+

घाँटीमा किन आउँछ गिर्खा ?

२०८० माघ  २६ गते १३:१६ २०८० माघ २६ गते १३:१६
घाँटीमा किन आउँछ गिर्खा ?

शरीरका विभिन्न अंगमा गिर्खा आइरहेको हुन्छ । अझ घाँटीमा अन्य अंगमा भन्दा बढी गिर्खा आएको देखिन्छ । घाँटीमा छालाको भित्र सानोदेखि ठूलो र नरमदेखि कडा खालको गिर्खा आउने गर्छ । सानो आकारको गिर्खा आएमा हेलचेक्र्याइँ गरी त्यत्तिकै छाडिदिने धेरैको बानी हुन्छ ।

तर घाँटीमा आउने यस्ता गिर्खा दीर्घकालीन समस्याको लक्षण पनि हुनसक्छ । घाँटीमा आउने गिर्खालाई तीन चरणमा विभाजन गर्न सकिन्छ- सामान्य, मध्यम र दीर्घकालीन ।

सामान्य चरण

भाइरल संक्रमण अर्थात् ज्वरो, रुघाखोकीले घाँटीमा गिर्खा आउन सक्छ । त्यस्तै दाँतमा कीराले खाएको छ, गिजामा पिप जमेको छ, गिजा सुन्निएको अवस्थामा पनि घाँटीमा गिर्खा आउन सक्छ । कानभित्र पिप जमेमा र टाउको छालामा संक्रमण वा टाउकोमा चायाको कारण घाउ वा पिप जमेमा पनि घाँटीमा गिर्खा आउन सक्छ । यस्तो अवस्थालाई सामान्य रुपमै लिंदा हुन्छ ।

रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, घाँटी दुख्ने समस्याका कारण आउने गिर्खा सम्बन्धित रोगको उपचार गराएमा आफैं ठीक हुन्छ ।

मध्यम चरण

क्षयरोगको कारण पनि घाँटीमा गिर्खा आएको हुनसक्छ । घाँटीको गिर्खासँगै ज्वरो आउने, सुत्दा चिट्चिट् पसिना आउने, खोकी लाग्ने वा कहिलेकाहीं खोकी नलाग्न पनि सक्छ, खान मन नलाग्ने, तौल घट्दै जाने लक्षण देखापर्छ ।

कसरी पहिचान गर्ने ?

यसमा गिर्खा दुख्ने वा नदुख्ने दुवै हुनसक्छ । दुई-तीनवटा गिर्खा एकै ठाउँमा जमेर वा टाँसिएर बसेका र छुँदा अलि नरम खालका हुन्छन् ।

दीर्घकालीन

क्यान्सररोगका कारण पनि घाँटीमा गिर्खा आउने गर्छ । रगतको क्यान्सर, पेट तथा फोक्सो, ग्रन्थीको क्यान्सर पनि गिर्खाको रूपमा घाँटीमा आउन सक्छ । थाइराइड अर्थात् हार्मोनको गडबडीले पनि गिर्खा आउन सक्छ ।

कसरी पहिचान गर्ने ?

लामो समय रहने रोग जस्तै क्यान्सरमा दुख्ने र नदुख्ने दुवै खालका गिर्खा हुनसक्छ । केही क्यान्सरमा गिर्खा टाँसिएको हुँदैन तर घाँटीमा छुट्टाछुट्टै गिर्खा धेरै आएको हुन्छ । छुँदा रबरजस्तो तर अलि कडा खालको पनि हुन्छ । त्यस्तै कहिलेकाहीं क्यान्सरबाट आउने गिर्खा छालामा टाँसिएको पनि हुनसक्छ ।

उपचार

घाँटीमा मात्र नभई शरीरको जुनसुकै ठाउँमा गिर्खा आएमा पनि जनरल फिजिसियनलाई जाँच गराउनुपर्छ । त्यसपछि मात्र के कारणले गिर्खा आएको हो त्यसको उपचार हुन्छ । घाँटीमा आउने गिर्खाको समयमा उपचार गरिएन भने गिर्खा पाक्ने, पिप जम्ने समस्या हुनसक्छ । शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ ।

केके जाँच गर्नुपर्छ ?

रगत जाँच : रगतमा केही खराबीका कारण गिर्खा आएको हो कि भनेर रगत जाँच गरिन्छ ।

अल्ट्रासाउण्ड : के कारणले गिर्खा आएको थाहा पाउन अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ ।

जटिल किसिमको गिर्खा भएमा गिर्खाबाट पानी निकालेर जाँच गर्नुपर्ने हुन्छ । जसलाई फाइन निडल एस्पिरेशन साइटोलोजी (एफएनएसी) भनिन्छ ।

यसबाहेक बिरामीको आवश्यकताअनुसार बायोप्सी, एक्सरे, सिटी स्क्यान गर्नुपर्ने हुन्छ ।

गिर्खा घाँटी स्वास्थ्य
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय