नवजात शिशु वा बालबच्चाको कानमा समस्या हुने जोखिम उच्च हुन्छ । चाहे स्तनपान गर्ने क्रममा होस् वा नुहाइदिने, गल्तीवश कानमा तरल पदार्थ पुग्न सक्छ । यसले भित्री संक्रमण गराउँछ । नतिजा, कान दुख्छ, चिलाउँछ ।
कान चिलाउने, दुःख्ने क्रम यथावत रहेमा त्यसले भित्री संक्रमण बढ्दै गएको जनाउ दिन्छ । यस्तो अवस्थामा कान गन्हाउने, पाक्ने हुन्छ । यदि यथासिघ्र उपचार गरिएन भने बच्चाको कानको जाली प्वाल परेर त्यसको संक्रमण भित्रसम्म पुग्छ । यसले गर्दा जीवनभर कानमा समस्या भइरहने हुन्छ । यसको सबैभन्दा ठूलो जोखिम भित्री संक्रमण बढेर मस्तिष्कसम्म पुग्न सक्छ । साथसाथै श्रवण शक्ति गुम्न सक्छ । अर्थात बच्चाको कान नै नसुन्ने स्थिती आउन सक्छ ।
संक्रमण भएर कान दुख्ने एवं चिलाउने प्रमुख कारण हो । त्यसबाहेक अरु पनि कारण हुन्छ, जसले बच्चाको कान चिलाउने र दुख्ने समस्या ल्याउँछ । जस्तो कानेगुजी जम्मा भएर, कानमा किरा वा केही पसेर, यात्रा गर्दा हावा पसेर । त्यसबाहेक शरीरको अन्य अंगमा समस्या हुँदा पनि बच्चालाई कान दुखेको महसुष हुन्छ । जस्तो दाँतको समस्या छ, टन्सिलको समस्या छ, तर बच्चाले कान दुखेको महसुष गर्छ ।
यसले बच्चालाई त पीडा दिन्छ नै आमाबुवालाई पनि सताउँछ ।
हामीकहाँ ल्याउने बच्चाहरुमा चाहिँ कान दुख्ने वा चिलाउन समस्या मूलत संक्रमणकै कारण भएको देखिन्छ । कानको संक्रमण हुनुमा पनि दुइ किसिमको हुन्छ । कानको बाहिरी भागको संक्रमण र अर्को मध्य भागको ।
बाहिरी भागको कानको संक्रमण हुनुमा चाहिँ कान सफा गर्दा, बच्चाले कान चलाउँदा हुनसक्छ । मध्य भागको संक्रमणमा चाहिँ गलत शैलीले स्तनपान गराउनु एउटा मूख्य कारण देखिन्छ ।
प्राय आमाले भनिरहेका हुन्छन्, ‘मेरो त बच्चाको कानमा दूध पसेकै थिएन ।’ बुझ्नुपर्ने कुरा के हो भने, कानमा दूध बाहिरबाट पसेर मात्र संक्रमण हुने होइन । बच्चालाई सुताएर दूध चुसाउने क्रममा भित्री प्वालबाटै कानसम्म पुग्छ । त्यसैले हामी भनिरहेका हुन्छौं, ‘बच्चालाई दूध खुवाउँदा टाउको अलि उठाइदिनुपर्छ ।’
हाम्रो कान र घाँटीलाई जोड्ने भित्री एउटा नली हुन्छ, जसलाई इस्टाचियन ट्युब भनिन्छ । शिशुमा यो नली राम्ररी विकास भइसकेको हुँदैन । आमाको दूध चुस्दा त्यही नलीबाट कानसम्म पुग्न सक्छ । यसरी कानमा तरल पदार्थ पसेपछि दुख्न थाल्छ । यो क्रम जारी रहेमा त्यहाँ संक्रमण हुन्छ ।
भर्खरै जन्मेको बच्चादेखि ठूला उमेरकालाई सम्म कानको संक्रमण हुनसक्छ । यो जन्मजात भन्दा पनि पछि शिशुलाई खुवाउने, हुर्काउने क्रममा समस्या हुनसक्छ । आमालाई रुँघा लागेमा बच्चालाई सर्छ र त्यसले कानमा संक्रमण गराउन सक्छ ।
यदि बोल्न नसक्ने शिशु छन् भने यस्तो बेला उनीहरु रुने, कराउने गर्छन्, झर्को मान्छन् । कानमा हात पु¥याउन खोज्छन् । आमाबुवालाई ठम्याउन कठिन पनि हुनसक्छ कि, किन बच्चा रोइरहेका छन् । सामान्यत कान दुखेर, चिलाएर रोएको छ भने बच्चाले हातले कान समाउन खोज्छन् । वा कानभित्र औंला छिराउने गर्छन् । यस्तो अवस्थामा हामीले सहज अनुमान गर्नुपर्ने हुन्छ, बच्चाको कानमा केही भइरहेको छ ।
आमाबुवाले के गल्ती गर्छन् ?
शिशु एवं बालबच्चाको कानमा संक्रमण जस्ता समस्या हुनुमा धेरैजसो आमाबुवाको असावधानी वा गल्ती देखिन्छ । स्तनपान गराउँदा, नुहाउँदा मात्र होइन अरु कुरामा पनि आमाबुवाले गल्ती गरिरहेका हुन्छन् ।
धेरैजसोले कान कोट्याइदिने, कानभित्र तेल हालिदिने गर्छन् ।
कानमा तेल हाल्ने चलन चाहिँ हाम्रो मुलुकतिर मात्र हो । पश्चिमा मुलुकमा यस्तो हुँदैन । जबकि तुलनात्मक रुपमा कानको समस्या हामीकहाँ नै बढी छ । कानमा तेल हाल्दा राम्रो हुन्छ भन्ने कुनै वैज्ञानिक विधि र प्रमाण छैन । बरु कानमा तेल हाल्दा ढुसी संक्रमण अर्थात फंगल इन्फेक्सन भएको पाइन्छ ।
मानौ कुनै बच्चाको कानको जालीमा प्वाल परेको छ । यस्तो अवस्थामा कानमा तेल हालियो भने समस्या अरु बढेर जान्छ ।
अर्को गल्ती के देखिन्छ भने बच्चाको कानमा जे सुकै समस्या आएपनि कान सफा गरिदिने झोल हालिदिने । यस्तो झोल जथाभावी लगाउनै हुन्न । त्यसबाहेक हामीकहाँ नराम्रो चलन के छ भने बच्चाको कान गन्हायो वा पिप आयो भने ड्रप लगाइदिन्छन् । यो एन्टिबायोटिक हो र जताततै औषधि पसलमा पाइन्छ । यस्तो ड्रप किन्न चिकित्सकको प्रेस्किप्सन मागिदैन । त्यही कारण आमाबुवाले खाफुखुसी सो ड्रप किनेर बच्चको कानमा लगाइदिने गर्छन् । यसले गर्दा बच्चाको कानमा थप जटिलता आउन सक्छ ।
के गर्ने त ?
शिशु एवं बच्चाको कान चिलाएमा, दुखेमा संभव भएसम्म चिकित्सकलाई देखाउनुपर्छ । सबैतिर कानको विशेषज्ञ डाक्टर नभेटिन सक्छ । जनरल फिजिशियन वा अरु डाक्टरले पनि यसको जाँच गरिदिन सक्छन् ।
यदि चिकित्सकलाई भेट्न अनुकुल छैन । बच्चाको कान दुखेर हैरान पारेको छ भने प्यारासिटामोल खुवाइदिन सकिन्छ । प्यारासिटामोल मात्रा मिलाएर खुवाउनुपर्छ । यो एकदमै सानो शिशुदेखि अरु बालबालिकालाई पनि खुवाउन सकिन्छ । प्यारासिटामोल खुवाएको केही दिनपछि कतिपय समस्या आफै निको हुन सक्छ । यदि सो निको नभएमा सम्बन्धित चिकित्सकलाई भेट्नुपर्छ ।
प्रतिक्रिया 4