+

के हुन्छ होला जब औषधिले काम गर्न छोड्छ ?

२०८२ साउन  २० गते १९:२१ २०८२ साउन २० गते १९:२१
के हुन्छ होला जब औषधिले काम गर्न छोड्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा एन्टिबायोटिक प्रतिरोधी जीवाणुहरूलाई ‘सुपरबग्स’ को संज्ञा दिएको छ, जसले सामान्य रोगहरूलाई पनि उपचार गर्न नसकिने बनाउँछ।
  • एन्टिबायोटिकको अनावश्यक र गलत प्रयोगले प्रतिरोधी क्षमता बढेको छ, जसले सामान्य रोगहरूलाई पनि घातक बनाउन सक्ने डा. नविन कुमार सिंजालीले बताए।

कुनै स्वास्थ्य समस्या भयो भने के गर्ने ? हामी सबैलाई थाहा छ, औषधि खाने । कुनै पनि रोग निको पार्ने औषधि लामो समयको अनुसन्धान र प्रयोगबाट तयार गरिएको हुन्छ । यदि यी औषधिले हाम्रो रोग निको भएन भने के होला ? अर्थात लामो अनुसन्धान गरी बनाइएका औषधिले काम गर्न छाडे भने के होला त ?

एउटा सामान्य संक्रमण जुन पहिले दुई दिनमा निको हुन्थ्यो अहिले हप्तौंसम्म पनि ठिक हुँदैन । पहिले असर गर्ने औषधिहरू अहिले प्रभावहीन जस्तै हुन थालेका छन् । विशेषगरी एन्टिबायोटिक औषधिहरूप्रति जीवाणुहरूले प्रतिरोधी क्षमता विकास गर्दा सामान्य रोगहरू समेत गम्भीर बन्ने खतरा बढ्दो छ ।

जथाभावी औषधिको प्रयोग, अस्वस्थ खानेकुरा र अस्वस्थ जीवनशैलीले औषधिको प्रभावकारिता घटाउँदै छ । जब औषधिले काम गर्न छोड्छ, सामान्य रोग पनि जटिल बन्न सक्छ, र उपचारको सम्भावना कमजोर हुँदै जान्छ । यस्तोमा यदि औषधिले काम गर्न छोड्यो भने के हुन्छ ?

एन्टिबायोटिक प्रतिरोध

एन्टिबायोटिक प्रतिरोध अहिले विश्व स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार, ब्याक्टेरिया, भाइरस, फङ्गस र परजीवीहरूले औषधिप्रति प्रतिरोधी क्षमता विकास गर्दा यो समस्या उत्पन्न हुन्छ । जब यी सूक्ष्म जीवहरूले औषधिको प्रभावलाई निस्क्रिय बनाउँछन्, सामान्य रोगहरूको उपचार पनि जटिल बन्छ ।

सन् २०२१ मा विश्व स्वास्थ्य संगठनले यस्ता प्रतिरोधी जीवाणुहरूलाई ‘सुपरबग्स’ को संज्ञा दिएको छ, जुन एन्टिबायोटिकविरुद्ध पूर्णरूपमा प्रतिरोधी बन्न सक्छन् । यस्ता सुपरबग्सले सामान्य ज्वरो, निमोनिया, वा घाउको संक्रमणजस्ता रोगहरूलाई पनि उपचार गर्न नसकिने बनाउन सक्छन् ।

यो समस्याको प्रमुख कारण एन्टिबायोटिकको अनावश्यक र गलत प्रयोग रहेको वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन, डा. नविन कुमार सिंजाली बताउँछन् । ‘भाइरल ज्वरो वा रुघाखोकीमा अनावश्यक एन्टिबायोटिक प्रयोग, औषधिको तोकिएको मात्रा नखाने वा गलत रोगमा गलत औषधि प्रयोग गर्नाले ब्याक्टेरियाहरू बलियो बन्छन्’ डा.सिंजाली भन्छन्, ‘यस्तो अवस्थामा सामान्य रोगहरू पनि घातक बन्न सक्छन् ।’

एन्टिबायोटिकले काम नगरे सामान्य घाउको संक्रमण पनि जटिल अवस्था पुग्ने सक्ने उनको भनाइ छ ।

खानपान र जीवनशैलीको भूमिका

हाम्रो खानपान र जीवनशैलीले पनि एन्टिबायोटिक प्रतिरोधलाई बढावा दिइरहेको छ । पशुपालन र मासुजन्य उत्पादनमा प्रयोग हुने एन्टिबायोटिकहरू मानव शरीरमा प्रवेश गर्छन् । डा. सिंजालीका अनुसार, ‘कुखुरा, माछा र अन्य पशुजन्य उत्पादनमा प्रयोग हुने एन्टिबायोटिकले मानव शरीरमा प्रतिरोधी क्षमता विकास गर्छ, जसले औषधिको प्रभावकारिता कम गर्छ ।’ उदाहरणका लागि, कुखुरामा प्रयोग हुने एन्टिबायोटिकले त्यसको मासु सेवन गर्ने व्यक्तिको शरीरमा ब्याक्टेरियालाई बलियो बनाउन सक्छ, जसले भविष्यमा एन्टिबायोटिकको प्रभावलाई कमजोर बनाउँछ ।

त्यस्तै, सागसब्जीमा प्रयोग हुने विषादीले पनि स्वास्थ्यमा नकारात्मक असर पार्छ । दैनिक प्रयोगमा आउने तरकारीहरूमा धेरै विषादी प्रयोग गर्ने गरेको परीक्षणहरूले देखाइरहेका छन् । यस्ता विषादीले शरीरमा ‘स्लो पोइजनिङ’ को प्रभाव पार्छ, जसले कोशिका, तन्तु र अंगहरूलाई हानि पुर्‍याउँछ । डा. सिंजाली भन्छन्, ‘विषादीको यो प्रभावले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसले औषधिको प्रभावकारिता घटाउँछ ।’

नियमित रूपमा विषादीयुक्त खाना खाँदा रोग प्रतिरोधी प्रणाली कमजोर हुन्छ, जसले एन्टिबायोटिकलाई कम प्रभावकारी बनाउँछ ।

अन्य औषधिको प्रभावमा कमी

एन्टिबायोटिक मात्र होइन, पेनकिलर र अन्य औषधिहरूको प्रभाव पनि कम हुन सक्छ । डा. सिंजालीका अनुसार, लामो समयसम्म आवश्यकभन्दा बढी पेनकिलर प्रयोग गर्ने बानीले शरीरमा औषधिप्रति सहनशीलता विकास हुन्छ । यसले गर्दा बिरामीलाई ठूलो मात्रामा औषधि आवश्यक पर्न सक्छ, जसले ग्यास्ट्राइटिस, रक्तस्राव, र मिर्गौलासम्बन्धी समस्याजस्ता साइड इफेक्टको जोखिम बढाउँछ ।

सिटामोलजस्ता ओभर–द–काउन्टर औषधिको अत्यधिक प्रयोगले पनि यस्तै जोखिम निम्त्याउने इन्टरनल मेडिसिन विशेषज्ञ डा. विद्या सागर प्रसाद बताउछन् ।

‘सामान्य टाउको दुखाइ वा ज्वरोमा सिटामोलको प्रयोग ठिक छ, तर नियमित र धेरै मात्रामा प्रयोग गर्दा यसले शरीरको अन्य प्रणालीलाई असर गर्छ’ डा.प्रसाद भन्छन्, ‘यस्तो अवस्थामा औषधिको प्रभाव कम हुनुका साथै अन्य स्वास्थ्य समस्याहरू पनि निम्तिन सक्छन् ।’

समाधानका उपाय

यो समस्याको समाधानका लागि व्यक्तिगत र सामुदायिक स्तरमा प्रयास आवश्यक छ । डाक्टरको सल्लाहबिना एन्टिबायोटिक वा अन्य औषधि प्रयोग नगर्न डा. प्रसादको सुझाव छ । ‘औषधिको तोकिएको मात्रा र अवधि पूरा गर्नुपर्छ’ डा. प्रसाद भन्छन्, ‘सागसब्जी राम्ररी धोएर खाने र सम्भव भए जैविक खाद्य पदार्थ छनोट गर्नाले विषादी र एन्टिबायोटिकको जोखिम कम हुन्छ ।’

एन्टिबायोटिक र विषादीको दुरुपयोगबारे समुदायमा जनचेतना फैलाउनु जरुरी रहेको डा. सिंजाली बताउँछन् । ‘कृषि र पशुपालनमा एन्टिबायोटिकको प्रयोगलाई नियमन गर्नुपर्छ । सरकारले कडा नीति बनाएर यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्नुपर्छ’ उनको सुझाव छ ।

नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउने र यसो हुँदा औषधिको प्रभावकारिता वृद्धि हुने डा.सिंजालीको भनाइ छ ।

दीर्घकालीन प्रभाव

एन्टिबायोटिक प्रतिरोधले दीर्घकालीन रूपमा विश्वव्यापी स्वास्थ्य प्रणालीमाथि ठूलो दबाब सिर्जना गर्न सक्छ । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को संयुक्त राष्ट्रसंघको अन्तर–एजेन्सी समन्वय समूहको प्रतिवेदन भनिएको छ- यदि प्रभावकारी कदम नचालिए सन् २०५० सम्म एन्टिबायोटिक प्रतिरोधका कारण विश्वभर वार्षिक १ करोड मानिसको मृत्यु हुन सक्छ । यो समस्याले सर्जरी, क्यान्सर उपचार र अन्य जटिल चिकित्सीय प्रक्रियाहरूलाई पनि जोखिममा पार्न सक्छ, किनभने यस्ता उपचारमा संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक आवश्यक हुन्छ ।

नेपालजस्ता विकासोन्मुख देशहरूमा यो समस्या झनै जटिल छ । यहाँ औषधिको नियमन कमजोर छ र जनचेतनाको कमी छ । डा. सिंजाली भन्छन्, ‘नेपालमा औषधिको प्रयोगमा कडाइ र जनचेतनाको आवश्यकता छ । अस्पतालहरूमा पनि एन्टिबायोटिकको प्रयोगलाई नियन्त्रण गर्न नीति बनाउनुपर्छ ।’ ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधाको कमीले बिरामीहरूले अनावश्यक औषधि प्रयोग गर्ने बानी बढेको छ, जसले यो समस्यालाई थप जटिल बनाएको छ ।

‍औषधि बिरामी
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय