+

नसा च्यापिएको समयमै उपचार नगरे प्यारालाइसिस हुनसक्छ ? (भिडियो)

२०८० माघ  २९ गते १८:१५ २०८० माघ २९ गते १८:१५
Shares
नसा च्यापिएको समयमै उपचार नगरे प्यारालाइसिस हुनसक्छ ? (भिडियो)

नसा च्यापिने समस्याले अहिले धेरैलाई सताइरहेको छ । लामो समयसम्म कम्प्युटरमा काम गर्नुपर्ने, मोटरसाइकलमा कुद्नुपर्ने, गाडी चलाउनुपर्ने, निहुरिएर काम गर्नुपर्ने जस्ता कामले नसा च्यापिने समस्या निम्त्याउँछ ।

नसा च्यापिने समस्या भए कस्तो अवस्थामा फिजियोथेरापी गर्ने, कस्तो अवस्थामा शल्यक्रिया गर्ने ? शल्यक्रिया गर्ने कि नगर्ने ? भन्ने विषयमा बिरामीहरूमा दुविधा रहेको पाइन्छ । बिरामीको अवस्था हरेर शल्यक्रिया गर्ने कि नगर्ने भन्ने कुरा तय गर्न सकिन्छ । धेरै बिरामी बिना शल्यक्रिया पनि निको भएका छन् । तर केही बिरामीको भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

९० प्रतिशत नसा च्यापिएको समस्या औषधि, जीवनशैली परिवर्तन, थेरापी र औषधि सेवनबाट नै समाधान हुन्छ । बाँकी १० प्रतिशत गम्भीर समस्या भएकाहरूलाई मात्र शल्यक्रिया गर्नुपर्छ ।

हाम्रो मेरुदण्डको हड्डी ब्लक जस्तो हुन्छ, एकमाथि अर्को खप्टिएर बसेको हुन्छ । दुईवटा ब्लकको बीचमा बाक्लो तरल पदार्थबाट बनेको कुरकुरे हड्डी जस्तो तत्त्व हुन्छ, जसलाई ‘डिस्क’ भनिन्छ । जब यो कुरकुरे हड्डी बुढो हुँदै जाँदा वा मेरुदण्डमै ठूलो चोट लाग्दा यो आफ्नो ठाउँबाट निस्कन थाल्छ र नजिकै रहेको नसालाई च्याप्न थाल्छ । त्यो नसा हाम्रो शरीरको जुन भागमा जान्छ, सोही दिशातिरको हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने राम्ररी नचल्ने लगायत समस्या देखा पर्छ ।

यदि शरीरको देब्रेतिर नसा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दायाँतिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाइ पनि त्यत्तिकै बढी हुन्छ ।

डिस्क आफ्नो ठाउँबाट निस्किएको छ तर खासै समस्या दिएको छैन, दुखाइ सामान्य मात्र छ भने वा अन्य लक्षण देखिएको छैन भने कतिपय अवस्थामा यो समस्या आफैं निको पनि हुन्छ । डिस्क बाहिर निस्किएपछि त्यसमा पानीको मात्रा कम भएर डिहाइड्रेट भएर सुक्दै जान्छ र तीन चार वर्षपछि आफैं निको हुन्छ ।

कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ ?

केही व्यक्तिमा औषधि खाँदा पनि दुखाइ कम भएन, समस्या झन् बढ्दै गयो भने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । नसा च्यापिएको बिरामीमा हातखुट्टा झमझम गर्ने, हिँड्दा खेरि ढाड, पिडौंला धेरै दुख्ने, खुट्टाका औँला लुला हुने, दिसा-पिसाबमा समस्या आउने लगायतका कडा लक्षण देखा परेमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

शल्यक्रियापछि समस्या पूर्ण रूपमा निको हुन्छ ?

कुनै पनि उपचारले बिरामी शतप्रतिशत निको हुन्छ भन्ने कुरा ग्यारेन्टीका साथ भन्न सकिंदैन । शल्यक्रियापछि बिरामी शतप्रतिशत निको हुन्छ भन्ने हुँदैन शल्यक्रिया गर्दा पनि विभिन्न जटिलता आउन सक्छ । तर जटिलता निम्तिएला भनेर शल्यक्रिया गरिएन भने नसा झन् धेरै च्यापिएर दुखाइ बढ्न थाल्छ । त्यसैले जसलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ उनीहरूले शल्यक्रिया गर्नैपर्छ ।

आजभोलि शल्यक्रियाको निम्ति विभिन्न नयाँ प्रविधिहरू भित्रिएको छ । दुर्बिनको माध्यमबाट पनि शल्यक्रिया गर्न सकिन्छ । यसरी शल्यक्रिया गर्दा धेरै ठूलो घाउ हुँदैन । शल्यक्रियापछि त्यही दिन वा भोलिपल्ट नै डिस्चार्ज भएर सामान्य जीवनमा फर्किन सकिन्छ । त्यसैले शल्यक्रिया गर्न डराउनु हुँदैन यदि शल्यक्रिया गर्नैपर्ने छ भने चिकित्सकको सल्लाहमा शल्यक्रिया गर्नुपर्छ ।

नसा च्यापिएको उपचार नगरे प्यारालाइसिस हुन्छ ?

डिस्कले नसालाई कति च्यापेको छ त्यसैअनुसार समस्या बढ्छ । डिस्क आफ्नो ठाउँबाट निस्केर नजिकै रहेको नसालाई च्याप्ने हुनाले त्यो नसा हाम्रो शरीरको जुन भागमा जान्छ, सोही दिशातिरको हातखुट्टा झमझमाउने र खुट्टाको औंलाहरू लुलो हुने हुन्छ ।

यस्तो हुँदा पनि समयमा उपचार गरिएन भने दुखाइ बढ्दै जान्छ । खुट्टा झमझमाउने मात्र होइन, लाटो हुँदै जान्छ र प्यारालाइसिस हुने सम्भावना समेत हुन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. रुपेशजंग राउत प्यारालाइसिस
डा. रुपेश राउत
लेखक
डा. रुपेश राउत
न्युरोसर्जन परामर्शदाता

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १६६६७ एमडी, एमएस हाल ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा न्युरोसर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)