
१८ भदौ, काठमाडौं । पछिल्लो दुई दिनमा चीनका राष्ट्रपति सी चिनफिङले जोड दिएर भनेका छन्- अब शीतयुद्धकालीन मानसिकताको औचित्य छैन । अब विश्वलाई नयाँ दिशा दिने बेला आयो ।
शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी एशिया र मध्य पूर्वका शीर्ष नेताहरूमाझ सीले भनेका छन्- हामी प्रभूत्ववाद र शक्ति राजनीतिको विरोधमा उभिनुपर्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’को नारा दिइरहँदा सीले वैश्विक शासनको अवधारणा अघि सारिहेका छन् । क्षेत्रीय शक्तिहरूलाई साथमा लिएर मात्रै यो सम्भव हुने सीको बुझाइ देखिन्छ ।
अमेरिकाले एशिया र मध्य पूर्वका मुलुकमाथि यो वा त्यो नाममा कर थोपरिरहेका बेला तियानजिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन समेत सीसँगै उभिनु आफैंमा पश्चिमाविरुद्धको प्रतिरोध देखिन्छ ।
एससीओमा सँगै उभिएका सी र पुटिन बुधबार बेइजिङमा आयोजित विशाल विजय सैन्य परेडमा समेत सँगै देखिएका छन् । उनीहरुको साथमा उत्तर कोरियाली नेता किम जोङ उन पनि सँगै देखिए । मोदी भने चीनबाट फर्किसकेका छन् ।
शीर्ष तीन नेताबाहेक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित २६ देशका राष्ट्राध्यक्ष समेत चीनको विजय परेडमा सहभागी भए । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन आफ्नै रेल चढेर मंगलबार बेइजिङ पुगेका थिए ।
एससीओ सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि तियानजिनबाट बुलेट रेल चढेर विजय परेडमा भाग लिन बेइजिङ पुगेका थिए ।
अमेरिका र जापानलाई सन्देश
चीनले सन् १९३७ देखि १९४५ सम्म जापानसँग लामो युद्ध लडेको थियो । यस युद्धमा चीनले ठूलो जनशक्ति, भौतिक संरचना र सांस्कृतिक सम्पदा गुमाएको थियो ।
१९४५ सेप्टेम्बर २ मा भने चीनले जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्यो र दोस्रो विश्वयुद्ध पनि अन्त्य भयो ।
आफ्नो राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनता जोगाउन सफल भएको दिनको स्मरणमा चीनले प्रत्येक वर्ष सेप्टेम्बर ३ का दिन सार्वजनिक समारोह गरेर विजय दिवस मनाउँछ ।
यो दिन सैनिक परेड, पुष्प अर्पण, ऐतिहासिक संग्रहालयमा प्रदर्शनी, स्मरण कार्यक्रम र शहीदहरूको सम्मानमा आयोजित गतिविधिहरू हुन्छन् । यसलाई चीनमा राष्ट्रिय गर्व, देशभक्ति र जापानी आक्रमण विरुद्धको ऐतिहासिक संघर्ष सम्झाउने अवसरको रूपमा लिइन्छ ।
यस वर्ष चीनले ८० औं विजय दिवस मनाएको छ । तियानमेन स्क्वायरमा आयोजित विजय दिवसको समारोह अहिलेसम्मकै विशाल भएको दाबी चीनको छ ।
सैन्य परेडमा विशेषत: चीनले आफ्नो सैन्य शक्ति, सांगठनिक क्षमता, आधुनिक प्रविधिको प्रदर्शन गरेको छ । अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, मिसाइल, लडाकु विमान, बमबर्षक विमान, ट्यांक लगायतको प्रदर्शन गरेको छ । एयर सो पनि प्रदर्शन गरिएको छ । त्यसक्रममा ८० औं वर्षगाँठलाई जनाउन आकाशमै अंग्रेजी अक्षरमा ८० लेखिएको थियो ।
सैन्य परेडलाई चीनले सैन्य कौशल प्रदर्शन मात्रै नभइ राजनीतिक सन्देश दिने माध्यमका रूपमा समेत उपयोग गरेको छ ।
विश्वका शक्तिशाली मानिने चिनियाँ राष्ट्रपति सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तरकोरियाली नेता किम जोङ उन अघिल्लो पंक्तिमा सँगै हिँडेर सैन्य परेड समारोहस्थल पुगेका थिए । यसरी उनीहरुले अमेरिकासहित आफ्ना विरोधी राष्ट्रविरुद्ध आफूहरु एकजुट भएको सन्देश दिन खोजेको विश्लेषकहरु बताउँछन् ।
चिनियाँ सेनाको आधुनिकीकरणको सन्देश
चीनले सन् १९४९ मा पहिलो सैन्य परेड आयोजना गरेको थियो । १ अक्टोबर १९४९ मा जनवादी चीन घोषणा भएको सन्दर्भमा सोभियत शैलीका हतियारसहित सैन्य परेड भएको थियो ।
१९५० देखि १९५९ सम्म चीनले बर्सेनि सैन्य परेड गर्यो । १९६० देखि १९८३ का बीचमा भने सांस्कृतिक क्रान्ति र राजनीतिक अस्थिरताका कारण ठूला सैन्य परेड रोकिए । कुनै वर्ष भइहाले पनि औपचारिकताका लागि मात्रै भए ।
देङ सियाओ पिङको शासनकाल अर्थात् सन् १९८४ मा पीएलए (चिनियाँ जनमुक्ति सेना)को ३५औं वार्षिकोत्सवको सन्दर्भ पारेर चीनले आफ्नै मिसाइल र ट्यांकहरू प्रदर्शन गरेको थियो ।
१९९९ मा पीएलएको ६० औं वार्षिकोत्सवमा आधुनिकतामा प्रगति भएको सन्देश दिँदै परेड आयोजना भयो । त्यतिबेला पीएलएले नयाँ किसिमका अत्याधुनिक क्षेप्यास्त्र र स्वदेशमै निर्मित प्रतिरक्षा प्रणाली प्रदर्शन गरेको थियो ।
सन् २००९ मा ६०औं वार्षिकोत्सवमा विशेषत: उच्च प्रविधियुक्त मिसाइल र चिनियाँ प्रविधिको भव्य प्रदर्शन भएको थियो ।
सन् २०१५ मा द्वितीय विश्व युद्धमा विजयी भएको ७० औं वर्षगाँठलाई चीनले भव्यताका साथ मनायो । यस वर्ष चीनले ३० प्रतिशत सैनिक कटौती गर्ने घोषणा समेत गर्यो । राष्ट्रपति सी चिनफिङले निरीक्षण गरेको भव्य परेडमा अन्तर्राष्ट्रिय नेताहरूलाई समेत आमन्त्रित गरियो ।
सन् २०१९मा जनवादी चीनको ७०औ वार्षिकोत्सवमा सैन्य परेड आयोजना भयो । यस वर्ष चीनले विशेषत: डीएफ–१७ हाइपरसोनिक मिसाइल, आणविक क्षमताका डीएफ–४१ आईसीबीएम र उच्च प्रविधियुक्त ड्रोनहरू सैन्य परेडमा देखाइयो । राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ सेनाको आधुनिकीकरण भएको सन्देश दिइयो ।
प्रारम्भिक चरणमा चीनले राष्ट्रिय दिवसको सन्दर्भ पारेर अक्टोबर १ मा परेड आयोजना गर्थ्यो ।
यस वर्ष सन् २०२५ को सैन्य परेडमा विशेष चीनले अमेरिकी विरोधी गठबन्धन अर्थात् चीन, रुस, उत्तर कोरिया, इरानबीच एकता देखाउन खोजेको छ । साथै एशिया र मध्यपूर्वका नेताहरू भेला गरेर आफ्नो बढ्दो वैश्विक प्रभावको सन्देश चाहन्छ ।
कहाँ भयो सैन्य परेड ?
चीनले राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरसँगै जोडिएको चाङ–एन अभेन्युमा पीएलएका हजारौं सैनिक, अत्याधुनिक हतियार र प्रविधिको प्रदर्शन गरेको छ । चाङ–एन एभेन्यु बेइजिङको सबभन्दा प्रख्यात मुख्य सडक हो ।
यो सडक पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । तियानमेन स्क्वायर हुँदै जाने यो सडकलाई चीनको राजनीतिक केन्द्रको मुटु समेत भनिन्छ ।
यसकै किनारमा ग्रेट हल अफ द पिपुल्स, चिनियाँ कम्युनिस्ट पार्टीको मुख्यालय र अरू महत्वपूर्ण सरकारी भवनहरू छन् । यो सडकलाई प्राय: चीनको पहिलो सडक समेत भनिन्छ । विशेष उत्सव, सैन्य परेड र राष्ट्रिय समारोहहरू यहीँ आयोजना हुन्छन् । चिनियाँहरूले यसलाई ‘शाश्वत शान्ति मार्ग’ समेत भन्छन् ।
महिनौंदेखिको अभ्यासले निखारिएका कदम मिलाएर हिँड्ने हजारौं पीएलए सेनाका साथ चीनले सैन्य परेडमा अत्याधुनिक हाइपरसोनिक हतियार, आणविक क्षेप्यास्त्र, पानीमुनि चल्नसक्ने ड्रोन समेत प्रदर्शन गरेको छ । हालसम्म सार्वजनिक नभएका अत्याधुनिक हतियारहरू समेत प्रदर्शन गरेर चीनले अमेरिकी दबदबालाई चुनौती दिएको बताइन्छ ।
चिनियाँ अधिकारीहरूले सैन्य परेडमा प्रदर्शन गरिएका हतियार र महत्वपूर्ण प्रणालीबारे बताएका छैनन् । तर, जे जति प्रदर्शन गरिएको छ ती सबै चीनमै बनेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
सैन्य परेड पूर्व गरिएका अभ्यासको भिडियोमा हरियो त्रिपालले ढाकिएको ८ पाङ्ग्रे ट्रकमा नयाँ हतियार देखिएका थिए ।
चिनियाँ समाचारसंस्था साउथ चाइना मर्निङ पोस्टका अनुसार परेडस्थलमा त्रिपालले छोपेर राखिएका आयातकार गाडीहरूमा क्षेप्यास्त्र र ड्रोन खसाल्न सक्ने शक्तिशाली लेजर प्रतिरक्षा प्रणाली हुनसक्छ ।
चिनियाँ सेना पीएलएसँग जोडिएको झाओ दाशुईले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा त्यो शक्तिशाली लेजर वायु रक्षा प्रणाली नै भएको दाबी गरिएको छ । यो चीनले बनाएको नवीन र विश्वकै नयाँ शक्तिशाली डिफेन्स सिस्टम हुनसक्ने अनुमान छ ।
सैन्य विज्ञहरूले सामाजिक सञ्जालमा सार्वजनिक भएका परेडको अभ्यासका भिडियो फुटेजहरूको विश्लेषण गरिरहेका छन् ।
केके देखायो चीनले ?
चीनले यसपटक चार वटा नयाँ क्षेप्यास्त्र (मिसाइल) सैन्य परेडमा देखाएको छ ।
निकै लामो आकारका यस्ता मिसाइललाई चीनले क्रमश: वाईजे–१५, वाईजे–१७, वाईजे–१९ र वाईजे–२० नाम दिएको छ ।
‘यीङ जी–Ying Ji) को छोटो रूप वाईजे भनेर चीनले मिसाइलको नामाकरण गरेको हो । जसको अर्थ चिनियाँ भाषामा ‘चीलको जस्तो आक्रमण’ भन्ने हुन्छ ।
यी मिसाइलहरू सोझै विमानबाट प्रहार गर्न सकिन्छ । यसलाई ठूला विमानहरूलाई गम्भीर क्षति पुर्याउन सक्ने गरी डिजाइन गरिएको छ ।
पुष्टि नभए पनि यी मिसाइलहरू हाइपरसोनिक (ध्वनीको गतिभन्दा तीव्र) हुनसक्ने अनुमान छ । यस्ता मिसाइलले ध्वनीको गतिभन्दा कम्तिमा पाँच गुणा तीव्र उडान भरेर लक्ष्य भेद्न सक्छन् ।
पानीमुनि चल्ने ड्रोन
बेइजिङमा पूर्वाभ्यासका क्रममा दुई नयाँ टोर्पेडो आकार (अगाडिको भाग गोलाकार हुने पानीमुनिबाट प्रहार गर्न सकिने मिसाइल) को मानवरहित हतियार पानीमुनि चलिरहेका हतियारमा समेत देखिएका छन् ।
१८ देखि २० मिटर लम्बाइको एउटा ड्रोनलाई ‘एजेएक्स ००२’ नाम दिइएको छ भने अर्को त्रिपालले छोपिएका कारण खुलेको छैन ।
पानी मुनिबाट प्रहार गर्न सकिने नौसैनिक हतियारमा चीन अझै पनि अमेरिकाभन्दा पछि छ । यद्यपि चीनले पानीमुनि काम गर्न सक्ने हतियारको विकासमा काम गरिरहेको छ । अहिले पनि चीनका कम्तीमा पाँच प्रकारका नौसैनिक हतियार प्रणाली पानीमुनि नै छन् ।
क्षेप्यास्त्र प्रतिरोधी प्रणाली
चीनले विकास गरेको ‘एचक्यू–२९’ बारे धेरै जानकारी सार्वजनिक भएको छैन । तर, केही चिनियाँ विज्ञहरू यो भूउपग्रह खसाल्न सक्ने हतियार (स्याटेलाइट हन्टर) भएको बताउँछन् ।
जसले ५०० किलोमिटर आकाशमाथि (अन्तरिक्षमा) वा तल्लो कक्षमा भएका भूपउपग्रह (स्याटेलाइट) लाई रोक्न वा खसाल्न सक्छ । परेडस्थल नजिक दुईवटा मिसाइल बोक्ने कन्टेनरहरूमा स्याटेलाइट हन्टर ‘एचक्यू–२९’ मिसाइल राखिएको अनुमान छ । जुन विश्वमा अहिलेसम्मकै नवप्रवर्तन र उन्नत प्रतिरोधी प्रणाली हो ।
नयाँ आणविक हतियार र नयाँ बख्तरबन्द गाडीहरू
चीनले यसपटक पनि अत्यधिक शक्तिशाली आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरू प्रमुखताका साथ प्रदर्शन गरेको छ । अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रदर्शन गरेर चीनले पश्चिमा मुलुकलाई चुनौती दिएको ठानिएको छ ।
यसैगरी बेइजिङमा हालैका दिनमा नयाँ पुस्ताको सैन्य सवारी साधन पनि देखिएका छन् । ध्यान तान्ने किसिमको यो सवारी यसअघिको बख्तरबन्द ‘९९ ए’ भन्दा केही सानो छ ।
‘९९ ए’ मोडेलको बख्तरबन्द सवारी चीनले सन् २०११ देखि नै प्रयोग गर्दै आएको छ ।
चिनियाँ मिलिटरीबारे अध्ययन गर्दै आएका सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक जेम्स चारका अनुसार सैन्य परेडमा उल्लेखित हतियार प्रदर्शन भए यसले चीनलाई शक्ति राष्ट्रका उन्नत सेनाको तुलनामा उल्लेख्य स्तरीय देखाउनेछ ।
धुव्रीकरणलाई बल दिने पृष्ठभूमि
