News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन २०८२ को नतिजाले सात दशकदेखि चलेको परम्परागत राजनीतिको व्याकरण बदलिदिएको छ र बालेन शाह र रवि लामिछाने मुख्य पात्र हुन्।
- बालेन शाहले काठमाडौँ महानगरको मेयर भएर देखाएको प्रशासनिक कौशलले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशव्यापी लहर सिर्जना गर्न मद्दत गरेको छ।
- नेपालमा बहुमत सरकारहरूले पूर्ण कार्यकाल पूरा गर्न सकेका छैनन् र यसको मुख्य कारण पार्टीभित्रको लुछाचुँडी र व्यक्तिगत इगो रहेको छ।
नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले एउटा यस्तो दृश्य मञ्चन भइरहेको छ, जसको परिकल्पना आजभन्दा पाँच वर्षअघिसम्म सायदै कसैले गरेको थियो । निर्वाचन २०८२ को नतिजाले सिंहदरबारको पुरानो पर्खाल मात्र भत्काएको छैन, बरु सात दशकदेखि जरा गाडेर बसेको परम्परागत राजनीतिको व्याकरण नै बदलिदिएको छ। यो परिवर्तनको ‘इपिसेन्टर’ मा जेन-जी विद्रोह भए पनि, यसलाई संस्थागत गर्ने मुख्य पात्र बालेन शाह र रवि लामिछाने नै हुन्।
भर्खरै सम्पन्न निर्वाचन परिणामलाई हेर्दै गर्दा जनतामा उत्साहको लहर त छ, तर सँगै एउटा गम्भीर संशय पनि जन्मिएको छ: के यी दुईको ‘सहकार्य’ ले देश बन्ला कि यिनीहरूको ‘झगडा’ वा सत्ताकाङ्क्षाले देश फेरि अर्को अस्थिरताको खाडलमा जाला ? जायज शङ्का वा संशय हुनु स्वाभाविक होला, तर शङ्काका लागि शङ्का गरिनु केवल परिवर्तनपछिको अवस्थालाई आत्मसात् गर्न नसक्नुको कुण्ठा मात्र हुन सक्छ
किन असफल भए बहुमतका सरकार ?
नेपालको संसदीय इतिहासमा ‘बहुमत’ आफैँमा एउटा त्रासदीपूर्ण शब्द बन्दै आएको छ। २०१५ सालको बीपी कोइरालाको दुई-तिहाइदेखि २०७४ को झण्डै दुई-तिहाइ नजिकको सरकारसम्म आइपुग्दा, कुनै पनि सरकारले पूर्ण कार्यकाल शासन गर्न पाएनन्।
माओवादीले पनि कुनै बेला यस्तै जनउभार ल्याएको थियो, तर त्यो पनि टिक्न सकेन। जनताले पटक-पटक स्थिरता र समृद्धिका लागि भोट दिए, तर परिणाम सधैँ अस्थिरता र जनमतको पूर्ण अपमान नै भयो । सिद्धान्त र वादको रटानले जनतालाई सेवा र विकासभन्दा व्यक्ति केन्द्रित जडता र अकर्मण्यता मात्र बाँड्यो।
यी सरकारहरू ढल्नुका पछाडि कुनै बाह्य शक्ति वा दैवी प्रकोप जिम्मेवार थिएनन्। यसको मुख्य कारण पार्टीभित्रको लुछाचुँडी र व्यक्तिगत ‘इगो’ थियो। पदको भागबण्डा र भ्रष्टाचारको संस्थागत संरक्षणले नै ती सरकारहरूलाई धराशायी बनायो।
पुराना दलहरूले न त राज्य सञ्चालनमा इमानदार इच्छाशक्ति देखाए, न त जनताप्रति उत्तरदायी हुने न्यूनतम नैतिकता नै।
नीतिभन्दा ‘नेता’ हाबी हुँदा राज्यका संरचनाहरू भत्किए र कर्मचारीतन्त्र निकम्मा बन्यो। आफ्ना कमजोरी लुकाउन बाह्य शक्तिलाई दोष दिने र सोही आडमा जनतालाई भ्रमित गरिरहने पुरानो शैली अब जनताले चिनिसकेका छन् । अचम्म त के छ भने, पार्टीभित्रका नयाँ वा युवा भनाउँदा नेताहरू समेत नेतृत्वको अन्धभक्त वा ‘झोले’ कार्यकर्ता मात्र बने र आफ्नो इमान बन्धकी राखे। नेताको चाकडीमा रमाउने यही प्रवृत्ति नै विकासको मुख्य बाधक बन्यो।
बालेनको उदय र रास्वपाको लहर
कतिपयले बालेन शाहलाई अझै पनि अपरिपक्व, केटाकेटी, अनुभवविहीन वा ‘पपुलर र्यापर’ को बिल्ला भिराएर उनको उचाइलाई न्यूनीकरण गर्ने प्रयास गर्दैछन्। तर बालेनको राजनीतिक यात्रा आकस्मिक होइन।
उनी त झण्डै आधा दशक अगाडिदेखि एउटा मौन तर शक्तिशाली राजनीतिक अभियानमा थिए। पेशाले इन्जिनियर र विभिन्न जटिल परियोजनामा व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका बालेनले काठमाडौँ महानगरको मेयरका रूपमा जुन ‘प्रशासकीय कौशल’ देखाए, त्यसले नै नेपालमा वैकल्पिक राजनीतिको वास्तविक ढोका खोलेको हो।
बालेनले जब महानगरको जगमा बसेर ‘सिस्टम’ सँग सिधै सङ्घर्ष गरे, तब मात्रै रवि लामिछाने र ‘जेन-जी’ पुस्तामा राजनीतिप्रतिको नयाँ चेत पलायो।
बालेनले देखाएको त्यही साहस नै रवि लामिछानेका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत देशव्यापी लहर सिर्जना गर्ने मुख्य उत्प्रेरणा बन्यो।
साँचो अर्थमा रवि लामिछाने वा रास्वपाको राजनीतिक स्रोत बालेनको उदय थियो। राजनीतिमा बालेन, रविभन्दा केही पुरानै छन् । यदि बालेनले काठमाडौँमा सफल मोडल प्रस्तुत नगरेका भए, सायद आज वैकल्पिक राजनीतिको यो स्वरूप र सफलता सम्भव हुने थिएन ।
सङ्घीय राज्य सञ्चालन र संसदीय परिपाटीमा रास्वपा निकै परिपक्व भइसकेको छ, जुन बालेनका लागि सरकार सञ्चालन गर्न महत्त्वपूर्ण हतियार हो। नीतिगत समायोजन र प्रभावकारी कार्यान्वयन नै अबको सरकारको प्राथमिकता हुनुपर्दछ।
नेपालको इतिहासमा पहिलो पटक ३५ वर्षको एक ऊर्जावान् युवा देशको कार्यकारी प्रमुख बन्ने सँघारमा हुनु आफैँमा ऐतिहासिक गौरवको विषय हो। यो उमेर शारीरिक ऊर्जा र मानसिक सुझबुझको उच्चतम सङ्गम हो। ३५ वर्षे युवाले देश हाँक्नु भनेको नेपालमा आमूल परिवर्तन हुने प्रक्रिया सुरु हुनु हो। तर, यससँगै एउटा कडा खबरदारी र नयाँ मानकको आवश्यकता छ। बालेनको नेतृत्व सदाका लागि कदापि नहोस्। उनले सके एक कार्यकाल, नभए बढीमा दुई कार्यकाल मात्रै प्रधानमन्त्री वा कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुपर्छ।
