
News Summary
Generated by OK AI. Editorially reviewed.- स्मिथले एआई प्रयोग गरी नक्कली गीत र अकाउन्टहरूबाट स्ट्रिमिङ गरी करोडौं डलर कमाएको आरोप छ।
स्रष्टाहरू अधिक भएकाले संगीत क्षेत्रमा सफलता पाउनु अत्यन्तै कठिन छ । यसका लागि लामो समय र कडा मेहनत चाहिन्छ । तर केही व्यक्तिहरूले सफलताको लोभमा गलत बाटो अपनाउन पुग्छन्, जसले अन्त्यमा नतिजा पनि नराम्रै दिन्छ ।
अमेरिकाको उत्तर क्यारोलिनाका माइक स्मिथ त्यस्तै एक हुन् । उनलाई एक हिसाबले चलाख त भन्न सकिन्छ । तर उनको चलाखी धेरै तरिकाबाट गलत थियो । जसले वास्तविक कलाकारहरूलाई मार्कामा पार्थ्यो ।
अहिले उनलाई अमेरिकी संगीत उद्योगमा पहिलो एआई स्ट्रिमिङ फ्रड प्रकरणमा मुद्दा चलाइएको छ । तर स्मिथको त्यो कर्तुतको पर्दाफास गर्नमा मुख्य भूमिका भने उनकै साझेदार जोनाथन हेयले निभाएका थिए ।
***
सन् २०१७ ताकाको कुरा हो । त्यसबेला ४० हाराहारीका उनीहरू व्यापारिक साझेदार थिए । उनीहरूमध्ये माइक स्मिथ मेडिकल क्लिनिकका मालिक थिए । नर्थ क्यारोलिनामा सपरिवार बस्ने उनी रियालिटी टीभी शोमा निर्णायक र एउटा सेल्फहेल्प पुस्तकका लेखक पनि थिए ।
जोनाथन हेय एक अपार्टमेन्टमा बस्थे । र, एक जनासँग डेट गरिरहेका थिए । वर्षौंदेखि उनले संगीतको प्रचार-प्रसार गर्दै आइरहेका थिए । विशेष गरी रिहाना र जे-जेडबीचको सम्बन्धबारे हल्ला फैलाएर उनी उद्योगमा चर्चित भएका थिए ।
त्यो समयमा उनीहरू दुवैले मिलेर एउटा एल्बममा काम गरिरहेका थिए । उनीहरूले आफ्नो एल्बमको नाम ‘ज्याज’ राखेका थिए । त्यसको केही समयपछि शरद ऋतुमा स्पोटिफाई, एप्पल म्युजिक, टाइडलजस्ता प्रमुख स्ट्रिमिङ प्लेटफर्ममा राखे । र भौतिक एल्बम पनि निकाले ।
तर उनीहरूको सो एल्बम चल्न सकेन । त्यहाँ के भइरहेको छ भन्ने कुराको मेसो उनीहरूले पाइरहेका थिएनन् । किनकि, केही वर्षअघि अन्य कलाकारहरूका लागि बनाइदिएको उनीहरूका केही गीतहरू चर्चामा आएका थिए ।
त्यसपछि ‘ज्याज’मा काम गरेर नयाँ संस्करण ल्याउन फेरि उनीहरू लागि परे । त्यसको केही समयपछि जनवरी २०१८ मा ‘ज्याज (डिलक्स)’ उनीहरूले निकाले ।
एल्बम छोटो समयमा नै हिट भयो । बिलबोर्ड चार्टको नम्बर १ मा नै पुग्यो । त्यो सफलताले हेय गदगद थिए । किनकि, काम गरेअनुसारको प्रतिफल मिलिरहेको थियो ।
तर उनको खुसी धेरै बेर टिकेन । चार्टबाट अचानक एल्बम गायब भयो । सो कुरा हेयलाई विश्वास लागिरहेको थिएन । उनले अन्य कलाकारहरूलाई फोन गरेर यस्तो घटना कहिल्यै देखेका छन् कि भनेर सोधे । सबैले अनौठो मान्दै आफूहरूले यस्तो कहिल्यै नदेखेको बताए । उक्त कुराले हेयको मनमा प्रश्नहरूको चाङ लगायो ।
यदि यति धेरै मानिसहरूले एल्बम सुनेका थिए भने उनीहरूले अचानक किन सुन्न छाड्दिए ? त्यसपछि इन्टरनेटमा एल्बमको बारे कुनै चर्चा छ कि भनेर उनले खोजे । तर एउटा सामान्य ट्वीट समेत उनले भेटेनन् । हेयले त्यस क्षणमा केही गडबड भइरहेको महसुस गरे ।
त्यसपछि उनले स्पोटिफाइको आर्टिस्ट ड्यासबोर्ड खोलेर आफ्नो र स्मिथको इन्साइट हेर्न थाले । त्यसक्रममा उनले श्रोताहरू भियतनामजस्ता टाढाका ठाउँहरूबाट रहेको देखे । जुन आफैंमा अनौठो थियो । किनकि ती ठाउँका श्रोताहरूका लागि उनीहरूले संगीत बनाएका थिएनन् ।
लगत्तै इन्डी (कुनै लेबलमा आबद्धमा नभई स्वतन्त्र काम गर्ने) कलाकारहरूको गीतको लाइसेन्स व्यवस्थापन गर्ने संगीत वितरण कम्पनीहरूले हाय र स्मिथको अन्य गीतहरूलाई ‘स्ट्रिमिङ फ्रड’को रिपोर्ट गरेर हटाउन थालेका थिए ।
त्यसपछि स्मिथले हायलाई गीत बनाउँदा स्याम्पलको अनुमति नलिएर गल्ती गरिएको बताए । हायले सो समस्याको समाधान गर्न खोजे । तर प्लेटफर्महरूबाट गीतहरू हट्न रोकिएनन् ।
त्यस अवस्थाबाट हाय केही डराएका थिए । अनि उनले स्मिथलाई के भइरहेको छ भनेर बारम्बार सोध्न थाले । ज्यादा नै कर गरेपछि स्मिथले आफ्ना मेडिकल क्लिनिकका कर्मचारीहरूलाई उनीहरूको गीतहरू स्ट्रिम गर्न लगाएको बताए । तर, हेयलाई सो कुराले पूर्णरूपमा विश्वस्त बनाउन सकेन । उनले स्मिथलाई शंकाको नजरले हेर्न थाले ।
***
उनीहरूको भेट सन् २०१३ मा भएको थियो । त्यसबेला हेय गीत संगीतको प्रचार-प्रसार गर्ने काम गर्थे । जुन काम उनले नयाँ कलाकारहरूलाई पनि सशुल्क सिकाउने गर्थे । उक्त कुरा थाहा पाएर स्मिथले उनलाई एकैचोटि २० घण्टाको लागि बुक गरे ।
त्यही क्रममा उनीहरूको भेट भएको थियो । पछि दुवै बीच तालमेल मिल्यो । अनि सहकार्य गर्ने बाटो खुल्यो । सो समयमा स्मिथ चर्चित बन्न चाहन्थे भने हेय कलाकारलाई स्टार बनाउने सपना देखिरहेका थिए।
त्यसपछि उनीहरूले ‘एसएमएच रेकर्ड’ नामक कम्पनी खडा गरे । जसले थुप्रै चर्चित कलाकारहरूसँग सहकार्य गरेको छ । त्यसमा न्याप्पी रुट्स नामक हिप-हप समूह, डिजे खालिड, ट्विस्टा, टी.आई, गोल्डी लक, स्नूप डग, बिली रे साइरस आदि कलाकार पर्छन् ।
ती सहकार्यहरूले उनीहरूको रेकर्ड लेबललाई एक समय व्यापक प्रचारमा ल्याएको थियो । तर सन् २०१८ को ‘ज्याज (डिलक्स)’ एल्बम पछि भने त्यो सहकार्य उस्तै रहेन । यस एल्बमपछि भएका अनौठो उतारचढावले हेयलाई स्मिथमाथि गम्भीर शंका गर्न बाध्य बनाइइसकेको थियो ।
त्यसपछि हेयले घटनालाई अझ गहिरिएर बुझ्न प्रयास गरे । त्यसपछि उनलाई निश्चित भयो कि, स्मिथले स्ट्रिमिङ फ्रड गरिरहेका छन् । सो निश्चितापछि स्मिथले स्ट्रिमिङ प्लेटफर्मबाट पैसा चोरेको आरोप लगाउँदै हेयले इमेलहरू लेखे । व्यापारिक साझेदारहरूलाई सतर्क रहन चेतावनी दिए । अनि सन् २०१९ मा स्थानीय प्रहरी र एफबीआईमा उजुरी समेत दिए ।
सुरुमा उनको उक्त कुरा धेरैले पत्याएनन् । तत्काल कसैले प्रतिक्रिया पनि जनाएनन् । कतिपय मिडियाले हेयको आरोपलाई गम्भीर रूपमा लिएनन् । अझ केहीले त उनलाई मानसिक समस्या भएको पनि ठाने ।
तर हेयले हार मानेनन् । सत्य उजागर गर्न निरन्तर प्रयास गरे । अन्ततः सन् २०२४ को सेप्टेम्बरमा एफबीआईले स्ट्रिमिङ फ्रडको आरोपमा स्मिथलाई पक्राउ गर्यो । उक्त गिरफ्तारीले हेयको शंकालाई पुष्टि गर्यो ।
***
स्ट्रिमिङ फ्रड भनेको स्ट्रिमिङ प्लेटफर्महरूमा कृत्रिम तरिकाले गीतहरू निरन्तर बजाएर रोयल्टी कमाउने गैरकानूनी तरिका हो । यसका लागि कम्प्युटर बट अथवा मान्छेलाई नै पैसा दिएर स्ट्रिम गराइने गरिन्छ ।
यसमा स्टिभले निकै चतुर्याईं देखाएका थिए । उनले एउटा गीतलाई धेरै स्ट्रिम नगरी धेरै गीतलाई थोरै स्ट्रिम गराएका थिए । जसले गर्दा त्यस्ता नक्कली स्ट्रिम पहिचान गर्न पनि प्लेटफर्महरूलाई गाह्रो भएको थियो ।
सुरुका दिनमा स्मिथले वास्तविक कलाकारमार्फत नै गीतहरू बनाए पनि पछाडि भने उनले एआई प्रयोग गरे । मिडिया रिपोर्टहरूका अनुसार उनले ‘बुमी’ नामक एआई टुल प्रयोग गरेका थिए । यस टुलबाट उनले हप्तामा हजारौं गीतहरू बनाउने गर्थे ।
यसका साथै उनले त्यस्ता गीतहरूमा अजीव नाम राख्थे । त्यससँगै कलाकारहरू पनि झुटो खडा गर्थे । यसरी बनाएका सयौं नक्कली कलाकार र अकाउन्टहरूमा उनले बट प्रयोग गरी २४ घण्टा नै गीत बजाइरहन्थे ।
अभियोग पत्रका अनुसार बटहरूलाई आफ्नो अनुकुल चलाउन उनले कम्प्युटर कोडसमेत किनेका थिए । अनि त्यसरी प्रतिदिन कम्तीमा ३०/४० हजारदेखि लाखौं स्ट्रिम गर्ने गरेका थिए ।
विश्वभर गीत/संगीतका सृजकलाई सिर्जनाको प्रयोग बापतको रोयल्टी दिने मान्यता छ । स्टिभले सोही कुराको फाइदा उठाउन खोजेका थिए । सन् २०१७ देखि २०२४ सम्म गरी ७ वर्ष चलेको यो फण्डामा अमेजन म्युजिक, एप्पल म्युजिक, स्पोटिफाई, युट्युब म्युजिक जस्ता स्ट्रिमिङ प्लेटफर्म प्रयोग गरिएको थियो । यसबाट उनले १ करोड अमेरिकी डलर बढी रोयल्टी कमाएका थिए ।
***
स्मिथले यी आरोपमा आफू दोषी नभएको बयान दिँदै आएका छन् । र, अदालतले पनि उनलाई दोषी ठहर गरिसकेको छैन । अहिले उनी पाँच लाख अमेरिकी धरौटी तिरेर हिरासतबाट भने निस्किसकेका छन्।
तर यो मुद्दा अझैं पनि न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा चलिरहेको छ । उनीमाथि विद्युतीय ठगी षडयन्त्र, विद्युतीय ठगी, अवैध सम्पत्ति जस्ता कसुरमा मुद्दा लगाइएको छ । यदि उनी दोषी भए अधिकतम ६० वर्षसम्म जेल चलान हुन सक्ने बताइएको छ ।
तर यथार्थ के हो भने एआई प्रविधिको विकाससँगै यस्ता किसिमका प्रवृत्ति फैलिँदै गइरहेको छ । अहिले युट्युबमा एआईले तयार पारेका टन्नै नेपाली गीत सजिलै पाइन्छन् । जुन स्मिथको कामको उदाहरण हो।
यदि स्मिथले कुनै अपराध गरेको प्रमाणित भए त्यो डिजिटल युगमा सिर्जिएको नक्कली सांगितिक अर्थतन्त्रको प्रतिनिधि उदाहरण बन्न जान्छ । यो काम एउटा कोणबाट अपराध र अर्को कोणबाट हेर्दा नयाँ खालको कला जस्तो लाग्न सक्छ ।
प्रतिक्रिया 4