२ चैत्र, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-१ र २ जोड्न केदार अखडाको गलगाडमा निर्माणाधीन मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र छ । २०७८ मंसिर २१ गते सम्पन्न भइसक्नुपर्ने सो पुलमा त्यसयता नै चार वर्ष बितिसके । तर, हालसम्म ६२ प्रतिशत मात्रै काम सकिएको छ ।
सडक डिभिजन कुलपाते डोटीका अनुसार गलगाड पुल निर्माण गर्न २०७७ असार २१ मा नेपाल मेगा–सिस्ने जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार १७ महिनामा काम सम्पन्न गर्नु पर्ने थियो । यो पुल निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित चार करोड, ५७ लाख ५१ हजारमा सम्झौता भएको थियो ।
उसो त सडक नै नपुगी पुलको योजना परेको भन्दै विरोध पनि भएको थियो । पछि सडक पनि पुग्यो । २५ मिटर लम्बाइको यो पुलको निर्माण कहिले सम्पन्न हुन्छ, जवा सडक कहिलेसम्म निर्माण हुने हो पत्तो छैन ।
गलगाड पुल मात्रै होइन, सडक डिभिजन कुलपाते मातहत निर्माण भइरहेका अन्य चार पुलको अवस्था पनि उस्तै छ ।
जसमध्येको एक हो, डडेलधुराको डाँडा वन मोटरे बल पुल । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी २०७२ भदौ २७ गते सम्झौता भएको यो पुलको निर्माण कार्य १० वर्ष बितिसक्दा पनि सकिएको छैन । अहिलेसम्म उक्त पुगेको प्रगति ८० प्रतिशत मात्रै रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर गौरव धामी बताउँछन् ।
४० मिटर लम्बाइको यो पुल भ्याटसहित ४ करोड ५३ लाख ४९ हजार लागतमा बनाउन राजेन्द्र–चाँदनी जेभीले सम्झौता गरेको थियो ।
यस्तै डोटीको शिखर नगरपालिका–१० र ११ जोड्ने बानेडुंग्रीसैन सातनाली मोटरेबल पुलको अवस्था पनि उस्तै छ । ०७१ असार २९ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी पप्पु–राजेन्द्र जेभीबीच सम्झौता भएर काम सुरु भएको यो पुल १२ वर्ष पुग्नै लाग्दा २५ प्रतिशत पनि काम भएको छैन ।
भ्याटसहित २६ करोड २० लाख ८८ हजार रुपैयाँ लागत सम्झौता भएको यो पुलको पटक पटक ठेक्काको म्याद थप हुँदा पनि निर्माण प्रगति खासै देखिएको छैन । समयमै पुल नबन्दा सेती नदी वारपार गर्न स्थानीयले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
यस्तै बुडर–जोगबुडा सडक खण्ड अन्तर्गत पर्ने खाप्का खोलाको पुल पनि अलपत्र छ । ०७७ भदौ २५ गते राजेन्द्र निर्माण सेवाले सम्झौता गरेर सुरु गरेको यो पुल सम्झौताअनुसार ०७९ भदौ २४ गते निर्माण सम्पन्न भइसक्नुपर्थ्यो । तर अहिलेसम्म पनि उक्त पुलको निर्माण प्रगति ४० प्रतिशत नाघेको छैन । भ्याटसहित ६ करोड ९७ लाख ५८ हजारमा यो पुलको ठेक्का सम्झौता भएको थियो ।
खैगाड पुलको सम्झौता भयो, काम भएन
डोटीको गैरा–मुडभरा सडक अन्तर्गतको खैगाड खोलामा मोटरे बल पुल बनाउन २०७८ कात्तिक ११ गते ठेगिम–जुद्ध/पूर्ण–सिंह जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार ०७९ पुस १० गतेभित्रै पुल निर्माण भइसक्नुपर्थ्यो । भ्याटसहित २ करोड ९५ लाख ८८ हजार रुपैयाँमा सम्झौता भएको सो पुलको हालसम्म निर्माण नै सुरु भएको छैन ।
प्रतिक्रिया 4