+
+
कभर स्टोरी :

अमेरिका छिर्न खोज्दा जसले बाटोमै ज्यान गुमाए

अमेरिका जान महिनौं जोखिमपूर्ण यात्रामा हिंडेकाहरूमध्ये सबै गन्तव्यमा पुग्दैनन् । कतिले बीच बाटोमै ज्यान गुमाउँछन् । गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्दा दक्षिण अमेरिकी क्षेत्रका जंगल, समुद्र र बाटोमा मृत्युवरण गर्नेहरूको दृष्टान्त ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० पुष ६ गते २०:४५

६ पुस, काठमाडौं । दुई वर्षअघि घर छोड्दै गर्दा रुकुम मुसिकोटकी लीला बोहराले श्रीमान्लाई रोक्न खोजिन् । अनि माया भरिएको भावमा सम्झाएकी थिइन्– ‘घरमा साना बच्चा छन्, टाढाको बाटो यत्तिकै न हिंड्नुस् !’

तर गाउँ छिरेको अमेरिका जाने लहरले उनका श्रीमान् रमेश गौतमलाई रोक्न सकेन । सेनाको जागिर, श्रीमती र घरमा दुई साना सन्तान छोडेर उनले गाउँका युवाले जस्तै अमेरिका जान अवैध बाटो समाए ।

२०७९ साल वैशाखमा एजेन्टलाई ३५ लाख बुझाएर घरबाट निस्किए । दुबईलाई ट्रान्जिट बनाएर उनी विभिन्न देशहुँदै कोलम्बियासम्म पुगे । त्यतिञ्जेलसम्म सम्पर्कमै रहेका उनी आफू बाटोमै भएको र केही महिनामा पुग्ने भन्दै श्रीमतीलाई चिन्ता नलिन भन्दै सम्झाइरहन्थे ।

घरबाट हिंडेको करिब ६ महिनापछि उनी कोलम्बियाबाट पानामा तर्फ अघि बढेका थिए । २७ कात्तिक २०७९ राति स्थानीय सुरक्षाफौजको आँखा छल्दै क्याराबियन सागरमा अघि बढेको डुंगा कपुरगाना नपुग्दै दुर्घटना भयो । कोलम्बिया पार गराउन एकदर्जन बढी यात्रु बोकेको डुंगा पल्टिंदा रमेश सहित ३ नेपाली गरी ६ जना बेपत्ता भए ।

त्यसको अर्को दिन मात्रै बोहराले आफ्नो श्रीमान् चढेको डुंगा दुर्घटना भएको अपुष्ट खबर पाइन् । थुप्रै हप्ता र महिना बिते । तर, सात समुद्र पारि हराएका श्रीमान्को कुनै खबर आएन । अमेरिका पुग्ने रमेशको सपना क्याराबियन सागरमै हरायो ।

लिला बोहरा र रमेश गौतम ।

घटना भएको अहिले वर्ष दिन बढी भइसकेको छ । तर श्रीमान्को सम्झनामा लीलाका आँखाको आँसु रोकिएको छैन । बेलाबखत उनी मोबाइलमा रहेको श्रीमान्को फोटो हेर्छिन् र टोलाइरहन्छिन् । ‘सम्झना भन्नु अब फोटो मात्रै छ’ आफ्नो नियतिलाई धिक्कार्दै उनी भन्छिन्, ‘के गर्नु यस्तै लेखेको रहेछ !’

क्याराबियन सागरमा डुंगा पल्टेर रमेशसँगै ज्यान गुमाउनेमा रुकुम बाँफिकोट गाउँपालिका–७ का अर्का व्यक्ति थिए, प्रदीप खत्री । गाउँका युवाहरू धमाधम अमेरिका हिंड्न थालेपछि प्रदीपको मन पनि गाउँमा अडिएन । ३६ लाख रुपैयाँ ऋण खोजेर उनले पनि एजेन्ट समाते ।

२०७८ असोजमा उनी घरदेखि हिंडेका थिए । घर छोड्दा श्रीमती धनमाया खत्री एक महिनाकी सुत्केरी थिइन् । महिना दिनको काखे छोरा र दुई साना सन्तान छोडेर उनी अवैध बाटोहुँदै अमेरिका हिंडेका थिए । वर्षौं लामो यात्रा गरेर अमेरिका हिंडेका उनी गन्तव्यसम्म पुग्न पाएनन् । क्याराबियन सागरमा डुंगा हराएसँगै उनका सपनाहरू पनि हराए ।

घटनाको दुई दिनपछि मात्रै प्रदीपको परिवारले उनी डुंगा दुर्घटनामा परेको थाहा पाए । घरमा काखमा सन्तान सम्हालेर बसेकी धनमाया श्रीमान्को मृत्युको खबरले विक्षिप्त भइन् । श्रीमान्को साथ खोसिएपछि उनको संसार नै उजाडियो ।

घर छोड्दै गर्दा प्रदीपले भनेका थिए, ‘पहाडमा जति गरे पनि दुःखहरू सकिंदैनन् । केही वर्ष दुःख गरे हाम्रा दिनहरू फेरिन्छन्, सुखका दिन आउँछन् ।’ तर श्रीमान्को मृत्युपछि उनीमाथि झन् ठूलो पहाड खस्यो । एकातिर जीवन साथी गुमाउनुको पीडा थियो, अर्कोतिर काखमा भएका बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता । ‘श्रीमान् बितेपछि मेरो जीवन नै अँध्यारो भयो’ उनले भनिन्, ‘साना केटाकेटी म एक्लैले कसरी हुर्काऊँ ?’

दाङको तुलसीपुरका २७ वर्षीय रेशम ढेंगा मगर पनि अवैध बाटोबाट अमेरिका जान २०७५ चैतमा घरदेखि हिंडेका थिए । दुबईलाई ट्रान्जिट बनाएर विभिन्न देशहुँदै उनी पनि कोलम्बिया पुगेका थिए । कोलम्बियादेखि पानामा जाने क्रममा उनी पनि क्यारेबियन सागरमा भएको डुंगा दुर्घटनामा परेका थिए । रमेश र प्रदीप जस्तै ठीक एक वर्षअघि २०७८ असारमा उनी पानामा जाने क्रममा डुंगा पल्टेर क्यारेबियन सागरमै बेपत्ता भए ।

डुंगा दुर्घटनामा पर्नु एकदिन अघि मात्रै उनले दाङस्थित आफ्ना काका जीतबहादुर ढेंगा मगरसँग फोनमा कुराकानी गरेका थिए । उनले आफू समुद्रको बाटो भएर पानामा जंगल जान लागेको कुरा बताएका थिए । ‘अघिल्लो दिन मात्र उसले छिट्टै पुग्छु, चिन्ता नलिनु भनेर फोनमा कुरा गरेको थियो’ काका जीतबहादुरले भने, अर्काे दिन नै डुंगा पल्टेको खबर आयो ।’

रेशमको अभिभावक भन्नु नै उनका काका जीतबहादुर थिए । आमा बुबा छुट्टिएकाले उनी सानैदेखि काका जीतबहादुरसँग बस्दै आएका थिए । जीतबहादुरले नै उनलाई हुर्काएका थिए । ‘साथीभाइ गएको देखेर उसले पनि अमेरिका जाने रहर गर्यो’ उनले भने, ‘रहर गरेपछि रोक्ने कुरा भएन । २८ लाख रुपैयाँ ऋण खोजेर उसलाई पठाएको थिएँ ।’

घरदेखि हिंडेको दुई वर्षपछि डुंगा दुर्घटनामा भतिजको मृत्यु भएको खबर काका जीतबहादुरले पाए । अमेरिका जान प्रयोग गरिने अवैध बाटो अप्ठ्यारो छ भन्ने कुरा जीतबहादुरले सुने पनि ज्यानै जान सक्छ भन्ने चाहिं उनले सोचेका थिएनन् । ‘यस्तो होला भन्ने सोच नै आएन’ उनले भने, ‘थाहा पाएको भए किन पठाउने थियौं र !’

दाङ तुलसीपुर उपमहानगरपालिका–३ गोटीखोलाका २२ वर्षीय साहिल बोहरा अष्ट्रेलिया जाने सोचमा थिए । तर गाउँमा सुरु भएको अमेरिका छिर्ने लहरले उनको पनि ध्यान मोडियो । विश्वको महाशक्ति देश पुगिने, महिनामा ५–६ लाख कमाइ हुने भनेर अमेरिका पठाउने एक जना एजेन्टले उनलाई लोभ देखाएका थिए । अनि ‘विदेश जाने नै हो भने अमेरिका किन नजाने त ?’ भन्ने सोचले उनको मन बदलियो ।

साहिल बोहरा

एजेन्टलाई ३० लाख बुझाएर २७ भदौ २०७८ मा साहिल अवैध बाटोबाट अमेरिका जान हिंडे । पहिलो एजेन्टले दुई महिना दुबईमा राखेपछि उनले अर्काे एजेन्ट समाते । दुबईबाट उनी पेरु पुगे । एजेन्टले देखाएको बाटो पछ्याउँदै कहिले गाडी र कहिले पैदल यात्रा गरिरहे ।

पेरुको घट्दो तापक्रम, त्यसमाथि लगातार हिंडाइले उनी बिरामी परे । घरदेखि हिंडेको तीन महिनापछि यात्रामा हिंड्दा हिंड्दै बाटोमै ढले । उनीसँगै यात्रा गरिरहेका साथीहरूले अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरे । यसरी अमेरिका जाने उनको सपना पेरु पुगेर सकियो ।

साहिल घरका एक्ला छोरा थिए । घटना हुनु अघिल्लो साँझ मात्र उनले परिवारसँग कुरा गरेका थिए । ‘अघिल्लो साँझ मात्र फोनमा कुरा गरेको थियो’ साहिलका बाबु रामबहादुर बोहराले भने, ‘छिट्टै पुग्छु, चिन्ता नलिनु भन्थ्यो । अर्काे दिन त्यस्तो खबर आयो ।’

एक्लो छोरा परदेशमा बितेपछि परिवार अहिले सन्तान वियोगमा छ । कसैले उनको छोराबारे कुरा गरे मात्र पनि उनको मन भारी हुन्छ, आँखाका छेउकुना रसाउँछन् । ‘अमेरिका जाने चक्करमा छोरो गुम्यो’ बाबु रामबहादुरले भने, ‘यस्तो पीडा कसैले भोग्नु नपरोस् !’

परिवारलाई ऋणको पासो

यसरी अमेरिका जान खोज्दा बाटोमै ज्यान गुमाएका व्यक्तिको परिवारसँग आफ्नो मान्छे गुमाउनुको पीडा मात्र हुँदैन, अमेरिका पठाउँदा लिएको ऋण दोब्बर भइसकेको हुन्छ । चर्काे ब्याजमा ऋण लिएका उनीहरू त्यही ऋणको पासोमा पर्छन् ।

जस्तो कि, रुकुमपश्चिम बाँफिकोटका प्रदीप खत्रीको परिवार । अमेरिका जाँदा एजेन्टलाई बुझाउन चाहिने ३५ लाख रुपैयाँ उनले सयकडा तीनका दरले ऋण लिएका थिए । दुई वर्षमा त्यो ऋणको सावाँ र ब्याज गरेर ७० लाख रुपैयाँ पुग्यो ।

अमेरिका जान श्रीमान्ले लिएको ऋणको बोझ अहिले धनमाया माथि थपिएको छ । ‘ऋण दिएकाहरू पैसा माग्दै घर घेर्न आएको आएकै छन्’ उनले भनिन्, ‘घरमा साना बालबच्चा छन् । लगाउने खाने पनि केही छैन । यस्तो बेलामा कसरी ऋण तिर्ने होला ?’

रुकुमपश्चिमकी लीला बोहरालाई श्रीमान्को मृत्युपछि एक्लै जीवन बिताउने बाध्यता आइपरेको छ । त्यसमा पनि  श्रीमान्लाई अमेरिका पठाउँदा लिएको ऋणको भारीले थिचेको छ । ३६ प्रतिशतमा लिएको ऋणको अंक बढेर ५० लाख नाघिसक्यो । आधा पैसा मात्र एजेन्टले फिर्ता दियो । तिर्नुपर्ने ऋण अझै बाँकी छ । लीला भन्छिन्, ‘ऋण बढेको बढ्यै छ । बालबच्चा सानै छन् । कसरी तिर्ने भन्ने चिन्तामा छु ?’

तुलसीपुरका जीतबहादुरले पनि भतिज रेशमलाई पठाउँदा लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । ‘अमेरिका पुगेर ऋण फाल्छ भनेर सोचेको थिएँ, तर बाटोमै त्यस्तो भयो’ उनले भने, ‘भतिजो बिते पछि उसलाई पठाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने पीरले खाइरहेको छ ।’

२०७५ सालमा लिएको २८ लाख रुपैयाँ अहिले सावाँ–ब्याज गरेर दोब्बर भन्दा बढी भइसक्यो । त्यसमा थप ऋण लिएर उनले आफ्नो छोरालाई पनि अवैध बाटोबाट अमेरिका पठाए । भतिज र छोरालाई पठाउँदा लिएको ऋण जोड्दा उनको टाउकोमा एक करोड रुपैयाँ माथि ऋण छ ।

‘भतिजो बितेपछि दलालले पैसा फिर्ता दिएन’ उनले भने, ‘त्यही पैसामा छोरालाई पठाइदिन्छु भन्यो । तर भने जस्तो भएन, छोरालाई पठाउँदा फेरि पैसा थप्न लगायो ।’ उनी अहिले आफू ऋण नै ऋणको भुमरीमा फसेको बताउँछन् । थकित मुद्रामा उनले भने, ‘यो ऋणदेखि कसरी पो पार लागिएला र खै !’

शव देख्न पाइँदैन, खबरमै चित्त बुझाउनुपर्छ

‘तलको बाटो’ भनिने यो अवैध मार्गबाट यात्रा गर्दा दशौं देशका सीमा पार गर्दै लामो यात्रा तय गर्नुपर्छ । हरेक देशका सीमा नाकामा सुरक्षाकर्मीको आँखा छल्दै लुकेर यात्रा गर्नु सजिलो काम होइन । सयौं नदी, जंगल, पैदल, समुद्रहरू छिचोलेर महिनौं दिन हिंड्नुपर्छ ।

त्यसमा पनि ठाउँ–ठाउँमा लुटेरा समूहसँग जोगिंदै हिंड्नुपर्छ । त्यो कठिनपूर्ण यात्रा सबैले पार गर्न सक्दैनन् । त्यसैले कतिले जाँदा जाँदै बीचमै ज्यान गुमाउँछन् । त्यसरी बीच बाटोमै मृत्युवरण गरेका व्यक्तिका परिवारले न मृत्युको आधिकारिक सूचना पाउँछन्, न शव नै देख्न पाउँछन् ।

प्रदीप खत्रीको श्रीमती धनमाया, बालबच्चाका साथमा ।

२०७९ असोजमा ज्यान गुमाएका प्रदीप खत्रीका परिवार अहिलेसम्म उनको शवको प्रतीक्षामा छन् । प्रदीपको परिवारले छोराको पर्खाइमा अहिलेसम्म दाहसंस्कार पनि गरेको छैन । श्रीमान्को अवस्था अहिलेसम्म अज्ञात भएकाले परिवारले दाहसंस्कार गर्न मानेका छैनन् । श्रीमती धनमाया भन्छिन्, ‘सास हुञ्जेल आश हुने रहेछ, फर्केर आई पो हाल्नुहुन्छ कि ?’

रुकुमपश्चिमकी लीला बोहरा पनि दुर्घटना भएको ६ महिनासम्म बाटो कुरेर बसिन् । ‘डुंगा पल्टेर श्रीमान् हराएको समाचार मात्रै आयो’ बोहराले भनिन्, ‘शव नभेटेसम्म पत्याउन मुश्किल भयो ।’

धेरैपछिसम्म पनि रमेशलाई कुरेर बसेको परिवारले दाहसंस्कार गर्न मानेन । ‘फर्की पो हाल्नुहुन्छ कि भनेर कुरेर बस्यौं’ उनले भनिन्, ‘तर न सास आयो न लाश !’ अन्ततः रमेश फर्केर आउने आश मरेपछि परिवारले २०८० वैशाखमा विधिपूर्वक संस्कार गरे ।

लीलालाई भने श्रीमान् गुमेको पीडा जति छ, त्योभन्दा बढी पीडा शव पनि देख्न नपाएकोमा छ । उनी भन्छिन्, ‘शव देख्न पाएको भए पनि मन त बुझाउन हुन्थ्यो ।’

पेरुमा मृत्यु भएका दाङ तुलसीपुरका साहिल बोहराको शव फर्काउन उनको परिवारले धेरै कोसिस गर्यो । ‘उता छोराको मृत्युको खबर आयो’ बुबा रामबहादुर बोहराले भने ‘यता, छोराको शव पनि हेर्न नपाउने भयौं ।’ परिवारले पेरुबाट शव झिकाउन प्रयत्न नगरेको होइन । अनेक दौडधुप गरे, नेतालाई भने । तर त्यहाँ नेपालको कूटनीतिक सम्बन्ध नभएको भनेर शव ल्याउन सकिएन ।

त्यसपछि पेरुमै रहेका नेपालीको सहयोगमा साहिलको शव व्यवस्थापन गर्न लगाए । ‘अनेक प्रयास गर्दा पनि शव ल्याउन सकिएन’ उनले भने, ‘ढिला गरे शव बिग्रन सक्थ्यो । भिडियोबाट छोराको दाहसंस्कार गरेर मन बुझायौं ।’

२०७८ साल असारमा क्यारेबियन सागरमा डुंगा दुर्घटनामा हराएका तुलसीपुरकै रेशम ढेंगा मगरको अवस्था पनि तीन वर्षयता अज्ञात छ । उनका काका जीतबहादुर शव पत्ता लगाउन धेरै प्रयास गरे पनि नसकिएको बताउँछन् ।

‘डुंगा पल्टेर बेपत्ता भएको भन्ने खबर मात्रै पायौं’ उनले भने, ‘शव भए पनि देख्न पाउँला भनेर धेरै समय बाटो हेर्यौं, तर तीन वर्ष बित्दा पनि कुनै खबर नआएपछि मृत्यु भएको भनेर स्वीकार गर्यौं ।’ उनले अगाडि थपे, ‘बाँचेको भए त अहिलेसम्म खबर आइहाल्थ्यो नि !’

अमेरिका जान भनेर अवैध बाटोमा मृत्युवरण गरेका अरू थुप्रै परिवारले पनि शव समेत पाएका छैनन् । ५ असार २०७८ मा कोलम्बियाबाट अमेरिका छिर्न भन्दै हिंडेका दाङ घोराहीका २१ वर्षीय एन्जल बुढा सहित क्यारेबियन समुद्रमा दुर्घटनामा हराएका सात नेपालीको अवस्था अहिलेसम्म अज्ञात छ । छोराको शव नपाए पनि परिवारले भने एञ्जलको मृत्यु भएको भन्दै दाहसंस्कार गरिसकेको छ ।

एन्जलसँगै डुंगा पल्टेर बेपत्ता भएका दाङ, तुलसीपुरकै हेमराज अधिकारीको शव पनि अहिलेसम्म परिवारले पाएको छैन । २०७९ कात्तिकमा डुंगा पल्टिएर क्याराबियन सागरमा हराएका प्यूठानका काले गिरीको परिवार भने अहिले पनि शवको पर्खाइमा छ ।

कूटनीतिक सम्बन्ध छैन भने शव ल्याउनै कठिन

तलको बाटो अमेरिका हिंडेका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१० का २० वर्षीय मदन शाहीको यात्रा पानामाको जंगलमा पुगेर टुंगियो । एजेन्टलाई ४० लाख रुपैयाँ बुझाएर २०७८ सालमा अमेरिका हिंडेका मदन घर छोडेको एक वर्षपछि पानामाको जंगलमा मृत फेला परे ।

मदनका दाइ कपिल शाहीका अनुसार, २५ मंसिर २०७९ मा पानामाको जंगलमा खोला तर्ने क्रममा डोरी चुँडिएपछि मदन बगेको समाचार आयो । परिवारका लागि यो घटना असाध्यै दुःखदायी थियो । किनकि खोलामा मदन मात्रै बगेका थिएनन्, उनीसँगै उनको परिवारका सपना पनि बगेको थियो । उनको परिवारले यो खबर धेरै दिनपछि मात्रै थाहा पाएको थियो ।

बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय रूपक बोहरा २०७८ सालको सुरुवाततिर एजेन्टलाई पैसा बुझाएर अमेरिका जान हिंडेका थिए । अफ्रिकी मुलुक घाना पुगेपछि उनी बिरामी परे । २०७८ मंसिरमा उनले ज्यान गुमाए । मृत्युको करिब एक महिनापछि परिवारले उनको शव पाएका थिए ।

आज पनि दाङ, रुकुम र रोल्पाका गाउँहरूमा यस्ता मृत्युमार्ग हुँदै अमेरिका जाने लहर रोकिएको छैन । दुर्गम गाउँमा मानव तस्करको झुटो आश्वासन र सूचनाका भरमा थुप्रै युवा यो बाटो गइरहेका छन् । लुकीछिपी जानेको संख्या निकाल्न पनि सजिलो छैन ।

यसरी गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्दा ज्यान गुमाउनेहरूको यकिन विवरण पाउन सजिलो छैन । गैरकानुनी यात्रा हुने हुँदा सम्बन्धित परिवारलाई कुनै स्रोतबाट आउने समाचार बाहेक अरू कुनै अभिलेख पाइन्न । ‘गैरकानुनी रूपमा गएको’ भन्ने बहाना बनाएर राज्य संयन्त्र चुपचाप बस्छ । जसका कारण यस्ता घटनाहरू माथि कुनै अध्ययन अनुसन्धान नै हुँदैन ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख जीवन श्रेष्ठले यो मृत्युको केन्द्रमा पैसा कमाउने लोभ रहेको बताए । उनले भने, ‘पैसा कमाउने लोभमा नेपाली युवा जस्तोजुकै जोखिम मोलेर पनि अवैध बाटो हिंड्न तयार भइरहेका छन् । त्यसरी हिंडेकाहरूमध्ये कतिले बाटोमै ज्यान गुमाइरहेका हुन्छन् ।’

उनका भनाइमा, ‘अझ त्यो मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध रहेनछ भने त शव ल्याउन पनि मुश्किल पर्छ ।’

के कारणले व्यक्ति यो विघ्न जोखिम उठाएर पनि विदेशिन चाहन्छ ? यस्तो अवस्था कसरी आउँछ ? हामीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई यो प्रश्न सोधेका थियौं । उनी भन्छन्, ‘मूल कारण यहाँबाट धकेल्ने ‘पुसिङ फ्याक्टर’ हो । जब देशभित्र बस्न सक्ने स्थिति छैन भन्ने मानिसलाई लाग्छ, तब ऊ जस्तोसुकै जोखिम मोल्न पनि तयार हुन्छ ।’

कभर स्टोरी
लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?