+

नसा च्यापिंदा शल्यक्रिया गर्ने कि फिजियोथेरापी ?

२०८० पुष  २० गते १२:४४ २०८० पुष २० गते १२:४४
नसा च्यापिंदा शल्यक्रिया गर्ने कि फिजियोथेरापी ?

काठमाडौं । काठमाडौंकी अस्मिता दुलाललाई लामो समयदेखि ढाड दुख्ने समस्याले सताइरहेको थियो । उनले त्यसलाई बेवास्ता गरिरहेकी थिइन्, सामान्य दुखाइ ठानेर ।

एकदिन अचानक सहने नसक्नेगरी दुख्‍न थाल्यो । ढाडको दुखाइ कतिसम्म भयो भने उठ्न र बस्नै नसकिने भयो । उनी हतारिंदै वीर अस्पताल पुगिन् । चिकित्सकले उनलाई ढाडको एमआरआई गर्ने सल्लाह दिए । एमआरआईबाट थाहा भयो, उनको ढाडको नसा च्यापिएको रहेछ । चिकित्सकले भने- तपाईंले तुरुन्त शल्यक्रिया गराउनुपर्छ ।

शल्यक्रिया (अपरेसन) भन्नासाथ उनी हच्किइन् । शल्यक्रिया गर्दा अरु समस्या पनि थपिने हो कि भनेर डराइन् ।

त्यसबीचमा उनलाई कसैले सुनाए, ‘नसा च्यापिएको अवस्थामा शल्यक्रिया गर्नु हुन्न । यो त फिजियोथेरापीबाट पनि निको हुन्छ ।’ थेरापीका लागि उनी एक प्राकृतिक अस्पताल पुगिन् । केही हप्ताको थेरापी गराइन् । थेरापी गराइरहँदा दुखाइ कम भयो ।

तर समय बित्दै जाँदा उनको समस्या ज्यूँका त्यूँ भयो । अन्ततः उनी शल्यक्रिया गर्नैपर्ने मनस्थितिमा पुगिन् ।

त्यस्तै, नुवाकोटका भोला अधिकारीलाई तल्लो ढाड र एउटा खुट्टा दुख्ने समस्याले बेलाबेलामा सताइरहेको थियो । दुखाइ बढ्दै गएपछि उनी उपचारको लागि ग्रिन सिटी अस्पताल पुगे । उनको ढाडको नसा थोरै दबिएको रहेछ । चिकित्सकले उनलाई दुखाइ कम गर्ने औषधि दिएर दैनिक व्यायाम गर्ने सल्लाह दिए ।

भोलाले चिकित्सकले दिएको औषधि त सेवन गरे तर व्यायाम भने गरेनन् । औषधि सकिएको केही हप्तापछि उनको समस्या फेरि बढ्न थाल्यो । दुखाइ बढ्न थालेपछि उनी फेरि चिकित्सककहाँ पुगे । चिकित्सकले उनलाई फिजियोथेरापी गर्ने सल्लाह दिए । चिकित्सकको सल्लाहअनुसार उनले फिजियोथेरापी गर्नुका साथै आफ्नो जीवनशैली पनि परिवर्तन गरे र उनको समस्या बिस्तारै ठीक भयो ।

अस्वस्थकर जीवनशैली, मोटोपन, मोबाइलमा अत्यधिक समय बिताउने र व्यायाम नगर्ने व्यक्तिमा नसा च्यापिने समस्या सामान्य जस्तो भइरहेको हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सरोजकुमार सुवाल बताउँछन् । ‘यो समस्या टाउकोदेखि खुट्टासम्म शरीरको कुनै पनि भागमा हुन सक्छ, जसमध्ये ढाडको नसा च्यापिने सबैभन्दा बढ्ता हुन्छ,’ उनी भन्छन् ।

‘मेरुदण्डको नसा लामो समयसम्म दबिएर रक्तसञ्चार राम्ररी हुन नसकेको र दबाबका कारण रगत एकै ठाउँमा रोकिन थालेपछि जम्छ । जसकारण नसा अवरुद्ध हुन्छ । नसा सुन्निने र निकै दुख्ने थाल्ने हुन्छ,’ उनी भन्छन् ।

डा. सरोजकुमार सुवाल

गह्रौं काम गर्ने वा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नसा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक गम्भीर प्रकारको हड्डी खिइने समस्या भएमा, हातखुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नसा च्यापिने समस्या निम्त्याउन सक्छ । साथै जीवनशैलीका कारण जस्तै धेरै समय एकै ठाउँमा बसेर काम गर्दा पनि यो समस्या निम्तिन सक्ने डा. सुवाल बताउँछन् ।

नसा च्यापिएको बिरामीमा हातखुट्टा झमझम गर्ने, हिंड्दा खेरि ढाड, पिडौंला धेरै दुख्ने, खुट्टाका औंला लुला हुने, दिसा, पिसाबमा समस्या आउने लगायतका लक्षणहरू देखा पर्ने न्युरो सर्जन डा. रुपेश राउत बताउँछन् ।

नसा कसरी च्यापिन्छ ?

मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौं हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा गोलो डिस्क हुन्छ । उक्त डिस्क खासमा एक प्रकारको बाक्लो तरल पदार्थ हो । दुर्घटनाका कारण वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ । जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको भनिने डा. सुवाल बताउँछन् ।

‘२० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूमा यो समस्या बढी मात्रामा देखा पर्छ । मुख्यतया ढाड र घाँटीको नसा च्यापिएको समस्या बढी देखिन्छ,’ उनी भन्छन् ।

बिरामीको अवस्थाअनुसार उपचार फरक हुन्छ

नसा च्यापिएको समस्यामा बिरामीको अवस्था हेरेर उपचार पद्धति फरक हुन्छ । सामान्य अवस्थामा औषधि र फिजियोथेरापीमार्फत उपचार गरिन्छ । तर बिरामीको अवस्था गम्भीर छ भने शल्यक्रियामार्फत उपचार गर्नुपर्ने डा. सुवाल बताउँछन् ।

‘यसको तीन चरण हुन्छ । पहिलो दोस्रो चरणमा आराम, औषधि र फिजियोथेरापीले नै ठीक हुन्छ । तेस्रो चरण भनेको अलि जीर्ण समस्या भइसकेको अवस्था हो । यो अवस्थामा विरामीलाई हलचल गर्नै गाह्रो हुन्छ ।’ उनी भन्छन् ‘नसालाई दीर्घकालीन समस्या गर्ला जस्तो भयो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । त्यो शल्यक्रिया गरेपछि निको भइहाल्छ । नसा कस्तरी च्यापिएको छ भन्ने कुरा एमआरआईबाट थाहा हुन्छ ।’

तेस्रो चरण पुग्दा पनि हेल्चेक्र्याइँ गर्दा स्थायी रूपमै नसाले काम नगर्ने अवस्था आउन सक्छ । सधैंभरि खुट्टा नचल्ने, प्यारालाइसिस हुने सम्भावना समेत हुन सक्ने उनले बताए ।

यसो भन्छन् न्युरो सर्जन

न्युरो सर्जन डा. रुपेश राउतका अनुसार ‘ढाड दुख्ने समस्या आजभोलि सामान्य जस्तो भएको छ । विश्वको तथ्यांक अनुसार सबैभन्दा बढी ओपीडी आउनुको कारण रुघाखोकीको समस्याको हुन्छ भने दोस्रोमा ढाड दुखाइको । ढाड दुख्यो भनेपछि नसा च्यापियो कि भन्ने धेरै बिरामीलाई लाग्छ,’ उनी भन्छन्, ‘ढाड दुख्ने विभिन्न कारण हुन्छ । जसमा मेरुदण्डको जोर्नीमा असर परेर, हड्डी खिइएर ढाड दुखेको पनि हुन सक्छ । ढाड दुख्ने समस्या लिएर अस्पताल आउने बिरामीमध्ये ५ प्रतिशतमा मात्र नसा च्यापिने समस्या हुन्छ ।’

हाम्रो मेरुदण्डको हड्डी ब्लक जस्तो हुन्छ, एकमाथि अर्को खप्टिएर बसेको हुन्छ । दुईवटा ब्लकको बीचमा बाक्लो तरल पदार्थबाट बनेको कुरकुरे हड्डी जस्तो तत्व हुन्छ जसलाई ‘डिस्क’ भनिन्छ । जब यो कुरकुरे हड्डी बुढो हुँदै जाँदा वा मेरुदण्डमै ठूलो चोट लाग्दा यो आफ्नो ठाउँबाट निस्कन थाल्छ र नजिकै रहेको नसालाई च्याप्न थाल्ने राउत बताउँछन् । ‘त्यो नसा हाम्रो शरीरको जुन भागमा जान्छ सोही दिशातिरको खुट्टा दुख्ने, झमझम गर्ने, राम्ररी नचल्ने लगायत समस्या देखा पर्छ,’ उनी भन्छन् ।

डा. रुपेशजंग राउत

यस्तो अवस्थामा कस्तो उपचार गर्ने भनेर चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । औषधि, व्यायाम, थेरापी र शल्यक्रिया विभिन्न तरिकाले यसको उपचार हुन्छ । डा. राउत भन्छन्, ‘९० प्रतिशत नसा च्यापिएको समस्या औषधि, जीवनशैली परिवर्तन र थेरापीबाट नै हुन्छ । बाँकी १० प्रतिशत गम्भीर समस्या भएकाहरूलाई मात्र शल्यक्रिया गर्नुपर्छ ।’

कुनै पनि उपचारले बिरामी शतप्रतिशत निको हुन्छ भन्ने कुरा ग्यारेन्टीका साथ भन्न नसकिने डा. राउत बताउँछन् । ‘शल्यक्रियापछि बिरामी शतप्रतिशत निको हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘शल्यक्रिया गर्दा पनि विभिन्न जटिलता आउन सक्छन् । डिस्कको कारण नसा च्यापिएको छ भने त्यसलाई निकाल्नुपर्ने हुन्छ, जुन नसाको एकदमै नजिक हुन्छ । यसरी डिस्कलाई निकाल्दा कहिलेकाहीं नसामा चोट लाग्ने, शल्यक्रिया गरेको ठाउँमा रगत जम्ने लगायत समस्या हुन सक्छ ।’

शल्यक्रिया गरेकामध्ये चार प्रतिशतमा १० वर्षभित्रमा फेरि पनि यो समस्या हुने सम्भावना हुन सक्छ । इमर्जेन्सी शल्यक्रिया गर्नुपर्ने अवस्था पनि हुन सक्छ ।

नसा च्यापिने समस्यामध्ये एउटा इमर्जेन्सी अवस्था पनि हुन्छ ‘कउडा इक्विना सिन्ड्रोम (सीईएस)’ ।  कउडा इक्विना सिनड्रोम दुर्लभ तर गम्भीर अवस्था हो, जहाँ मेरुदण्डको छेउमा रहेको स्नायु जराहरू संकुचित तथा क्षतिग्रस्त हुने डा. राउत बताउँछन् । ‘यो अवस्थामा बिरामीको सकेसम्म छिटो २४ देखि ४८ घण्टाभित्र शल्यक्रिया गर्नुपर्छ । राम्रो नतिजाको लागि अझ आठ घण्टाभित्र शल्यक्रिया गर्नु राम्रो हुन्छ,’ उनी भन्छन् ।

यो समस्या भएमा तल्लो ढाड दुख्ने, एउटा वा दुईट्टै खुट्टा दुख्ने, कम्मर भन्दा तलको भाग लाटो हुने, दिसा  पिसाब रोक्नमा समस्या हुने आदि लक्षण देखा पर्ने उनले बताए ।

फिजियोथेरापिस्टका कुरा

फिजियोथेरापी प्रभावकारी उपचार पद्धति हो नसा च्यापिएको समस्याको लागि । फिजियोथेरापीमा अल्ट्रासोनिकथेरापी, टेन्स, आईएफटी प्रयोग गरिन्छ । यी थेरापीहरूले दुखाइ कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने फिजियोथेरापिस्ट सपना कोजु बताउँछिन् ।

उनी भन्छिन्, ‘फिजियोथेरापीको क्रममा गरिने व्यायाम नसा च्यापिएको अवस्थामा विशेष प्रभावकारी हुन्छ । यसले मांसपेशीलाई बलियो बनाउनुका साथै डिस्कलाई पुरानै अवस्थामा फर्काउन सहयोग गर्छ ।’

फिजियोथेरापिस्ट सपना कोजु

बाहिर निस्किएको डिस्कले नसा कति वटा ठाउँमा र नसाको कति अंश च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि डिस्क आधा मात्र बाहिर निस्किएको वा नसा आधा मात्रै चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पार्न सकिन्छ । जुन पहिलो तथा दोस्रो चरण अन्तर्गत पर्ने कोजु बताउँछिन् ।

उनी भन्छिन्, ‘यदि डिस्क पूरै बाहिर निस्किएको छ भने त्यसलाई शल्यक्रियामार्फत भित्र हाल्नुपर्छ वा हटाउनुपर्छ । जुन तेस्रो र चौथो चरण हो । अर्थात् डिस्कको ६० प्रतिशत भन्दा कम भाग निस्किएको छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि शल्यक्रिया एक मात्र विकल्प हो ।’

पहिलो तथा दोस्रो चरण फिजियोथेरापीमार्फत बिरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाइ कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी मेसिनद्वारा पनि बिरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाइ नियन्त्रण गर्ने मेसिनको प्रयोग गर्ने कोजु बताउँछिन् ।

‘निश्चित व्यायाममार्फत नसा च्यापिएको ठाउँमा नकारात्मक दबाब सिर्जना गरेर पनि बिरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचारको क्रममा अन्यत्र बढ्ता दबाब दिएर त्यसको अप्रत्यक्ष दबाब समस्या भएको ठाउँमा पर्छ,’ उनी भन्छिन्, ‘परिणामस्वरूप तरल पदार्थ बाहिर निस्किएर बीचमा रहेकोलाई भित्र हाल्न मद्दत गर्छ ।’

नसा च्यापिने समस्याबाट बच्ने उपाय

गह्रौं भारी नउचाल्ने, लामो समय एकै ठाउँमा बसेर काम नगर्ने, बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्ने, अग्लो सिरानी नगर्ने, घाँटी जोडसँग नपड्काउने, जिम जानेले कम मात्रामा तौल उठाउने, निहुरिएर धेरै समय काम नगर्ने र नियमित व्यायाम गर्ने बानी नै यो समस्याबाट बच्ने उपाय भएको हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सुवाल बताउँछन् ।

नसा च्यापिने स्वास्थ्य हाडजाेर्नी
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?