
१८ भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको ७ हजार १ सय ३२ मटिर उचाइको अपि हिमाल र ६ हजार ३ सय ९५ मिटरको ल्हायुल पिकमा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । हजारौं पर्यटक आरोहणको सम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधार अभावका कारण ओझेलमा पर्दै आएको छ ।
हालै संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्कमुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको छ ।
यसै अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको सहलगानीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत नेपाल पर्वतारोहण संघको नेतृत्व र अपिहिमाल गाउँपालिकाको सहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ अन्तर्गत प्रशिक्षार्थी र प्रशिक्षक आरोहणको तयारी गरिएको हो ।
काठमाडौंमा दुई साता सैद्धान्तिक तालिमपछि अपि क्षेत्रमा दुई साता प्रयोगात्मक तालिम दिइने छ । तालिम पूरा गरेका विद्यार्थीहरू आगामी दिनमा ट्रेकिङ पिक र अन्य हिमाल आरोहणमा माउन्टेन गाइड वा सहायक गाइडका रूपमा काम गर्नेछन् ।
तालिममा सहभागी टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंमा बिदाइ गरेका थिए । मन्त्री पाण्डेले यो अभियान सुदूरपश्चिमका लागि ऐतिहासिक भएको उल्लेख गर्दै यसले स्थानीय समन्वय र सहकार्य प्रवर्द्धन गर्ने र दुवै प्रदेशको पर्यटन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
प्रशिक्षण क्रममा अपि हिमाल नजिकैको ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफैं बाटो बनाएर आरोहण गर्ने तयारी गरिरहेका छन् । यस अभियानमा १४ विद्यार्थी र ६ प्रशिक्षक सहभागी छन् ।
ल्हायुल पिक सफल आरोहणपछि प्रशिक्षक सहित ७ जनाले अपि हिमाल आरोहण गर्नेछन् । त्यसलगत्तै स्थानीय १५ ट्रेकिङ गाइडलाई पनि माउन्टेन नेभिगेसन र क्याम्पिङ प्रशिक्षण दिइने छ ।
यस कदमले अपि क्षेत्रजस्ता ‘भर्जिन टुरिज्म डेस्टिनेसन’ प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । आरोही टोलीमा अपिहिमाल गाउँपालिकाबाट पनि सदस्यहरू सहभागी छन् ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन सुविधा र सेवामा सुधार, सिपयुक्त पर्यटन जनशक्ति विकास र पर्यटकीय गन्तव्य प्रवर्द्धन मार्फत स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको जानकारी गराए ।
‘यस कदमले ओझेलमा रहेको अपि हिमाल आरोहण प्रवर्द्धन र समग्र सुदूरपश्चिमको पर्यटन क्षेत्र चलायमान हुने विश्वास हामीले लिएका छौं,’ उनले भने, ‘यसका साथै दिगो पर्यटन विकास र स्थानीय समुदायमा पर्यटनमैत्री सेवा विस्तार र पूर्वाधार सुधारमा पनि टेवा पुग्ने छ ।
प्रतिक्रिया 4