आधुनिक चीनको शक्ति प्रदर्शन गर्न र वैश्विक नेतृत्वको लागि तयार भएको सन्देश दिन खोजिरहेका छन् चिनियाँ राष्ट्रपति सी ।
एससीओको सम्मेलनले भेला भएका २६ राष्ट्र प्रमुखलाई सैन्य परेडमा सँगै उभ्याएर सीले चीन अब विश्वकै नेतृत्व गर्न सक्षम भएको सन्देश दिन खोजेका छन् । अर्थात् सैन्य शक्ति वा राजनीतिक शक्ति दुवैमा चीन सक्षम रहेको सन्देश दिएका छन् ।
युक्रेनमा युद्ध अपराध गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले रुसविरुद्ध दबाब बढाइरहेका थिए ।
रुसले ट्रम्पको बयानबाजीलाई उतिसारो महत्व नदिएपछि अमेरिकाले उसका आर्थिक स्रोतहरूमाथि हमला बोल्ने रणनीति अख्तियार गर्यो ।
फलत: रुससँग कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा आर्थिक सहायता गरेको भन्दै अमेरिकाले भारतमाथि निसाना साँध्यो । रुसमाथि दबाब बढाउन पटकपटक गर्दै अमेरिकाले भारतीय निर्यातमा ५० प्रतिशत ट्यारिफ शुल्क लगाउने घोषणा गर्यो ।
अलास्कामा बोलाएर पुटिनलाई युक्रेनसँग शान्ति वार्ता गराउने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासले नतिजा दिएको छैन । अलास्का शिखर सम्मेलनले उल्टो पुटिनलाई विश्व राजनीतिको केन्द्रमा ल्याएको छ ।
पुटिनले सर्त माने युद्ध रोक्ने बताएका छन् । साथै एससीओको मञ्चबाट युक्रेनमा युद्ध हुनुमा पश्चिमा जिम्मेवार रहेको बताउँदै रुसी आक्रमणको बचाउ गरेका छन् । युक्रेन युद्धले एक्लिएको रुसलाई चीनले पनि एससीओमा महत्वका साथ स्थान दिएको छ । र पुटिनले एशिया र मध्यपूर्वका नेताहरूसँग घनिष्ठता बढाउने मौका पाएका छन् ।
अर्को तर्फ, ट्रम्पलाई चुनाव जिताउन भारतीय मूलका अमेरिकीमाझ ‘अब कि बार ट्रम्प सरकार’ भनेका मोदीलाई ठूलो झट्का लागेको बेला हो यो ।
भारत–पाकिस्तान युद्ध रोकेको जस ट्रम्पलाई दिन तयार नभएका मोदीलाई भारतीय निर्यातमा अमेरिकी ट्यारिफले शक्ति साझेदारको विकल्प खोज्नुपर्ने स्थिति आइलागेको थियो ।
एससीओ मञ्च उपयोग गरे मोदीले सी र पुटिनसँगै उभिएर भारतसँग विकल्प रहेको सन्देश दिएका छन् ।
यसअघि यस्तै कच्चा कूटनीति चीनसँग खेल्न खोज्दा ट्रम्प पछाडि हट्नु परेको थियो ।
रेयर अर्थ, सेमी कन्डक्टर जस्ता प्रविधि र नवप्रवर्तन उद्योगमा अत्यावश्यक पर्ने सामग्री चीनमा प्रशोधन–उत्पादन हुने कारण अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको दबावमा ट्रम्पले चीनमाथि लगाउने भनेको ट्यारिफ यतिबेला स्थगन गरेका छन् ।
बुधबारको सैन्य परेडमा आणविक हतियारले सम्पन्न उत्तर कोरियाका नेता किमको उपस्थितिलाई पनि महत्वका साथ हेरिएको छ ।
एससीओमै सी, पुटिन र मोदी सँगै हर्षित मुद्रामा देखिएको फुटेजप्रति अमेरिकाले चित्त दुखाइसकेको छ । ट्रम्प प्रशासनले भारतीय प्रधानमन्त्री मोदीको सी र पुटिनप्रति देखिएको झुकावलाई पचाउन सकिरहेको छैन । यस्तोमा भविष्यमा उत्तर–दक्षिण धुव्रीकरण (नर्थ–साउथ पोल) तीव्र हुने देखिन्छ ।
प्रतिक्रिया 4