+
+

पाटनमा निकालियो मतया: यात्रा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० भदौ १५ गते १७:०७

१५ भदौ, काठमाडौं । पाटनमा आज मतया यात्रा निकालिएको छ । पाटनबासीले हिजै गाईजात्रा मनाएकाले आज शुक्रबार मतयाः यात्रा निकालिएको हो । आज पाटनबासीहरू मतया:लाई स्वागत बाजागाजासहित शहरको परिक्रमा गरेका छन् । मतया यात्रामा बौद्ध धर्मसँग नजिक सम्बन्ध रहेकाहरूको सहभागी थियो।

प्रत्येक वर्ष गाईजात्राको आगमनसँगै काठमाडौँको पुरानो वस्तीमध्येको एक पाटनमा शहरकै महत्वपूर्ण पर्वको तयारी सुरु हुन्छ । गाइजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रही आएको छ ।

पाटनको मतया: यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको छ । बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘गुँला’ (प्राय: श्रावण महिनाको दोश्रो हप्ताबाट शुरु हुने पर्व)को सुरूवातसँगै पाटनका मानिसहरू मतया: लाई स्वागत गर्न केही रात बाजागाजासहित शहरको परिक्रमा गर्दछन् ।

के हुन्छ मतया: को दिन ?

मतया: यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नु पर्ने हुन्छ । यात्रा सखारै सुरु हुन्छ र विशेष पुजारीले यात्राको नेतृत्व गर्ने गर्दछन् । यात्रा सक्न दिन भर नै लाग्ने गर्दछ ।

यात्राको क्रममा भक्तजनहरूले आफ्नो गच्छ अनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरू मध्ये कसैले परम्परागरत बाजा बजाउँछन् भने कसैले मैन बत्ती समाएर हिँड्छन् । अरूहरू चाहिँ राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् ।

के भन्छ इतिहास ?

स्थानीयका अनुसार यो यात्राको शुरुवात लिच्छवीकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटका १० टोल : मङ्गलबजार, चक्रबहिल, इखा छे:, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा शुरु गरेको मान्यता छ ।

मतया:लाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ ले भैसीलाई चिनाउँछ । गाइजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतया भनिएको पनि हुनसक्छ ।

नेवारी भाषामा ‘मत:’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ । ‘गुँला’को मध्यमा पर्ने हुनाले पनि यसलाई जिवनरुपी यात्राको उच्च विन्दूको उत्सवको रूपमा लिने गरिएको छ ।

अर्को कथा चाहिँ गौतम बुद्धसँगै जोडिएको छ । भगवान बुद्ध बोध गयामा पिपलको रूखमनि बसेर ध्यान गरिरहँदा ‘मार’ नाम गरेका राक्षसले दु:ख दिएको थियो । उसले बुद्धको आसन आफ्नो भएको दावी गरेको थियो र बुद्धलाई त्यहाँबाट हटाउन आफ्नो सेना पठाएको थियो ।

सेनाका सबैले एकै स्वरमा सोधेका थिए : यो ठाउँ तिम्रो हो भनेर को साक्षी छ ?

जमिन मुनिबाट पृथ्वीले भनेकी थिइन् : म साक्षी छु ।

यति भने पछि मार र उसका सेना गायव भएका थिए । भनिन्छ उनीहरू सिधै यमलोक पुगे ।

काठमाडौंमा मनाइने गाइजात्रा पर्वलाई यो घटनासँग पनि जोड्ने गरिन्छ । गाइजात्राकै दिन मार यमलोक पुगेको र यो दिन मर्ने मानिसहरूले मुक्ति पाउने कथन पनि रहिआएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू:

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?