सामान्यतः बालबालिका अँध्यारोेसँग डराउँछन् । उमेर बढ्दै गएसँगै उनीहरूको डर पनि स्वतः हट्दै जान्छ । तर केही व्यक्तिमा भने उमेर बढे पनि अँध्यारोेको डर रहिरहन्छ ।
डर यतिसम्म रहन्छ कि त्यसले दैनिकीमै समस्या ल्याउँछ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘निक्टोफोबिया’ भनिन्छ ।
निक्टोफोबिया कस्तो समस्या हो ?
निक्टोफोबिया एक ‘एन्जाइटी डिसअर्डर’ हो । यो समस्या हुँदा दिनमा कुनै समस्या हुँदैन । कसैले यो समस्या छ भनेर अनुमान पनि लगाउन सक्दैनन् ।
तर जब रातमा अँध्यारो हुन्छ, तब डरको भावना उत्पन्न हुन्छ । अर्थात् यो फोबियाले रातको अँध्यारोमा त्रास उत्पन्न गराउँछ ।
मूलतः ६ देखि १२ वर्ष उमेर समूहका अधिकांश बालबालिका अँध्यारोदेखि डराउँछन् । धेरैजसो मानिस उमेर बढ्दै जाँदा फोबियाको पनि सामना गर्छन् ।
कतिपय बच्चाहरू त सुत्दा पनि बत्ती बालेर सुत्छन् । त्यसैले यो बानी वयस्कसम्म पनि जारी रहन्छ ।
यो समस्या भएकाहरू कोही एक्लै हुन डराउँछन् भने केही अँध्यारोमा साथी हुँदा पनि डराउँछन् । कोही रातको अँध्यारोमा एक्लै बाहिर निस्किंदा पनि उनीहरूलाई डर लाग्छ ।
कारण
यसको मुख्य कारण भनेको डर नै हो । तर डर कसरी उत्पन्न हुन्छ भन्ने ठोस कारण आजसम्म विज्ञानले पत्ता लगाउन सकिरहेको अवस्था छैन ।तर, केही पक्ष यसको लागि जिम्मेवार मानिन्छ ।
जस्तो कि बाल्यकालमा कुनै घटनाको आघात, अन्धकारसँग जोडिएका नकारात्मक कल्पनाहरू, वंशाणुगत, अवचेतन मनमा भएको अँध्यारोमा केही नराम्रो हुने डरको आशंका, परिवारमै डर सम्बन्धी समस्या, डरलाग्दा चलचित्र वा कथा बढी सुन्दा पनि दिमागमा अन्धकार सम्बन्धी डर बस्न सक्छ ।
कतिपय बच्चालाई सानोदेखि नै भूत–प्रेतहरू हुन्छन् भनेर बारम्बार घर वा वरपरको सदस्यले अन्धविश्वासको पाठ पढाउँछन् भने पनि उनीहरूमा अँध्यारोको डर बस्न सक्छ ।
लक्षण
—यो समस्या भएमा अँध्यारोमा एक्लै बाहिर निस्कन हिच्किचाउँछन् ।
—रातमा निदाउनको लागि मधुरो भए पनि प्रकाश चाहिन्छ ।
—अँध्यारो भइहालेमा वा हुने बित्तिकै छाती भारी महसुस हुने, टाउको दुख्ने, डरको कारण बारम्बार पसिना आउने र डाह हुन थाल्छ ।
— अँध्यारोमा एकछिन बस्न परेमा सास फेर्न असहज हुने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ ।
—अँध्यारोले अनिद्राको समस्या पनि ल्याउँछ । जसका कारण यसको प्रभाव उनीहरूको दैनिक दिनचर्या र निद्रामा पनि देखिन्छ ।
—उनीहरूको सोच्ने, बुझ्ने तरिकामा केही फरक हुन्छ ।
—कोही त अँध्यारो हुने बित्तिकै ठूलो स्वरले कराउन र रुन थाल्छन् । यसको प्रभाव निद्रामा पनि देखिन्छ । एक्लै सुत्न मान्दैनन् ।
के यो समस्याको समाधान छ ?
यो समस्याको पहिचान बेलैमा भएमा केही उपचार विधिले निको पार्न सम्भव छ ।
विश्राम प्रविधि
यो समस्या भए एक विश्राम विधि अपनाइन्छ । फोबियाको कारणले हुने एन्जाइटी कम गर्न शृंखलाबद्ध तरिका समावेश हुन्छ । सबैभन्दा पहिले व्यक्तिमा अँध्यारोमा के कस्तो भावना आउँछ भनेर डरको सूची तयार गरिन्छ ।
त्यसपछि, आराम गर्ने विधिहरू मार्फत व्यवस्थापन गर्न सकिने डरहरू हटाइन्छ । मांसपेशी आराम गराउने र केही दृश्यावलोकनले डर हटाउन मद्दत गर्छ ।
गहिरो सास फेर्ने, प्राणायाम, ध्यान र योग पनि गराउन लगाइन्छ ।
एक्सपोजर थेरापी
यो समस्या भएकाहरूमा एक्सपोजर थेरापी गराइन्छ । जसमा उनीहरूले विश्वास गर्ने निकट व्यक्तिको निगरानीमा अँध्यारो कोठामा एक्लै छोडिन्छ ।
अँध्यारोको अभ्यास गर्नाले अनिद्राको समस्या समाधान हुन्छ । निक्टोफोबियाबाट राहत मिल्छ ।
यसका लागि कोठामा बत्तीको जोखिम कम राखेर थेरापी सुरु गरिन्छ । र, त्यसपछि विस्तारै अँध्यारोको डर कम हुन थाल्छ ।
फोलोडिंग थेरापी
यो एक व्यावहारिक थेरापी हो, जसमा डरको कारणले बढ्ने उत्तेजनालाई नियन्त्रणमा ल्याउने तरिकाहरू सिकाइन्छ । यसमा एन्जाइटीको स्तर कम गरेर शरीरलाई आरामदायी राख्नमा ध्यान केन्द्रित गरिन्छ । यस थेरापीमा आँखा बन्द गरेर मनमा उठ्ने विचारहरूलाई नियन्त्रण गर्ने प्रयास गराइन्छ ।
संज्ञानात्मक व्यवहार थेरापी
संज्ञानात्मक व्यवहार थेरापीको मद्दतले अँध्यारोको डरलाई नियन्त्रण गरिन्छ । यसलाई टक थेरापी पनि भनिन्छ । कुराकानी मार्फत अत्यधिक सोच्ने बानीलाई नियन्त्रण गरेर नकारात्मक विचारहरू हटाउने प्रयास गरिन्छ ।
नकारात्मक विचार हटाउन सके स्वतः डर हट्दै जाने र आत्मबल बढ्दै जाने हुन्छ ।
अँध्यारोको डर व्यवस्थापन गर्ने केही अन्य विकल्प
सुत्नुअघि शान्त रहने
सुत्नुअघि आफूलाई शान्त अवस्थामा राख्नु आवश्यक छ । मुटुको धड्कन उच्च राख्ने र दिमागलाई उत्तेजित पार्ने क्याफिनयुक्त खानेकुरा खानुहुँदैन ।
इलेक्ट्रोनिक उपकरणहरूबाट टाढा रहने केही समयको लागि मधुर आरामदायी संगीत सुन्न वा रुचि लागेका विषयवस्तु पढ्न सकिन्छ ।
आफ्नो कोठालाई विस्तारै अँध्यारो बनाउने
मधुरो बत्ती बालेर सुत्ने । डर हट्दै गएपछि बत्ती निभाउने गरेर सुत्ने प्रयास गर्नुपर्छ । अँध्यारोमा सुत्दा गहिरो र आरामदायी निद्रा लाग्न मद्दत गर्छ । त्यो सम्भव हुँदैन भने मधुरो बत्ती बालेर सुत्न सकिन्छ ।
आफ्नो डरलाई चुनौती दिने
यदि मध्यरातमा गर्जन वा डर लाग्दो आवाज सुनेको अनुभव हुन्छ भने आफ्नो डरको सामना गर्न आफूलाई प्रोत्साहित गर्नुपर्छ । त्यो आवाज आफ्नो मनमा कल्पना भइरहेको भ्रम हो भनेर मनलाई दह्रो बनाउनुपर्छ ।
कोठालाई चिटिक्क र सफा राख्नुपर्छ ।
कोठा फराकिलो, स्वच्छ र सफा राख्नुपर्छ । सफा कोठा भएमा पनि नकारात्मक विचार हावी हुन पाउँदैन ।
प्रतिक्रिया 4