+
+

‘तत्काल अस्थायी टहरा नबनाए मृत्युदर दोब्बरले बढ्छ’

सरकार र प्रमुख प्रतिपक्षलाई मेरो प्रश्न छ— के भूकम्प प्रभावितको ज्यान भन्दा ठूलो टिकटक र दुर्गा प्रसाईंको आन्दोलन हो ? कतिसम्मको लापरवाही र गैरजिम्मेवारी काम हो यो, उहाँहरूले एकपटक समीक्षा गर्न जरूरी छ ।

डा. नवराज केसी, बालरोग विशेषज्ञ       डा. नवराज केसी, बालरोग विशेषज्ञ      
२०८० मंसिर १५ गते १५:५७

जाजरकोटको भूकम्प प्रभावित क्षेत्र भौगोलिक रूपले आफैंमा अत्यन्त विकट छ । अहिले पनि त्यहाँका अधिकांश गाउँमा फोन सम्पर्क हुन सक्दैन । त्यस्तो अवस्थामा पनि खोज र उद्धारको सवालमा राज्यको भूमिका एकदमै प्रशंसनीय थियो । समयमै हेलिकप्टरबाट उद्धार गरियो । धेरै घाइते बाँच्न सफल भए ।

तर राहत वितरण र अस्थायी टहरा पुनस्र्थापनाको सवालमा फेरि देशको बिग्रिएको राजनीतिक अनुहार भूकम्प प्रभावित गाउँहरूमा देखिन थालेको छ । तीन तहका सरकार तीनतिर फर्किएका छन् । अस्थायी संरचना निर्माणको सवालमा कसको भूमिका के ? भन्नेमा अस्पष्ट देखिन्छ । सरकारी संरचनाको कमजोर कार्यशैलीको परिणाम आज प्रत्येक दिन चिसोकै कारण भूकम्प प्रभावितहरूले ज्यान गुमाइरहेका छन् । तर सरकारलाई त्यसको कुनै लेखाजोखा छैन ।

राहत वितरणमा स्थानीय तहले त्यहाँको तत्कालीन आवश्यकताको लिस्टिङ गरेर यो–यो सामग्री हामीलाई चाहिएको छ र सोही अनुसार सहयोग गरिदिनुहोस् भनेर दाताहरूलाई आह्वान गर्नुपर्ने थियो । त्यसो गरिएको भए त्यहाँ चाहिने र आवश्यक सामग्रीहरू मात्र पुग्नेथिए । त्यो काम अहिलेसम्म पनि हुनसकिरहेको छैन । नागरिकको आवश्यकता एकातिर, दाता र सरकारको चासो अर्कोतिर भएको देखिन्छ ।

हिजो दिनहुँ लस्कर लाग्ने ठुला नेताहरू आज कहाँ हुनुहुन्छ ? ठूला नेताहरू जाने समय बल्ल आएको छ । पुनःनिर्माण कार्यको अनुगमन गर्ने, नेता कार्यकर्ता र नागरिकलाई परिचालन गर्नेतिर शीर्ष नेताहरू केन्द्रित हुनुपर्ने हो । चिसोले दिनहुँ भूकम्प प्रभावितहरूको ज्यान गइरहेको छ । तर सरकारले ती मृत्यु हुनेहरूको तथ्याङ्क समेत राख्न सकिरहेको छैन ।

सरकार, सत्तापक्ष, प्रमुख प्रतिपक्ष सबैको चासोकोे विषय दुर्गा प्रसाईंको आन्दोलन र टिकटक बनेको छ । सरकार र प्रमुख प्रतिपक्षलाई मेरो प्रश्न छ, के भूकम्प प्रभावितको ज्यान भन्दा ठूलो टिकटक र दुर्गा प्रसाईंको आन्दोलन हो ? यो कतिसम्मको लापरवाही र गैरजिम्मेवारी हो, उहाँहरूले एकपटक समीक्षा गर्न जरूरी छ ।

यतिबेला गाउँमा त्रिपाल हैन, टेन्ट चाहिएको छ । बारेकोट, कुसे र नलगाडको माथिल्लो क्षेत्रमा अब लगत्तै हिउँ पर्छ । ती क्षेत्रमा त्रिपालले काम गर्दैन । चिसो बढ्दा मात्रै त्यहाँ दिनहुँ जसो मान्छेको मृत्यु भइरहेको छ । अस्थायी टहरा समयमै बनेनन् र अवस्था यही रहे भूकम्प प्रभावित क्षेत्रमा मृत्यु हुनेको संख्या दोब्बरले बढ्ने देखिन्छ ।

यो अत्यधिक चिसो हुने समय हो । यस्तो अवस्थामा अस्पताल वा घर जुनसुकै ठाउँमा भए पनि प्राकृतिक रूपमा भर्खरै जन्मेको बच्चा र सुत्केरीलाई चिसोले सबैभन्दा बढी असर गर्छ । गाउँमा पुगेका राहतका त्रिपालले शीत छल्न सकिरहेका छैनन् ।

यी त्रिपाल भित्र आगोे बाल्दा अलि उमेर पुगेका मानिसहरूलाई खासै असर गर्दैन । तर भर्खरै जन्मेका बालबालिका, सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन सक्दैन । जसको परिणाम स्वरुप शीताङ्ग भई उनीहरूको ज्यान गइरहेको छ ।

राहतका नाममा गाउँमा चाउचाउ र बिस्कुट बाँडिंदा त्यसले नकारात्मक असर पारिरहेको छ । विपत्पछि बालबालिका कुपोषणको सिकार भइरहेका छन् । बरु गाउँका खेतबारीमा पाइने सिस्नु र रोटी खान उत्प्रेरित गर्न आवश्यक छ ।

सित्तंैमा पाइन्छ भनेर गाउँलेले चाउचाउ खाँदा त्यसको नकारात्मक असर हामीले सोचेभन्दा धेरै गम्भीर हुनेछ । पत्रु खानाले बालबालिका बिरामी पर्न थालेका छन् । उनीहरूमा निमोनिया, रुघाखोकी, झाडापखाला जस्ता समस्या देखिन थालिसकेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा दाताहरूले चाउचाउ र बिस्कुटको साटो आलुका बोरा, अण्डा, पीठो र चालम लगायतका खानेकुराहरू पठाउन आवश्यक छ । अहिले उनीहरूको खानपिन भने जस्तो नहुँदा र भूकम्पका बीभत्स दृश्यहरूले मानसिक अवस्था पनि ठीक छैन ।

जाजरकोटमा चिसोका कारण मृत्यु हुनेमा सबैभन्दा बढी दीर्घरोगी ज्येष्ठ नागरिक हुनुहुन्छ । ज्येष्ठ नागरिक र दीर्घरोगीहरू जो लामो समयदेखि चुरोट खानुहुन्थ्यो र जसको फोक्सोमा समस्या थियो, उहाँहरूलाई पनि चिसोले धेरै असर गरेको छ ।

राति कुनै लक्षण देखियो भने अस्पताल जान सकिने अवस्था छैन । जसले गर्दा उहाँहरू सामान्य रोगलाई पचाएर बस्नुभएको छ । साना–साना रोगलाई पचाएर बस्यो भने त्यसले कुनै समय ठूलो रूप लिन सक्छ । त्यही भएर मानिसहरूको ज्यान गइरहेको छ । र, अझै जान सक्ने सम्भावना धेरै नै देखिन्छ ।

सबै जनाले शौचालय राम्ररी प्रयोग गर्न पाएका छैनन् । खानेपानीको स्रोत पनि राम्रो छैन । सरसफाइ राम्रोसँग गर्न सकेका छैनन् । यदि कसैलाई रुघाखोकी वा भाइरल रोग लाग्यो भने सामूहिक रूपमा बस्दा रुघाखोकी एकअर्कालाई सर्छ । र, यसरी एकअर्कालाई सरेको पनि देखिन्छ । यसकारण पनि धेरै जना बिरामी भएर ज्यान गइरहेको छ ।

फिल्डमै गएर अस्थायी टहरा बनाउने पुनःनिर्माणको काम हेर्दा दुःखद् छ । किनभने सरकारी संयन्त्र त्यहाँ छैन भन्दा पनि हुन्छ । सरकारी संयन्त्र, विभिन्न राजनीतिक दल र दातृ निकायहरूले गरिरहेका छन् भनेर उनीहरूलाई नै जिम्मा दिएर बसेको जस्तो देखिन्छ ।

त्यहाँ घुम्दा देखिन्छ, राजनीतिक पार्टीले बनाएका टहराहरू त्यति बलिया छैनन् । किनकि उनीहरू यो सम्बन्धमा जान्ने वा इन्जिनियर होइनन् । स–सानो खाल्डो खन्ने, खाँबाहरू गाड्ने र किलाले टिन ठोकिदिने काम मात्रै उनीहरूले गरेका छन् । त्यसमा कुनै मापदण्ड छैन ।

यसरी बनाइएका टहराहरूले उपयुक्त परिणाम देला भन्न सकिंदैन । टहराको गुणस्तर भन्दा संख्या बढाउने होडमा छन् उनीहरू । र, मलाई लाग्छ यसरी निर्माण गरिएका यी टहराहरू बस्नलायक पनि छैनन् । त्यसैले पुनःनिर्माणको कार्य एकदम निराशाजनक छ । दुःखद् नै छ भन्न सकिन्छ ।

स्थानीय तहले सम्बन्धित बस्तीका नागरिकलाई पुनःनिर्माणमा परिचालन गर्नुपर्ने थियो । तर त्यसो गर्न सकिरहेको देखिंदैन । न त बाहिरबाट खटिएका स्वयंसेवकहरूले गरेका कामको लेखाजोखा नै गरेको छ । सुरक्षाकर्मीहरूलाई अगाडि लगाएर निर्धारित मापदण्ड बनाई जतिसक्दो चाँडो टहराहरू बनाउन आवश्यक छ । त्यसो नगरिए अब हिउँ पर्दैछ, यसले नराम्ररी असर गर्नेछ ।

राष्ट्रपतिले पाइला टेकेको ठाउँमा दीर्घकालीन योजना सहित काम गर्नुपर्ने थियो । यस सम्बन्धमा सरकारले नीतिगत उल्झन देखाउँदै पन्छिएको छ । र, आफ्ना योजना र रणनीतिहरू सार्वजनिक गर्नुपर्ने थियो । त्यो गर्न सकिरहेको देखिंदैन ।

पुनःनिर्माणको काम राम्ररी गर्ने, डिजाइन बनाउने र सोही डिजाइन अनुसार काम गर्ने वातावरण तत्काल बनाइनुपर्छ । पुनःनिर्माणका सामानमा कर कटौती गरेर हुन्छ कि त्यहाँसम्म पुर्याइदिएर हुन्छ सरकारले सहयोग गर्न आवश्यक छ ।

त्यहाँका कृषकहरूलाई पनि विशेष राहतको व्यवस्था गर्न आवश्यक छ । हेल्थपोष्टको उत्थान गर्नुपर्नेछ । भत्किएका विद्यालयहरू जतिसक्दो छिटो उठाउनु छ । किनकि त्यहाँ हजारौं विद्यार्थीको भविष्य जोडिएको छ ।

सरकारले समग्र विकासलाई समेट्ने गरी एउटा प्याकेज बनाएर काम गर्न जरूरी छ । जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरहरू खटाउन जरूरी छ । किनकि भूकम्प फेरि–फेरि पनि आउन सक्छ । प्रत्येक पटक विपत्ति आउँदा हेलिकप्टर नै उडाउने हो भने त ठिकै छ, होइन भने त्यही खर्चले जिल्ला अस्पतालको स्तरोन्नति गर्न सकिन्छ ।

भनिन्छ, ‘विपद्को बेला सही नेतृत्वको पहिचान हुन्छ ।’ भूकम्प प्रभावित क्षेत्रको व्यवस्थापनका लागि छुट्टै नेपाली मोडल तयार गरेर दुनियाँलाई देखाउन सकिन्छ । भूकम्प प्रभावितलाई बेवास्ता गरेर हैन, नयाँ मोडेल स्थापना गरेर जान सकिन्छ । यतिबेला चिसोले कठ्याङ्ग्रिएको जाजरकोटलाई राज्यको न्यानोपन चाहिएको छ ।

(भूकम्प गएलगत्तै उद्धार, राहत र उपचारमा जाजरकोटका ग्रामीण बस्तीमा खटिएका डा. नवराज केसी बालरोग विशेषज्ञ हुन् । अनलाइनखबरका लागि यज्ञ खत्रीसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?