५४ वर्षीय एक जना पुरुषको आँखामुनि एक्कासि रातो घाउ देखापर्यो । उनले घाउ सामान्य सोचेर पहिला वास्ता गरेनन् । बिस्तारै उनको आँखाको वरपर भागमा दुख्ने, पोल्ने र चिलाउने थाल्यो ।
अरूले भनेको भरमा उनले मलमदेखि खाने औषधि पनि ‘ओभर द काउन्टर’ किनेर खाए । तर अलिकति पनि सुधार आएन । यसरी लामो समय बितिसक्दा उनको घाउ फैलिने, गहिरो र थप गम्भीर हुँदै गयो । केही गरी पनि निको नभई सकेपछि उनी अन्तिम अस्पताल पुगी छालारोग विशेषज्ञलाई देखाउँदा छालाको क्यान्सर भइसकेको र अन्य अंगमा समेत फैलिन थालेको देखियो । अहिले उनी क्यान्सरको उपचार गराइरहेका छन् ।
यो त एक उदाहरण पात्र मात्र हुन् । औषधि खाँदा पनि ठीक नभएपछि पनि चिकित्सकलाई भेट्नुको साटो अरूको लहडमा लागेर जथाभावी औषधि खाने गलत परिपाटी छ ।
छालाको क्यान्सर समयमै पहिचान भए निको हुनसक्छ । तर अधिकांश बिरामी छालाको समस्यालाई समस्या नै नठानेर लामो समयसम्म अनावश्यक औषधिको भरमा बस्दा अस्पतालसम्म आइपुग्दा ढिलो भई अवस्था जटिल भइसकेको हुन्छ ।
कस्तो अवस्थालाई छालाको क्यान्सर भनिन्छ ?
छालाको कोषिकाहरु असामान्य रूपमा बढ्दै जाने र पछि गिर्खाहरूको रूपमा तथा खटिराको स्वरूपमा परिवर्तन भई फैलिनेलाई छालाको क्यान्सर भनिन्छ ।
बेसल सेल, सक्यामस सेल क्यान्सर र मेलानोमा गरी छाला क्यान्सर तीन किसिमका हुन्छन् । जसमध्ये नेपालमा बढी देखिने क्यान्सर बेसल सेल क्यान्सर हो ।
बेसल सेल क्यान्सर
छालामा माथिल्लो भाग एपिडर्मिस, मध्य भाग डर्मिस र तल्लो भाग सबटिच्युड गरी तीनवटा तह हुन्छ । बेसल सेल क्यान्सर छालामा माथिल्लो भाग एपिडर्मीसको तल्लो भागमा क्यान्सर पलाउन सक्छ ।
लक्षण
घाम सिधै पर्ने ठाउँ अनुहारको ओठको तल्लोपट्टि भाग, गालाको माथि उठेको भाग, घाँटी, कानमा टल्किने खालको मोतीका दानाहरु जस्तै देखिने घाउ आउँछ ।
त्यही दाना बढेर पाप्रा जस्तो घाउहरू आउँछ । ती दाना नजिक रगतको नलीहरू, घाउ लामो समयदेखि भइरहन्छ । ती घाउ चिलाउने, रगत बग्ने र पोल्ने जुन सामान्य उपचार गर्दा पनि ठीक नहुने हुन्छ ।
स्क्वामस सेल क्यान्सर
छाला केराटिन भन्ने तत्वले बनेको हुन्छ, जसलाई सक्यामस सेल भनिन्छ । त्यसबाट पलाउने क्यान्सरलाई स्क्वामस सेल क्यान्सर भनिन्छ । लामो समयसम्म घामको सम्पर्कमा रहेमा यो क्यान्सर लाग्न सक्छ ।
लक्षण
यसको लक्षणमा ठीक नहुने खालका खाल्डो परेका घाउहरू आउँछ । जुन चिलाउने, पोल्ने, दुख्ने र रगत बग्ने जस्ता समस्या ल्याउन सक्छ । घाउ बढ्दै जान्छ । ती घाउ बढ्दै गई जुन ठाउँमा आएको हो, त्यो ठाउँमा विरुपन ल्याउन सक्छ ।
जस्तै, ओठमा आएमा त्यस वरपरको भागमा विरुपन ल्याउँछ र मांसपेशी तथा हड्डीमा पनि असर पारेर हड्डी खाने र अन्य भागमा फैलिन सक्छ । यो क्यान्सर पोलेको तथा दीर्घकालीन रूपमा निस्किएको घाउ र खतहरूमा पनि पलाउन सक्छ ।

