+

पेट के हो ? विस्तृतमा बुझौं

२०८१ जेठ  २९ गते ६:५९ २०८१ जेठ २९ गते ६:५९
पेट के हो ? विस्तृतमा बुझौं

काठमाडौं । पाचन प्रणालीबारे एकपटक सोच्न बस्यो भने दिमागमा एउटा शब्द आउँछ ‘पेट’ ।  यो शरीरको त्यस्तो भाग हो, जुन हामी कि त अति भोक लागेको बेलामा सोच्छौं वा पेट टन्न हुँदा ।

खासमा पेट हो चाहिं के त ?

धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कश्यप भन्छन्, ‘पेट अंग्रेजी वर्णमालाको ‘जे’ आकारको स्वरुप भएको र हेर्दा तरकारी खाने बोडी जस्तै देखिने अंग हो, जसलाई आमाशय भनेर बुझ्ने गर्छौं ।’

उनका अनुसार पेटको सम्पूर्ण भागले पाचन क्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

पेटले कसरी काम गर्छ ?

डा. कश्यपका अनुसार पेटको मुख्य काम खाना पचाउने प्रक्रियामा लैजानु हो । ‘पेटले खानेकुरालाई अस्थायी रूपमा भण्डार गर्छ । खानेकुरालाई मसिनो बनाएर सानो आन्द्रामा पठाउँछ,’ उनी भन्छन्, ‘भोक लागेको र टन्न भएको संकेत मस्तिष्कलाई दिन्छ ।’

खानेकुरा कसरी पेटसम्म पुग्छ ?

वीर अस्पतालका वरिष्ठ ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. मुकेश शर्मा पौडेल भन्छन्, ‘खानेकुराको पेटसम्मको यात्रा । जब हामी खानेकुरा खान्छौं, मुखबाटै पचाउने प्रक्रिया सुरु हुन्छ । यसको मुख्य भूमिका हुन्छ दाँतको । दाँतले खानेकुरा टुक्रा बनाउँछ ।’

खानेकुरा टुक्रा भइरहँदा मुखमा पाचन रस आउँछ । मुखको वरिपरि हुने र्‍याल ग्रन्थीबाट यस्तो इन्जाइम निस्कन्छ र खानासँग घुल्छ । घुलेका खानेकुरालाई जिब्रोकै सहायताले खानानली हुँदै खाना सोझै पेटमा पुग्छ । पेटमा पुगेपछि पाचन प्रक्रियाको काम सुरु हुन्छ ।

यी खानेकुरा एकदेखि डेढ घण्टासम्म पेटमै रहन्छ । सो खानेकुरा टुक्रिन वा घुल्न पनि पेटमा अम्ल (पाचन रस) पैदा हुन्छ । पेटको मांसपेशी र रसले खानेकुरालाई राम्ररी घुल्न सघाउँछन् । जसलाई ‘क्राइन’ भनिन्छ ।

 

घुलिएको खानालाई आमाशयले सानो आन्द्रामा पठाउने तयारी गर्छ । सानो आन्द्रामा खाली गर्न तयार नभएसम्म खाना रोकेर पनि राख्ने गर्छ । तयार भएपछि सानो आन्द्रामा खाना पुग्छ, जहाँ पित्तथैलीबाट पैदा हुने पित्तमा खाना घुलिन्छ ।

पित्त आवश्यकताअनुसार मात्र निस्कन्छ । त्यसको भित्ताले पोषकतत्व र तरल पदार्थ ग्रहण गर्छ र आवश्यक नभएको खानेकुरा ठूलो आन्द्रामा पठाउने गर्छ । त्यहाँसम्म पुग्दा खानाबाट धेरै पोषकतत्व शरीरले लिइसकेको हुन्छ ।

ठूलो आन्द्राबाट आवश्यक नभएको तत्व दिसाको रुपमा मलाशयतर्फ धकेलिन्छ । सो समयमा मान्छेलाई दिसा लाग्छ । मलाशय ठूलो आन्द्राको ठ्याक्कै तल्लो भागमा हुन्छ ।

पेटले कति खानेकुरा धान्न सक्छ ?

तपाईंले कहिले सोच्नुभएको छ, हाम्रो पेटले कति खानेकुरा एकपटकमा धान्न सक्छ ? अन्तर्रराष्ट्रिय जर्नल इन्स्टिच्युट अफ ह्युमन एनाटोनोमीमा प्रकाशित एक आलेखअनुसार पेटले ०.८ देखि १.५ लिटरसम्म खानेकुरा राख्न सक्छ । यद्यपि, यो क्षमता व्यक्तिको तौल, शरीरको बनावट, उमेर र जीवनशैली अनुसार फरक-फरक पर्न सक्छ ।

यसबाट के बुझिन्छ भने पेटले खानाको प्रकृति र मात्रा अनुसारको फैलाउन र तन्काउन सक्छ ।

खानेकुरालाई प्रभाव पार्ने तत्व

व्यक्तिअनुसार फरक

सबैको पेटको क्षमता एउटै हुँदैन । त्यसैले शरीरले कति खानेकुरा बोक्न सक्छ भन्ने ठोस जवाफ भन्न सक्दिैन । वंशाणुगत, उमेर र खानपानको शैलीले पेटको क्षमताको हद बताउँछ ।

खानेकुराको प्रकार

क्यालोरीयुक्त खानेकुराले छिटो पेट भरिन्छ । क्यालोरी कम भएको हल्का खानेकुरा छिटो पच्छ । भोक पनि छिटो अनुभव हुन्छ ।

भोकको हर्मोन

ग्रेलिन र लेप्टिन ती हर्मोन हो, जसले भोक लागेको र पेट भरिएको संकेत दिन्छ । ग्रेलिनले भोक जगाउँछ भने लेप्टिनले भोकलाई मेटाइदिन्छ । यी दुई हर्मोन हामीले कति बेला के खानेकुरा खाइरहेका हुन्छौं त्यसअनुसार प्रभावित हुनसक्छन् ।

उसो भए भोक कति बेला लाग्छ त ?

जब हाम्रो शरीरलाई खाना, पोषण र ऊर्जाको अभाव हुन थाल्छ, तब हामीलाई भोक महसुस हुन थाल्ने इन्डोक्रिनोलोजिस्ट डा. सविन  चौलागाईं बताउँछन् । ‘हामीले खाएको खानालाई पोषक तत्त्वमा परिणत गरेर शरीरले पचाएपछि हरेक अंगमा पुग्छ । जब अंगहरुमा पोषक तत्वको सञ्चार कम हुन थाल्छ, तब पनि भोक लाग्छ,’ डा. चौलागाईं भन्छन् ।

भोकाएको समयमा पेटमा खाना नपुग्दा के हुन्छ ?

भोकाएको समयमा खाना नपुग्दा वा लामो समयसम्म भोको बस्दा रगतमा चिनीको मात्रा घट्छ । शरीरलाई आवश्यक पोषक तत्व पुग्दैन । स्वत: ऊर्जा कम भई धेरैबेरसम्म भोको बस्दा हातखुट्टा काम्ने समेत र ग्यास्ट्रिकको समस्या ल्याउने डा. चौलागाईं बताउँछन् ।

त्यस्तै, कसैमा भोक सहन नसकेर क्रोधित हुनसक्ने मनोचिकित्सक रचना शर्मा बताउँछिन् । उनका अनुसार पेट भोको हुँदा रगतमा चिनीको मात्रा घट्दा केही खतराको संकेत पो हो कि भनेर मस्तिष्कले सोच्छ र त्यसपछि शरीरले ग्लुकोजको स्तरलाई सामान्य स्तरमा बढाउन एड्रिनल हर्मोन निकाल्छ । तर यो कुनै खतरा नहुँदा त्यो अतिरिक्त ऊर्जा झर्को लाग्ने रिस उठ्ने समस्यामा परिणत हुनसक्ने मनोचिकित्सक रचना शर्मा बताउँछिन् ।

पेट र दिमागको सम्बन्ध

एउटा उखान छ, ‘पेट खराब त दिमाग खराब’ । यसको सोझो अर्थ हो, पेटमा कुनै समस्या पैदा भएको खण्डमा मस्तिष्कमा प्रभावित हुन्छ । आखिर किन ?

नसारोग विशेषज्ञ डा. सुमनराज अधिकारीका अनुसार पेटको मस्तिष्कसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । कारण भनेको पेट र दिमागलाई जोड्ने न्युरोट्रान्समिटरहरु हुन्छन्, जसमध्ये एक हो, भ्यागस नर्भ ।

‘भ्यागस नर्भ दिमागदेखि पेटको मांसपेशी र यसको वरपरका अंगहरूसँग जोडिएको हुन्छ । जसको मद्दतले पेट र मस्तिष्कको बीचमा सबै सञ्चार हुन्छ । र, पेटसँग सम्बन्धित समस्या हुँदा यसको सिधा सन्देश मस्तिष्कमा जान्छ,’ डा. अधिकारी भन्छन् ।

यही कारणले कोही व्यक्ति पेटको समस्याबाट ग्रसित छ भने उसको मानसिक स्वास्थ्यमा पनि असर पर्छ ।

यसको विपरीत मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या भएमा त्यसको असर पेटमा पनि देखिने डा. अधिकारी बताउँछन् ।

हार्डवर्ड विद्यालयका अनुसार पाचनप्रणालीको नियमन तथा नियन्त्रण गर्न उत्तरदायी हुन्छ । र, भोक–तिर्खा लागेको तथा अघाएको सूचना मस्तिष्कमा पठाउँछ ।

पेटमा खाना पचाउने जीवाणु र पाचन रसको ठूलो भूमिका हुन्छ ।

जीवाणुको काम

खाद्य अनुसन्धान अधिकृत उज्जवल रायमाझीका अनुसार पेटमा विभिन्न प्रकारको सूक्ष्म जीवाणु ‘माइक्रो फ्लोरा’ जन्मजात नै हुन्छ । जसले पाचनरस ल्याउन उत्तेजित गरी खानेकुरा पचाउन, पाचन प्रणाली सफा गर्न र सञ्चालन गर्न सहयोग गर्छ । यसको सन्तुलन कायम राख्ने काम प्रोबायोटिकको हो ।

प्रोबायोटिकले पेटमा प्राकृतिक पाचन रस र इन्जाइमलाई उत्तेजित गरेर पाचन अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्छ ।

प्रोबायोटिक नभए के हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘प्रोबायोटिक भएन भने हामीले खाएको खाना राम्ररी नपच्ने, ग्यास्ट्रिक हुने, कब्जियत र पखाला लाग्ने जस्ता समस्या देखा पर्न सक्छ ।’

यी प्रोबायोटिक जीवन्त जीवाणु हुन्, जुन दहीमा पाइन्छ । गुन्द्रुक, सिन्की, किम्ची, अचार पनि प्रोबायोटिकको स्रोत हो ।

पाचन रस कसरी उत्पादन हुन्छ ?

प्राकृतिक रूपमा हुने पाचन इन्जाइमहरू प्रोटिन हुन् । यी पाचन प्रक्रियाका विभिन्न बिन्दुहरूमा भेटिन्छन्, जसलाई एमलाइज, लिपेज र प्रोटिजको नामले चिनिने निजामती अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेल बताउँछन् ।

‘जब खाना मुखमा प्रवेश हुन्छ । तब दिमागले संकेतअनुसार पाचन रस र्‍याल ग्रन्थीबाट निस्कन्छ । तुरुन्तै खानालाई शरीरले अवशोषित गर्न सक्ने रूपमा टुक्राउँदै अन्न नलीमा पठाउँछ,’ उनी भन्छन्, ‘पेटमा पनि खाना पुगेको संकेत पाउने बित्तिकै खानेकुरा पचाउन पाचनरसहरु उत्पादन हुन्छ । कहिलेकाहीं इच्छा लागेको खानेकुरा स्मरण गर्दा पनि पाचनरस निस्कन्छ ।’

खानेकुरा किन पच्दैन ?

खानेकुरा नपच्नुको कारण भनेको हामीले पचाउन गाह्रो हुने खानेकुरा सेवन गर्छौं । जस्तो कि तारेको, भुटेको, मसालेदार, जंकफुड, प्याकेटबन्द खानेकुरा पर्ने डा. मुकेश बताउँछन् ।

उनका अनुसार आवश्यकता भन्दा बढी मात्रामा खाना खानु, मसलायुक्त खानेुकराको सेवन तथा गलत खानपानका कारण पाचन तन्त्रले खानालाई सही तरीकाले पचाउन सक्दैन । कुनै अन्य कारणले पाचन यन्त्र कमजोर हुँदा पनि सामान्य खानेकुरा पनि पचाउन गाह्रो हुन्छ ।

त्यसबाहेक कलेजोमा रहेका इन्जाइमले सही तरीकाले काम गर्न नसकेको अवस्थामा अपचको समस्या निम्तिने गर्छ, जुन निकै पीडादायक हुने उनी बताउँछन् ।

खराब खानेकुरा पेटमा पुगेपछि के के हुन्छ ?

– सबैभन्दा पहिला खराब खानेकुरालाई शरीरले चिनेर दुई भागमा विभाजित गर्छ ।

– पहिलो शरीरले सहन नस्कने खानेकुरा जस्तै- धेरै अमिलो, पिरो, चिल्लो हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाएर एसिडिटी हुने, पेट पोल्छ ।

– दोस्रो, सडेगलेको, बासी खानेकुरा । यसले शरीरमा विकार पैदा गर्छ । विभिन्न संक्रमण हुने, पखाला लाग्ने कारण यस्तै खानेकुराले गर्दा हो ।

– पाचन प्रक्रियालाई खराब पार्ने अर्को तत्व मदिरा । मदिराले कसरी पेटमा कसरी प्रभाव पार्छ ? पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवरबाट विस्तारमा बुझौं ।

जब हामी रक्सी पिउँछौं त्यो खाद्यनली हुँदै पेटमा सोसिएर कलेजोमा पुग्छ । यो क्रममा मदिरा अत्याधिक पिउँदा रक्सीमा हुने रसायनले आमाशयको कोषहरूलाई पनि हानि गर्छ । त्यस्तै सानो आन्द्रा र सम्पूर्ण पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ ।

त्यस्तै, कलेजोले पनि पाचनक्रियामा सघाउनेदेखि शरीरका विषाक्त पदार्थ अलग गर्नेसम्मको काम गर्छ । रक्सीमा भएको विषाक्त पदार्थ पनि शरीरको अन्य भागमा नजाओस् भनेर कलेजोले त्यसलाई छान्छ ।

कलेजोमा रहेको ‘अल्कोहल डिहाइड्रोजिनेज’ इन्जाइमले रक्सीलाई पचाउन मद्दत गर्छ । यो क्रममा यसमा भएको ‘एसिटल्डिहाइड’ भन्ने रसायनलाई टुक्राएर ‘एसिटेट’ नामक रसायनमा बदलिदिन्छ । यो एसिटेट कार्बन डाइअक्साइड र पानीमा बदलिएर शरीरबाट बाहिरिन्छ । तर अत्याधिक मात्रामा रक्सी सेवनका कारण ‘एसिटल्डिहाइड’ को मात्रा धेरै भयो भने त्यसले कलेजोको कोषहरूलाई बिगार्न थाल्छ ।

लामो समयदेखि ग्यास्ट्राइटिसको समस्या भएको व्यक्तिले रक्सी सेवन गर्दा पेट, आमाशय र आन्द्रामा तत्कालीन र दीर्घकालीन रूपमा धेरै समस्या निम्तिन सक्छ ।

सबैभन्दा पेटको समस्यामा सताउने भनेको ग्यास्ट्रिक अर्थात् ग्यास्ट्राइटिस हो ।

ग्यास्ट्रिक कसरी हुन्छ त ?

आमाशय वा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्रिक भनिने पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् । उनका अनुसार पाचनरसबाट निस्किएको हाइड्रोक्लोरिक एसिडले खाना पचाउन सहयोग गर्छ । कुनै कारणवश एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्छन् ।

कारण

विशेषगरी ७० प्रतिशतमा ग्यास्ट्रिक हुनुको मुख्य कारण हेलिकोपाइलरी कीटाणु हो । यो कीटाणु शरीरमा आफैं उत्पन्न हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन तथा मात्रामा तालमेल मिल्दैन, तब ग्यास्ट्रिक हुने गर्छ । कीटाणुको संख्या बढेपछि आमाशय सुन्निन थाल्छ, जसले ग्यास्ट्रिक गराउने डा. भण्डारी बताउँछन् ।

त्यस्तै, दुखाइ कम गर्ने औषधि, आवश्यकभन्दा बढी खाने, खाने बित्तिकै सुत्ने, बढी मात्रामा चिया–कफी पिउने बानी, आधा रातमा खाने, जंकफुड अत्याधिक खाने, मदिरा पिउने,  कोल्ड ड्रिंकले पनि ग्या जोखिम निम्त्याउँछ ।

बीबीसीको एक रिपोर्टमा भनिएको छ, ‘पेट शरीरको एक अत्यन्त महत्वपूर्ण प्रतिरक्षा तन्त्र पनि हो ।’

तर हामी पेटलाई डस्टबिन बनाइरहेका हुन्छौं । मनलाग्दी खान्छौं । खानुपर्ने, नखानुपर्ने सबै खान्छौं । यही कारण हामीमध्ये धेरैजसो पेटका रोगी छौं । पेटको रोगी हुनु भनेको सम्पूर्ण शरीर नै कमजोर र शिथिल हुनु हो ।

यस्तोमा प्रश्न उठ्छ, कसरी पेटलाई सफा, बलियो, हल्का बनाउने ? आयुर्वेदिक डा. पुनेश्वर केशरी सुझाउँछन् ।

– बिहान उठ्नासाथ खाली पेटमा मनतातो पानी पिउनुपर्छ । दुई वा तीन गिलास पानी पिइसकेपछि शौच क्रिया गर्नुपर्छ ।

– खानामा हरियो सागपात सामेल गर्नुपर्छ, जसमा उच्च फाइबर छ । यस किसिमको खानाले पाचन यन्त्र बलियो हुन्छ ।

– शारीरिक रुपमा सक्रिय राख्ने ।

– एकसाथ धेरै खाना खानु हुँदैन, जो पचाउन गाह्रो हुन्छ ।

– चिल्लो, तारेको, मसलेदार खानेकुरा पचाउन गाह्रो हुन्छ ।

– खाना खाइसकेपछि सलादको रुपमा गोलभेडा सेवन गर्नु लाभदायक हुन्छ । अझ त्यसमाथि वीरेनुन छर्कनुपर्छ, राम्रो हुन्छ ।

– सम्भव भएसम्म मासुजन्य परिकार कम सेवन गर्नुपर्छ ।

– पुदिना पाचन क्षमता बढाउन उपयोगी हुन्छ । त्यस्तै मेवाले पनि पेट तन्दुरुस्त राख्न मद्दत गर्छ ।

ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

पाचन प्रणाली पेट स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दिनभर एसीमा बस्नेलाई हुनसक्ने ५ स्वास्थ्य समस्या

दिनभर एसीमा बस्नेलाई हुनसक्ने ५ स्वास्थ्य समस्या

कति स्वस्थ हुनुहुन्छ  ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

कति स्वस्थ हुनुहुन्छ ? पिसाबको रङबाट पत्ता लगाउन सकिन्छ

मेनिया रोगको कारण र उपचार

मेनिया रोगको कारण र उपचार

बच्चा जन्मिएपछि महिलाको यौनाङ्गमा आउनसक्छ परिवर्तन, के छ उपचार ?  (भिडियो)

बच्चा जन्मिएपछि महिलाको यौनाङ्गमा आउनसक्छ परिवर्तन, के छ उपचार ?  (भिडियो)

डेंगुको प्रकोपबाट जोगिन कार्यस्थलमै लार्भा नष्ट गर्ने समय निकालौं

डेंगुको प्रकोपबाट जोगिन कार्यस्थलमै लार्भा नष्ट गर्ने समय निकालौं

गंगालालकी आमा : अविश्राम बिरामीको स्याहारसुसारमा

गंगालालकी आमा : अविश्राम बिरामीको स्याहारसुसारमा