हड्डी कमजोर हुने समस्याले धेरैलाई सताइरहेको हुन्छ । साधारण चोटपटकका कारण पनि हड्डी भाँचिन सक्छ । यसरी हड्डी कमजोर र पातलो हुने रोग ओस्टियोपोरोसिस हो ।
यस अवस्थामा, हड्डीको मास घनत्व ‘बीएमडी’ घट्छ, जसले हड्डी भाँचिने जोखिम बढी हुन्छ । यसले हिपको हड्डी, मेरुदण्ड र नाडीको हड्डीमा बढी असर गर्छ ।
ओस्टियोपोरोसिस ५० वर्षभन्दा माथिका महिलामा बढी देखिने भएपनि अहिले यो समस्या पछिल्लो समय पुरुषसँगै कम उमेरका मानिसमा पनि हुन थालेको छ । ओस्टियोपोरोसिस क्याल्सियमको कमी लगायत विभिन्न कारणले हुन्छ ।
महिलामा बीएमडी स्तर कायम राख्न एस्ट्रोजन धेरै महत्त्वपूर्ण हुन्छ । महिलामा रजोनिवृत्तिपछि शरीरमा एस्ट्रोजनको स्तर कम भएका कारण बीएमडी द्रुत रूपमा घट्छ । बदलिंदो जीवनशैली, खराब खानपान, आनुवंशिकता र व्यायामको कमी ओस्टियोपोरोसिस हुने प्रमुख कारक हुन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार महिनावारी रोकिएका तीन जनामा एक जना महिलालाई ओस्टियोपोरोसिसको जोखिम हुन्छ ।
ओस्टियोपोरोसिसको कारण
हड्डी प्रोटिन, कोलाजेन र क्याल्सियमबाट बनेको हुन्छ । जब हड्डीहरूले आफ्नो घनत्व गुमाउँछन् र अस्वाभाविक रूपमा कमजोर र छिद्रपूर्ण हुन्छन्, त्यस अवस्थामा हड्डीहरु सजिलैसँग कम्प्रेस हुन्छन्, जसले गर्दा फुट्ने सम्भावना बढ्छ । जस्तै- मेरुदण्ड भाँचिने, हिप भाँचिने ।
बीएमडी हानिको पहिलो स्तरलाई ओस्टियोपेनिया भनिन्छ । यसको उपचार गरिएन भने ओस्टियोपोरोसिस हुन्छ । ओस्टियोपोरोसिसको अवस्थामा सबैभन्दा सम्भावित भाँचिने जोखिम करङ र नाडीमा हुन्छ ।
ओस्टियोपोरोसिसको जोखिमयुक्त समूह
महिनावारी रोकिएका महिला र वृद्धवृद्धामा यसको जोखिम बढी हुन्छ । तर पछिल्लो समय यो समस्या युवापुस्तामा पनि सामान्य बन्दै गएको छ । खराब जीवनशैली, लामो समयसम्म बस्ने, अस्वस्थ खाने बानी, तनाव आदि यसको जोखिमका कारक हुन् । साथै शारीरिक निष्क्रियता, क्याल्सियमको कमी, भिटामिन डीको कमी, धुम्रपान, मद्यपान, तौल घट्नु, रुमेटोइड गठिया आदि हुन् ।
ओस्टियोपोरोसिसको लक्षण
ढाड दुख्ने : ओस्टियोपोरोसिसमा ढाड दुखाइ सामान्यतया मेरुदण्ड भाँचिएको कारणले हुन्छ । यसले गम्भीर पीडा निम्त्याउँछ । मेरुदण्डको हड्डी भाँचिदा यसले नजिकैको स्नायुलाई पनि दखल दिन्छ । त्यसले पनि दुखाइ बढाउँछ ।
हड्डी भाँच्चिने : ओस्टियोपोरोसिसको कारण हुने सबैभन्दा सामान्य लक्षणमध्ये एक हड्डी भाँचिनु हो । यसमा हड्डीहरू यति कमजोर हुन्छन् कि हड्डी भाँचिने जोखिम बढ्छ ।
झुकेको पोस्चर : कतिपय अवस्थामा ओस्टियोपोरोसिसको कारणले गर्दा मेरुदण्ड भाँचिएकाले माथिल्लो ढाडलाई अगाडि झुकाउँछ र कुप्रो परेको देखिन्छ । जसले सिधा बस्न तथा हिंड्नमा कठिनाइ उत्पन्न हुन्छ ।
ओस्टियोपोरोसिसको उपचार
ओस्टियोपोरोसिसको उपचारमा डाक्टरहरूले बिरामीको अवस्था हेरेर कस्तो उपचार गर्ने भन्ने सल्लाह दिन्छन् । ओस्टियोपोरोसिसका लागि केही औषधि छन्, जसले हड्डी खिइनबाट रोक्छ र नयाँ हड्डी बनाउन सहयोग गर्छ । क्याल्सियम र भिटामिन डी ओस्टियोपोरोसिसको लागि महत्त्वपूर्ण औषधि हुन्, यिनीहरूलाई काम गर्न लामो समय लाग्छ, तसर्थ यी औषधिहरू लामो समयसम्म सेवन गर्नुपर्छ ।
शल्यक्रिया कहिले गर्ने ?
ओस्टियोपोरोसिस हुँदैमा सबैलाई शल्यक्रियाको आवश्यकता पर्दैन । भाँचिएको मेरुदण्डको हड्डीमध्ये १० प्रतिशतलाई मात्र शल्यक्रियाको आवश्यकता पर्छ । दुखाइ कम गर्न, भाँचिएको मेरुदण्डलाई ठाउँमा ल्याउन, बाङ्गोपना मिलाउन, स्पाइनल कर्डको प्रेसर हटाउन, बाङ्गिएको मेरुदण्डलाई सोझो पार्न शल्यक्रियाले मद्दत गर्छ ।
ओस्टियोपोरोसिसको रोकथाम
हड्डी बलियो बनाउन सबैभन्दा पहिले क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया सागसब्जी तथा फलफूलको सेवन गर्नुपर्छ । दूध, अण्डा, केरा, दाल गेडागुडी र मासुको पर्याप्त सेवनले हड्डीलाई बलियो बनाउँछ ।
शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्नुपर्छ । शरीरमा भिटामिन डी पाउने सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । त्यसैले बिहान ८ देखि १२ बजेसम्मको पारिलो घाममा बस्नु राम्रो हुन्छ । यसका लागि घाममा बस्दा सकेसम्म खुल्ला कपडाको प्रयोग गर्नुपर्छ ।
ओस्टियोपोरोसिसबाट बच्न धुम्रपान र मद्यपान गर्नु हुँदैन । नियमित रुपमा शारिरिक व्यायाम गर्नुपर्छ । साथै शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ र ओस्टियोपोरोसिसको लक्षण देखिने बित्तिकै डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।
प्रतिक्रिया 4