+
+

भाजपालाई ५ मध्ये ३ राज्यमा जित हासिल, कांग्रेस एक राज्यमा सीमित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १८:११

१८ मंसिर, काठमाडौ । भारतको सत्तारूढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले सोमबार सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार ५ राज्यमध्ये तीनमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगको वेबसाइट अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कांग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः विजय हासिल गरेको छ ।

कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ ।पाँचौँ राज्य मिजोरममा सोमबार मतगणना हुनेछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ ।

प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’ का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

‘छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ”, मोदीले सामाजिक सञ्जाल एक्समा भने ।

कांग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरे । ‘विचारको लडाइँ जारी रहने छ’, तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै उनले एक्समा भनेका छन् ।

विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए ।

नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूसँग हिडेका थिए । सम्बोधनमा उनले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको बताए ।

करिब एक दशक सत्तामा रहेका मोदी र उनको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उनले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्ने सर्वेक्षणहरूले देखाएका छन् ।

यद्यपि इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । इन्डियाको नेतृत्व कांग्रेसले गरेको छ ।

निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?