एकपटक आएको यो अवसरलाई कति पनि खेर जान नदिई बालेनले आफूलाई विश्वकै उत्कृष्ट नेताको पङ्क्तिमा उभ्याउनुपर्छ। र, सबैभन्दा महत्त्वपूर्ण कुरा—कार्यकाल सकिएपछि उनी पुनः आफ्नो इन्जिनियरिङ पेसामा फर्कनुपर्छ, विश्वविद्यालयमा पढाउनुपर्छ, किताब लेख्नुपर्छ वा कुनै फाउन्डेसनमार्फत सामाजिक सेवामा लाग्नुपर्छ। सत्तामा टाँसिरहने र शक्तिको उन्मादमा रमाउनेहरूको सुखद अन्त्य संसारमा कतै भएको छैन।
बालेनले आफूलाई भविष्यका नेताहरूका लागि एउटा ‘रोडमोडल’ को रूपमा स्थापित गर्नुपर्छ, जसले राजनीतिलाई पेसा होइन, सेवाको रूपमा बुझेको होस्। बालेन र रवि दुवैले यो बुझ्न जरुरी छ कि सत्ता साधन मात्र हो, साध्य होइन।
अहिले बालेन र रविबीच शक्ति सङ्घर्ष हुने वा इगो टकराउने भन्दै अनावश्यक शङ्काको खेती गरिँदैछ। अस्थिरताबाट लाभ लिने पुराना गिरोहहरू चाहन्छन् कि यी दुईबीच खटपट होस्। तर, देश बनाउने हो भने उनीहरूबीच भूमिकाको स्पष्ट बाँडफाँड हुन जरुरी छ।
जनताले बालेनलाई डेलिभरी, सुशासन र विधिको शासन स्थापित गर्न जनादेश दिएका छन्, त्यसैले उनी ‘एक्जिक्युटिभ हेड’ भएर भ्रष्टाचार नियन्त्रण, दिगो विकास र राज्य संयन्त्रलाई चलायमान बनाउन केन्द्रित हुनुपर्छ।
अर्कोतर्फ, रविले पार्टीको नेतृत्व गर्दै बालेनलाई राजनीतिक र संसदीय कवच प्रदान गर्नुपर्छ। रविले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्नु र बालेनले रविको राजनीतिक सङ्गठनलाई सम्मान गर्नु नै यो सहकार्यको मूल कडी हो। यी दुईबीचको आपसी विश्वास र हस्तक्षेपमुक्त कार्यशैलीले मात्रै नयाँ युगको नेतृत्व गर्न सक्छ। यदि सरकारले इमानदारीपूर्वक काम गर्छ भने बाह्य एजेन्ट वा भित्री षड्यन्त्रकारीहरूले केही गर्न सक्ने छैनन्।
अहिले बालेन र रविप्रति जुन अपार जनविश्वास छ, त्यसलाई घृणामा बदलिन नदिने जिम्मा यी दुईकै काँधमा छ। बालेनको असफलता केवल एक व्यक्तिको असफलता हुने छैन, यो त नेपालका तमाम आन्दोलन, सहिदको बलिदान र परिवर्तनको पर्खाइमा रहेका घाइते परिवारहरूको पूर्ण अपमान हुनेछ।
अनावश्यक शङ्का र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, एक-अर्काको परिपूरक बनेर अघि बढ्नु नै समयको माग हो। ३५ वर्षे युवा नेतृत्वलाई सफल बनाउनु हामी सबैको दायित्व हो, किनकि यो अवसर गुम्नु भनेको अर्को एउटा पुस्ता फेरि अन्धकारमा धकेलिनु हो। पुराना भ्रष्ट संरचनाको अन्त्य र नयाँ नेपालको निर्माण अब केवल भाषणमा होइन, बालेन र रविको साझा कर्मबाट सम्भव हुने यथार्थ हुनुपर्छ। जनताको साथ नै यो नयाँ सत्ताको सबैभन्दा ठूलो ढाल र हतियार हो।
प्रतिक्रिया 4