+
+
Shares

एमालेको विधान महाधिवेशन : तीन दिनसम्म के हुन्छ ?

विधान महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय जनाभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते ६:४१

२० भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् ।

विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ ।

महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिनिधिहरुलाई बिहान नौ बजेदेखि नै आउन भनिएको छ । उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ ।

उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि प्रस्तुत हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेता थापाले विहीबार नै पार्टी कार्यालयमा फरक मत दर्ता गराएका थिए ।

महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

प्रतिवेदनहरुमाथि भदौ २१ गते समूहगत छलफल हुने छ । ती छलफलका निष्कर्षलाई भदौ २२ गतेदेखि प्रस्तुत गरिने छ । प्रतितिनिधहरुको सुझाव र जिज्ञासामा नेताहरुले जवाफ दिने क्रम सकिएपछि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने र विधानसहितका प्रतिवेदन पास गर्दै महाधिवेशन समापन हुने एमालेले जनाएको छ ।

विधान महाधिवेशनमा एमालेले यसअघिका अन्य कार्यक्रममा जस्तै अध्यक्ष केपी शर्मा ओलीलाई आकर्षणको केन्द्र बनाएको देखिन्छ ।

काठमाडौं उपत्यका छिर्ने नाका भक्तपुर, थानकोट, कलंकीसहित आकाशे पुलमा समेत पोस्टर, झण्डा राखेर विधान महाधिवेशनलाई एमालेले महाउत्सवको छनक दिएको छ ।

गोदावरीको बसपार्कमा मुल प्रवेशद्वार बनाएर प्रतिनिधिलाई महाधिवेशनस्थल पुगेको आभास गराउन ५०० मिटरको दूरीमा तीन वटा गेट बनाइएको छ ।

२ हजार ८४० सिट क्षमताको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा ४ वटा प्रवेशद्वार छन् । मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठका अनुसार, पहिलो द्वारबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै प्रवेश गराइनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै छिर्नुपर्ने उनले बताए ।

‘महाधिवेशन हलमा एक नम्बर गेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई मात्र प्रवेश गराउँछौं, दुई नम्बर गेटबाट अन्य, नेता तथा प्रतिनिधिहरू प्रवेश गर्नेछन्,’ उनले भने ।

अन्तिम प्रवेश द्वारबाट क्याटरिङका लागि खाद्यान्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ ।

क्यूआर स्क्यान गरेर मात्रै प्रवेश, एटेडेन्स डेटा राखिने

एमालेले विधान महाधिवेशनलाई प्रविधिमैत्री बनाउन खोजेको छ । कार्यक्रमलाई व्यवस्थित गर्न र अनाधिकृत प्रवेश रोक्न प्रविधि उपयोग गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए ।

‘कार्ड त सबैले बोकेर आउनुहुन्छ तर, हाम्रो प्रतिनिधि हो कि हैन भनेर पहिचान गर्न र प्रवेश सहज बनाउन क्यूआर स्क्यानको व्यवस्था गरेका हौं,’ उनले भने । त्यसका लागि पार्टी प्रचार कमिटीले प्रतिनिधिहरूको डेटा डिजिटलरूपमा संकलन गरेर सिस्टम निर्माण गरिसकेको उनले बताए ।

प्रतिनिधि पहिचान गरी प्रवेश दिन ६ वटा कम्प्युटरका बुथ बनाइएको छ । त्यही बुथबाट क्यूआर स्क्यान गरी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरू महाधिवेशन हल प्रवेश गर्न पाउनेछन् ।

प्रतिनिधि, पर्यवेक्षकलाई वितरण गरिएको परिचयपत्र बाहिरको प्रवेशद्वारबाहेक हलभित्र पस्दा पुन: स्क्यान गर्नुपर्ने गरी व्यवस्थापन गरिएको छ ।

त्यहीँबाट स्वयंसेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्थापन गर्ने गरी हल बाहिर ६ वटा कार्डस्कान बुथ रहनेछन् ।

साथै यसपटक महाधिवेशन हलमा सहभागी प्रतिनिधिको उपस्थिति विवरण (एटेडेन्स डेटा) समेत संकलन गरिने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?