डर नहुने वा डर लाग्दैन भन्ने मान्छे संसारमा सायद नहोलान् । हरेकलाई कुनै न कुनै कुराको डरको अनुभव कुनै न कुनै परिस्थितिमा भएकै हुन्छ । कोही व्यक्त गर्छन् । कोही गर्दैनन् त्यो फरक कुरा हो ।
डर त्यति नराम्रो कुरा पनि होइन । किनकि डरले नै कुनै खतरनाक अवस्थाबारे सचेत पारेर सुरक्षित राख्न मद्दत पनि गर्छ । तर डरलाई हाबी भने हुन दिनुहुँदैन । डर नियन्त्रणमा राख्न सकिएन भने यसले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । यसले दिनचर्या नै बिगार्न सक्छ । तर राम्रो कुरा के हो भने भयमाथि काबु पाउन चिकित्सकीय उपचार सम्भव छ ।
चिकित्सकीय उपचारमा लाग्नुभन्दा पहिला डरलाई चिन्न आवश्यक छ ।
डर के हो ?
डर लाग्नु स्वभाविक हो । कुनै काम नआउँदा पनि सुरुमा डर लाग्छ । जस्तो कि, बाइक, स्कुटर पहिलोपटक चलाउँदा डर छुट्टै किसिमको हुन्छ । डरलाई सम्झेर आँट नगर्ने हो भने बाइक चलाउन कहिले सकिंदैन ।
यस्ता कतिपय डरले जीवनमा नियन्त्रण गर्न सुरु गरेमा सामान्य दैनिक गतिविधिमा पनि असर पार्छ । डरकै कारण योग्य र क्षमता भएका कतिपय अवसर गुम्न सक्छन् । त्यसैले कुनै कुराले मनमा अति नै डर उत्पन्न हुन्छ भने त्यसबाट भाग्ने होइन सामना गर्न सिक्नुपर्छ ।
डरले के–के गराउँछ त ?
– भयले अत्यधिक बेचैन अनुभव हुनसक्छ ।
– कुनै स्थान वा स्थितिबाट बच्ने प्रयास गर्नु ।
– डर तर्कसंगत छैन भने यसबाट डराउनुको कुनै अर्थ छैन ।
– डरबाट बच्न खोज्दा कैयौं मुस्किल आउने, स्वयंको गतिविधिको प्रदर्शन क्षमतामा बाधा आउने ।
– डर ६ महिना वा त्यो भन्दा बढी समय हुँदा जटिल बन्दै जानु ।
डरको लक्षण
डर फोबियाको रुपमा प्रकट हुन्छ । जसमा केही अवस्था सबैको अगाडि बोल्न डर लाग्ने हुन्छ । केही जनावरको आक्रमणको डर, रगत र सुईसँग सम्बन्धित डर हुनसक्छ । जब डर अनुभव हुन्छ, तब केही लक्षण देखिन्छन् ।
जस्तो कि,
– मुटुको धड्कन तीव्र रुपमा बढ्नु ।
– सास लिन मुस्किल हुनु ।
– चक्कर आउनु ।
– पसिना आउनु ।
– अत्यधिक चिन्ता र डर लाग्नु ।
– केही काम गर्दा अप्रत्यक्षरुपमा दबाब वा चाप अनुभव गर्नु ।
– भाग्न मन लाग्नु ।
– अरुभन्दा आफू फरक महसुस हुनु ।
– एकैछिनमा बेहोस हुनु जस्तो अनुभव हुनु ।
– तर्कहीन छ भन्ने थाहा हुँदाहुँदै पनि डरको अघि असहाय महसुस गर्नु ।
के गर्ने त ?
– डराउनु स्वाभाविक हो भनेर बुझ्नुपर्छ ।
– डराउनु स्वाभाविक हो । यो एक जनाको मात्र समस्या होइन भनेर बुझ्नुपर्छ । कुनै कुराले डर लागेको छ भने मनमा दबाएर होइन, खुलेर कुरा गर्नु उपयुक्त हुन्छ । भावना साटासाट गर्दा निकट व्यक्तिले हिम्मत दिन सक्छन् ।
– कहिलेकाहीं डरलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सजिलो हुन्छ । तर आफ्नो डरको सामना गर्न मानसिक रूपमा तयार नभएसम्म साहस जाग्न सक्दैन ।
– आफ्ना भावनाहरूलाई स्वीकार गरेर परिस्थितिलाई नियन्त्रणमा लिने दिशामा पहिलो कदम चाल्नुभएको छ ।
– डर नकारात्मक सोचको परिणाम हो । आफ्नो सोचाइलाई सकारात्मक बनाउने प्रयास गर्नुहोस् । प्रत्येक समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नुपर्छ ।
– समस्या समाधानका लागि साना–साना कदम चाल्नुहोस् । योजना र तयारीले डर कम गर्न सहयोग गर्छ ।
– सन्तुलित आहार, नियमित व्यायाम र पर्याप्त निद्राले मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ । शारीरिक तन्दुरुस्तीले डरलाई कम गर्न र आत्मविश्वास बढाउन सहयोग गर्छ ।
– डरबाट बच्न, कहिलेकाहीं यसलाई चुनौती दिनु जरुरी छ । आफूलाई डर लाग्ने परिस्थितिमा जान हिम्मत गर्नुपर्छ । यसरी डरलाई सामना गर्दा आत्मविश्वास बढ्नेछ ।
– ध्यान र योगले दिमागलाई शान्त र स्थिर राख्छ । यसले डर र चिन्ता कम गर्न मद्दत पुर्याउँछ । दैनिक ध्यानको अभ्यासले दीर्घकालीन रूपमा मनलाई शान्त बनाउन सहयोग गर्छ ।
– डरको बेलामा दिमागले तीव्र रूपमा काम गर्न थाल्छ, जसले अझ तनावपूर्ण बनाउँछ । यसलाई नियन्त्रण गर्न गहिरो सास तान्ने छोड्ने प्राणायाम विधि गर्नुहोस् ।
– डरलाई समस्या होइन, अवसरको रूपमा हेर्न सिक्नुहोस् । डरले बलियो बन्न, नयाँ कुरा सिक्न र आफ्नो सीमा पत्ता लगाउन मद्दत गर्छ ।
– डरले यदि निरन्तर तनाव दिइरहेको छ भने मानसिक स्वास्थ्य विशेषज्ञ वा परामर्शदातासँग परामर्श लिन सकिन्छ ।
प्रतिक्रिया 4