+
+
Shares
कविता :

दोबाटाको जेन-जी जुत्ता

रगतपच्छे भएका खाली खुट्टा हिंडेर
ऊ यो दोबाटोबाट कुन बाटो गयो होला ?

ऋषि बस्ताकोटी ऋषि बस्ताकोटी
२०८२ भदौ २९ गते १०:३०

जति प्रयास गर्दा पनि
‘पावर’ नपुगे उत्तीर्ण हुन नमिल्ने
परीक्षाका नियमहरूभित्र बसेर
जीवनका अनेक परीक्षा दिँदा दिँदा
थाकेको एक ‘असफल’ युवक
भाषा परीक्षा उत्तीर्ण गरेपछि
खलिहानको धान
र गोठको लैनो भैंसी बेची-बेची
हातमा पासपोर्ट बोकेर
कुनै नयाँ गन्तव्य भेटिन्छ कि भनी
म्यानपावरको सहारामा
एयरपोर्टतिर हानिएको थियो गाउँ छोडेर
ऊ फर्केन भन्ने खबर आयो।

चोर्न भएन, ठग्न भएन भन्थ्यो,
कहिले भारी बोक्थ्यो,
कहिले बाटो खन्थ्यो
रोगी बाको उपचार गर्नुथियो
छोराछोरी पाल्नु थियो,
खुसीको अलिकति उज्यालो बाल्नुथियो
मजबुर युवकको
मजदूर जीवनमा
अरू कुनै ठूला सपना थिएनन्
धानिनसक्नुका अस्वाभाविक चाहना पनि थिएनन्
खै उसले कसको पो के बिगार गर्‍यो होला
या त कतै कुनै आँधीबेहरीमा पर्‍यो होला
वृद्ध बाबु कुरिरहे
चिचिला छोराछोरीले उसैको बाटो हेरिरहे
ऊ पनि साँझ डेरामा फर्केन भन्ने समाचार आयो ।

कलिला सपनाहरू झोलामा हालेर
बिहानै कलेज हिँडेको एउटा किशोर
अक्सर प्रश्नहरूको पुलिन्दा बोकी हिंड्थ्यो
देशको मुहार फेर्नुपर्छ भन्थ्यो
नयाँ बिहान हेर्नुपर्छ भन्थ्यो
परिवर्तनको उज्यालो खोज्दै
क्रान्तिको ज्वाला बोकेर
उतै आन्दोलन गर्न पो गयो कि
या त उसको सपना कतै आधा बाटामै अपहरित पो भयो कि
कलेजकै युनिफर्ममा
कलिलो केटो हरायो भन्ने सुचनामा हुलिया आयो।

प्रहारै प्रहारले/हारै हारले छिया-छिया पारेका
भावुकताभन्दा पनि जिम्मेवारीले थिचेका
एक से एक नौजवान छोराहरू
शहरमा यसरी एकाएक हराएपछि
आमाको छाती भत्भति पोलेर आयो
मनभरि कालो बादल मडारिएर मातृ वात्सल्य दुख्यो
आमाको मन न हो
सम्हालिन गाह्रो भयो
हराएका छोरा खोजी गर्न
चोक-चोक, गल्ली-गल्ली
सोध्दै खोज्दै
कराउँदै
बर्बराउँदै, बौलाउँदै
निस्किइन् आमा
घाइते बघिनी बनेर !

शहरमा पर कतै
कोही युवक चिच्याए झैं लाग्यो
सुपरिचित स्वरमा इन्कलाबको नारा गुन्जिए झैं लागिरह्यो
आमाको कानमा आफ्नै छोराको आवाज झैँ आइरह्यो
परबाट ठूला-ठूला महलहरूमा ठोक्किएर
इन्कलाबको प्रतिध्वनि प्रतिध्वनित भइरह्यो।
आवाजको पछि लागिरहिन् आमा
आवाज झन् झन् अघि बढिरह्यो
तर खै आफ्ना छोरा भेटिएनन्
बरू पर दोबाटोमा पुगेपछि
देब्रे खुट्टाको जेन-जी जुत्ता भेट्टियो।

जेन-जीको साइजको
घरबाट निस्किंदा आफ्नै छोराले लाएको जस्तो
हिंड्दा हिंडदै तलुवा खिइएको
कस्दा कस्दै तुना फाट्न लागेको
आलो रगतको टाटो लागेको
दोबाटामा अलपत्र
आफ्नै छोरोको जस्तो
देब्रे खुट्टाको जुत्ता भेटिएपछि
आमाको मन सिरिङ्ग भयो
एकाएक आफ्नो जुझारु जेन-जी छोराको
आकृति आँखा भरी-भरी आयो
र, एकपछि अर्को प्रश्नहरूले छोपे
साँच्चै यो जुत्ता मेरै जेन-जी छोराकै होला त ?
रगतपच्छे भएका खाली खुट्टा हिंडेर
ऊ यो दोबाटोबाट कुन बाटो गयो होला ?
खाली खुट्टा हिंड्दा मेरो छोराका कलिला पैताला कति दुखे होलान्?
सपनाको भारी बोकेर महासमरको यात्री बनेको मेरो छोरा
अहिले कहाँ पुग्यो होला?

लेखक
ऋषि बस्ताकोटी

कवि एवं गीतरकार बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?