+

दुर्लभ समूहको रगत आवश्यक परे के गर्ने ?

२०८० चैत  २६ गते १७:२७ २०८० चैत २६ गते १७:२७
दुर्लभ समूहको रगत आवश्यक परे के गर्ने ?

रक्तदान गरिएको रगत राख्ने र खाँचो परेकालाई रगत उपलब्ध गराउने ठाउँ भनेको ‘ब्लड बैंक’ रक्तसञ्चार सेवा  हो । शल्यक्रिया, सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा ब्लड बैंकले रगत उपलब्ध गराउँछ ।

रक्तदाताले दान गरेको रगत एक प्रक्रियामार्फत परीक्षण गरिन्छ । त्यसपछि तीन भागमा विभाजन गरिन्छ- रातो कोषिका, प्लेटलेट र प्लाज्मा । रक्त समूहमा रोग र संक्रमण जाँच गरिन्छ । यसपछि रगतलाई लेबल र भण्डारण गरिन्छ ।

रातो रक्तकोषिकालाई प्लस ४ डिग्री सेल्सियसमा ४२ दिनसम्म फ्रिजमा भण्डारण गरिन्छ । प्लेटलेटलाई पाँच दिनसम्म मात्र भण्डारण गर्न मिल्छ । प्लाज्मालाई भने माइनस ४० डिग्रीमा एक वर्षसम्म राखिन्छ ।

ब्लड बैंकमा हुने कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबीसी, डब्लुबीसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्त्व छुटाउने गरिन्छ । यसरी जसलाई जुन तत्त्व आवश्यक छ, त्यही मात्र दिन सकिन्छ ।

कति प्रकारको हुन्छ बल्ड ग्रुप ?

रगतलाई विभिन्न समूहमा विभाजन गरिएको हुन्छ । मेडिकल अनुसन्धानले रगतलाई दुई आधारमा विभाजन गरेको छ । एउटा एबीओ र अर्को आरएच । एबीओमा चारवटा रक्त समूह हुन्छन्, ए, बी, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारैवटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ । यसरी हेर्दा रगतलाई आठ समूहमा विभाजित भएको पाइन्छ ।

तत्काल रगत चाहिए के गर्ने, कहाँ जाने ?

तुरुन्त रगत चाहियो भने केन्द्रीय रक्तसञ्चार सेवाको टेलिफोन नम्बर ०१–५३८८४८६ नम्बरमा फोन गर्न सकिन्छ । साथै रक्त सञ्चार सेवाको केन्द्रीय कार्यालय सोल्टी मोड, रक्तसञ्चार सेवा भक्तपुर,  रक्त सञ्चार सेवा पुलचोकमा गएर रगत लिन सकिन्छ ।

नेपाल मेडिकल कलेज, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालका ब्लड बैंकमा सम्पर्क गरेर पनि रगत पाउन सकिन्छ ।

कुन समूहको रगत पाउन गाह्रो ?

पोजेटिभ रगत समूहको तुलनामा नेगेटिभ समूहको रगत पाउन अलि गाह्रो हुन्छ । नेगेटिभ समूहको रगत निकै न्यून मात्र उपलब्ध हुन्छ त्यसैले यो पाउन गाह्रो हुन्छ ।

त्यसमा पनि ‘एबी’ नेगेटिभ झनै दुर्लभ रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैंकको तथ्यांकले देखाउँछ । जसमा देशभर ‘एबी’ नेगेटिभ समूहका मानिसहरूको प्रतिशत ०.४७ मात्र छ ।

दुर्लभ समूहको रगत आवश्यक परे कसरी खोज्ने ?

नेगेटिभ रक्त समूहका मानिसको संख्या कम हुने भएकाले त्यस्ता रगत पाउन गाह्रो हुन्छ । तर ब्लड बैंकहरुले संकलन नै नगरे पनि नेगेटिभ समूहको रगत उपलब्ध गराउन सक्छ ।

प्रत्येक ब्लड बैंकमा उक्त समूहका मानिसको विवरण हुन्छ । त्यसमा उनीहरूको सम्पर्क नम्बर पनि राखिएको हुन्छ । त्यसैले त्यस्ता व्यक्तिलाई बोलाएर रगत लिएर बिरामीलाई उपलब्ध गराइन्छ ।

रगतको कति पर्छ मूल्य ?

नेपाल सरकारको सम्बन्धित निकायले तोकेअनुसार एक प्याकेट रगतको सेवा शुल्क न्यूनतम ८१० रुपैयाँ पर्छ

अस्पतालले सहजीकरण गरिदिनुपर्छ

रगतको विकल्प अहिलेसम्म विज्ञानले पनि निकाल्न सकेको छैन । त्यसैले कसैलाई तत्काल रगत चाहियो भने रगतको अभावमा ज्यान गुमाउनु नपरोस् । त्यसका लागि हरेक व्यक्तिले सहजीकरण गर्नुपर्छ ।

बिरामीको आफन्त तनावमा हुन्छन्, रगत चाहिए कता जाने भन्ने जानकारी उनीहरूसँग नहुन सक्छ । यस्तोमा अझ अस्पतालले बिरामीको आफन्तलाई यहाँ रगत पाइन्छ भनेर सल्लाह दिनुपर्छ, सहजीकरण गरिदिनुपर्छ ।

रक्तदान गर्नेहरूको कमी

एकजनाले दिएको रगतबाट हाल तीनवटा पदार्थ बनाई तीनजनाको ज्यान बचाउन सकिने भएकाले रक्तदानलाई ‘जीवनदान’ भनिन्छ । मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमित रूपमा भइरहन्छ । त्यसैले रगत नियमित रक्तदान गर्दा केही फरक पर्दैन अर्थात् कुनै हानि हुँदैन । तर पछिल्लो समय रक्तदान गर्ने व्यक्तिको संख्या कमी आएको छ । रक्तदानमा कमी आउनुको एउटा कारण युवाहरू विदेशिनु हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशको कुल नागरिकको दुई प्रतिशतले रक्तदान गर्ने भनिएको छ । तर नेपालमा एक प्रतिशत पनि रक्तदान भएको छैन ।

(दाहाल काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका ब्लड बैंक इन्चार्ज हुन् ।)

ब्लड बैंक रक्तदान रगत
लेखक
परशुराम दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची