्टामा हुने छालालाई जोगाउने बाहिरी पत्र कमजोर वा पातलो भएमा पनि यस्तो समस्या आउँछ ।

कसलाई बढी हुन्छ ?

खासगरी पानीमा धेरैबेर काम गर्नुपर्ने व्यक्ति, किसान, तरकारी व्यापारी, माछामासु व्यवसायी, माछा मार्ने काम गर्ने व्यक्ति, केमिकलको काम गर्ने व्यक्तिलाई हिलो खाने समस्या धेरै देखिन्छ । बिहानदेखि बेलुकासम्म भान्सामा खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने काममा महिलाहरु बढी सक्रिय हुने भएकाले उनीहरुमा अझ बढी यो समस्या देखिन्छ ।

तर पानीको सम्पर्कमा खासै नआउने व्यक्तिलाई पनि हिलोले खाने समस्या देखिन्छ । मधुमेह, बाथरोग, क्यान्सर, एचआईभी एड्स, अंग प्रत्यारोपण गरेका बिरामी, अन्य दीर्घरोगीमा पनि यस्तो समस्या देखिन्छ ।

लक्षणहरु

एकदमै हात र खुट्टाको कापकापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरु सुन्निने र दुख्ने गर्छ ।

उपचार

हिलोले खाएको उपचार औषधिबाट हुन्छ । सबैभन्दा पहिले के कारणले भएको हो भन्ने छालारोग विशेषज्ञलाई जाँच गराउनुपर्छ । फंगल संक्रमण वा एलर्जी कुन कारणले भएको हो त्यही अनुसार उपचार गरिन्छ । तर यदि यसमा अन्य ब्याक्टेरियाको संक्रमण भएर घाउ पाक्ने, सुन्निने भएको छ भने शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।

कसरी बच्ने ?

पानीमा सम्भव भएसम्म कम काम गर्ने, पानीमा काम गर्दा हातमा रबरको पञ्जा र खुट्टामा बुट लगाएर गर्नुपर्छ । बेलुका मोइस्चराइजर क्रिम, तेल लगाएर सुत्ने गर्न सकिन्छ । यसबाहेक हिलो पानीमा पसेर काम गर्नुपरेमा हात, खुट्टा र औंलाको कापमा भ्यास्लिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । पसिना सोस्ने खालको मोजा लगाउने, खुट्टा धोएपछि पुछ्ने गर्नुपर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पौडेल पाटन अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. विकास पौडेल हिलोले खाने समस्या
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय