+
+

एक महिनामै सेयर मूल्य १५ प्रतिशतभन्दा धेरै बढेका यी ७ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १०:४२

१५ मंसिर, काठमाडौं । समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ ।

पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

विगत एक महिनामा समग्र सेयर बजारको अंक भने स्थिर रहयो । कात्तिक १५ गते नेप्से परिसूचक १८५८ अंकमा रहेकोमा सामान्य उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम भएको छ ।

यही अवधिमा दुई होटल, दुई जलविद्युत् कम्पनी, एक लगानी कम्पनी, एक उत्पादन कम्पनी र एक लघुवित्त कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ३० प्रतिशतले बढेको छ ।

किन बढ्यो यी कम्पनीको मूल्य ?

सिमित सेयर आपूर्ति हुने कम्पनीमा समूह नै सक्रिय भई लगानीकर्ताले मूल्य बढाएर फाइदा लिने गरेको पनि पाइन्छ । जसले गर्दा वित्तीय स्थिति एकदमै खराब भएका सानो पुँजीका कम्पनीहरुको मूल्य एकैदिन १० प्रतिशत पनि बढ्ने गरेका छन् । त्यसकारण कम्पनीको व्यावसायिक वा वित्तीय स्थितिमा खास कुनै प्रगति नभए पनि मूल्य बढ्ने गरेका छन् । सिंगटी र मन्दाकिनी हाइड्रोपावर त्यसकै उदाहरण हुन् ।

केही कम्पनीमा भने यतिबेला लगानीकर्ताको आकर्षण नै देखिन्छ । पर्यटन सिजन सुरु हुनु र नेपालमा पर्यटकको संख्या बढ्दा विगत १ महिनामा समग्र होटल समूह नै ९ प्रतिशतले बढेको पाइन्छ । जसले गर्दा तारागाउँ र ओरियन्टल होटलको सो समूहका अरु कम्पनीको तुलनामा मूल्य धेरै बढेको छ ।

समाज लघुवित्तको स्थिति केही फरक छ । सेयर बिक्री गर्नेहरु नहुँदा कारोबार नै हुन नसकी कम्पनीको मूल्य बढ्न नसकेको हो । लघुवित्तहरुमा यो कम्पनीको मूल्य सबैभन्दा सस्तो हो । यद्यपि कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ लाख रुपैयाँ नोक्सानीमा छ ।

आईपीओ मूल्यभन्दा तल झरेर समेत कारोबार भएको सोनापुर मिनरल्स पछिल्ला दिनमा धेरै कारोबार हुने ‘टप फाइभ’मा पर्दै आएको छ । सिमेन्ट कम्पनीहरुमा यो कम्पनीको मूल्य सबैभन्दा सस्तो रहेको र आपूर्ति पनि अरुको तुलनामा कम रहेकाले मूल्य बढेको पाइन्छ । यद्यपि कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अझै सार्वजनिक गरेको छैन ।

हाथवेले भदौ अन्तिम साता प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ जारी गरेको थियो । यसमा पनि सेयर संख्या न्यून भई आपूर्ति कम हुनु मूल्य बढ्नुको मुख्य कारण हो । मूल्य धेरै बढेकाले अहिलेको अवस्थामा मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७८ गुणा छ, जसले मूल्यमा जोखिम पनि बढेको स्पष्ट पार्दछ । हाथवे मात्रै नभई मूल्य बढ्दा अरु कम्पनीमा पनि जोखिम बढ्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?