+

मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

२०८१ असार  १८ गते १३:०३ २०८१ असार १८ गते १३:०३
Shares
मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

तपाईं मुटु स्वास्थ्यबारे कति जानकार हुनहुन्छ ? अहिले सुनेको भरमा मुटु स्वास्थ्यबारे ज्ञान दिने र लिने धेरै भेटिन्छन् । जस्तै, मुटुरोग उमेर ढल्किएको मानिसलाई मात्र लाग्छ । बुढेसकाल नलागेसम्म मुटुमा कुनै समस्या पर्न सक्दैन । यस्ता ज्ञानको पछि लाग्दा कहिलेकाहीं आफैंलाई हानि गरिरहेको हुन्छ ।

यस्तै, केही भ्रम मुटु स्वास्थ्यबारे सुनिन्छ । मुटुरोग लाग्ने कारक तत्व जीवनशैली हो । के खानुहुन्छ ? कस्तो छ जीवनशैली ? परिवारमा कसैलाई पहिला मुटुरोग भएको थियो कि यस्ता कुराले फरक पार्छ । विशेषगरी मोटोपन, टाइप २ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल हुने व्यक्तिमा मुटु समस्या कम उमेरमै गराउन सक्छ ।

अन्तर्राष्ट्रिय जर्नल कार्डियाक मेटाबोलिक इन्स्टिच्युट अनुसार अहिले हृदयघात हुनेमध्ये पाँच जनामा एक जना बिरामी ४० वर्षभन्दा कम उमेरको भेटिन्छ । त्यसैले ढुक्कले बस्न हुँदैन ।

भ्रम : छाती दुख्ने बित्तिकै हृदयघात हुन्छ ।

छाती दुखाइ र असहज हुनु हृदयघातको लक्षण हो । तर त्यसमा अन्य लक्षण पनि हुनसक्छ । जस्तै, सास छिटो छिटो फेर्ने, रिंगटा लाग्ने, हल्का टाउको दुखाइ, पाखुरा दुख्दै बायाँतर्फ सर्दै जाने, बङ्गारा, घाँटी र ढाड दुखाइ हुन पनि यसको लक्षण हो । तर यो हुँदा पनि हृदयघात नै भएको पक्का गर्न सकिंदैन । कहिलेकाहीं ग्यास्ट्रिकले पनि छाती दुख्न सक्छ ।

त्यसैले छाती दुख्नेबित्तिकै आत्तिने भन्दा पनि धैर्यपूर्वक अस्पताल लग्ने व्यवस्था गरिहाल्नुपर्छ ।

भ्रम : मधुमेहको औषधि नियमित खानेलाई मुटुरोग लाग्दैन ।

मधुमेहको उपचार भइरहेको छ भने पक्कै यसले मुटुरोगको जोखिमलाई पर लैजान्छ । तर मधुमेह नियन्त्रणमा रहे पनि मुटुरोग र पक्षघातको जोखिम रहन्छ । किनकि मधुमेहले मात्र मुटुरोगलाई बढावा दिंदैन । यसको लागि उच्च रक्तचाप, शारीरिक निष्क्रियता, मोटोपन र धुम्रपान पनि जिम्मेवार हुन्छ ।

त्यसैले मधुमेहसँगै कोलेस्टेरोल, वजन नियन्त्रण, शारीरिक सक्रियता बढाएमा पक्कै पनि मुटुमा समस्या हुने जोखिम कम हुन्छ ।

भ्रम : मुटुरोग घरमा एक जनालाई लाग्यो भने सबैलाई लाग्छ, यसको रोकथाम हुन सक्दैन ।

– परिवारमा मुटुरोग कसैलाई पहिला देखिएको थियो भने पक्कै पनि मुटुरोगको जोखिम रहन्छ । तर यसो भन्दैमा सबैलाई लाग्छ । र, यसबाट बच्न सकिंदैन भन्ने कदापि हुँदैन । मुटु स्वस्थ राख्ने उपाय तथा वर्षमा एक पटक मुटुको सामान्य जाँच गरेर यसबाट बच्न सकिन्छ ।

भ्रम : उमेर पाको नहुने र कुनै स्वास्थ्य समस्या नदेखिने समयसम्म कोलेस्टेरोलको परीक्षण आवश्यक हुँदैन ।

– जोखिम कारकको बारेमा युवा उमेरमै परीक्षण गर्दा मुटुरोगको जोखिम कम हुनसक्छ । युवा उमेरमा पनि ब्याड कोलेस्टेरोल हुनसक्ने सम्भावना रहन्छ । त्यसैले २० वर्षको उमेरपछि ४ देखि ६ वर्षमा चेकअप गराउनै पर्छ ।

भ्रम : मुटु फेल हुनेबित्तिकै धड्कन पनि बन्द हुन्छ ।

मुटुले अचानक धड्कनको गति रोक्नुको कारण ‘कार्डियाक अरेस्ट’ हो, मुटु फेल हुनु होइन । मुटु फेल हुँदा पनि मुटुले काम गरिरहेको हुन्छ । तर जति धड्कन धड्किनुपर्ने हो त्यही अनुपातमा भने धड्किन सक्दैन । मुटु खराब हुँदा सास छिटो गतिमा फेर्ने, खुट्टा तथा कुर्कुच्चा सुन्निने, खोकी लाग्ने हुन्छ ।

तर कार्डियाक अरेस्ट हुँदा व्यक्तिले आफ्नो सचेतना पनि गुमाउँछ । र, सामान्यरुपमा अरुबेला जस्तो सास फेर्न सक्दैन ।

भ्रम : विना चोटपटक दिनहुँ खुट्टा दुख्नु बुढेसकाल लागेर हुनसक्छ । डराइहाल्नुपर्ने अवस्था होइन ।

बुढेसकाल लागेर खुट्टा दुखेको भनेर चुप लागेर बस्नु हुँदैन । विना चोटपटक दिनहुँ जस्तो खुट्टा दुख्नु भनेको ‘पेरिफेरल आर्टिरी डिजिज’को संकेत हुनसक्छ । यो समस्याले धमिनीलाई असर गर्छ ।

यसले खुट्टामा रक्तसञ्चार हुने धमिनीहरूलाई ब्लक गर्छ । जसकारण त्यहाँ बोसोयुक्त पदार्थ जम्न सक्छ । लामो समयसम्म धमिनी अवरुद्ध हुँदा धमिनी कडा हुने, संकुचित हुँदै कमजोर हुन्छ । जसले खुट्टा दुख्न सक्छ । प्राय: ६० वर्षमाथि उमेरको व्यक्तिलाई यो समस्या देखिन्छ । समयमा पहिचान र उपचार नहुँदा हृदयघात र पक्षघात समेत हुनसक्छ ।

भ्रम : मुटुरोग लागेपछि यौन सम्बन्ध राख्नु हुँदैन ।

यौन आधारभूत आवश्यकता नै हो । यसलाई कुनै रोगमा पनि पूर्ण वर्जित विषय मानिंदैन । त्यसकारण मुटुको समस्या भएका व्यक्तिमा पनि यौनक्रिया गर्नु सुरक्षित मानिन्छ । मुटु तथा उच्च रक्तचाप भएका व्यक्ति जो भर्‍याङ चढ्न, हिंड्न र केही दूरीसम्म दौडिन कुनै समस्या हुँदैन भने सहवास गर्नु सुरक्षित मानिन्छ । कुनै कठिन लक्षण देखिंदैन भने सहवास गर्न समस्या हुँदैन ।

तर यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल बढ्ने तथा रक्तचाप पनि केही बढ्ने भएकाले मुटुलाई थप दबाब चाहिं पर्न सक्छ । यही कारण मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ । तर यौन सम्पर्कबाट टाढै बस्नुपर्छ भन्ने छैन ।

भ्रम : एकपटक मुटुको शल्यक्रिया गराएपछि अर्को पटक हृदयघातको जोखिम रहँदैन ।

एकपटक अवरुद्ध भएको मुटुको धमिनी खुलाएर शल्यक्रिया गरेपछि पनि हृदयघातको जोखिम रहन्छ, जब एकपटक ठीक भएपछि पनि जीवनशैली र खानपिनमा ध्यान छैन । जीवन तनावग्रस्त छ र नियमित गरिनुपर्ने चेकजाँच छैन भने हृदयघातको जोखिम उत्तिकै रहन्छ ।

भ्रम : हृदयघात भएपछि व्यायाम गर्नु हुँदैन ।

यो भनाइमा कुनै सत्यता छैन । किनकि शारीरिक सक्रियता बढाउन पनि व्यायाम गर्नुपर्छ । अध्ययनहरुले पनि हृदयघातपछि बाँचेका जति पनि व्यक्ति छन्, तीमध्ये जो बढी शारीरिकरुपमा सक्रिय रहन्छन् ।

त्यति स्वस्थ र लामो जीवन बिताउने देखाएको छ । व्यायाम मात्र होइन, उनीहरूले दैनिक गर्ने कामकाज पनि गर्न सक्छन् । यसो भन्दैमा शरीरमा भार पर्ने व्यायाम भने गर्न हुँदैन । चिकित्सकको सल्लाहमा हल्का खालको व्यायाम गर्न सकिन्छ ।

भ्रम : हृदयघात भएपछि उपचारले ठीक हुँदैन ।

हृदयघात भएमा उपचारपछि निको हुनसक्छ । तर ठीक हुने भन्ने कुरा कति छिटो उपचार भयो भन्नेमा निर्भर रहन्छ । किनकि जति ढिलो भयो मुटुको धमिनीमा उति मुटुमा क्षति पुग्छ ।

हृदयघात भएको आधा घण्टादेखि दुई घण्टाको बीचमा अवरोध भएको रगतको नसा खोल्न सकियो भने बचाउन सकिन्छ ।

त्यसकारण जति सक्दो छिटो अस्पताल लैजाने र चिकित्सकले रगत जम्न नदिने औषधि, शल्यक्रिया गर्न सके भनी हृदयघातबाट बचाउन सकिन्छ । र, घरमा गएपछि चिकित्सकको निर्देशनअनुसारको स्याहार र जीवनशैलीमा ध्यान दिए सामान्य व्यक्ति जसरी जीवनयापन पनि गर्न सकिन्छ ।

छाती दुखाइ डा. माधव विष्ट मुटु स्वास्थ्य हृदयघात
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग