+

शरीर बुढो हुँदै गएपछि किन हात काम्छ ?

२०८० पुष  ५ गते १६:१३ २०८० पुष ५ गते १६:१३
Shares
शरीर बुढो हुँदै गएपछि किन हात काम्छ ?

हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका  व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ ।

यो अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हुने समस्या हो । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको हुन्छ । जस्तो ब्रस समाएर दाँत माझ्न, चम्चा वा हातले कुनैपनि खानेकुरा खान, औषधि खान, लुगाफाटो लगाउन असहज हुन्छ ।

यस किसिमको अवस्थालाई ‘मुभमेन्ट डिसअर्डर’ भनिन्छ । अर्थात् शरीरका अंग खासगरी हातले सही रुपमा काम गर्न नसक्नु हो । हात, खुट्टा र मस्तिष्कबीच आपसमा जोडिने स्नायु प्रणालीले शिथिलता आएपछि यस्तो हुन्छ ।

हाम्रो इन्द्रियहरुले गर्ने कुनैपनि कामका लागि मस्तिष्कको नियन्त्रण र निर्देशन जरुरी हुन्छ । यसका लागि शरीरका ती अंग र मस्तिष्कबीच स्नायु प्रणालीले संचारको आदान–प्रदान गर्छ । जब कुनै अंगसँग जोडिने स्नायु प्रणालीले राम्ररी काम गर्दैन त्यसको प्रभाव सो अंगमा पर्छ । बुढ्यौलीमा हात काम्नु पनि यही एउटा कारण हो ।

दीर्घकालिन तवरमा बुढ्यौलीमा हातखुट्टा काम्नुकाे एउटा मुख्य समस्यालाई हामी पार्किन्सन्स् राेग भनेर बुझ्छौं । एक रिपोर्ट अनुसार अल्जाइमरपछि बुढ्यौलीमा लाग्ने दोस्रो मूख्य रोग हो, पार्किन्सस् । के अनुमान गरिन्छ भने विश्वभरमा सातदेखि दश करोड व्यक्तिलाई यसले सताएको छ

पार्किन्सन्स् रोग के हो ?

शरीरको क्रियाकलाप नियन्त्रण गर्न मस्तिष्कमा ‘बेसल गेन्गलिया’ भन्ने भाग हुन्छ । बढ्दो उमेरसँगै सो भागको स्नायु कोषिकाहरू या त मर्छन् वा क्षयिकरण हुँदै जान्छन्, जसले गर्दा डोपामिन रसायन उत्पादन गर्ने क्षमता पनि प्रभावित हुन जान्छ ।
डोपामिन उत्पादनको कमीले हात–खुट्टा काँप्ने मात्र नभइ शरिर सुस्त हुँदै जाने, बोली लर्बराउने, शरीरले काम गर्न नसक्ने हुन्छन् । जसका कारण शरीरका मांसपेशी, हाडजोर्नी लगायतका अंग प्रभावित हुन्छन् । यो रोग ४० वर्ष पछिका प्रति एक लाखमा ४१ जना र ८० वर्षमाथिका प्रति दश लाखमा १९ सयभन्दा बढी मानिसमा देखिन्छ ।

बढ्दो छ समस्या

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वव्यापी रुपमा २५ वर्षयता यो रोग लाग्नेको संख्या दाेब्बरले वृद्धि भएको छ । सन् २०१९ मा भएको तथांङ्कले यसै भन्छ ।  अन्य नसा रोग भन्दा यो रोगबाट अशक्त हुने र मृत्यु हुने संख्या बढ्दो छ ।

किन यस्तो हुन्छ ?

यस रोग लाग्नुको कारण अझै पनि पत्ता लाग्न सकेको छैन । यद्यपि यस रोग लागेका व्यक्तिमा मांसपेशीका चाल नियन्त्रण गर्न अत्यावश्यक रहेको डोपामिन नामक रसायन बनाउने स्नायुकोष क्रमिक रूपमा क्षय हुँदै वा मर्दै जान्छन् ।

डोपामिन एक रासायनिक सूचक हो, जसले मस्तिष्कको दुई क्षेत्रहरू बीच गतिविधि समन्वय गर्न संकेतहरू पठाउँछ । यदि यस क्षेत्रमा डोपामिनको कमी छ भने, व्यक्तिले आफ्नो चाललाई निर्देशित गर्न वा नियन्त्रण गर्न असमर्थ हुन्छ ।

फलस्वरूप पार्किन्सन्स् लागेका व्यक्तिको मस्तिष्कमा डोपामिनको मात्र ज्यादै कम हुन्छ । जसकारण मस्तिष्कको कार्यमा दखल पुग्छ । चाल नियन्त्रण गर्ने स्नायुकोषहरूको कार्य क्षमतामा ह्रास आइ शारीरिक क्रियामा असन्तुलन पैदा हुन्छ । शरीर लर्बराउने, जिउ कडा हुने वा चल्न गाह्रो हुनेजस्ता समस्याका कारण दैनिक जीवनयापनमा समेत असहजता पैदा हुन्छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार पार्किन्सन्स् मा नो्रईपिनेफ्रीन रसायन उत्पादन गर्ने स्नायुलाई पनि असर गर्छ । नोरईपिनेफ्रीनको मुख्य काम भनेको मुटुको धड्कनको दर र रक्तचापलाई नियन्त्रण गर्नु हाे । नोरईपिनेफ्रीन रसायन कम हुँदै गएमा बस्दा र उठ्दा रक्तचाप गडबड हुने र पाचनप्रणालीमा असर गर्न सक्छ ।

केही कारक तत्वहरु पार्किन्सन्स् रोगको लागि जिम्मेवार मानिन्छन् ।

वंशाणुगत : अध्ययन अनुसन्धान अनुसार केही विशेष अनुवांशिक परिवर्तनको कारण पार्किन्सन्स् को रोग हुनसक्छ । यद्यपि, वंशाणुगत भएपनि थोरैमा मात्र यो हुने जोखिम हुन्छ ।
वातावरणीय प्रभाव : विषाक्त पदार्थ जस्तै, कीटनाशक औषधिको सम्पर्कमा आउने र काम गर्ने व्यक्ति पनि पार्किन्सन्स् रोगको जोखिममा हुन्छन् । यो सम्भावना पनि न्यून छ ।
पार्किन्सन्स् रोग बढ्दै जाँदा यसको लक्षण पनि बढ्न थाल्छ। रोगको पछिल्ला चरणहरूमा मस्तिष्कको कार्य प्रायः प्रभावित हुन सक्छ, जसले डिमेन्सिया र डिप्रेसन पनि निम्त्याउन सक्छ ।

लक्षण

-पार्किन्सन्स् रोगको पहिलो लक्षण हात काम्दै जानु हो ।प्रभावित व्यक्तिको नियन्त्रण हुँदैन ।

-कम्पन बढ्दै हिँड्न, बस्न समस्या हुने एवं बिस्तारै मानिस नै यताउती गर्न कठिन हुन्छ ।

-हात, खुट्टा र बङ्गारा पनि सन्तुलनमा नबस्ने हुनसक्छ ।

-मांसपेशी जाम हुँदै जान्छ ।

-आँखा झिम्काउने गतिमा कमी आउँछ ।

-डिप्रेसन वा डिमेन्सियाको जोखिम बढ्छ ।

-अनुहारको हाउभाउ परिवर्तन आउँछ ।

यी परिवर्तनहरु शरीरमा बिस्तारै देखा पर्दै जान्छ । त्यसैले, कहिलेकाहीँ यसको लक्षण पहिचान गर्न गाह्रो हुन्छ। यो रोग सामान्यतया ६० वर्षभन्दा माथिका वृद्धवृद्धाहरूमा देखिन सक्छ। विरलै मात्रामा युवा एवं वयस्कमा पनि यो रोग पाइन्छन् ।

उपचार

पार्किन्सन्स् रोगका बिरामीको अवस्थालाई ध्यानमा राख्दै, यसको लक्षणलाई नियन्त्रण गर्ने औषधि र थेरापीको माध्यमबाट जीवनको गुणस्तर बढाउने प्रयास गरिन्छ।

यसैगरी मानसिक समस्याका लागि मनोचिकित्सकलाई जाँच गराएर औषधि लिन सकिन्छ । तर, पार्किन्सन्स् राेगलाई पुर्ण रुपले निको पार्न सकिदैन ।

पार्किन्सन्स् को वैकल्पिक उपचारमध्ये शल्यक्रिया पनि एक हो । यस क्रममा मस्तिष्क शल्यक्रिया गरी ब्रेन पेस मेकर राखेर पनि शारीरिक क्रियाकलापलाई आफ्नो चाहना बमोजिम नियन्त्रणमा ल्याईन्छ । ब्रेन पेस मेकरमा ब्रेनको कार्य सुधार गर्ने ब्याट्री राखिन्छ । सो ब्याट्रिमा ‘डिप ब्रेन स्टिमुलेसन’ अर्थात् डीबीएस राखिन्छ । सो प्रविधिले मस्तिष्कमा विद्युतीय तार जडान गरेर विद्युतीय तरंगको माध्यमद्वारा कृत्रिम किसिमले स्नायुकोषको गतिविधिलाई सामान्य अवस्थामा ल्याउने मद्दत गर्छ ।

किन हात काम्छ पार्किन्सन्स्
डा. सुशीलमोहन भट्टराई
लेखक
डा. सुशीलमोहन भट्टराई
कन्सल्टेन्ट न्युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७७७० अध्ययन : एमबीबीएस, सर्जरीमा एमएस, न्युरोसर्जरीमा एमसीएच हाल काठमाडौंको वीर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग