News Summary
Generated by OK AI. Editorially reviewed.- राई समुदायको सांस्कृतिक चेतना र परम्परालाई चित्रण गर्ने फिल्म 'नाक्छोङ' को ट्रेलर इटहरीस्थित इलाइट सिनेमा हलमा सार्वजनिक गरिएको छ।
- फिल्मले पिताको निधनपछि नाक्छोङ जिम्मेवारी बोक्ने छोराको परिवार, समाज र समयसँगको संघर्षलाई देखाउँछ।
- निर्देशक किरण राईले सांस्कृतिक सिनेमाको फराकिलो आयाम प्रस्तुत गर्नुभएको छ र प्रदर्शन मिति घोषणा हुन बाँकी छ।
काठमाडौं । राई समुदायमा चलिआएको पुस्तौंनी सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई चित्रण गर्ने फिल्म ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
इटहरीस्थित इलाइट सिनेमा हलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो । बेलायतका विभिन्न सहरमा प्रिमियर गरिएको फिल्मले आमदर्शकमाझ ट्रेलर ल्याएको हो ।
ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । पिताको निधनपछि परम्परागत बिजुवा अर्थात् नाक्छोङ घरमा लगाउने जिम्मेवारी बोक्न खोज्ने छोराले परिवार, समाज र समयसँग गर्नुर्ने व्यैक्तिक तथा सामाजिक संघर्षलाई फिल्ममा चित्रण गरिएको छ ।
राई समुदायमा नाकछोङ भन्नाले कुलपूजाका प्रमुख, देवगुरु, आत्मिक सञ्चारक तथा परम्पराका संरक्षकलाई जनाइन्छ । फिल्मले समाजमा लोपोन्मुख आत्मिक अनुशासन, कुल मान्यता, पितृपूजा र मौलिक संस्कारको पुनःस्मरण गराउने निर्माता ज्योतीराज राईले बताए ।
‘समुदायले समेत बिर्सन थालेका यस्ता मौलिक पहिचानलाई संरक्षण नगरेसम्म हाम्रो इतिहास ओझेलमा पर्ने खतरा छ’ उनले भने । पटकथा लेखन तथा निर्देशन किरण राईले गरेका हुन् ।
यसअघि ‘लुङा’ र ‘जिउपैंचो’ लगायत विभिन्न म्युजिक भिडियोमार्फत निर्देशकीय क्षमता प्रस्तुत गरिसकेका राईले ‘नाक्छोङ’ मार्फत सांस्कृतिक सिनेमाको फराकिलो आयाम प्रस्तुत गरेका छन् ।
फिल्ममा भुवनसिंह राई, यासेली योङहाङ, सागर केरुङ, सुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, तायाहाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राईको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन, मनिष निरौलाको संगीत, सागर अर्यालको ध्वनि संयोजन फिल्ममा छ । राजन मुकारुङ र विष्णु किराँतीको शब्द, दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत, नोगेन लिम्बु र परेश राईको स्वरले कथालाई संगीतमार्फत आत्मा दिने प्रयास गरिएको छ ।
फिल्मको प्रदर्शन मिति घोषणा हुन बाँकी छ । त्यसअघि फिल्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी गराउने तयारी छ । निर्माता राईले यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’ र ‘वान वे प्रोड्यूसर’ जस्ता फिल्म निर्माण गरेका छन् ।
प्रतिक्रिया 4