News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
- भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रशिक्षणमा १७४ जना प्रशिक्षार्थीले भ्वाइस एक्टिङ, डबिङ प्रविधि र संवाद अभिव्यक्ति सिकेका छन्।
- बोर्ड अध्यक्ष दिनेश डीसीले भने, ‘भ्वाइस एक्टिङ र डबिङ केवल प्रविधि मात्र होइन, यो अभिनयको आत्मा हो’ र यसले नेपाली चलचित्रलाई नयाँ बजार र दर्शक दिलाउन सक्छ।
काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रमुख प्रशिक्षणमा सञ्चालन भएको तालिमबाट १७४ जना प्रशिक्षार्थी लाभान्वित भएका छन् ।
तालिममा सहभागीले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरेका छन् ।
सहभागीले तालिमलाई अत्यन्तै व्यवहारिक, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने खालको भएको प्रतिक्रिया दिए । समापन समारोहमा बोर्ड अध्यक्ष तथा निर्देशक दिनेश डीसीले नेपाली चलचित्रलाई विश्वस्तरमा पुर्याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘भ्वाइस एक्टिङ र डबिङ केवल प्रविधि मात्र होइन, यो अभिनयको आत्मा हो । यसलाई सशक्त बनाउन सके नेपाली चलचित्रले नयाँ बजार र नयाँ दर्शक प्राप्त गर्न सक्छ ।’
प्रमुख प्रशिक्षक देओन्दीले नेपाली सहभागीको उत्साह र प्रतिभाको प्रशंसा गर्दै भविष्यमा अझ उन्नत सहकार्यको सम्भावना रहेको बताए । उनले भने, ‘नेपाली कलाकारमा अद्भुत क्षमता छ । सही प्रशिक्षण र निरन्तर अभ्यासले यहाँको भ्वाइस एक्टिङलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ ।’
बोर्डका अनुसार तालिमले चलचित्र क्षेत्रमा भ्वाइस एक्टिङ र डबिङको गुणस्तर सुधार गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4