मेलानोमा क्यान्सर
शरीरमा मेलानोसाइट भन्ने तत्व हुन्छ, जसले छालालाई रङ प्रदान गर्छ । जुन गोरो छालाभन्दा कालो र गहुँगोरो छालामा बढी हुन्छ । मेलानोसाइटले पनि घामका हानिकारक विकिरणहरुबाट केही हदसम्म सुरक्षा दिन्छ ।
यस्तोमा कम मेलानोसाइट हुने व्यक्तिमा घामको किरणको प्रभाव छिटो र बढी पर्छ । गोरा जातिका पश्चिमी मुलुकमा बस्नेहरूमा कम मेलानोसाइटका कारण क्यान्सर हुने जोखिम रहन्छ ।
त्यस्तै, शरीरमा अत्यधिक धेरै कोठी आउने र असामान्य रुपमा कोठी बढ्दै गएमा, कोठीबाट रगत बगेमा या चिलाउने पोल्ने दुख्ने भएमा चिकित्सकको परामर्श लिनुपर्छ ।
लक्षण
यो क्यान्सरको लक्षणमा शरीरका विभिन्न भागमा कोठी जस्तै दाग देखिन्छन् । एउटै कोठीमा पनि रङ खैरो र काला हुने, एक भागको आकार ठूलो एक भागको सानो हुने र आकार गोलो नहुने हुन्छ ।
सो दाग बढ्ने, त्यसमै घाउ, खटिरा आउने औषधि गरे पनि ठीक नहुने हुनसक्छ । यो समस्या प्राय: परिवारमा पहिला कसैलाई क्यान्सर भइसकेको छ भने अन्य सदस्यलाई हुने जोखिम रहन्छ ।
यदि कोही व्यक्तिको छालामा १०० वटाभन्दा बढी कोठी छन् । ती कोठीको आकारप्रकार २० सेन्टिमिटरभन्दा ठूलो छ भने वा थोरै समयमा धेरै बढ्नु पनि मेलानोमाको क्यान्सरको संकेत हुनसक्छ ।
यो क्यान्सर कतिको साझा छ ?
छालाको क्यान्सर विश्वव्यापी रुपमै बढ्दो छ । संयुक्त राज्य अमेरिकामा भएका अध्ययनहरूमा पनि क्यान्सरमध्ये छालाको क्यान्सरका बिरामी बढिरहेको देखाउँछ ।
नेपालको सन्दर्भमा भने ठूला अध्ययन भएका छैनन् । तर पनि ओपीडीमा छालाको क्यान्सर लिएर आउनेको संख्या बढी नै छ । जसमध्ये सबैभन्दा बढी बेसल सेल क्यान्सर बढीमा पुष्टि भएको देखिन्छ ।
छालाका क्यान्सरमध्ये कुन बढी घातक ?
यी तीनमध्ये सबैभन्दा बढी घातक मेलोनामा क्यान्सरलाई लिन सकिन्छ । यो क्यान्सर लागेमा हड्डी र मस्तिष्कसम्म पुगेर मृत्यु हुनसक्छ । दोस्रोमा स्क्यामस क्यान्सर र कम घातक बेसल क्यान्सर हो ।
के कारणले देखिन्छ ?
छालाको क्यान्सर हुने मुख्य कारण घामको प्रकाश नै हो । त्यसबाहेक वंशाणुगत कारण, आर्सेनिक, मर्करी जस्ता छाला बिगार्ने रसायनिक सम्पर्कमा दैनिकजसो रहनु, क्यान्सरको उपचारमा रेडियोथेरापी गर्नु, बिरामी, रोगप्रतिरोधात्मक शक्ति घटाउने औषधि सेवन, सेतो दुभीको उपचारमा प्रयोग हुने प्रकाशको थेरापीका कारण छालामा क्यान्सर देखिन सक्छ ।
माथि उल्लेखित कारणले क्यान्सर भएमा अनियन्त्रित रूपमा कोषहरू वृद्धि हुन्छ । ती कोषिकाहरुलाई रगतको नलीहरू तथा प्रतिरोध क्षमताले बढी रहन थप मद्दत गर्छ । यसरी बढ्ने क्रमलाई शरीरको कुनै पनि प्रतिरक्षा प्रणालीले रोक्न सक्दैन ।
क्यान्सरको यकिन भइसकेपछि उपचार कति सम्भव ?
छालाको क्यान्सरको उपचार सम्भव छ । तीनमध्ये बेसल सेलको क्यान्सरको त उपचार भएमा पूर्ण रुपमा नै निको पार्न सकिन्छ । यो क्यान्सर एक अंगबाट अर्को अंगमा फैलिंदैन । यसले मृत्युको अवस्थासम्म पुर्याउँदैन ।
यसको नराम्रो पक्ष भनेको पुनः दोहोरिएर आउन सक्छ । तर समयमै पहिचान गरी एकै पटक क्यान्सरका वरपरका कोषिका पनि निकाल्न सकियो भने पुन: आउन सक्ने सम्भावना कम हुन्छ ।
त्यस्तै, स्क्वामस क्यान्सर र मेलोनेमा क्यान्सर अन्य अंगमा फैलिसकेको खण्डमा उपचार जटिल बन्न सक्छ । तर असम्भव भने हुँदैन ।
पहिचान तथा उपचार
यसको पहिचानका लागि सबैभन्दा पहिला लक्षण डर्मोस्कोप उपकरणबाट हेरिन्छ । जसबाट क्यान्सर हो कि होइन भनेर दाग, घाउ, खटिरा वा कोठीको स्वरुप तथा फैलावट हेर्दा क्यान्सरको शंका लागेमा बायोस्पी गरिन्छ ।
बायोस्पी गर्दा सानो छ भने पूरै त्यहाँको छाला निकालेर हेरिन्छ । ठूलो आकार भएमा केही भाग मात्र काटेर क्यान्सरका कोषिकाहरु छन् कि भनेर हेरिन्छ ।
छालाको क्यान्सरमा तीनवटै उपचार प्रक्रिया उस्तै हो । जसमा क्यान्सर देखिएको कोषिकाहरुलाई शल्यक्रिया गरी निकालेर फाल्ने तथा किमोथेरापी र रेडियोथेरापी गर्ने हुन्छ ।
उपचारबाट हुने साइड–इफेक्ट
– अनुहारको भागमा क्यान्सर भए शल्यक्रिया गरेर हटाउँदा पछिसम्म दाग वा खत बस्छ ।
– रेडिएसन थेरापीले छालामा बिमिरा वा फोका, कालो दाग आउनसक्छ ।
– किमोथेरापीले रोगप्रतिरोधात्मक क्षमता घटाउने, कपाल भार्ने र डायरिया गराउन सक्छ ।
कसरी बच्ने ?
– पहिले परिवारका कुनै सदस्यलाई छालाको क्यान्सर देखिइसकेको छ भने असामान्य खालको घाउ, दाग र बिमिरा देखिए चिकित्सकलाई देखाउनुपर्छ ।
– बिहान १० देखि दिउँसो ४ बजेसम्म घाममा बाहिर ननिस्कने वा सम्भव नभए घाममा रहँदा सनस्क्रिन लगाउने, चस्मा, मास्क लगाउने, छाता ओढ्ने, पूरा बाहुला भएका लुगा लगाउउने गर्नुपर्छ ।
– रासायनिक केमिकल प्रयोग गर्नुपरेमा अनुहारमा मास्क लगाउने, हातमा पञ्जा र खुट्टामा बुटको प्रयोग गर्नुपर्छ ।
 
                    










 २०८१ साउन  १६ गते १६:१८
                        २०८१ साउन  १६ गते १६:१८                     
                             
                     
 
 
 
 
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                                         
                             
                             
                             
                         
                         
                         
                         
                         
                         
     
     
     
     
     
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4