+
+
राजमार्गको दुर्दशा-११ :

धराप राजमार्गले धराशायी बन्दै यातायात व्यवसाय

राजमार्गहरुको विस्तार र निर्माणमा भइरहेको ढिलाइ र लापरवाहीले सडक धराप बन्दा यातायात व्यवसायीहरु नै पलायन हुने क्रम बढ्न थालेको छ। सरकारको कमजोर कार्यशैलीकाे मूल्य यातायात सेवा दिने कम्पनीहरुले पनि चुकाइरहेका छन्।

रवीन्द्र घिमिरे आभास बुढाथोकी रवीन्द्र घिमिरे, आभास बुढाथोकी
२०८० पुष १९ गते २३:५९

१९ पुस, बुटवल । ६ पुसमा भारतबाट काठमाडौंका लागि फर्निचरजन्य सामग्री बोकेर आएको आरजे–०२ जीबी ५२०४ नम्बरको ट्रक दाउन्ने डाँडा कटेर ओरालो झर्दै गर्दा पल्टिएपछि भारतीय श्रमिकहरु सुरुमा रनभुल्ल परे । विस्तारको क्रममा  खाल्डैखाल्डा भएका सडकमा अरु गाडीले उडाएको धुलोमा रुमल्लिएपछि चालकले नियन्त्रण गुमाउँदा ट्रक पल्टिएको थियो ।

नेपाली आयातकर्ता ‘पार्टी’लाई सम्पर्क गरेर अर्को ट्रकमा सामान लोड गर्न गाडीका मजदुरलाई एक दिन लाग्यो । ‘नेपालको बाटोमा माल बोकेको सवारी जोगाउनै मुस्किल छ, यस्तो रद्दी बाटोमा पनि मान्छेले सवारी चलाइरहेका छन्’ पल्टिएको ट्रक कुरिरहेका एक यातायात मजदुरले भने, ‘यो बाटोमा सधैं गाडी चलाइरहनेहरुलाई सलाम नै गर्नुपर्छ ।’

अनलाइनखबरको टोली ६ पुसमा बुटवल–नारायणगढ सडकको यात्रामा निस्किंदा चोरमाराको जंगलमा एस्काभेटर बोकेको ट्रक र बर्दघाटको ‘एस मोड’मा गिट्टी बोकेको ट्रिपर पनि पल्टिएको देखिएको थियो ।

राजमार्ग आसपासका स्थानीयहरुका अनुसार बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक र यात्रुवाहक सवारी साधनहरु दिनहुँ पल्टिरहन्छन् ।

दाउन्नेको उकालोमा बिग्रिएका सवारी साधनहरु भेटिनु त सामान्य भइसकेको छ । सडकको दुरवस्थाका कारण यात्रु र सवारी चालकहरुलाई सास्ती त भएको छ नै, लाखौं लगानी गरेका यातायात व्यवसायीको त रोजीरोटीको माध्यम नै धरापमा परेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्ड विस्तार सुरु गरेको पाँच वर्ष पुगिसक्दा पनि बनाउनेभन्दा बढी भत्काउने काम जारी छ ।  ५ वर्ष बितिसक्दा समेत आधा पनि काम नभएपछि अब सडक छिट्टै बन्छ र तत्कालै व्यावसायिक वातावरणमा सुधार हुन्छ भन्नेमा यातायात व्यवसायीहरु विश्वस्त छैनन् ।  अझ सरकारले  मुग्लिन–नागढुंगा सडकखण्डमा समेत भद्रगोल र सुस्त तरिकाले काम थालेपछि व्यवसायीहरु हतोत्साही छन् ।

पोखरा-मुग्लिन सडकको हालत पनि उस्तै छ ।  बिहीबार मात्रै वीरगञ्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । विस्तार भइरहेको पृथ्वी राजमार्ग अन्तर्गतको सडकमा नियन्त्रण गुमाएर बस पल्टिएको हो ।  राजमार्गमा यस्ता घटना सामान्य भइसकेका छन् ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बुटवल–नारायणगढ सडकले पश्चिम नेपालसँग जोडिने लामो दूरीको यातायात व्यवसायलाई नै जोखिमको भूमरीमा धकेलेको बताउँछन् । राजमार्गहरूको दुरवस्थाले जताततै यातायात व्यवसायी प्रताडित बनेको उनको भनाइ छ ।

पश्चिममा मात्रै नभएर पूर्व–पश्चिम राजमार्गको विभिन्न खण्डसहित काठमाडौं जोडिने अधिकांश नाका सडकहरुमा पनि विस्तार र सुधारको काम चलिरहे पनि काम सुस्त हुँदा यातायात व्यवसायीका लागि अबको कही वर्ष झन् असहज बन्ने सिटौलाले बताए । ‘पूर्वदेखि पश्चिमसम्म नै राजमार्ग निर्माण र विस्तार भइरहेका छन्, तर काम सुस्त हुँदा व्यवसायी, चालक र यो व्यवसायमा आश्रितहरु पलायन हुँदैछन्’ उनी भन्छन्, ‘कोभिडपछि थलिएको यातायात व्यवसायका लागि सडकको चरम दुरावस्था अर्को महामारीजस्तो बन्न लागिसक्यो ।’ खराब सडकको कारण दुर्घटना पनि बढेर व्यवसायीले अधिक आर्थिक क्षति पनि ब्यहोरिनुपरेको र यात्रुको उपचारमा समेत व्यवसायीले ठूलो रकम खर्चिनु परेको उनले बताए ।

लामो समयसम्म सडकखण्डहरु विस्तारका नाममा अलपत्र बनाएर राख्दा यात्रा समय, सवारी चालक तथा यात्रुको सुरक्षा र आम मनोविज्ञानमा समेत नकारात्मक असर पारेकाले यातायात व्यवसायमा त्यसको अप्रत्यक्ष प्रभाव देखिएको वरिष्ठ उपाध्यक्ष सिटौला बताउँछन् ।

व्यवसायीलाई सवारीको मर्मत तथा सञ्चालन खर्च बढेको, सवारी मजदुरको व्यवस्थापन जटिल भएको र व्यवसायमा धेरै जोखिम लिनुपर्ने अवस्था आएको सिटौलाको भनाइ छ । ‘हामीसँग कति व्यवसायीले कस्तो क्षति बेहोरे र कति पलायन भए भन्ने यकिन तथ्यांक त छैन, तर कस्तो अवस्थामा अहिले यो व्यवसाय टिकिरहेको छ भन्ने कुरा यातायात व्यवसायी र कम्पनीहरुलाई मात्रै थाहा छ,’ उनले भने ।

सडकको बेहालले व्यवसायीलाई सडकमै ल्याउने जोखिम बढाएको भन्दै उनले अघि भने, ‘यतिसम्म मानसिक यातना छ कि सरकारले अलपत्र छाडेको सडकको कारणले यात्रुलाई समयमा गन्तव्यमा पुर्याउन सकिंदैन, यसबापत चर्को गाली हामीले खाइरहेका छौं ।’

महाकाली बहुउद्देश्यीय यातायात प्रालिका अध्यक्ष डम्मरराज पन्त पाँच वर्षदेखि बुटवल–नारायणगढ सडकले दुःख दिइरहेको र अझै कति यस्तो सास्ती भइरहन्छ भन्ने निश्चित नभएकाले नयाँ बसहरु थपिने क्रम नै घटेको दाबी गर्छन् ।

विगतमा नयाँ बस किनेर ल्याएपछि नियमित सर्भिसिङ मात्रै गर्दा ८ देखि १० वर्षसम्म गम्भिर समस्याहरु नदेखिने तथ्य अहिले कथा बनेको पन्त बताउँछन् । ‘नयाँ गाडी हाल्दा बाटोका कारण अहिले एक वर्षमै गाडी थोत्रो भइसक्छ’ उनी भन्छन्, ‘कुन उत्साहले यहाँ लगानी गर्नु ?’

ठूला लगानीमा किनिएका पावरफूल इन्जिनसहितका सुविधायुक्त बसमा समेत तीन वर्षभित्रै बिग्रिएर समस्या आएको पन्तले सुनाए । यातायात व्यवसायमा संकट गहिरिनुको मुख्य कारण कमजोर सडक पूर्वाधार भएको भन्दै उनले भने, ‘राजमार्ग नै धरापजस्तो छ, अनि हाम्रो व्यवसाय किन धराशायी नहोस् ।’

धुलो र खाल्डाले गाडीको आयु घटाएको व्यवसायीको दाबी विस्तार भइरहेका राजमार्गको सडक खण्डहरुको अवस्था हेर्दा नाजायज लाग्दैन । बुटवल–नारायणगढ ११३ किलोमिटर सडकखण्डमा गाडीहरु एकोहोरो खाल्डाको मार झल्दै गुड्छन् । पहिले दुई घण्टामा पार हुने यो सडक अहिले कम्तीमा ४ देखि ६ घण्टा लाग्ने अवस्था छ ।

मुग्लिनबाट नागढुंगा नआइपुग्दाको ९५ किलोमिटर सडक खण्ड पनि अहिले त्यही हविगत नजिक पुगेको छ । सुस्त ढंगले विस्तार भइरहेका सडकका ठाउँ–ठाउँमा खनिएर छाडेका भागहरु र सडक छेउमा थुपारिएका निर्माण सामग्री गाडीका लागि पासो थापेजस्तै बनेका छन् । ‘नयाँ गाडीमा पनि खाल्डाखुल्डीका कारणले टुटफुट आउन थालिहाल्छ, दुर्घटनामा पर्ने जोखिम पनि उत्तिकै बढेको छ,’ व्यवसायी पन्त भन्छन्, ‘गाडीमा समस्या आउन थालेपछि पटक–पटक बिग्रिन्छ, त्यसको महँगो मूल्य हामी व्यवसायीले चुकाउनुपर्छ ।’

गाडीबाट आयभन्दा बढी खर्च हुन थालेपछि कतिपयले व्यवसायमा लगानी नै गर्न छाडेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमाल बताउँछन् । यसैकारण पश्चिम रुटमा नयाँ गाडी थपिने क्रम घटेको उनले बताए ।

हमालका अनुसार बुटवलको सडक विस्तार सुरु हुनुअघि तत्कालीन त्रिशिद्धेश्वरी राप्ती समितिमा वर्षमा २० देखि २५ वटासम्म गाडी थपिन्थे । राजमार्ग दुरावस्थाकै कारण अहिले यो क्रम घटेर ८ देखि १० वटामा झरेको हमाल बताउँछन् । २० जना व्यवसायीले यातायात व्यवसाय छाड्दा ८ जना मात्रै नयाँ व्यावसायी आएकोे उनले बताए । ‘जति सुविधायुक्त गाडी भए पनि सडकमा लैजानानाथ पुरानो भइहाल्छ, मेन्टेन गरेर राख्ने कुरा हाम्रो हातबाट मात्रै सम्भव छैन,’ हमालले भने, ‘खर्च उठाउनुको साटो लगानी थपिरहनुपर्ने भएपछि को लगानी गर्न अघि सर्छ ?’

विगतमा गाडी थप्नुलाई प्रतिष्ठाको रुपमा लिइने भएपनि अहिले ठूलो जोखिम लिएको भाष्य स्थापित भइसकेको उनले बताए । ‘अस्वस्थ प्रतिष्पर्धामा सवारी चल्छन्, त्यसमाथि सडकले गाडी ध्वस्त पार्छ,’ उनी भन्छन्, ‘यात्रु सकेसम्म विमान नै रोज्छन्, यो व्यवसायमा समस्या आउनु केही नौलो होइन ।’

महँगो ब्याजको ऋण लिएर किनिएका गाडी राजमार्गहरुमा दुर्घटना परे उठिबास लाग्ने पनि हमालले बताए । त्यसमाथि बाटो खराब भएपछि लामो रुटमा सवारी चलाउने चालकको समय अभाव चर्किएको छ । ‘चालक, सहचालक जस्ता जनशक्तिहरु पनि विदेशतिरै जान रुचाउँछन्,’ उनी भन्छन्, ‘यो बाटो देखेर चालक र सहचालक वाक्क भएका छन्, कसैले छोड्यो भने नयाँ भेट्टाउनै मुस्किल छ ।’

दाङ–काठमाडौं रुटमा यात्रुबस चलाइरहेका दाङको तुलसीपुरका शिव भण्डारी चार दशकको व्यावसायिक जीवनलाई विश्राम दिने सोचमा पुगेका छन् । बितेको आधा दशकमा बुटवल–नारायणगढ सडकले दिएको दुःखलाई ‘अपारको सास्ती’ भन्दै उनले बाटोको अवस्था तत्काल नसुध्रिए गाडी चलाएर गुजारा गर्न नसकिने उनको निष्कर्ष छ ।

तीन दशकअघि यही बाटोमा गाडी गुडाउँदा महिनामा ६ पटकसम्म दाङ–काठमाडौं अपडाउन गरेको उनको स्मरण छ । भण्डारीका अनुसार एक पटक किनेको गाडी ८–९ वर्षसम्म गज्जबको कन्डिसनमा चल्थ्यो । ‘गाडी चलाएरै राम्रो कमाइ हुन्थ्यो, जीवन चलेको थियो,’ उनले भने, ‘साहुलाई पनि समस्या हुन्थेन, हामी चालकलाई पनि, अब त्यो दिन रहेन ।’

यात्रा समय बढ्दा गाडीको खर्च पनि बढ्ने भन्दै उनले दाङ–काठमाडौं आउन–जान खर्च हुने इन्धनकै खर्चले यसको सोझो हिसाब देखाउने बताए । सामान्यतया बसलाई यो रुटमा आउ–जाउ गर्न २४० लिटर तेल लाग्ने गरेकोमा अहिले ३२० लिटर तेल खर्च हुन थालेको भण्डारीको दाबी छ । ‘मर्मत खर्चको त यकिन हिसाब हुँदैन, जहाँ जतिबेला पनि जस्तो पनि समस्या पर्न सक्छ,’ उनी भन्छन्, ‘कुनै महिनामा मर्मत खर्चले त गाडी भाडालाई जित्न खोज्छ ।’

२० वर्षदेखि नेपालगञ्ज–काठमाडौं रुटमा बस चलाइरहेका बाँकेका हरिराम कार्की पछिल्लो समयमा पटक–पटक गाडी मर्मतका लागि दिनुपर्दा वाक्क भएको बताउँ छन् ।

उनका अनुसार बुटवलदेखि नारायणगढसम्मको बाटोले विगतमा एकपटक मर्मत गर्दा जति समय गाडी चल्थ्यो, अहिले त्यही सयममा तीनपटक मर्मतमा छाड्नुपर्छ, । धुलोले इञ्जिन जाम हुनेदेखि पार्टपुर्जा चाँडै काम नलाग्ने बन्नेसम्मका समस्या आउँछन् । ‘डिजेल र गाडीको मर्मतमै धेरै पैसा सकिन्छ,’ भण्डारी भन्छन्, ‘धेरथोर बेचेको पैसा साहुलाई दिनैपर्छ, आफू त सुख्खामा हिँड्नुपरेको छ ।’
तस्वीर : शंकर गिरी/अनलाइनखबर

राजमार्गको दुर्दशा-१ 

राजमार्गको दुर्दशा-२ 

राजमार्गको दुर्दशा-३

राजमार्गको दुर्दशा-४

राजमार्गको दुर्दशा-५

राजमार्गको दुर्दशा-६

राजमार्गको दुर्दशा–७

राजमार्गको दुर्दशा-८

राजमार्गको दुर्दशा-९

राजमार्गको दुर्दशा-१०

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?