‘भोक मीठो कि भोजन ?’ नि:सन्देह ‘भोक’ । भोक लागेको बेला रुखोसुखो खानेकुरा पनि स्वादिलो लाग्छ । तर भोक नै छैन भने ? चौरासी व्यञ्जन पनि खल्लो लाग्छ ।
ओछ्यान राम्रो कि निद्रा ? पक्कै पनि निद्रा । निद्रा लागेपछि जस्तो ओछ्यान पनि सहज लाग्छ । तर निद्रा नै लागेन भने ? सुनको पलङ्गमा सुतेपनि केही लाभ हुन्न ।
यसको अर्थ के भने भोजन भन्दा भोक जरुरी छ । ओछ्यान भन्दा निद्रा । सही समयमा भोक लाग्नु, सही समयमा निद्रा लाग्नु, सही समयमा दिसापिसाब लाग्नु, खाएको पच्नु, शरीर फूर्ति हुनु, जाँगर चल्नु, खुसी महसुस हुनु स्वस्थ शरीरको सूचक हुन् ।
हामीले प्राप्त गर्ने भौतिक सुख-सुविधा भन्दा बढी महत्वपूर्ण छ, स्वस्थ शरीर । शरीर नै रोगी भए जतिसुकै सुविधाले पनि सुख दिंदैन ।
त्यसो भए स्वस्थ्य शरीरका लागि के गर्ने त ? यहाँ ३१ वटा साधारण नियम उल्लेख गरिएको छ, जो हामी पालना गर्न सक्छौं ।
१. मीठो तर सन्तुलित खाना
शारीरिक स्वास्थ्यको पहिलो सर्त हो, सन्तुलित अनि स्वस्थकर खाना । खाना खाइरहँदा त्यो स्वादिलो त हुनुपर्छ नै साथै पोषिलो पनि । किनभने शरीरलाई स्वस्थ, तन्दुरुस्त, दीर्घायु राख्ने प्रमुख भूमिका खानाको हुन्छ । यदि खानालाई सही ढंगले, सही समयमा, सही मात्रामा खाइयो भने औषधि खानै पर्दैन ।
खराब खानपान त्यागौं र सन्तुलित, पोषिलो अनि सुपाच्य खाना खाने गरौं ।
२. पर्याप्त निद्रा
मस्त निद्रा शारीरिक स्वास्थ्यको प्राथमिक सूचक हुन् । दिनभर हामी काम गर्छौं, खान्छौं, हिंड्छौं, बोल्छौं, सोच्छौं । यावत् क्रियाका लागि शरीरका भित्री अंगहरुले काम गरिरहेको हुन्छ । जब हामी सुत्छौं त्यसबेला भने शरीरले आफ्नै मर्मत वा उपचारको काम गर्न थाल्छ । विश्रामको अवस्थामा शरीरभित्रको उपचारात्मक संयन्त्र सक्रिय हुन्छ, जसले हाम्रो शरीरलाई सम्भावित रोगव्याधिबाट मुक्त राख्छ ।
गहिरो वा पर्याप्त निद्राका लागि निश्चित समय तालिका अपनाउनु उत्तम हुन्छ ।
३. योग, ध्यान र व्यायाम
तन्किनु, उफ्रिनु, हिंड्नु, दौडिनु जस्ता शारीरिक गतिविधिले रक्त प्रवाह र श्वासप्रश्वासलाई सहज बनाउने, जोर्नी र मांसपेशीलाई लचिलो बनाउने, हड्डीलाई बलियो बनाउनेदेखि पाचन यन्त्रलाई चुस्त बनाउनसम्म भूमिका खेल्छ ।
बिहान खाली पेटमा व्यायाम गर्नु सर्वोत्तम मानिन्छ । व्यायाम एउटै गति वा तीव्रताका साथ निरन्तर ३५–४० मिनेटसम्म गर्नु उचित हुन्छ । यससँगै योग, ध्यान जस्ता गतिविधिले शारीरिक तथा मानसिक स्वास्थ्यमा लाभ पुग्छ ।
दिनभर काममा रहँदा शरीरलाई गतिशील राख्न जरुरी हुन्छ । केही न केही शारीरिक गतिविधि गर्नुपर्छ ।
४. शौच त्याग
बिहान उठेपछि निश्चित समयमा शौच त्याग गर्नु जरुरी हुन्छ । हामीले दिनभर खाएका खानेकुराबाट पोषकतत्व शरीरले लिन्छ र अन्य विकार दिसा, पिसाबको माध्यमबाट बाहिर निकाल्छ । त्यसैले स्वस्थ्य शरीरका लागि पोषिलो खानु जति जरुरी छ उत्ति नै शौच त्याग पनि महत्वपूर्ण छ ।
५. तौल सन्तुलित राखौं
शरीर उचाई अनुसार कति तौल हुनुपर्छ भन्ने एउटा स्वास्थ्य मानक तयार गरिएको छ । सोही अनुसार आफ्नो उचाई अनुरुपको तौल कायम राख्नु जरुरी छ ।
तौल सन्तुलित राख्न खानपान, जीवनशैली, निद्रा आदिको मुख्य भूमिका हुन्छ । ताजा र सुपाच्य खानपान, सक्रिय जीवनशैली र पर्याप्त आरामले तौल सही राख्न मद्दत गर्छ ।
६. चुरोट, रक्सी त्यागौं
चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता चीज स्वास्थ्यका लागि हानिकारक छ । स्वस्थ जीवनशैली अपनाउन यी कुराहरु त्याग्नैपर्छ । यसले मुख, दाँत, पाचन, रक्तसञ्चार, फोक्सो सबैतिर नराम्रो असर गर्छ । हड्डी कमजोर बनाउनेदेखि क्यान्सरको जोखिम बढाउनेसम्मका तत्व यिनै हुन् ।
७. शारीरिक सरसफाइमा ध्यान
शरीरलाई हानि गर्ने कतिपय जीवाणुहरु फोहोर र फोहोरी शरीरबाट फैलिने गर्छ । त्यसैले शरीरलाई स्वच्छ र सफा राख्न पनि उत्तिकै जरुरी छ । सम्भव भएसम्म दिनहुँ नुहाउनु उत्तम हुन्छ । खाना खानेबेला राम्ररी हात धुनुपर्छ । यी सामान्य कुरा हुन्, तर स्वास्थ्यका लागि अति महत्वपूर्ण छन् ।
८. खुसी र आनन्दित मन
मनको उथलपुथलले शरीरको क्रियालाई सोझो असर गर्छ । रिस, कुण्ठा, गुनासो, दुःख, अत्यास जस्ता कुराले जसरी मनलाई मात्र होइन शरीरलाई पनि पिरोल्छ, त्यसैगरी खुसी, उमंग, आनन्दले शरीरलाई स्वस्थ राख्न भूमिका खेल्छ । तनाव, चिन्ता जस्ता मनोविकारलाई व्यवस्थापन गरेर मनलाई आनन्दित भावमा राख्नु जरुरी छ ।
निष्कर्ष
स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्को निवास हुन्छ भनिन्छ । निरोग शरीर आफैंमा सर्वोत्तम उपहार हो । शरीर स्वस्थ भए सबै कुरा सहज लाग्छ । सुन्दर लाग्छ । र, शरीरलाई स्वस्थ राख्न न अतिरिक्त खर्च गर्नुपर्छ, न कुनै लगानी नै । यसका लागि एउटै सर्त हो, अनुशासित जीवनशैली ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4