+

कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?

२०८० मंसिर  १९ गते १५:५३ २०८० मंसिर १९ गते १५:५३
कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?

अनिद्रा एक रोग सरह हो । जबकि अहिले धेरैको निद्रा विथोलिएको छ । समयमा सुत्न वा निदाउन कठिन भइरहेको छ ।

यस्तो हुनुमा विविध कारण छ । तनाव, मनरोगदेखि अरु थुप्रै कुराले मान्छेको निद्रा विथोलिदिएको छ । जब मस्त निद्रा पुग्दैन के हुन्छ ?

यसले शरीरलाई शिथिल, कमजोर बनाउनेदेखि अरु थुप्रै समस्या निम्त्याउँछ । दैनिक कामकाज गर्न असहज हुन्छ । यस्तो अवस्थामा धेरैले खोज्ने एउटै साहारा हो, स्लिपिङ ट्याबलेट ।

सामान्य भाषामा बुझ्दा स्लिपिङ ट्याबलेटले निदाउन सहज बनाइदिन्छ । तर, यो साइड इफेक्टरहित छैन । यो निकै सावधानीपूर्वक प्रयोग गर्नुपर्ने औषधि हो । यदि जथाभावी प्रयोग गरिएमा ज्यान नै जानसक्ने पनि हुनसक्छ ।

त्यसैले चिकित्सकले यस्तो औषधि खानका लागि हत्तपत्त सुझाव दिदैनन् । यदि अनिद्राको कारण एकदमै जटिल समस्या हुनसक्ने देखिएमा मात्र निद्राको औषधि सिफारिस गरिन्छ ।

कस्तो अवस्थामा निद्रको औषधि खान भनिन्छ ?

कुनैपनि समस्याको कारण अनिद्राको समस्या भोगेका, रातमा निदाउनै नसक्ने, एक पटक व्युझिँएपछि निदाउनै नसक्ने, छटपटी हुने, एन्जाइटी एवं डिप्रेसनको समस्या भएकाहरुलाई यस्तो औषधि खानका लागि सिफारिस गरिन्छ ।

कुन समयमा खानुपर्छ

सामान्यतया निद्रा लाग्ने औषधि रातीको समयमा नै खाने सल्लाह दिइन्छ । राती सुत्नु अघि यो औषधि खानुपर्छ ।  तर, केही विशेष परिस्थितिमा छटपटी एकदमै धेरै छ भने बिरामीको अवस्था हेरेर बिहानको डोज पनि दिइन्छ ।

स्लिपिङ ट्याब्लेटले कसरी काम गर्छ

स्लिपिङ ट्याब्लेट मस्तिष्कमा रहेका ‘गाबा रिसेप्टर’हरूमा काम गर्छ, जसले हाम्रो दिमागको सतर्कतालाई विश्राम दिन्छ । यसले दिमागको क्रियालाई शान्त गराएर छटपटीलाई कम गर्छ । अनि निद्रा लगाउँछ ।

यसको साइड इफेक्ट के के छन्

चिकित्सकको सल्लाह बिना यो औषधिको प्रयोग गर्नु हुँदैन । सल्लाह बिना लामो समय यो औषधिको सेवन गर्दा यसको लत बस्न सक्छ ।

लामो समय देखी  यी औषधिहरूको सेवन गरिएको छ भने यसको लत बस्छ र औषधि नखाई निद्रा लाग्दैन । यो औषधि झट्ट छोड्दा बेचैनी र छटपटी हुने जस्ता थुप्रै समस्या पैदा हुन सक्छन् ।

धेरै व्यक्तिहरूलाई स्लीपिङ ट्याब्लेट खाएर सुतेको भोलिपल्ट दिनभरि आलस्य महसुस हुने, झुम्म हुने हुन सक्छ ।  किनकि यो औषधिको प्रभाव शरीरमा लामो समयसम्म रहन्छ ।

औषधिले बिरामीलाई झुम्म भएर शरीर पूर्ण सन्तुलनमा नहुने, भुल्ने समस्या पनि हुन सक्छ ।

दमको समस्या भएका बिरामीहरूमा यसको प्रयोगले अक्सिजन कम भएर श्वास प्रश्वासमा समस्या  हुने समस्या पनि हुन सक्छ ।

मनोचिकित्सक स्लिपिङ ट्याबलेट
डा. नवीन लेखक
लेखक
डा. नवीन लेखक
मनोचिकित्सक

मनोचिकित्सक डा. लेखक हाल ललितपुरस्थित पाटन अस्पताल र  अल्का अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमडी गरेका छन् । उनको नेपाल मेडिकल दर्ता नम्बर १२७२६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय