+
+

एमालेलाई बिझाइरहने ब्यानरको तस्वीर

व्यक्तिको तस्वीर ब्यानरमा राख्ने प्रवृत्तिको विरोध एमालेभित्र धेरै पहिलेबाट हुँदै आएको विषय हो । तर यसपटकको अपानि हेर्दा भने ठीक उल्टो, अर्थात् अध्यक्ष ओली बाहेकका नेताहरुको पनि तस्वीर राखिएकोमा आपत्ति छ ।

सइन्द्र राई सइन्द्र राई
२०८० भदौ ६ गते २१:१६
२० साउनमा सिन्धुपाल्चोकको चौतारामा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित नेताहरु ।

६ भदौ, काठमाडौं । प्रदेश संरचनादेखि मुनिका कमिटीहरुको अधिवेशनमा जुटेको नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली बदल्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । १ भदौमा अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशिका (अपानि-८) जारी गरेर ब्यानर, मञ्च, अतिथि र वक्ता चयन जस्ता विषयमा फरकशैली अपनाउन निर्देशन दिएका हुन् ।

एमालेले सामान्यतयाः सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोबाट भएको निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेपछि अपानिमा पठाउने गर्छ । तर यसपटक २९औं र ३०औं सचिवालय बैठकले गरेको निर्णयलाई समेटेर अपानि पठाइयो ।

जसमा कार्यक्रम सञ्चालन गर्दा नेताहरुलाई कसरी र कहाँ राख्ने ? खादामाला प्रयोग नगर्नेदेखि ब्यानरमा कसको तस्वीर राख्ने र कसको नराख्ने समेत उल्लेख छ । अझ पार्टीको सार्वजनिक कार्यक्रम हुँदा जिवित नेताहरुमध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर ब्यानरमा राख्ने निर्देशनले धेरैको ध्यान तानेको देखिन्छ ।

अपानिको ४ नम्बर निर्देशनबाट ओली बाहेक अरु जिवित नेताको तस्वीर ब्यानरमा राख्न बर्जित गरिएको छ । ‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा -तीन अग्रज नेताहरु- संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, अपानिमार्फत् निर्देशन दिइएको छ ।

पार्टीलाई अनुशासित बनाउन र कार्यक्रमको मर्यादा बढाउन यस्तो निर्देशन दिनुपरेको नेताहरुले तर्क गरेका छन् । ‘सकेसम्म पार्टीको ब्यानरमा कोही पनि जिवित नेताको तस्वीर प्रयोग नहोस् भन्ने भावनाले यस्तो निर्णय गर्नु परेको हो’ एक पदाधिकारी भन्छन् । केन्द्रीय कार्यालय र सचिवालय बैठकमा पार्टीको ब्यानरमा मनपरी नहोस् भनेर त्यसलाई रोक्नेबारे छलफल भएको ती पदाधिकारी बताउँछन् ।

तर अपानि हेर्दा भने ओलीको तस्वीर राख्ने निर्णयले औपचारिकता पाएको देखिन्छ । ‘पार्टी अध्यक्षको तस्वीर ब्यानरमै राख्नुपर्छ भन्ने आशयले प्रस्ताव आएको थिएन, बैठकमा छलफल भएको पनि होइन’, अर्का पदाधिकारी भन्छन्, ‘अपानिमा अलिक भिन्न आशय लाग्नेगरी लेखिएछ ।’

उनका अनुसार, नेताहरुले हैसियत देखाउन ब्यानरमा आफ्नै तस्वीर राखेर कार्यक्रम चलाउने, बोर्ड बनाउने गर्न थालेपछि त्यस्तो प्रवृत्ति रोक्ने निर्णय भएको थियो । तर अपानिले ओलीलाई ब्राण्डिङ गर्ने गरी ब्यानर निर्माणलाई प्रोत्साहन गरेको देखिन्छ ।

केही वर्ष यताको गतिविधि हेर्दा ओलीको ब्राण्डिङ नयाँ विषय भने होइन । नवौं महाधिवेशन -१९-२५ असार २०७१) बाट एमाले अध्यक्ष निर्वाचित भएपछि नै ओलीले आफ्नो ब्राण्डिङमा जोड दिइरहेका छन् । आफ्नो तस्वीरको ब्राण्डिङलाई ओलीले राष्ट्रियतासँग जोड्ने गरेका छन् ।

२०७४ को चुनावपछि प्रधानमन्त्री हुँदा ओलीले सरकारी कार्यक्रमको प्रचार गर्दा समेत आमसञ्चार माध्यम र शहरका पोलहरुमा आफ्नै तस्वीर झुण्ड्याए । ५ पुस २०७७ मा प्रधानमन्त्रीको हैसियतले प्रतिनिधिसभा विघटनको असंवैधानिक निर्णय गरेपछि ओलीको मस्कट नै बनाएर सभा, जुलुस र प्रदर्शन भयो ।

एमाले भनेकै ओलीको अनुभूति दिलाउनेगरी पार्टी कार्यक्रमहरु गरिएको थियो । तत्कालीन नेकपा विभाजन भएर ब्यूँतिएको एमालेको ६,७४३ वडा, ७५३ पालिका र ७७ जिल्लाकै अधिवेशन ओलीले उद्घाटन गरेका थिए । केन्द्रीय कार्यालय बसेर भर्चुअल माध्यमबाट ६ कात्तिक २०७८ मा ओलीले सबै वडाको एकैपटक उद्घाटन गरे । त्यही विधिबाट ९ कात्तिक २०७८ मा पालिका र २३ पुस २०७८ मा जिल्ला अधिवेशन भएको थियो । त्यसरी अधिवेशन गराउँदा एमालेका अरु कुनैपनि नेताले मुख्य अतिथि बन्ने अवसर पाएनन् ।

यद्यपि त्यसरी सम्पन्न अधिवेशनबाट निर्वाचित नेतृत्व प्रभावकारी नभएको निष्कर्ष निकालेर दुई वर्षभित्रै प्रदेश संरचनादेखि तलका कमिटीहरुमा एमालेले अधिवेशन गर्दैछ ।

बदलिएको आपत्ति

जिवित नेताहरुको तस्वीर ब्यानरमा राख्ने विषयप्रति कडा प्रावधानसहित यसपटक एमालेले अपानि जारी गरेपनि पार्टीमा यस्तो समस्या नयाँ भने होइन । यसअघि धेरैपटक नेताको तस्वीर झुण्ड्याउने विषयमाथि पार्टी छलफल भएको एमाले नेताहरु बताउँछन् ।

विशेषगरी फ्लेक्स प्रिन्टको प्रविधि सहज हुँदै गएपछि जिवित नेताको तस्वीर राख्नेबारे मतभेद बढेको हो । एमालेका एक पुराना नेताका अनुसार, २०६४ पहिलो संविधानसभा चुनावपछि पार्टी नेतृत्वमा आएका झलनाथ खनालको तस्वीर झुण्ड्याइएकोप्रति पार्टी बैठकमा विरोध भएको थियो ।

त्यसबेला केपी ओलीले नै विरोधको अगुवाइ गरेका थिए । ‘जिउँदो मान्छेको फोटो भित्तामा टाँगेर कार्यक्रम कसरी गर्ने ? यसरी त दिवगंत नेताहरुलाई राखिन्छ’ ओलीले खनालको तस्वीर राखिएकोमा आपत्ति जनाएका थिए । ओलीलाई त्यसबेला माधव नेपालले बलियो साथ दिएका थिए । ‘आठौं महाधिवेशनपछि केपी ओली र माधव नेपाल एउटै कित्तामा हुनुहुन्थ्यो’ एक नेता सम्झन्छन्, ‘झलनाथ खनालको तस्वीरबारे पनि उहाँहरु एकमुख भएर उत्रनुभयो । उहाँहरु नजिकका अरु नेताले पनि विरोध गरे ।’

खनालले आफ्नो चाहना नभएर सचिवालयले राखिदिएको प्रष्टोक्ति दिँदा समेत धर पाएनन् । अन्ततः आफ्नो तस्वीर राखिएको ब्यानर हटाउने भनेर बैठक अगाडि बढेको थियो । आफ्नो तस्वीर राख्दा विरोध गर्ने ओली र नेपाल नवौं महाधिवेशनसम्म आइपुग्दा प्रतिस्पर्धी भए । अध्यक्षमा प्यानल बनाएर प्रतिस्पर्धा गरे ।

अध्यक्ष पदको प्रतिस्पर्धा चलिरहँदा नवौं महाधिवेशन भएको भृकुटीमण्डप परिसर ओली र नेपालको तस्वीरले भरिएको थियो । कतिसम्म भने बन्दसत्र हलका भित्ताहरुमा समेत ओली र नेपालको तस्वीर टाँगियो । जहाँ, मार्क्स, लेनिन, एंगेल्सदेखि पुष्पलाल र मदन भण्डारीका तस्वीर झुण्ड्याएको थियो । आफ्नो तस्वीरलाई लिएर पार्टी बैठकमा हंगामा गर्ने ओली र नेपालको तस्वीर यसरी टाँगिएपछि अध्यक्ष मण्डलको अध्यक्षता गरिरहेका झलनाथ खनाल आक्रोशित बनेका थिए ।

बन्दसत्र हलबाट सबै नेताको तस्वीर हटाउन निर्देशन दिँदै खनालले भनेका थिए, ‘कसैलाई रहर लाग्दैमा महान् नेताहरुको लहरमा उसको तस्वीर टाँगिदैन, जनताको मनमा बसेपछि श्रद्धामा टाँगिने हो ।’ त्यो महाधिवेशनमा नेपाललाई हराएर ओली अध्यक्ष बने ।

२०७४ को चुनावपछि एमाले र माओवादीबीच एकता भयो । फेरि ओली र प्रचण्डको तस्वीर राखेर कार्यक्रमहरु राखिन थालियो ।

nekapa

‘प्रचण्डपथ’ भनेर आफ्नै नाममा सिद्धान्त बनाउन पनि पछि नपरेका प्रचण्डले माओवादीलाई त्यसरी नै चिनाउँदै आएका थिए । अहिले पनि माओवादी नेताहरुले प्रचण्डलाई व्यक्ति मात्रै नभएर सोंच र क्रान्ति समेत भन्ने गर्छन् ।

तर एमालेतर्फका नेताहरुले ओली र प्रचण्डको तस्वीर राखिने गरिएकोमा आपत्ति जनाए । १५-१९ माघ २०७६ मा सम्पन्न नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा राजेन्द्र राई, जगनाथ खतिवडा लगायतले ओली र प्रचण्डको तस्वीर हटाउन माग गरे ।

राईले त बैठकको दृष्यलाई राजतन्त्रसँग तुलना गरेका थिए । ‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस्, राजाहरुको जस्तो भयो यो त’ राईले भनेका थिए । विरोधपछि ओली र प्रचण्डको तस्वीर हटाएर बैठक चलेको थियो ।

तर नेकपा विभाजन भएपछि फेरि ओली र प्रचण्डले आ-आफ्नो पार्टीमा तस्वीर राख्न थालिहाले । पछिल्लो समय त एमालेबाट अलग भएको एकीकृत समाजवादीमा समेत अध्यक्ष नेपाल र नेता खनालको तस्वीर देखिन थालेको छ । एमाले र माओवादीमा त ओली र प्रचण्डको तस्वीर राख्नु सहज स्वीकारोक्ति देखिन्छ ।

बरु यसपटकको अपानि हेर्दा एमालेमा ओली बाहेक अरु नेताको समेत तस्वीर राखिनुलाई चाहिँ समस्या ठानिएको छ । ‘आमचुनावमा मतदातामाझ उम्मेदवार चिनाउन तस्वीर राखेर प्रचार गरिनु स्वभाविक हो । तर एमालेमा देखिएको प्रवृत्ति ठीक भइरहेको छैन’, स्थायी कमिटीका एक नेता भन्छन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली कसैको पनि तस्वीर राखेर पार्टी कार्यक्रम चलाउनु ठीक नहुने बताउँछन् । ‘पार्टी विधानले चल्छ । अध्यक्षले विधान कार्यान्वयन गर्ने हो’ उनी भन्छन् । तर कसैको तस्वीर राखेर पार्टी चल्दा व्यक्तिको देवत्वकरण हुने ज्ञवाली तर्क गर्छन् । ‘व्यक्तिको देवत्वकरण खतरनाक विषय हो । यसले पार्टीलाई नोक्सान मात्रै पुग्छ’, उनी भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?