+

वासिम अक्रमले भने : नेपालमा क्रिकेटको चासो ठूलो छ

२०८० भदौ  १२ गते १३:२९ २०८० भदौ १२ गते १३:२९
वासिम अक्रमले भने : नेपालमा क्रिकेटको चासो ठूलो छ

१२ भदौ, काठमाडौं । पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान तथा फास्ट बलर वासिम अक्रमले नेपालमा क्रिकेटको ठूलो चासो भएको बताएका छन् ।

एसिया कप २०२३ सुरु हुनुअघि दुबईमा भएको मुख्य प्रायोजक र ट्रफी अनावरण कार्यक्रममा पाकिस्तानी लेजेण्ड अक्रमले नेपाली क्रिकेटबारे आफू जानकारी भएको भन्दै एसिया कपका लागि योग्य रहेको बताएका हुन् ।

‘मैले उनीहरुलाई फलो गरिरहेको छु र उनीहरु छनोट भएर आएका छन् । उनीहरुले राम्रो प्रदर्शन गरेका छन्,’ अक्रमले भने, ‘मैले एउटा खेलको तस्वीर देखेको थिएँ जहाँ स्टेडियम खचाखच भरिएको थियो । आधा मानिस बाहिर रूखमा बसिरहेका थिए ।’

नेपालमा क्रिकेटको प्यासन धेरै रहेको आफूले पाएको अक्रमले बताए । ‘नेपालमा क्रिकेटको चासो ठूलो छ । र यो अझ ठुलो बन्दै गइरहेको छ’, सन् १९९२ मा पाकिस्तानका लागि वानडे विश्वकप जितेका अक्रमले भने ।

किङ अफ स्वीङ उपनामले परिचित अक्रमले सन् १९९२ को विश्वकपमा सर्वाधिक १८ विकेट लिएका थिए । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली क्रिकेट टोलीबारे अहिले धेरै चर्चा भइरहेको छ । त्यसमा पनि नेपालले समूह चरणमै विश्वकप क्रिकेटका पावरहाउस भारत र पाकिस्तानसँग खेल्दैछ ।

बुधबार मुल्तान क्रिकेट स्टेडियममा घरेलु टोद्यी पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्नेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले भर्खरै ओडीआईमा विश्व नम्बर वान टोली बनेको पाकिस्तानसँग म्याच खेल्न लागेको हो ।

अक्रमले नेपाललले घरेलु क्रिकेट संरचनामा सुधार गर्नुपर्ने र त्यसपछि ठुला टिमसँग खेल्न तयार हुने बताएका छन् । ‘अब उनीहरूले आफ्नो संरचना, प्रथम श्रेणी र घरेलु सेटअपमा सुधार गर्नुपर्नेछ, त्यसपछि उनीहरू शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गर्न सुरु गर्न सक्छन् ।’

एसिया कप क्रिकेट वासिम अक्रम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय