+
+
कभर स्टोरी-फलोअप :

अवैध बाटोबाट अमेरिका : आधाजति असफल भएर फर्कन्छन्

अवैध बाटोबाट अमेरिका हिँडेकामध्ये बाटोमा अलपत्र पर्ने र पुगे पनि डिपोर्ट भएर फर्किनेहरु आधाजति हुन्छन् । फर्कदा उनीहरुसँग दुखः पीडामात्रै हुँदैन, ऋण समेत दोब्बर भइसकेको हुन्छ ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० कात्तिक १७ गते २०:२०
अवैध बाटोबाट अमेरिका पुगेका र त्यहाँबाट फर्काइएका प्रेम (परिवर्तित नाम)

१७ कात्तिक, रुकुम । यसपटक हामीले अमेरिका छिर्न अवैध बाटो प्रयोग गर्ने, दुःख गरेर अमेरिका पनि छिर्ने तर त्यहाँ पक्राउ परेर फिर्ता (डिपोर्ट) हुनेहरु मध्ये चार जनासंग कुराकानी गरेका छौं ।

यसमा अमेरिका जान प्रयोग हुने अवैध मार्ग, दलालले लिने पैसा र बाटोमा मृत्युबाट जोगिन भोग्नुपर्ने कष्टका बारेमा उनीहरुका भनाइ समावेश छन् ।

उनीहरुका भनाइ सुन्दा लाग्छ– अमेरिका लैजाने नाममा सर्वसाधारणमाथि दलाल, स्थानीय साहुले असाध्य ठूलो ज्यादती गरिरहेका छन् । यो भन्दा ठूलो अपराध स्वयं राज्यका तर्फबाट भएको छ, जो यत्रो ज्यादती हुँदा पनि थाहा नपाएको अभिनय गरिरहेको छ ।

‘मैले सोंचेजस्तो भएन’

तातो गर्मीमा १६ वर्ष बिताएपछि उनलाई लाग्यो– जिन्दगी त मलेसियामै बित्ने भयो । दिनरात काम गर्दा पनि ३० हजार रुपैयाँ भन्दा बढी कमाइ नहुने । जति पसिना बगाए पनि उनले आफ्नो जीवन उभो लाग्ने देखेनन् ।

‘मुद्दा जिताउन भनेर त्यतिबेलाको महंगो वकिल राखेँ’, उनले भने, ‘माओवादीले विस्थापित गरे भनेर कागजात बनाएँ । यति भएपछि अमेरिका बस्न पाउँछु भन्नेमा ढुक्क थिएँ ।’ तर २२ महिना डिटेन्सन क्याम्पहरुमा राखेपछि त्यहाँको अदालतले उनलाई शरणार्थी मान्न अस्वीकार गर्‍यो ।

उनी मलेसियामा छँदै गाउँमा अमेरिका छिर्ने लहर सुरु भइसकेको थियो । युवाहरु दलाललाई पैसा बुझाउँदै धमाधम अवैधबाटोबाट अमेरिका जान हिँडिरहेका थिए । उनको गाउँमा झण्डै झण्डै प्रत्येक घरबाट एकजना अमरेरिका हिँडेजस्तै भइसकेको थियो ।

पुगेका साथीहरु र आफन्तको जीवनमा आएको बदलाव देखेर उनको मन मलेसियामा अडिएन । अमेरिकाको रंगीन दुनियाँ, लोभलाग्दो कमाइबारे सुनेर विस्तारै उनको पनि सपनाको शहर बन्यो त्यो ।

रुकुम पूर्वका सिस्ने गाउँपालिका– ५ का प्रेम (परिवर्तित नाम) लाई पनि अमेरिका पुग्ने हुटहुटी जाग्यो । ‘महिनामै ३ देखि ४ लाख रुपैयाँ कमाएको देख्दा अमेरिकाबाहेक केही सोचिनँ’, उनले भने, ‘मन मतिष्कमा अमेरिकामात्रै घुम्न थाल्यो ।’

उनले पनि गाउँका अरु युवाहरुले जस्तै स्थानीय दलाल समाते । ३० बैशाख ०७४ मा एकजनालाई ३० लाख रुपैयाँ बुझाएर उनी पनि अमेरिका छिर्न हिँडे ।

रुकुम पश्चिम बाँफीकोटको स्याला गाउँ । जहाँका धेरै युवा अवैध बाटोबाट अमेरिका गएका छन् ।

उनलाई भनिएको थियो, ‘अमेरिका जाने बाटो सजिलो छैन, धेरै जोखिम हुन्छ ।’ तैपनि जोखिम मोल्न तयार भए उनी । उनी भन्छन्, ‘जस्तोसुकै दुःख र अपठ्यारो भए पनि त्यहाँ पुगेपछि जिन्दगी नै फेरिन्छ, सुखका दिन आउँछ भन्नेमा म ढुक्क थिएँ ।’

नेपालगञ्ज–काठमाडौ–दिल्ली–मस्को त्यसपछि कोलम्बियाको मेडिट भन्ने ठाउँसम्म उनी जहाजमै पुगे । त्यसपछि नदीनाला, जंगलमा लुक्दै महिनौं दिनको जोखिमपूर्ण यात्रा गरेर उनी मेक्सिको हुँदै अमेरिका पनि पुगे । तर उनकै भनाइमा, ‘उनलाई क्यार्लिफोनियाको सीमाबाट प्रहरीले पक्राउ गर्‍यो ।’

सशस्त्र द्वन्द्व चलेको र आफूलाई माओवादीले विस्थापित गरेको भन्दै शरणार्थी बन्न निवेदन दिए । २२ महिनासम्म मुद्दा चल्यो । त्यत्तिञ्जेल उनलाई टेक्सास, मायमी, न्यूजर्सी, क्यालिफोर्नियाका ‘डिटेन्सन क्याम्प’हरुमा राखियो । मुद्दा लड्दा स्पोन्सरलाई ६ लाख र वकिललाई १२ लाख गरेर थप १८ लाख रुपैयाँ बुझाए ।

‘मुद्दा जिताउन भनेर त्यतिबेलाको महंगो वकिल राखेँ’, उनले भने, ‘माओवादीले विस्थापित गरे भनेर कागजात बनाएँ । यति भएपछि अमेरिका बस्न पाउँछु भन्नेमा ढुक्क थिएँ ।’

तर उनले सोचेजस्तो भएन । २२ महिना डिटेन्सन क्याम्पहरुमा राखेपछि त्यहाँको अदालतले उनलाई शरणार्थी मान्न अस्वीकार गर्‍यो । लगत्तै ‘१० वर्षसम्म अमेरिका छिर्न नपाउने’ गरी नेपाल फर्काइदियो ।

प्रेम भन्छन्, ‘अनेक दुःख, हन्डर खाएर पुगेका म रित्तै फर्किएँ । टाउकोमा ७० लाख रुपैयाँ ऋणको भारी थपियो । त्यति दुःख गरेर अमेरिका त पुगियो तर जिन्दगी नै बर्बाद भयो ।’

‘३० लाख ऋण, फर्कँदा ७० लाख पुगेको थियो’

मासिक ८ हजार रुपैयाँ कमाइले खर्च टार्न मुश्किल भएपछि उनले नौ वर्षे शिक्षण जागिर छोडे । केही समय रेष्टुराँको म्यानेजर भए । तर त्यहाँ पाउने मासिक १२ हजारको कमाइले पनि खर्च टरेन । गुजारा गर्न अनेक उपाय गर्दा पनि केही सीप नलागेपछि जापान जाने तयारीमा लागे, बर्दियाका खगेन्द्र हमाल ।

त्यही क्रममा उनको सम्पर्क भयो, बाँकेका लालबहादुर रोकासँग । उनले आफू मेक्सिकोसम्म पुगेको र अमेरिका जान लागेको बताए । उनले २८ लाख रुपैयाँमै अमेरिका लगिदिने आश्वासन पनि दिए । जापान जान पनि १५ लाख रुपैयाँ चाहिन्थ्यो । लालबहादुरले फकाए, ‘अरु १० लाख थपेर अमेरिका किन नजाने ?’

उनलाई पनि हो जस्तो लाग्यो । उनको बुझाइमा, अमेरिका पुगे जिन्दगी नै कायापलट हुनेवाला थियो । यही सोचेर २८ लाख रुपैयाँ बुझाएर उनी पनि अमेरिका जान तयार भए ।

उनले लालबहादुरले चिनाएकै दलाललाई सुरुमा ५ लाख रुपैयाँ बुझाएर भारतको दिल्लीदेखिको यात्रा तय गरे । दिल्ली–बार्सिलोना–मेडिटसम्म जहाजमै गए । त्यसपछि महिनौं जंगल, खोला–नदी छिचोल्दै तीन महिना लगाएर उनी मेक्सिकोबाट अमेरिका छिरे ।

अवैध रुपमा अमेरिका पुगेर नौ महिनापछि डिपोर्ट गरेर फर्किएका खगेन्द्र हमाल । तस्वीर : अनलाइनखबर

अमेरिका छिरेलगत्तै उनी पनि पक्राउ परे । यसरी अवैध रुपमा अमेरिका छिर्ने अरुले जे गर्थे उनले पनि त्यही गरे । उनले पनि शरणार्थी बन्न मुद्दा हाले । त्यहाँ उनलाई तीन वटा अन्तर्वार्ता लिइयो ।

उनलाई किन र कसरी अमेरिका आएको भनेर सोधियो । उनले ‘देशमा अशान्ति छ, बस्न सक्ने स्थिति छैन भने ।’ तर पहिलो अन्तर्वार्ताबाट नै उनी ‘रिजेक्ट’ भए ।

मुद्दा लड्न चाहिने वकिल र स्पोन्सरलाई गरेर थप १५ लाख रुपैयाँ बुझाए । यसरी उनी डिटेन्सन क्याम्पमा नौ महिना बसे । ‘हाम्रो भाषामा त्यो हिरासत भन्दा पनि हुन्छ’, उनले भने, ‘बाहिर जान पाइदैनथ्यो, भित्रै बस्नुपथ्र्यो । फरक यत्ति हो उनीहरुले छुन चाहिँ छुदैनथें ।’

डिटेन्सनमा बसेकै बेला उनी बिरामी परे । एपेन्डिक्सको अप्रेसन गर्नुप¥यो । त्यसपछि भित्रै दुर्घटनावश उनको दाहिने कुम भाँचियो । एक वर्ष त्यहाँको क्याम्पमा बसेपछि अदालतले मुद्दा अस्वीकार गरिदियो ।

‘यति दुःख पाएपछि त सुखका दिन आउँलान् भन्ने थियो’, खगेन्द्र भन्छन्, ‘तर उल्टै डिपोर्ट गरेर फकाईदियो ।’ उनीसँगै पुगेको तीन जना भने शरणार्थीको मुद्दा जितेर अमेरिकामै बसे । उनी चाहिँ रित्तै घर फर्किए ।

महिनौंको जोखिमपूर्ण यात्रा र लाखौं रुपैयाँ खर्चेर अमेरिका पुगेर पनि नेपाल फर्कदा उनका सपना सबै टुटिसकेका थिए । ‘सपना त टुट्यो नै उल्टो ऋणको भारी बोकियो’, उनले भने, ‘३० लाख ऋण ब्याज सावा गरेर अहिले ७० लाख पुगिसकेको थियो ।’

‘सँगै गएकाहरु छिरे, मेरो बयान मिलेन’

अमेरिका छिरेर पनि डिपोर्ट भएर फर्किएकाहरुको अरु कथा पनि उस्तै छन् । रुकुम पश्चिम बाँफीकोट–५ का २६ वर्षका हरि घर्ती (परिवर्तित नाम) दलाललाई पैसा बुझाएर अवैध बाटो भएर अमेरिकातर्फ गएका थिए ।

गाउँकै अधिकांश साथीहरु अमेरिका हिँडेपछि उनलाई पनि बस्न मन लागेन । ‘घरमा पनि छरछिमेका, आफन्त सबै गएको भनेर जानुपर्ने दबाब बढ्यो’, उनी भन्छन् ।

०७७ सालमा ३६ लाख रुपैयाँ दलाललाई बुझाएपछि उनी दिल्ली हुँदै दुबई–मस्को–ब्राजिल पुगे । त्यसपछि पानामाको जंगलमा पैदल यात्रा गरे । उनका भनाइमा उनी ११ देश पार गरेपछि अमेरिका पुगेका थिए ।

तर उनलाई पनि मेक्सिकोको सीमा क्षेत्रबाट अमेरिकी अध्यागमनका कर्मचारीले पक्राउ गर्‍यो । उनले पनि शरर्णीका लागि मुद्दा हाले । तीन जना वकिल राखे । ‘एउटालाई ५, ३, ८ लाख गरी तीनजनालाई १६ लाख रुपैया बुझाएँ’, समय, दुःख र पैसा खर्चिएर पनि एउटा असफल यात्राबाट फर्किएका उनले उदास मुद्रामा भने ‘त्यति गर्दा पनि मेरो बयान मिलेन । ०७८ सालमा १० वर्षसम्म जान नमिल्ने गरी फिर्ता गरिदियो ।’

कठिन यात्रा गर्दै अमेरिका छिरेका हरि त्यहाँबाट डिपोर्ट हुँदा रुदै फर्किएका थिए । नेपाल आएपछि पनि उनी तत्काल गाउँ फर्कन सकेनन् । कारण– ३६ प्रतिशत ब्याजमा लिएको ऋण ३० लाखबाट बढेर ७० लाख रुपैयाँ पुगिसकेको थियो । अर्काेतिर अमेरिका छिर्न नसक्नुको आत्मग्लानी पनि थियो । उनले अनलाइनखबरसंग भने, ‘सँगै गएकाहरु छिरे, म चाहिँ एक्लै कसरी गाउँ फर्कनु ?’

‘अब बुझेँ, अमेरिका छिर्न सोचे जस्तो सजिलो रहेनछ’

रुकुमपूर्व सिस्ने गाउँपालिकाका २३ वर्षका कृष्ण खत्री (परिवर्तित नाम) काठमाडौं बसेर पढ्थे । आफू सँगैका साथीहरु अमेरिका छिर्न थालेपछि उनी पनि बीचैमा पढाइ छोडेर हिँडे । उनले पनि दलाल खोजे, पैसा जुटाए र अवैध बाटोबाट अमेरिका छिर्ने चाँजोपाँजो मिलाए ।

जंगलमा लगातारको हिँडाइपछि उनीहरु तीन पटक बन्दुकधारी लुटेरा समूहको फेला परे । ‘लुटेराले सबैलाई कपडा खोल्न लगाए’, उनले भने, ‘हामीसँग भएका स्पेनिस र नेपाली महिलालाई पनि नांगो बनाएर खानतलासी गरे । हामीले गर्न सक्ने केही थिएन, आँखा बन्द गरेर बस्यौं ।’

३० लाख रुपैयाँ बुझाएर ०७७ सालमा उनले पनि अवैधबाटो समाए । त्यतिबेला १८ वर्ष मात्रै पुगेका कृष्ण दिल्ली, दुबई, ब्राजिल हँुदै कोलम्बिया पुगे । ६ महिनाको कष्टपूर्ण यात्रापछि मेक्सिकोबाट अमेरिका छिरे ।

उनी पनि समातिए । त्यसपछि शरणार्थी बन्न मुद्दा हाले । त्यहाँको कानुनी प्रक्रिया पूरा गर्न भनेर उनले थप १४ लाख रुपैयाँ खर्च गरे । यसरी अमेरिका जाने चक्करमा उनको ४४ लाख रुपैयाँ सकियो । तर, ११ महिनापछि डिपोर्ट गरेर नेपाल फर्काइयो । उनी भन्छन्, ‘अब बल्ल बुझेँ, अमेरिका छिर्न सोचे जस्तो सजिलो रहेनछ ।’

मर्दै र बाँच्दैको कथा

रुकुमका प्रेमलाई आफू अवैधबाटोबाट अमेरिका जादै छु भन्ने राम्ररी थाहा थियो । तर त्यो कति जोखिमपूर्ण हुनेवाला छ भन्ने चाहिँ थाहा थिएन ।

जहाजबाट जाने ठाउँ सकिएर गाडीमा र हिँडेर जानुपर्ने ठाउँमा पुगेपछिको दुःख भनिसाध्य थिएन । अवैध बाटोबाट अमेरिका छिर्ने उनको टोलीमा नेपाल, भारत, पास्कितान र बंगलादेशका गरी २० जना थिए ।

उनका भनाइमा कोलम्बियाको टुर्बाेबाट कपुरगानासम्मको सामुद्रिक यात्रा मृत्यु मार्ग नै थियो । एक दिनको कुरा हो, राति १ बजे एजेन्टले उनीहरुलाई एउटा सानो डुंगामा राख्यो ।

‘मोटर भएको सानो डुंगामा राखेर समुद्रमा दौडायो’ उनले भने, ‘डुंगालाई समुद्रको छालले हान्थ्यो । त्यो यात्रा कति जोखिमपूर्ण थियो भने, समुद्रको छालले जतिबेला पनि डुंगा पल्टन सक्थ्यो वा सुरक्षाकर्मीले पक्राउ पनि गर्न सक्थे ।’

प्रेम भन्छन्, ‘सुरक्षाकर्मीले देख्ने डरले छिटो छिटो डुंगा चढ्नु, झर्नुपर्छ । थोरै पनि ढिला भयो वा चिप्लियो भने समुद्रमा ज्यान जाने हो । आफूसँगैका साथीहरु छुटे पनि उसलाई त्यहीँ छोडेर हिँड्ने हो ।’

त्यही यात्रामा उनले त्यस्तै एउटा घटना आँखाअघि देखे । उनीहरुसँगै अमेरिका यात्रामा थिए, भारत पञ्जाबका बाबु–छोरा । डुंगाबाट झर्नेक्रममा छोरा उत्रिए तर बाबु सकेनन् । जोडले बत्तिदै आएको समुन्द्रको छालले बाबुलाई तानेर लगिहाल्यो ।

केहीबेर पछि उनको शव भेटियो । सुरक्षाकर्मीले पक्राउ गर्नसक्ने भन्दै एजेन्टले केही गर्न दिएनन् । बाबुको लास त्यही छोडेर छोरा अघि बढे । उनी भन्छन्, ‘त्यो अवस्थामा मेरै बुबा भए पनि बीचमै छोडेरै हिँड्नुपर्थ्यो ।’

प्रेम लगायत डिपोर्ट भएर फर्कनेहरुका भनाइमा, अवैध बाटोबाट जाँदा एजेन्टहरुको व्यवस्थित नेटर्वक रहेको देखिन्छ । यसरी फर्कनेमध्येका एकजना भन्छन्, ‘हरेक देशमा उनीहरुका मान्छे लिन आउँछन् । सुरक्षाकर्मीसँग लुकाउँदै सीमा पार गराउँछन् । आफ्नो जिम्माको काम पूरा गर्छन् । त्यस्ता एजेन्टलाई स्पानिस भाषामा ‘डोंकर’ भनिदो रहेछ ।

‘लुकिछुपी सीमा पार गराउने यस्ता डोंकरहरु बाटोमा प्रशस्तै हुन्छन्’, प्रेम भन्छन्, ‘उनीहरुको काम नै हामीजस्तालाई सीमा पार गराउने हुन्छ । एउटाले एउटा ठाउँमा पुर्‍याउँछ, त्यसपछि अर्काेले अगाडि बढाउँछ । यसरी नै जाने हो ।’

पानामा जंगल : पाइला पाइलामा मृत्यु

प्रेमका भनाइमा एउटा टोलीमा कुनै बेला उनीसहित ६५ जना थिए । तर पानामा जंगल पुग्दासम्म उनीहरु २७ जनामात्रै भए । यी २७ जनाले सँगै पानामा जंगलको कष्टपूर्ण यात्रा गरे ।

घना जंगल, जताततै भिर, हिलैहिलो, चिस्यान नै चिस्यान । साँच्चै भयानक थियो, त्यो जंगल । ‘दिउँसो सुरक्षाकर्मीले पक्रर्ने डरले राति हिँड्नुपथ्र्याे’ प्रेमले भने, ‘राति हिड्दा लाइट बाल्न पाइदैनथ्यो । अँध्यारोमा कुर्कुच्चाको भरमा हिँड्नुपर्थ्यो ।’

‘त्यहाँ हिँड्ने बाटो हुँदैन, अनुमानका भरमा झार पन्छाउँदै हिँड्नुपर्छ’, प्रेम भन्छन्, ‘बाटोमा कसैले रुखमा कपडा बाँधिदिएका हुन्छन्, कसैले लट्ठीका टुक्राहरु, चाउचाउका खोलहरु राखिदिएका हुन्छन् । त्यही पच्छाउँदै अघि बढ्नुपर्छ ।’

उनको बुझाइमा पानामा जंगलको यात्रा पाइलैपिच्छे मृत्युको यात्रा हो । समयमै बाटो भेट्टाइएन भने रासन सकिएर बाटोमै ज्यान गुमाउनुपर्छ । उनीहरुले बाटोमा थुप्रै कंकालहरु देखे ।

‘लगातारको हिँडाइले शरीर गलिसकेको हुन्छ । हिँड्न सकेन भने त्यहीँ छुट्ने हो’, उनले भने, ‘लगातार भोकै, प्यासै हिँडाइले खुट्टा पुरै सुन्निएका हुन्छन्’, ती दिन सम्झदै प्रेमले भने ।

पानामा जंगलमा यात्रा गर्दाका एउटा तीतो अनुभव छ, बर्दियाका खगेन्द्र हमालसँग पनि । १९ जनाको समूहमा हिँडेका उनी जंगलमा ६ दिन हराए । उनीसँगै एक नेपाली र एक स्पेनिस गरी दुई जना महिला पनि थिए ।

जंगलमा लगातारको हिँडाइपछि उनीहरु तीन पटक बन्दुकधारी लुटेरा समूहको फेला परे । ‘लुटेराले सबैलाई कपडा खोल्न लगाए’ उनले भने, ‘हामीसँग भएका स्पेनिस र नेपाली महिलालाई पनि नांगो बनाएर खानतलासी गरे । हामीले गर्न सक्ने केही थिएन, आँखा बन्द गरेर बस्यौं ।’

लुटेराहरु कतिसम्म चलाख थिए भने जुत्ता, कपडा, मुखभित्र पैसा लुकाएको छ कि भनेर समेत खानतलासी गर्थे ।

‘एकजना स्पेनिस महिला महिनावारी भएकी थिइन्’, उनले लगाएको प्याड समेत च्यातेर हेरे । पैसा नभेट्टाएपछि लुटेराले मोबाइल, जुत्ता कपडा लुट्थे’, उनी सुनाउँछन् ।

खगेन्द्रले भने बाटोमा लुटेराको फन्दामा परिन्छ भनेर सुनेका थिए । उनले जुत्ताको सोल काटेर भित्र पैसा लुकाएका थिए । त्यो चाहिँ जोगियो ।

पानामा जंगलको अर्काे एउटा घटना उनी अहिले पनि बिर्सन सक्दैनन् । तीनदिन लगातार हिँडेपछि बाटोमा एक जना स्पेनिस महिला भेटिएकी थिइन् । उनको शरीरको धेरै भाग किराले खाइसकेको थियो । हिँड्न नसकेपछि उनलाई साथीहरुले बाटोमै छोडेर हिँडेका रहेछन् ।

‘हामीले आफूसँग भएको खाना दिनबाहेक अरु केही गर्न सकेनौं’, उनले भने, ‘दुई दिनपछि क्याम्पमा पुगेपछि उनको मृत्यु भएको खबर सुन्यौं ।’

पानामाको जंगलमा खगेन्द्रले पनि झण्डै मृत्युवरण गर्नुपरेन । ५ दिन लगातार भोकै, प्यासै हिँडेपछि उनका खुट्टा पुरै सुन्निएका थिए । ठाउँ ठाउँमा काँडाले घोचेर घाउहरु भएका थिए ।

‘कति दिनदेखि भोकै भएकाले म हिँड्न नसकेर बाटोमै ढलेछु’, उनले भने, ‘धन्न मलाई चाहिँ साथीले छोडेर गएनन् । थोरै बिस्कुट खाएपछि होस आयो’, ६ दिनको हिँडाइपछि मात्रै हामीहरु पानामा जंगल काटयौं ।

यसरी एजेन्टको पछि लाग्दै होन्डुरस, ग्वाटेमाला पुग्नुपर्छ । कयौं दिन लुक्दै, जंगलमा पैदल र गाडीमा घण्टौं घण्टा यात्रा गर्दै जानुपर्छ । ‘महिना दिनसम्म पनि गाडीभित्र लुकेर यात्रा गर्नुपर्छ’, उनले भने, ‘दिन र रात पनि थाहै हुँदैन ।’

रुकुम पश्चिमका हरि त बाटोमा दुई महिना बन्धक बनाइए । समयमै पैसा हाल्न नसकेकाले एजेन्टले उनलाई दुई महिना अघि बढ्न दिएनन् । ‘ग्वाटेमालामा हामीलाई एउटा बन्द कोठाभित्र राखियो’, उनले भने, ‘त्यहाँ हामी १२ जना थियौं । थुप्रै दिन भोकभोकै बसेँ ।’

पछि घरबाट पैसा पठाएपछि भने दलालले अघि बढ्न दिए । ‘बीचबाटोमा आइसकेपछि जान्न भन्न मिल्दैन, दलालले पैसा फिर्ता पनि दिदैन’, उनले भने, ‘उनीहरुले जे भन्यो त्यही गर्नुपर्छ ।’

हरिले ब्राजिलबाट मेक्सिकोसम्म पुग्न ११ वटा देश काटे । त्यसपछिमात्रै उनले मेक्सिकोको सीमा पार गरेर अमेरिका पुगे ।

‘त्यहाँ पुगेपछि अध्यागमनले समात्न सक्ने सम्भावना हुन्छ । कसैलाई चाहिँ अन्डरएज (उमेर नपुगेको) भनेर छोडि पनि दिन्छ’ उनले भने ।

पक्राउ परेकाहरुले शरणार्थी बन्न निवेदन हाल्छन् । त्यत्तिञ्जेल डिटेन्सनमा बस्नुपर्छ ।

‘अमेरिका छिरेपछि पनि त्यहाँ बस्न पाइन्छ भन्ने हुँदैन’, हरिले भने, ‘मुद्दा जित्न नसके रुदै फर्कनुपर्छ ।’ उनलाई पनि नौ महिना डिटेन्सनमा राखेर डिपोर्ट गरिएको थियो ।

फर्कँदा घर न घाट

अमेरिकाबाट डिपोर्ट भएर फर्किएकाहरुको यहाँ आइसकेपछिको अवस्था झनै दयनीय छ । फर्कदा उनीहरुसँग जाँदाको पीडामात्र हुँदैन, लागेको ऋण दोब्बर भइसकेको हुन्छ ।

गाउँ फर्केपछि प्रेमको जीवन पनि पहिला जस्तो रहेन । घर फर्कँदा श्रीमती साथमा थिइनन् । अमेरिका जाँदा लागेको ऋण ब्याज सावा बढेर ७० लाख पुगिसकेको थियो ।

त्यसपछि उनी डिप्रेसनमा गए । ‘पहिले म आकाशमा चराहरु झै उड्थे, जबँ म फर्केर आएँ मेरो सबै कुरा बदलियो’, उनी भन्छन्, ‘अहिले मलाई केही कुरामा पनि खुसी लाग्दैन ।’

भएको जग्गा जमिन बेचेर उनले ऋण त तिरे तर पहिलेकै अवस्थामा फर्कन सकेनन् । अहिले धेरैजसो नशामै हुन्छन् । उनी भन्छन्, ‘मनभित्र कति पीडा छ, देखाउँन सकिदैन ।’

बर्दियाका खगेन्द्र हमाल पनि डिपोर्ट गरेर फर्केपछि डिप्रेसनमा गए । उनले भने, ‘२८ लाख ऋण झण्डै ७० लाख पुगेको थियो । जिन्दगी बनाउन हिँडेको म भत्किएर आएँ ।’

‘आफैं त दुःखमा परेको बेला आफन्तको हेलाहाँसो भएपछि त्यहाँ बस्न मन लागेन’, उनले भने, ‘अनि काठमाडौं आएर बस्न थाले ।’ अहिले उनी काठमाडौंको एक विद्यालयमा पढाइरहेका छन् ।

डिपोर्ट गरिएका हरि र कृष्ण खत्रीको अवस्था पनि उस्तै छ । अमेरिकाबाट फर्काइएपछि हरि एक पटक गाउँ गएका थिए । तर साहुले दिनहुँ घर घेर्न थालेपछि उनी त्यहाँ बस्न सकेनन् । अहिले उनी काठमाडौंको एउटा रेष्टुरेन्टमा काम गरिरहेका छन् ।

बीचैमा पढाइ छोडेर हिँडेका कृष्णको पनि अमेरिका छिर्ने रंगीन सपना पछ्याउदा जिन्दगी नै अन्धकार जस्तै भयो । डिपोर्ट भएर फर्किएको पीडा भुलाउने नाममा उनी कुलतमा फसे । बीचैमा छुटेको पढाइलाई पनि निरन्तरता दिन सकेनन् ।

‘अमेरिका जानेका पछि लाग्दा मेरो जिन्दगी नै बर्बाद भयो’ भन्ने उनी अहिले आफू अमेरिका हिँडेकामा पश्चाताप गर्छन् । अमेरिका जाँदा लागेको ऋण तिर्न उनी काठमाडौंमा बसेर काम गरिरहका छन् ।

रुकम पूर्व र पश्चिमका गाउँमा अहिले अमेरिका गएका मात्रै हैन, डिपोर्ट भएर फर्केका थुप्रै व्यक्ति भेटिन्छन् । रुकुमपूर्व सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीका अनुसार, अवैध बाटोबाट अमेरिका गएका आधाजसो असफल भएर फर्किएका छन् । कति पुगेर पनि डिपोर्ट भएर फर्किएका छन् । कति त बाटोमै अलपत्र छन् ।

‘अमेरिका पुग्नेको त ठीकै होला’ अध्यक्ष रेग्मी भन्छन्, ‘जान नसकेकाहरुको बिचल्ली छ ।’

कभर स्टोरी
लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?