+

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

२०८० चैत  २० गते १८:३६ २०८० चैत २० गते १८:३६
५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता यौनरोगको संक्रमण हुनसक्छ ।

हिजोआज युवावस्थामा असुरक्षित यौन सम्पर्कका कारण यौन रोगबाट पीडित भएर अस्पताल धाउने धेरै भेटिन्छन् । त्यसैले असुरक्षित यौन सम्पर्क भएको अवस्थामा यी पाँच परीक्षण अनिवार्य गर्न आवश्यक छ ।

पिसाबको जाँच

असुरक्षित यौन सम्पर्क भएको एक हप्तामा पुरुषको यौनांगबाट पिप बग्ने, पानी बग्ने, पिसाब पोल्ने हुन्छ भने महिलाहरुमा हकमा योनांगबाट पहेंलो पानी बग्ने, तल्लो पेट दुख्ने लक्षण देखापर्छ । यस्तो अवस्थामा पिसाबको जाँच गर्न सकिन्छ । यसमा पिसाबमा संक्रमण छ कि छैन ? पिसाबमा पिप मिसिएर आएको छ कि छैन ? भनेर परीक्षण गरिन्छ । यसबाट कुन रोगको संक्रमण भएको पत्ता लगाउन सकिन्छ । त्यसले समयमा उपचार गर्न मद्दत गर्छ ।

त्यस्तै योनांगबाट फोहोर पानी वा पिप बग्ने समस्या छ भने पिसाबको परीक्षण गरेर माइक्रोस्कोपको सहायताले पिसाब वा पिपमा कीटाणुको संक्रमण छ कि छैन भनेर हेर्नुपर्छ । जसमा गानोकोकल युरेथ्राइटिस अर्थात् पिसाब नलीमा संक्रमण छ कि छैन भनेर पत्ता लगाइन्छ ।

पिसाबका साथै रगतका केही जाँच पनि गर्नुपर्ने हुन्छ ।

डीआरएल टाइटर परीक्षण  

यो परीक्षणबाट भिरिंगी भए नभएको पत्ता लगाइन्छ । ट्रेपोनेमा पालिडम नामक कीटाणुका कारण भिरिंगी लाग्छ । यसको ब्याक्टेरिया शरीरमा प्रवेश गरेपछि त्यसविरुद्ध प्रतिजैविकी निकाल्छ । भीडीआरएल परीक्षणमा ती प्रतिजैविकी रगतमा छ कि छैन भनेर हेरिन्छ । रगतमा भीडीआरएल टाइटर कति छ भनेर हरेक तीन महिनामा जाँच गर्नुपर्छ । उपचार गरेपछि भीडीआरएल टाइटर विस्तारै घट्दै जान्छ ।

टीपएचए परीक्षण

रगतको जाँचबाट गरिने टीपीएचए परीक्षणले पनि भिरिंगीबारे पत्ता लाग्छ । एकपटक पोजेटिभ भएपछि भिरिंगी रोग निको भएपछि पनि टीपीएचए पोजेटिभ नै हुन्छ । यसले गर्दा वैदेशिक रोजगारीमा जान समस्या हुनसक्छ । जसले गर्दा समाजिक आर्थिक, शारीरिक र मानसिक रुपमा असर गर्न सक्छ ।

एचआभी एड्स

असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमण हुने जोखिम निकै हुन्छ । यो दीर्घकालमा एड्स हुन पुग्छ । त्यसैले असुरक्षित यौन सम्पर्क भएको एक हप्तादेखि तीन महिनाभित्रमा एचआईभी परीक्षण गराउनुपर्छ । एड्स रोग पूर्णरुपमा निको पार्ने अहिलेसम्म औषधि आउन सकेको छैन ।

हेपाटाइटिस बी र सी परीक्षण

असुरक्षित यौन सम्पर्कका कारण हेपाटाइटिस बी र सीको संक्रमण हुनसक्छ । त्यसैले रगतमार्फत हेपाटाइटिस बी र सीको संक्रमण छ कि छैन भन्ने परीक्षण गर्नुपर्छ । गर्भवती आमालाई हेपाटाइटिस बी वा सीको संक्रमण छ भने जन्मिने शिशुलाई पनि सर्न सक्ने सम्भावना उच्च हुन्छ । यसको समयमा उपचारमा भएन भने मृत्युसमेत हुनसक्छ ।

असुरक्षित यौन सम्पर्क भएको अवस्थामा तीन महिनाभित्रमा यी सबै जाँच गर्नुपर्छ । पहिलो जाँचमा सबै नेगेटिभ रिपोर्ट देखाएपनि तीन महिनापछि दोस्रो पटक पनि जाँच गर्नुपर्छ । किनभने कहिलेकाहीं पहिलो जाँच नेगेटिभ देखिन सक्छ । दोस्रोपटकको जाँचमा पनि रिपोर्ट नेगेटिभ देखाएमा फेरि जाँच गर्नुपर्दैन । तर पटकपटक असुरक्षित यौन सम्पर्क भएमा तीन-तीन महिनाको अन्तरालमा जाँच गराउनुपर्छ ।

असुरक्षित यौन सम्पर्क स्वास्थ्य परीक्षण
डा. प्रज्ज्वल पुडासैनी
लेखक
डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : १७६०७ एमबीबीएस, एमडी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय