+
+

यो शहरमा कुकुर डुलाउन मनाही छ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १७:५१

प्रातःकालमा शहरवासीहरू खुट्टा तन्काउन घरबाहिर निस्कने गर्छन् । त्यसमध्ये कतिपयले साथमै डोर्‍याएका हुन्छन्, घरपालुवा कुकुर पनि । खासगरी गृहिणी, बुढापाकाहरू ‘ज्यानलाई कसरत हुने’ भन्दै कुकुरलाई साथमा लिएर आसपासका क्षेत्रमा चक्कर लगाउँछन् ।

भर्खरैको बिहान उनीहरू यसरी नै कुकुर डोर्‍याउँदै निस्किएका थिए । दुई-चार थान युट्युबरलाई साथमा लिएर नगर प्रहरीको ट्रक आयो र एकाएक उनीहरूलाई उठाउन थाले । यसरी कुकुर उठाउने नगर प्रहरीको हतारो कस्तो थियो भने, मानौं उनीहरूले कुनै जघन्य अपराधीलाई पक्राउ गर्दैछन् ।

सडकबाटै अनायास कुकुर सहित आफू पनि ट्रकमा जानुपर्ने भएपछि एक महिलाले आनाकानी गरिन् । नगर प्रहरीले चर्को स्वरमा हप्काए, ‘धेरै ढिलो गर्ने होइन, फेरि कुकुरलाई इन्जेक्सन लगाइदिन्छु ।’

एक अर्की महिलालाई पनि कुकुरसँगै जबर्जस्ती ट्रकमा लैजान खोजे । हत्तपत्त आफ्नो फोटो र भिडियो खिच्दै अपमानजनक ढंगले उठाउन खोजेपछि उनले विरोध जनाइन्, ‘किन फोटो खिचिरहेको, के के नै अपराध गरे जस्तो । मान्छे मारेकोलाई समात्नु न !’

आमन्त्रित युट्युबरहरूले भिडियो खिचे र ‘सडकमा कुकुर डुलाउनेहरू यसरी परे बालेनको फन्दामा’ भनी सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइदिए । लगत्तै युट्युबरलाई नगर प्रहरी प्रमुखले तात्तातो अन्तर्वार्ता दिए- ‘यसरी कुकुरलाई दिसापिसाब गराउँदै डुलाउनेलाई चर्को जरिवाना लिइनेछ !’

घरपालुवा कुकुरलाई बाहिर डुलाउन हुन्न ?

घरपालुवा कुकुर डुलाउनेहरूलाई किन नगर प्रहरीले निशाना बनाए ? किन उनीहरू यसरी अचानक कारबाहीमा उत्रिए ?

–शहरमा यसरी कुकुर डुलाउँदै हिंड्नेहरूले टोलका मान्छे, छर–छिमेक, बाटोमा हिंड्ने बटुवालाई असहज बनाएको होलान् ?

–घरपालुवा कुकुरको दिसापिसाबले फुटपाथ वा सडकमा हिंडडुल गर्नै कठिन भएको होला ?

–घरपालुवा कुकुरले झम्टिएर, टोकेर अरू बटुवालाई आतंकित बनाएको होला ?

–घरपालुवा कुकुरले जथाभावी दिसा–पिसाब गरेकै कारण दुर्गन्ध फैलिएको होला ? संक्रामक रोगको जोखिम बढाइदिएको होला ?

–कुकुर पाल्नेहरूले छिमेकीको घरको ढोकामै लगेर दिसा–पिसाब गराइरहेका होलान् ?

घरपालुवा कुकुरकै कारण सर्वसाधारणले त्यति हैरानी खेप्नुपरेको छैन, जति शहरवासीको घर–घरबाट निस्कने फोहोर र ढलको कारण खेपिरहेका छन् । त्यसो भए कुकुर डोहोर्‍याउँदै बिहानको भ्रमणमा निस्कनेप्रति किन यतिविघ्न आक्रोश पोखिन्छ ?

कुकुर डुलाउनेसँग किन वैरभाव ?

एकाबिहानै कुकुर डुलाइरहेकाहरूलाई जब नगर प्रहरीले पक्राउ गरे, यसलाई सामाजिक सञ्जालमा धेरैले ‘राम्रो काम’ भन्दै उक्साए । ‘गजब गर्‍यो ’, ‘धन्यवाद बालेन’, ‘सराहनीय काम’ भन्दै मान्छेहरूले खुसी व्यक्त गरे । घरबाहिर निस्केर कुकुर डुलाउँदै हिंड्नेहरू अपमानपूर्वक समातिंदा मान्छेहरू किन यति धेरै खुसी भए ?

मनोसामाजिक प्रवृत्ति बुझाउन पत्रकारितामा एउटा सूत्र भनिएको हुन्छ, ‘ब्याड न्यूज इज गुड न्यूज !’ अर्थात् खराब समाचारमा नै मान्छेको रुचि हुन्छ । शहरमा कुनै भव्य संरचना निर्माण हुँदैछ भने त्यसमा मान्छेलाई कुनै रुचि हुन्न । तर, एउटा डोजर ल्याएर कुनै भवन भत्काइयो भने त्यहाँ रमितेको ओइरो लाग्छ ।

भोकले लखतरान प्राणीलाई कसैले घरमा लगेर पालनपोषण गरेको कुरामा मान्छेलाई त्यति चासो हुँदैन जति ती प्राणीलाई लखेटेको, कुटेको, काटेको कुरामा हुन्छ ।

कुकुर डुलाइरहेका गृहिणी, महिला, बुढापाकालाई जब अचानक बाटोमा पक्राउ गर्दै ट्रकमा राख्न थालियो, धेरैलाई यस्तो दृश्य निकै रुचिकर लाग्यो । चाहे कसैले कुकुर पालेकै कारण उनीहरूले सास्ती खेप्नु नपरे पनि, आफ्नो घर-आँगनमा दिसा–पिसाब नगराए पनि, बाटोमा हिंड्दा दिसा–पिसाबको दुर्गन्ध नआए पनि उनीहरू महानगरको कारबाहीमा दंग देखिए ।

रहर र देखासिकीले मात्र पाल्दैनन् कुकुर

नेपाली समाजमा गहिरो छाप के छ भने, ‘मान्छेले आफूलाई हुनेखाने देखाउन कुकुर पाल्छन् ।’ साथै कुकुरले टोक्छ, रोग फैलाउँछ भन्ने मनोविज्ञान छ । यही कारण धेरैजसो मान्छे कुकुरसँग डराउँछन्, घिन मान्छन्, घृणा गर्छन् ।

हुनत यसरी देखासिकीमा कुकुर पाल्नेहरू नभएका होइनन् । यसरी पाल्नेहरूले कुकुरलाई घरभित्रै केज (खोर) मा थुनेर वा साङ्लाले बाँधेर राख्ने गर्छन् ।

तर, सबै यस्ता हुँदैनन् । प्राणी प्रेमका कारणले कतिले घरमा कुकुरलाई स्याहारसुसार गर्छन् भने कतिले बालबच्चाको खुसीको लागि कुकुर पाल्छन् । कुकुरलाई कतिले एक्लोपनको साथी बनाएका हुन्छन् भने कतिपयले सुरक्षाका लागि घर–पाले बनाएका हुन्छन् । कुकुरलाई घरमा राख्ने, स्याहारसुसार गर्ने, खुवाउने, औषधि उपचार गराउने जुन झञ्झट हुन्छ, त्यतिकै व्यहोरेको हुँदैनन् ।

कुकुर डुलाउन घरबाहिर निस्कँदा महानगरको कारबाहीमा परेका एक पुरुष भनिरहेका छन्, ‘मैले पालेको कुकुर सडकको कुकुर हो । यो बिरामी भएर मेरो घरको छेउमा आएर बसेको थियो, माया लागेर स्याहारसुसार गरें । यसलाई क्यान्सर लागेको रहेछ, १५–२० हजार रुपैयाँ खर्च गरेर उपचार गरें ।’

मान्छेले अरूलाई होच्याउन, तर्साउन कुकुर पालेका हुँदैनन् । प्राणीमाथि दयाभाव राखेर पालेका हुन्छन् । कम्तीमा एक–दुई वटा प्राणीले भोकभोकै मर्नुपर्दैन, रोग र भोकले कष्टको जीवन बाँच्नुपर्दैन भनेर मान्छेले आफ्नो गाँस कटाएर पनि कुकुर–बिरालोलाई खुवाउने गर्छन् ।

साथै एक छाक खान पाएपछि यी प्राणीहरू पनि मान्छेप्रति बफादार हुन्छन् । हेलमेल हुन थाल्छन् । मान्छेसँग सराबरी खेल्न, रमाउन थाल्छन् । यसरी मान्छेले कुकुरलाई परिवारकै सदस्यसरह आश्रय दिन थाल्छन् ।

यस्तो अवस्थामा कुकुरलाई भरपेट खुवाउने, दिनमा एक पटक भए पनि खुला हावामा घुमाउने इच्छा हुन्छ उनीहरूको । हुनेखाने देखाउन, तर्साउन, अर्काको ढोकामा दिसापिसाब गराउनका लागि भनेर सायदै मान्छेले कुकुरलाई घरबाहिर डुलाउन लैजान्छन् ।

चुरोटको धुवाँ उडाउन हुन्छ, कुकुर डुलाउन हुँदैन ?

कुकुरलाई घरबाहिर घुमाउनका लागि शहरी क्षेत्रमा त्यति अनुकूल छैन । फराकिलो र खुला फुटपाथ छैन, कुकुर समेत घुमाउन मिल्ने खालको पार्क छैन, कुकुरको दिसा राख्ने डस्बिन छैन । हिंड्दै गर्दा बाटोमा दिसापिसाब गर्न सक्छ, जसमा अन्य छिमेकी वा बटुवाले रोष प्रकट गर्छन् ।

पशु हो, आफूलाई दिसापिसाबले च्यापेको कुरा व्यक्त गर्न सक्दैनन् । कहाँ दिसापिसाब गर्नुहुन्न भनी सचेतना हुन्न । अर्को कुरा, दिसापिसाबकै लागि निश्चित ठाउँ तोकिएको छैन । बरु, चुरोटको सर्को तान्नका लागि ठाउँ–ठाउँमा ‘स्मोकिङ जोन’ राखिएको हुन्छ ।

त्यसबाहेक मान्छेले सार्वजनिक ठाउँमा पनि चुरोटको धुवाँ उडाउँदै हिंड्छन् । जबकि कुकुरको दिसाबाट हुनसक्ने हानिभन्दा सयौं गुणा हानि त अरूले तानेको चुरोटको धुवाँले हुन्छ ।

कुकुर पाल्नेहरूको पनि दायित्व छ

नगर प्रहरी भन्छन्, ‘काठमाडौं महानगरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत घरबाहिर कुकुरलाई दिसापिसाब गराउने विरुद्ध कारबाही गरिएको हो ।’

शहरको स्वच्छताप्रति सबैको दायित्व हुन्छ र हुनुपर्छ पनि । कुकुर डुलाउन घरबाहिर निस्कने व्यक्तिले जथाभावी दिसापिसाब गराउनुहुन्न । कुकुर डुलाइरहँदा बटुवा वा छर–छिमेकलाई त्यसले कुनै बाधा वा नोक्सानी पु¥याउनुहुन्न । कुकुर पाल्ने र बुढो वा रोगी भएपछि सडकमा ल्याएर छाड्ने प्रवृत्ति पनि देखिन्छ । यो अमानवीय व्यवहार मात्र होइन, अपराध पनि हो भनेर बुझ्नुपर्छ ।

कुकुर डुलाउनेहरूले घरबाहिर दिसा गरेमा त्यसलाई सुरक्षित रूपले विसर्जन गर्नैपर्छ । यसका लागि ठाउँ–ठाउँमा डस्बिनको व्यवस्था हुनुपर्छ । कुकुर डुलाउन निस्कँदा आफूसँगै दिसा टिप्ने (पटी पिकर र पोलिथिन) साथमै बोक्नुपर्छ ।

छैन डग पार्क

उन्नत मुलुकहरूमा कुकुरसँगै घुमफिरमा निस्कने मान्छेहरूका लागि डग पार्क नै निर्माण गरिएको हुन्छ । घरमै बसिरहने गृहिणी, बुढापाका वा कामबाट अवकाश पाइसकेकाहरू, जो कुकुर लिएर खुला हावा खान निस्कन्छन् उनीहरूका लागि यस्तो पार्क सहज र सुरक्षित हुनेगर्छ । डग पार्कमा कुकुर डुलाउने व्यवस्था भएपछि अन्यत्र यसको फोहोर हुँदैन ।

सकेसम्म सडकको कुकुर पालौं

प्राणीप्रति प्रेम नै गर्ने हो भने सकेसम्म सडकमा बेवारिसे अवस्थाका कुकुरलाई पालनपोषण गरौं । अहिले नेपालमा विभिन्न प्रजातिका कुकुर आयात गर्ने, यहीं ब्रिडिङ गर्ने क्रम व्यापक छ । विभिन्न केनल क्लब वा ब्रिडिङ सेन्टरको धन्दा नै कुकुरबाट बच्चा पैदा गराएर बेच्ने हुन्छ ।

हामी विभिन्न प्रजातिका कुकुर पाल्ने रहर त गर्छौं तर त्यो कुकुर कसरी उत्पादन गरिएको हो ? कहाँबाट गरिएको हो ? सोधीखोजी गर्दैनौं । त्यही कारण कुकुरलाई यातनापूर्वक खोरमा राखेर बच्चा उत्पादन गर्ने र बेच्ने धन्दा व्यापक छ ।

हामीले कुकुर पाल्दा त्यो कुकुरको बच्चा कसरी उत्पादन गरिएको हो भनेर पनि सोधीखोजी गर्नुपर्छ । नभए, अवैधानिक, अव्यावहारिक, अवैज्ञानिक र अमानवीय ढंगले कुकुर उत्पादन गर्ने धन्दा फस्टाउन सक्छ ।

र, कसैले कुकुर प्रेमपूर्वक पाल्छ, अरूलाई बाधा–असर नपर्ने गरी घरबाहिर डुलाउँछ, घुमाउँछ भने त्यो उसको आफ्नो अधिकार हो । कुनै पनि व्यक्तिलाई आफ्नो सहजता अनुसार बाँच्न पाउने पूरापूर हक छ । अर्को महत्वपूर्ण कुरा, यो शहर वा धर्ती मान्छेको मात्र पेवा होइन । यहाँ जन्मने हरेक प्राणीको बाँच्न पाउने उत्तिकै अधिकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?