
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका वातावरण वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ आईपीबीईएसको दोस्रो विश्व प्रतिवेदनको च्याप्टर दुईको समन्वयकारी मूल लेखक चयन भएका छन् ।
- आईपीबीईएसले जैविक विविधता सम्बन्धी विश्वव्यापी संश्लेषणात्मक प्रतिवेदन तयार पार्दछ र सन् २०२८ मा नयाँ प्रतिवेदन सम्पन्न हुनेछ।
- सन् २०१२ मा स्थापित आईपीबीईएस जलवायु परिवर्तनको लागि वैज्ञानिक निकाय आईपीसीसी जस्तै अन्तरदेशीय निकाय हो।
१८ भदौ, काठमाडौं । जैविक विविधता र वातावरणीय सेवा सम्बन्धी अन्तरदेशीय वैज्ञानिक निकाय आईपीबीईएसको दोस्रो विश्व प्रतिवेदन लेखन कार्यमा नेपालका वातावरण वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ चयन भएका छन् ।
डा. श्रेष्ठलाई आईपीबीईएसको बहुआयामिक विज्ञ समूहले विश्वव्यापी रूपमा परेका आवेदनहरुबाट प्रतिवेदनको च्याप्टर दुईको समन्वयकारी मूल लेखक (कोर्डिनेटिङ लिड अथर) चयन गरेको हो ।
जैविक विविधताको क्षेत्रमा वैज्ञानिक ज्ञान उत्पादनको लागि सन् २०१२ मा स्थापित आईपीबीईएस जलवायु परिवर्तनको लागि वैज्ञानिक निकाय आईपीसीसी जस्तै अन्तरदेशीय निकाय हो ।
यसले जैविक विविधता सम्बन्धी विभिन्न संश्लेषणात्मक प्रतिवेदनहरू तयार पार्दछ, जसको आधारमा जैविक विविधता सम्बन्धी विश्वव्यापी रणनीतिहरू तयार पारिन्छ ।
आईपीबीईएसलाई सन् २०२० मा विश्व शान्ति नोबेल पुरस्कारको लागि पनि मनोनित गरिएको थियो, यद्यपि उक्त संस्थाले पुरस्कार भने पाउन सफल भएन ।
अहिले तयार गरिन लागेको प्रतिवेदन लेखन सन् २०२८ मा सम्पन्न हुनेछ । त्यसमा समेटिएको सुझावको आधारमा सन् २०३० पछिको विश्वको जैविक विविधता संरक्षणको नयाँ रणनीतिहरू तयार गरिने छ ।
श्रेष्ठले यसअघि आईपीबीईएसको पहिलो ग्लोबल मूल्याङ्कन प्रतिवेदनमा फेलो तथा मूल लेखक र आईपीबीईएसकै स्रोतको दिगो उपयोग प्रतिवेदनमा मूल लेखक छनौट भई काम गरिसकेका छन् ।
श्रेष्ठ अनलाइनखबर ४० मुनिका ४० – २०८२ को छनोट समितिका सदस्य हुन् ।
प्रतिक्रिया 4