+
+
Shares

भृकुटीमण्डप बाहिर उत्सव, भित्र नेतृत्वको रस्साकस्सी

बन्दसत्रस्थल भित्रको माहोल भने फरक छ । केपी ओली र ईश्वर पोखरेल समूहले देशभरबाट आएका प्रतिनिधि मतदातालाई आफ्नो पक्षमा तान्न अन्तिम समयसम्म कसरत गरिरहेका छन् ।

दिनेश गौतम कौशल काफ्ले दिनेश गौतम, कौशल काफ्ले
२०८२ पुष १ गते १९:२८
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । एमाले महाधिवेशनमा राती ७ बजेबाट सुरु हुने मतदानको पूर्वसन्ध्यामा आक्रामक प्रचारप्रसारमा नेताकार्यकर्ता व्यस्त छन् । भृकुटीमण्डप बाहिर उल्लासमय प्रचारप्रसारका दृश्य देख्न सकिन्छ ।

एमाले सोमबार रातभरमा नै मतदान सक्नुपर्ने दबाबमा छ । भृकुटीमण्डपको स्थल बुधबार अन्य समूहले भाडामा लिईसक्नु पर्ने भएकाले मंगलबार मतदान सकेर ठाउँ छोड्नुपर्ने दबाबमा एमाले पुगेको हो ।

भृकुटीमण्डपको गेट अगाडि नै ठूलो भिड छ । कार्यकर्ता आफ्ना नेताको पोस्टर/पेम्प्लेट देखाउँदै मत मागिरहेका छन् । प्रहरीले यसको व्यवस्थापन गरिरहेको छ । ‘कृपया एक लाइनमा आउने/जाने गर्नुहोला । गेटकै मुखमा भिडभाड नगरिदिनुहोला,’ प्रहरीले माइकिङ गरिरहेको छ ।

खचाखच भरिएको प्रदर्शनीमार्गमा नेता/कार्यकर्ता नाराबाजी गरिरहेका छन् । कसैले छाताको वरपर मत मागिएका पेम्प्लेट टासेका छन् भने कसैले घाँटीमा भिरिरहेका छन् । महासचिवका उम्मेदवार शंकर पोखरेल, सचिव उम्मेदवार राजन भट्टराईका कार्यकर्ता त काठको प्रतिमा नै ठड्याएर प्रदर्शन गरिरहेका छन् ।

सोमबार बिहानबाटै कोही देउडा गाइरहेका छन्, कोही दोहोरी । साङ्गीतिक लयमा नेताका नाम घुसाएर बयान गर्न खप्पिस देखिन्छन्, कार्यकर्ता । अझ ‘राइझुमा झुमा क्यामस…’ को लयमा मत माग्ने त कतिकति ।

यसरी सबै आफ्नै सुरमा मत मागिरहँदा केही नारा भने रोचक सुनिन्छन् । जस्तो, यहाँ अधिकांश नेता-कार्यकर्ताले लिपुलेक र लिम्पियाधुराका फुर्को जोड्न छाडेका छैनन् । एमालेले नै आफ्नो ब्रान्ड बनाउन खोजेको चुच्चे नक्साको नारालाई महाधिवेशनमा पनि कार्यकर्ताले पछ्याएको देखिन्छ ।

‘चुच्चे नक्सा के भन्छ – ओली शंकर ले भन्छ’ भन्ने नारा छिनछिनमै सुनिएको छ । यही तरिका पछ्याएर अधिकाशले ‘चुच्चे नक्सा के भन्छ, ‘आफ्ना नेता’ ले भन्छ’ भन्दै नारा लगाइरहेका छन् ।

अर्को रोचक कुरा – एकअर्काका कार्यकर्ताले व्यङ्यात्मक र काउन्टर नारा लगाइरहेको पनि देखियो । जस्तो केपी ओली पक्षधरले, ‘ईश्वर पोखरेल के भन्छ, केपी ओली ले भन्छ, सुरेन्द्र पाण्डे के भन्छ, शंकर पोखरेल ले भन्छ’ भन्दै नारा लगाइरहेका छन् ।

त्यस्तै, ईश्वर पोखरेल पक्षले, ‘केपी ओली के भन्छ, ईश्वर पोखरेल ले भन्छ ; शङ्कर पोखरेल के भन्छ, सुरेन्द्र पाण्डे ले भन्छ’ भन्दै नारा लगाइरहेको छ ।

यसरी दुई पक्षले नै आक्रामक प्रचारप्रसार र नाराबाजी गरिरहेका छन् । ईश्वर पोखरेल प्यानलबाट उम्मेद्वार बनेका गोकर्ण विष्टले ‘बाहिरी हल्लखल्लले महाधिवेशन प्रतिनिधि प्रभावित नहुने’ टिप्पणी गरेका छन् । ‘महाधिवेशन प्रतिनिधिले सोचिसक्नु भएको छ । बाहिरी हल्लखल्लाले उहाँहरु बहकिनुहुन्न भन्नेमा ढुक्क छु,’ उनले भने ।

यसरी भृकुटीमण्डप बाहिर तुलानात्मक कम सुनिएका ईश्वर समूह गेटभित्र त्यति सुनिएको छैन । शेरधन राईलगायतले मिडिया सेन्टरसम्म आएर नाराबाजी गरिरहेका भेटिए । क्यान्टिनभित्रै महेश बस्नेत र्‍यालीसहित भोट मागिरहेका छन् ।

विन्दा पाण्डेजस्ता नेताहरु, जो यसअघि ओली/पार्टी निर्णयको विरोध गरेकै कारण कारबाहीमा परेका थिए, उनीहरु शान्त तरिकाले प्रचार गरिरहेका छन् । बिन्दाहरु झोला भिरेर शान्त तरिकाले छिर्दा अन्य समूहहरुका नेताहरु भने हल्लखल्ल गर्दै छिरेको दृश्य पनि देखिए ।

दुवै पक्षले स-साना कार्डदेखी पर्चाहरु महाधिवेशन प्रतिनिधिलाई बाँडिरहेका छन् । यसरी बाँडिएका पर्चा प्रदर्शनीमार्गमा छरपस्ट छन् । आफ्नै नेताका अनुहार छापिएको कार्ड कुल्चिदै कार्यकर्ताहरु यताउता गरिरहेका छन् । यो दृश्य हेर्दा भुई कुरुप देखिन्छ ।

मंगलबार बिहानबाटै मत माग्न व्यस्त कार्यकर्ता साझसम्म आइपुग्दा कतिपय थाकेका जस्ता देखिन्छन् । कतिपय सडकपेटीमा आराम गरिरहेका पनि भेटिए । यद्यपि, उनीहरूलाई थाक्ने छुट छैन । आफ्ना नेता जिताएर आगामी कार्यकाल पार्टीमा पहुँच बढाउने महत्त्वकाङ्क्षाले सक्रिय बन्न दबाब दिएको छ । एकछिन आराम गरेका ती कार्यकर्ता केही बेरमा फेरि कतै मत मागिरहेका भेटिन्थे ।

यसरी सबै मत माग्न व्यस्त रहँदा एकीकृत समाजवादी र माओवादीलगायतबाट एमाले छिरेका नेताको चर्चा भने उति देखिएनन् । सुनिएनन् ।

नेतृत्वको रस्साकस्सी

बन्दसत्रस्थल भित्रको माहोल भने फरक छ । केपी ओली र ईश्वर पोखरेल समूहले देशभरबाट आएका प्रतिनिधि मतदातालाई आफ्नो पक्षमा तान्न अन्तिम समयसम्म कसरत गरिरहेका छन् ।

निर्वाचनको कार्यतालिका अनुसार दिउँसो नै मतदान हुनुपर्ने हो । तर विद्युतीय मेसिनबाट मतदान हुने भएकाले मतदान प्रक्रिया लम्बिएको छ ।

उम्मेदवारको सूची मेसिनमा इन्ट्री गरेपछि क्रम अनुसार नभएकाले पुनः इन्ट्री गर्नुपरेकाले मतदान लम्बिएको छ । यो अवसरलाई सदुपयोग गर्दै नेताहरूले आफ्नो पक्षमा प्रतिनिधि तान्न प्रयास गरिरहेका छन् ।

ओली समूह र पोखरेल समूहले जितको लागि आआफ्नो दाबी गरिरहेका छन् । ओली समूहले अहिलेको चुनौतीलाई सामना गर्न एक पटक ओली नै नेतृत्वमा आउनु पर्ने मत राखेका छन् । पोखरेल समूहले नेतृत्व हस्तान्तरण र पुस्तान पुस्तान्तरणको मुद्दा उठाएको छ ।

एमालेका नेता गोकर्ण विष्ट जारी ११औं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास व्यक्त गर्छन् । बन्दसत्र स्थलबाट उनले भने, ‘हामी सामूहिकतामा विश्वास गर्छौँ, पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ भन्नेमा विश्वास गर्छौँ,’ उनले भने, ‘यसपटक यो हुन्छ भन्ने‍ विश्वास छ।’

महाधिवेशन प्रतिनिधिले कार्यकर्ता र जनताको भावना बुझेर मतदान गर्ने विश्वास पोखरेल समूहको छ ।

‘नेतृत्वको कार्यकाल दुई कार्यकालमात्र हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौं, यद्यपि त्यो अहिले उल्टियो,’ उनले थपे, ‘सबै महाधिवेशन प्रतिनिधिले जिम्मेवार ढङ्गले मत जाहेर गर्नुहुन्छ, महाधिवेशन प्रतिनिधिले कार्यकर्ता र जनताको भावना बुझेर मतदान गर्नुहुन्छ, पुस्तान्तरण र हस्तान्तरण गर्न लाग्नुहुन्छ भन्नेमा विश्वास छ’, विष्टले भने ।

ओली समूहका नेताहरू भने अहिलेको चुनौती सामना गर्न ओली नै उपयुक्त ठान्छन् । ‘अहिलेको चुनौतीलाई सामना गर्ने सक्ने नेता जो हो उसैलाई नेतृत्वमा ल्याउँछौं,’ भट्टराईले भने ।

जेनजी आन्दोलनपछि पार्टीमा नयाँ पुस्ता आउनु पर्ने बहस पनि बन्दसत्र भित्र चलेको छ। ‘प्रत्येक निर्वाचन क्षेत्रबाट युवा प्रतिनिधि आएका छन् । युवाको अलग्गै क्लस्टर बनाएका छौं । यो महाधिवेशनले युवालाई प्रतिनिधि मात्र होइन नेता नै बनाउँछ,’ विशाल भट्टराईले भने ।

दुई समहूले प्रतिनिधिहरूसँग पार्टीलाई रुपान्तरण गर्ने एजेन्डा अगाडि सारेर मत मागिरहेका छन् । ‘पार्टीमा नेतृत्वको सहज हस्तान्तरण गरौँ भन्ने हाम्रो पहल थियो । निर्वाचनअघिको प्रक्रियाबाट त्यो सम्भव भएन। त्यसैले अब निर्वाचनबाटै त्यो सम्भव हुन्छ भन्ने लाग्छ,’ योगेश भट्टराईले थपे, ‘मैले धेरैको कुरा सुनेको छु। धेरैसँग हात मिलाएको छु। जतिको कुरा सुनेको छु, उहाँहरूले नवीकृत नेकपा एमाले खोजिरहेको बुझेको छु।’

राती ७ बजेदेखि मतदान हुँदैछ । तर रातको समयमा मतदान हुन लागेकोमा पोखरेल समूह सन्तुष्ट छैन ।

‘राति हुँदा अप्रिय घटना हुन्छ कि भन्ने हाम्रो आशङ्का हो। यद्यपि यसमा हामी सचेत छौँ । तर, बाध्यता छ,’ उनले भने, ‘कुनै अप्रिय घटना नघटी यो सकियोस् भन्ने मेरो कामना छ। त्यो हुन्छ भन्ने विश्वास पनि छ’ योगेश भट्टराईले भने ।

राती १ बजेसम्म मतदान हुनेछ । अब नेतृत्वको छिनोफानो देशभरबाट आएका प्रतिनिधिले गर्ने छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?